नेपाल: हल्लै हल्लाको देशदेखि कन्स्पिरेसीको देशसम्म

भूपी शेरचनले नेपालीहरूको मनोविज्ञानको सूक्ष्म चित्रण गर्दै एउटा कालजयी कविता लेखेका थिए- नेपाल हल्लै हल्लाको देश हो। यो कविताको अन्तिम हरफ साँच्चै नै गजब थियो-
.... ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूको जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो।
सायद त्यस बेला भूपी सही थिए होला। तर अहिले नेपाल हल्लै हल्लाको देश रहेन। नेपाल त्यस बेलाभन्दा अलिक बढी विकसित भएको छ। अब नेपाल हल्लाभन्दा एक तहमाथि ‘कन्स्पिरेसी’को तहमा पुगेको छ। अचेल नेपाल कन्स्पिरेसी नै कन्स्पिरेसीको देश बनेको छ। हामीलाई हरेक कुरामा विदेशीको कन्स्पिरेसी देख्ने बानी परेको छ। बिहान घाम उदाउनु र अस्ताउनुबाहेक अरु सबै कुरामा हामी विदेशीको षड्यन्त्र देख्छौं। राजा महेन्द्रको मृत्युमा विदेशीको हात, मदन भण्डारीको मृत्युमा ‘सिआइए’ र ‘र’को हात, दरबार हत्याकाण्डमा ‘सिआइए’ र ‘र’को हात, सन्दीप लामिछाने बलात्कार काण्डमा भारतको हात, रामबहादुर बमजनउर्फ लिटल बुद्ध काण्डमा क्रिस्चियन मिसनरीहरूको षड्यन्त्र आदि इत्यादि। सुत्दा, उठ्दा, खाँदा बस्दा सधैं कन्स्पिरेसीको भूतले थिचिएका हामी बहुसंख्यक नेपालीहरुका लागि अहिले यत्रो बबण्डर मच्चिएको जेन जीको आन्दोलनमा त विदेशीको हात नहुने कुरै भएन। अहिले त झन् अमेरिकाले यति अरब खर्च गरेर नेपालमा कलर रेबुलुसन गर्यो रे ! त्यही योजना अन्तर्गत स्नाइपरहरूले प्रदर्शनकारीहरूलाई गोली हानेर मारे रे! भन्ने जस्ता गज्जबको थ्योरीले बजार पिटिरहेको छ ।
एकछिनको लागि मानिलिऊ– ओदे (ओली र देउवाको) सरकार नेपालमा जनप्रिय काम गरेर एकदम लोकप्रिय थियो। यो एकदम राष्ट्रवादी पनि थियो। उसले अमेरिकाले भनेको पनि टेर्न छोडेको थियो। अमेरिकाको एमसीसी परियोजनालाई समेत खारेज गरेर फिर्ता पठाएको थियो। यसलाई हटाउन अमेरिकालाई यत्रो रकम खर्च गरेर र यस्तो षड्यन्त्र गर्नु परेको होस्।
यस्तो लाग्छ, हामीहरु आफ्नो देशभित्र घटेका कुनै पनि घटनाको मूल्यांकन गर्दा आन्तरिक कारणलाई गौण र बाह्य कारणलाई प्रधान मान्ने रोगबाट ग्रसित छौं। अनि मानौँ विदेशीहरूको कुनै कामै छैन, खाली नेपाल विरुद्ध षड्यन्त्र नै गरेर बसिरहन्छन् जस्तो। बिहानै उठ्ने बित्तिकै अमेरिकी राष्ट्रपति ट्रम्प आँखा मिच्दै नेपालमा के भइरहेको छ भनेर खोज्न थाल्छन् अथवा पुटिन वा सी जिनपिङको पहिलो काम नै नेपालका ओली र प्रचण्डले के गरे भनेर चियोचर्चो गर्ने हुन्छ। तर वास्तवमा नेपालमा के भइरहेको छ भनेर दुनियालाई खासै कुनै चासो हुँदैन। किनकि नेपाल दुई विशाल देशबीचको भू–परिवेष्ठित देश हो। अझ भन्ने हो भने नेपाल भारत परिवेष्ठित देश हो। आफूलाई क्षेत्रीय महाशक्ति भन्न रुचाउने भारतले आफ्नो दादागिरी चलाउन सक्ने देश यो दुनियामा दुई वटा मात्र छन्— नेपाल र भुटान। आफ्नो हैकम चल्ने क्षेत्र भारत गुमाउन चाहँदैन। अब फेरि अर्को तप्काले भन्ने गर्छन्—यो कलर रेभुलुसनमा अमेरिका मात्र होइन, इन्डिया समेत सामेल छ। यो इन्डो-अमेरिका षड्यन्त्र हो।इन्डियाले नेपालको मामिलामा अमेरिकासंग कुनै सहकार्य गर्नु पर्ने जरुरत नै छैन। आवश्यक भयो भने नेपालमा कलर रेभुलुसन गर्न इन्डिया आफैं सक्षम छ। उसलाई अमेरिकाको कुनै आवश्यकताको नै पर्दैन। विगतमा पटक–पटक इन्डियाले नेपालमा सत्ता परिवर्तन गर्ने यस्ता कलर रेभुलुसन गराइसकेको छ। आफुलाई कुनै नेपाली सत्ता विरुद्ध चित्त नबुझे त्यसलाई अस्थिर गराउन भारत सधै तत्पर रहदै आएको छ। २००७, २०४६, २०६२–६३ को क्रान्ति र आन्दोलन तथा २०७२ सालको मधेश आन्दोलनमा भारतको आवश्यकताभन्दा बढी चलखेल र सक्रियता त्यसका दृष्टान्तहरु हुन्। नेपालमा इन्डिया र अमेरिकाका स्वार्थहरू फरक–फरक छन्। फेरि अहिले इन्डिया र अमेरिकाबीच आफैंमा पनि मारामारको स्थिति छ।
त्यस्तै चीन नेपालमा भारतीय प्रभाव कम गराउन चाहन्छ भन्ने कुरा सत्य हो। अनि यतिखेर भारत र चीनको साझा शत्रु बनेर देखापरेको अमेरिका यी दुवै देशलाई बिझाउन आफ्नो गतिविधि देखाउन चाहन्छ। विगत ६० र ७० को दशकमा अमेरिकाले चीनलाई दु:ख दिन तिब्बती खम्पाहरूलाई नेपालको भूमिलाई आधारशिविर बनाएर प्रयोग गरेको थियो। तर ७० को दशकको सुरुवातमा निक्सन–माओबीचको संवादपछि तिब्बती खम्पाहरूलाई अमेरिकाले वास्ता गर्न छोडिदियो। जसलाई पछि नेपाली सेनाले निशस्त्र गर्यो। ती तिब्बती खम्पाहरूलाई ‘शीतयुद्धका टुहुरा’ त्यसै भनिएको होइन ।
यही हो नेपालको भू–राजनीतिक यथार्थ। त्यस्तै एक थरीको सदाबहार क्रन्दन हुने गर्छ कि चीनलाई घेर्न अमेरिका नेपाललाई उपयोग गर्न चाहन्छ। हामीले एउटा कुरा के बिर्सनु हुँदैन भने चीनको सीमा १४ वटा देशसँग जोडिएको छ। चीनको रूसपछि दोस्रो सबैभन्दा लामो सीमा भारतसँग छ। फेरि तिब्बतका धार्मिक गुरु दलाई लामा र उनको निर्वासित सरकार समेत भारतमै रहेको छ। चीनलाई दु:ख दिनु परे नेपालभन्दा भारतबाटै सजिलो हुन्छ। नेपालको जरुरत नै पर्दैन। नेपालसँगको चीनको सीमा हिमालले, विकट पर्वतमालाले गर्दा असाध्यै दुर्गम पनि छ। यसरी जतिबेला पनि जियो पोलिटिक्स अथवा डिप स्टेटको नाम जप्दा केही ठूलो कुरा गरेजस्तो पनि लाग्दो हो। तर नेपालको हकमा जियो पोलिटिक्स भन्दा पनि भू–राजनीतिक यथार्थता— जियो रियालिटी महत्वपूर्ण छ, जुन हामी बदल्न सक्दैनौं।
इन्दिरा गान्धीको पालामा भारतमा पनि हरेक कुरामा सिआइएको षड्यन्त्र देख्ने उन्माद चलेको थियो। भारतको कुनै गाउँमा दुई वटा साँढे जुधे वा गुण्डाहरूको ग्याङ फाइट भयो भने पनि त्यसलाई सिआइएको षड्यन्त्र हो भनेर आरोप लगाउने चलन थियो। यस्तो पागलपनाबाट आजित भएर एक दिन समाजवादी पार्टीका नेता मधु दण्डवतेले "मै सिआइएका एजेण्ट हुँ" भन्ने प्लेकार्ड छातीमा भिरेर भारतको संसदमा प्रवेश गरेका थिए।
भूपी शेरचनले आफ्नो प्रख्यात कवितालाई आज लेख्नु परेको भए सायद यसरी लेख्ने थिए होला-
यो कन्स्पिरेसी नै कन्स्पिरेसीको देश हो
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूको जगमा
त्यहाँ फगत कन्स्पिरेसी नै कन्स्पिरेसी थुप्रिएको पाइनेछ।
त्यसैले यो कन्स्पिरेसी नै कन्स्पिरेसीको देश हो
यो कन्स्पिरेसी नै कन्स्पिरेसी माथि उभिएको देश हो
यो कन्स्पिरेसी नै कन्स्पिरेसी माथि उठेको देश हो
यो कन्स्पिरेसी नै कन्स्पिरेसीको देश हो।

भूराजनीतिक भुमरीमा नेपाल: जेन जेडको विद्रोह र सत्ता-सङ्कट

जेन— जी विद्रोह र रुपान्तरण

नेपालमा सत्ता पलट : क्रान्ति वा अर्को भ्रान्ति ?

हुगली मे आग लग जाएगी

झोले: झोला बोक्ने कि विवेकशून्य?

भारतले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन

टेम्केमा किरात गणराज्य टावर

प्रतिक्रिया