गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजामाथि इजरायली हमलाको अनवरत सिलसिला जारी छ । त्यसलाई रोक्ने दिशामा विश्व व्यवस्था पूरै असफल भएको छ । अमेरिका लगायत पश्चिमी शक्ति राष्ट्रको आड भरोसा र समर्थनमा इजरायलले चलाएको नरसंहार, जातीय सफाया र प्यालेष्टिनी भूमिको खण्डहरीकरणको अनवरत सिलसिला सम्भवत: आधुनिक मानव सभ्यताकै सबैभन्दा कालो अध्यायको रुपमा इतिहासमा दर्ज हुनेछ । ‘आत्मरक्षाको अधिकार’ अनि आतंकवादविरुद्धको युद्ध’को नाममा जसरी इजरायलले निर्दोष बालबालिका, महिला, बृद्धबृद्धा अनि स्वास्थ्यकर्मी, राहतकर्मी तथा पत्रकारहरुको अन्धधुन्ध हत्या गरिरहेको छ, त्यसले इतिहासको पानामा हिटलरी दमनचक्रलाई समेत बिर्साउने गरी नयाँ अध्याय लेख्ने निश्चित छ ।
अहिले प्यालेष्टाइनको मूलभूमि गाजाक्षेत्रमा इजरायलले विनाशको ताण्डव मच्चाइरहेको छ । अगस्त महिनिभत्रै मात्र गाजामा त्यो ताण्डव निक्कै घनीभूत भएर गएको छ । गाजाको आकाश दिनहुँ बमको धुँवा र खण्डहरीकरणको प्रकृयामा उठेको धूलोले कालो भएको छ । यतिखेर प्यालेष्टिनी भूमिहरु ‘भग्नावशेषको मैदान’ बन्न थालेको छ । दिनहुँ निर्दोषहरुको रगतले होली खेल्ने काम बढेर गएको छ र एकै दिन ७८ भन्दा बढी प्यालेष्टिनीहरुको हत्या हुनु सामान्य कुरा जस्तै भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले प्रकाशित गरेका रिपोर्टहरुलाई हेर्दा गाजाको दृश्य- घर नभएका बच्चाहरू, भग्न घरमुनि च्यापिएका मानिसहरू, अस्पतालको अँध्यारो कोठामा चिच्याउँदै सुतिरहेका घाइतेहरूले निक्कै भयानक र विभत्स देखिन्छ ।
सामहिक असफलताको प्रतिविम्ब !
गाजाको जसरी खण्डहरीकरणको प्रक्रिया जारी छ र विश्वका ‘आधुनिक’ कहलाउन रुचाउने मानव सभ्यता त्यसका सामु चुपचाप र निरीह देखिएको छ, त्यसले प्रष्ट रुपमा देखाउँछ– यो एउटा सहरको विनाश मात्रै होइन, यो त आधुनिक मानव सभ्यताको नै सामूहिक असफलताको प्रतिविम्ब हो। संयुक्त राष्ट्रका तथ्यांकअनुसार मात्रै पनि २०२३ को अक्टोबरदेखि अहिलेसम्म गाजामा ६० हजारभन्दा बढी मानिस मारिएका छन्। डेढ लाखभन्दा बढी घाइते भएका छन्। वास्तविक तथ्याङ्क यो भन्दा बढी र डरलाग्दो छ भनी सञ्चार माध्यमहरुमा आइरहेका छन् । सबैभन्दा क्रूर सत्य त के हो भने, यो युद्ध अब बम र गोलीभन्दा पनि भोक र रोगको युद्धमा समेत बदलिइसकेको छ। २०२५ को अगस्टमा, अन्तर्राष्ट्रिय निकायहरूले आधिकारिक रूपमा गाजामा "भयानक भोकमरी" को घोषणा गरे। कष्टकर जीवनबीच जीवनयापन गरिरहेका प्यालेष्टाइनी भूमिमा इजरायली बर्बरताको कारण आज भोलि भोकमरीको महामारी चलिरहेको छ । कुपोषणका कारण जन्मँदै गरेकादेखि जेनतेन अहिलेसम्म बाँचेका बालबालिकाहरुको भकाभक मृत्य भइरहेको छ । यो सपाट मृत्यु मात्रै हैन, इजरायलले मञ्चन गरेको सामुहिक हत्याकाण्ड हो । त्यो हत्याकाण्डबाट बचेका अधिकांश बालबालिकाहरूको पेट खाली छ र उनीहरु मृत्यु कुरिरहेका छन् । तीमध्ये कतिपयको त खालीपेटमा अन्न भर्नका लागि राहतको लाइनमा लागेको बेला इजरायली अन्धधुन्ध गोलीबारीको शिकार बनेर दारुण मृत्यु वरण गर्न बाध्य छन्।
प्रभावहीन न्याय र विश्वव्यवस्था
न्यायको नाममा अन्तर्राष्ट्रिय अदालत छ, जेनेभा सन्धि छ, ठूला ठूला घोषणापत्र छन्। तर अन्तर्राष्ट्रिय न्यायालयका आदेशहरू आज त्यही भग्नावशेषजस्तै देखिन्छन् - सुन्दर आदर्शको लिपापोतीमा ढाकिएको प्रभावहीन बुख्याँचा जस्तो । निर्दोष नागरिक त के युद्धबन्दीको समेत हत्या गरिनु हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यताहरुलाई यतिखेर इजरायलले ट्यांक र सैनिक बुटले कुल्चँदै प्यालेष्टाइनमा नरसंहारको बर्बरता मच्चाइरहेको छ तर त्यसलाई रोक्न विश्व व्यवस्था असफल बनेको छ । शक्तिराष्ट्रहरुको उन्मादसामु विश्वव्यवस्था निरीह र प्रभावहीन बनेको छ । न्याय केवल घोषणापत्रमा सीमित भएको छ । त्यसलाई धूलोपीठो पार्दै प्यालेष्टिनी भूमिमा रगतको होली खेल्ने काम इजरायल तथा अमेरिका एवं पश्चिमा राष्ट्रहरुबाट भइरहेको छ । यस समग्र प्रकरणमा प्रष्ट अडान राख्न र आवाज उठाउन नसक्ने अरब राष्ट्रहरुको दोग्ला भूमिकाले तिनीहरुको हात पनि रक्तरञ्जित बनेको छ । अरब राष्ट्रहरुको यो मौनता र दोग्ला भूमिकाका विरुद्धमा कुनै पनि बेला जनविद्रोहको आँधी तुफान उठ्यो भने त्यो कुनै अनौठो कुरा हुने छैन ।
राष्ट्रसंघीय सुरक्षा परिषद्को कथा अझ त्रासदीपूर्ण छ। युद्धविरामको प्रस्ताव पारित गर्नैपर्ने बेला शक्तिशाली राष्ट्रहरूले भिटोको ढाल उठाउँदा त्यो पूरै निरीह साबित हुनंछ। एक-दुईपटक पारित भएका प्रस्ताव पनि राजनीतिक व्यापारजस्तै देखिए। यसरी गाजाको पीडा केवल स्थानीय समस्या रहेन; यो सम्पूर्ण अन्तर्राष्ट्रिय संरचनाको खोक्रोपनको प्रमाण बन्यो। यसले राष्ट्रसंघको औचित्य र उपदेयता अब सकिएको देखाएको छ ।
मानवीय सहायता अझै कतै अड्किएको छ। भयानक युद्धका बीच पनि कुनै थुनछेक गर्न नपाइने अस्पतालतिर जाने एम्बुलेन्सलाई अनुमति दिने निर्णय लिन पनि राजनीतिक वार्ता चाहिन्छ। खाद्यान्न ढुवानीका लागि 'ग्रीन जोन' माग्नु परिरहेको छ। यिनै साना अवरोधहरूले भोकमरीलाई युद्धको अर्को हतियार बनाइदिएका छन्। अस्पतालको रक्षा, नागरिकको सुरक्षा, बालबालिकाको हक जस्ता मानवीय सिद्धान्तहरू अब एकादेशको कथा बनेको छ ।
भोकमरीको हतियार
यो युद्ध बम र गोलीले मात्र लडिएको छैन; यो सञ्चारको युद्ध पनि बनेको छ। प्रत्येक शवको गणना विवादित छ। भोकमरीलाई "अतिरञ्जना" भन्न खोज्ने आवाजहरू चर्को बन्दै जाँदा वास्तविक तथ्यहरू दुस्प्रचारको भिडमा हराइरहेका छन्। युद्धको नैतिक सीमारेखा हराउँदै जाँदा वास्तविक परिघटना नै एक प्रकारको राजनीतिक खेलको गोटी बनेको छ ।
गाजाको यो कथा एक खतरनाक दृष्टान्त हो। यदि भोकमरीलाई हतियार बनाउन मिल्छ भन्ने सन्देश संसारभर फैलियो भने, भोलिका युद्धहरू अझै क्रूर हुनेछन्। सघन जनसंख्या भएको सहरमा गाजामा जस्ता कानुनी सिद्धान्तलाई उपहास बनाउने अभ्यास गाजामा जस्तै सजिलै र निर्वाध लागू गरिन थालियो भने जिनेभा सन्धिलगायत न्याया र शान्तिका लागि कुनै बेला विश्व मानव सभ्यताले कोरेका समतामूलक न्याय व्यवस्था इतिहासको एउटा सुन्दर तर निष्क्रिय सम्झना मात्रै बन्ने निश्चित छ ।
भत्किँदो भरोसा
अन्तर्राष्ट्रिय संस्थाहरूमाथिको भरोसा पनि भत्किँदै छ। अदालतहरुमा बहस चल्छन्, परिषदहरूले बहस गर्छन्, एजेन्सीहरूले चेतावनी दिन्छन् – तर त्यसको कुनै अर्थ हुँदैन । प्यालेष्टिनी भूमिमा काखेबालकदेखि निर्दोष नागरिकहरुको दिनहुँ हत्य भइरहेको छ, युद्ध अपराधलाई माथ दिने इजरायली नाकाबन्दीका कारण त्यस क्षेत्रका मानिसहरु भयानक भोकमरी र पिउने पानीको संकटसँग जुधिरहेका छन् । अनाहकमा कतिखेर आफ्नो थाप्लोमा बम गोला बारुद बर्सने हो, कति खेर गोलीले टाउको छेड्ने हो? कुनै टुङ्गो छैन । अझ भयानक कुरा त, त्यसको अन्त्य कहिले र कसरी हुने हो? कुनै भर छैन । मानवतालाई कलङ्कित तुल्याउँदै इजरायलले जारी राखेको नरसंहारलाई विश्वका ‘सभ्य, विकसित र आधुनिक’ कहलाउन रुचाउने अमेरिका लगायत पश्चिमा राष्ट्रहरुको समर्थन र त्यसलाई तुरुन्तै रोक्नेतर्फको घोर अरुचि– यो नै आधुनिक मानव सभ्यताको सबैभन्दा ठूलो कलङ्क हो।
गाजाले दिएको सन्देश स्पष्ट छ – अहिले शक्ति राष्ट्रको सामु जसरी विश्व संस्था तथा न्याय व्यवस्था निरीह र मौन देखिएको छ, भविष्यमा यस्ता दृश्य अरू सहरको आकाशमा पनि देखा पर्नेछ। अहिले हिटलरको फासीवादलाई दोहोर्याउने गरी प्यालेष्टिनीहरुविरुद्ध भइरहेको मत्स्य न्याय, युद्धअपराध र नरसंहारको जरो बेलैमा काटिएन भने त्यसले फैलिएर समग्र विश्वलाई ढिलोचाडो लपेट्दै लैजाने निश्चित छ ।

इजरायली हवाई आक्रमणमा यमनका हुथी प्रधानमन्त्री मारिए

अमेरिका–रूस शिखर बैठक

प्राचीन मन्दिर वरिपरि क्याम्बोडिया र थाईल्याण्डबीचको युद्ध

थाइल्याण्ड र कम्बोडियाबीच सीमायुद्ध

ट्रम्पको धम्की र लुलाको संकल्प: ब्राजिलको सम्मानको लडाइँ

ट्रम्पको युक्रेन नीति 'यू-टर्न' हो कि रणनीतिक छायाँ युद्ध?

१७औँ ब्रिक्स शिखर सम्मेलनमा बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनप्रति प्रतिबद्धता

प्रतिक्रिया