रूसको महाभूकम्पः समुद्रको गर्भबाट उठेको चेतावनी

हालसालै रूसको पूर्वी किनारमा अवस्थित क्याम्च्याट्का प्रायद्वीप नजिकै समुद्रको गर्भबाट आएको एक शक्तिशाली भूकम्पले सम्पूर्ण प्रशान्त क्षेत्रलाई एकछिनका लागि अस्तव्यस्त बनायो। म्याग्निच्युड ८.८ को यो भूकम्प पछिल्लो समयको सबैभन्दा शक्तिशाली महाभूकम्पमध्ये एक हो।
यस्तो स्तरको भूकम्पले सुनामी ल्याउने भएकोले यसले त्यस वरिपरिका समुद्री तटहरु भएका देशहरूलाई तत्काल सर्तक बनायो। उल्लेख्य कुरा के रह्यो भने, यति ठूलो महाभूकम्प आउँदा पनि त्यसले आशंका गरे जस्तो भयानक विनाश भने गर्न सकेन।
यो के कति कारणले गर्दा सम्भव भयो वा के कति कारणले गर्दा सम्भावित विपत्तिलाई मानव समाजले नियन्त्रणमा लिन सक्यो? यो निक्कै ध्यानयोग्य कुरा हो ।
घटना पृष्ठभूमि
२०२५ जुलाई ३० तारिख, युरोपेली समय अनुसार बिहान करिब २:५३ बजे, रुसको क्याम्च्याट्का प्रायद्वीप नजिकै समुद्रभित्र जमिनको केवल २० किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प आयो। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार यसको म्याग्निच्युड ८.८ थियो । यो 'मेगाथ्रस्ट' प्रकारको महाभूकम्प थियो ।
'मेगाथ्रस्ट' भूकम्प भन्नाले त्यस्ता भूकम्पहरू जनाइन्छ, जसमा पृथ्वीका दुई भूगर्भीय प्लेट एक-अर्कामाथि चढ्ने क्रममा अचानक ठूलो ऊर्जा मुक्त हुन्छ। यस्तो प्लेट सर्ने क्रियालाई 'सबडक्शन' भनेर चिनिन्छ। पृथ्वीको इतिहासमै सबभन्दा विनाशकारी भूकम्पहरू यही प्रकृतिका रहने गरेकोले यस महाभूकम्पको घटनालाई हल्कासँग लिन सकिँदैन।
सुनामीको त्रास र त्यसको प्रभाव
यो महाभूकम्पले तत्काल गर्ने भौतिक तथा मानवीय क्षति त छँदैछ, त्यसबाहेक यस किसिमका भूकम्पको प्रभाव क्षेत्रका समुद्र महासागरहरुमा भयानक सुनामी पनि ल्याउने गर्छ । त्यसैले यो महाभूकम्पको लगत्तै प्रशान्त महासागरभर सुनामीको चेतावनी जारी गरियो। जापान, हवाई, चिली, अलास्का, क्यालिफोर्निया लगायत प्रशान्त क्षेत्रका अन्य देशहरूमा विशेष सतर्कता अपनाइयो ।
भूकम्पको केन्द्रबिन्दुको सबैभन्दा नजिक रहेको रूसी शहर सेभेरो-कुरिल्स्कमा तीनदेखि पाँच मिटर उचाइसम्मका छालहरू उठे र तटीय संरचनामा क्षति पुऱ्याए। तर अन्य धेरै स्थानहरूमा सुनामीको प्रभाव सोचेभन्दा निक्कै कम देखियो। जापान, हवाई र अमेरिकाको पश्चिमी तटमा सुनामीको छाल एकदेखि डेढ मिटरको हाराहारीमा मात्र सीमित रह्यो। त्यसैले सम्भाव्य भयानक सुनामीको आशंकामा लाखौं मानिसलाई स्थानान्तरण गरिएको भए पनि भौतिक र मानवीय क्षति न्यूनतम भयो ।
अपेक्षाकृत कम क्षतिका कारणहरु
प्राकृतिक रूपमा यस घटनाको विनाशकारी शक्ति प्रबल भए पनि यसले सीमित क्षति मात्रै पुऱ्यायो। यसको पछाडि केही महत्वपूर्ण कारणहरू थिए, जसलाई वैज्ञानिकहरूले औंल्याएका छन्।
पहिलो कारण के हो भने, भूकम्पको केन्द्र मानवीय बस्तीभन्दा निकै टाढा समुद्रमा पर्न गएको थियो। क्याम्च्याट्का क्षेत्र स्वभावतः कम जनघनत्व भएको भूभाग हो, जसले मानव क्षतिको सम्भावना आफैंमा न्यून गरायो।
दोस्रो कुरा, भूकम्पको कम्पन मुख्यतः क्षैतिज रूपमा (horizontally) फैलिएको थियो। थाहा भएकै कुरा हो जब पृथ्वीमा भूकम्प आउँछ, त्यसबेला भूकम्पीय ऊर्जा विभिन्न दिशामा फैलिन्छ । केही ऊर्जा जमिनको सतहतर्फ (vertically) जान्छ, र केही ऊर्जा जमिनको समतल सतहसँगै (horizontally) सर्छ।
सुनामी उत्पन्न हुन मुख्यतः समुद्रको पानी माथि-तल सारिनुपर्छ, अर्थात् भूकम्पको कम्पन/बलले समुद्रको सतहमा "ठाडो" (vertical) रूपमा धेरै ठूलो विस्थापन गराउनु आवश्यक हुन्छ। किनभने समुद्रको तल्लो भाग अचानक माथि उठेमा वा तल धस्सिएमा त्यो पानीको ठूलो भाग उचालिन्छ, जसले शक्तिशाली छालहरू अर्थात् सुनामी उत्पन्न गर्छ।
तर भूकम्पको ऊर्जा धेरैजसो "क्षैतिज" (horizontal) रूपमा अर्थात् प्लेटहरू एक-अर्का विरुद्ध चिप्लिँदै मात्र सर्छन् भने समुद्रको सतहमा ठुलो उचाल वा धसाइ नहुने भएकाले पानी खासै माथि-तल चल्दैन। यसले गर्दा सुनामी उत्पन्न हुने सम्भावना निकै कम हुन्छ, या भए पनि छालहरू साना र क्षणिक हुन्छन्।
यो महाभूकम्पमा पनि क्षैतिज रुपमा उर्जा फैलिएकोले समुद्रको सतहमा अत्यधिक विस्थापन नहुँदा सुनामीको शक्ति स्वाभाविक रूपमा कम भयो । सुनामी सिर्जना हुन आवश्यक पर्ने समुद्रको पानीमा ठुलो उचाइको उथलपुथल ल्याउने गति यहाँ सीमित देखियो।
तेस्रो, र सबैभन्दा निर्णायक पक्ष, प्रशान्त सुनामी चेतावनी केन्द्र (PTWC), जापानको मौसम विभाग र अन्य सम्बन्धित संस्थाहरूले तुरुन्तै चेतावनी जारी गरे। समयमै सम्प्रेषण भएका सन्देशहरूले मानिसहरूलाई सुरक्षित स्थानतर्फ सार्न सघाए। २०११ को जापान सुनामीबाट सिकिएको पाठले आपतकालीन तयारी प्रणालीमा धेरै सुधार ल्याएको पनि प्रमाणित भयो।
ऐतिहासिक सन्दर्भमा हेर्दा
क्याम्च्याट्का र कुरिल द्वीपसमूह विगतमै गम्भीर मेगाथ्रस्ट भूकम्पहरूको केन्द्र रहेका छन्। सन् १९५२ मा सेभेरो-कुरिल्स्क नजिकै आएको म्याग्निच्युड ९.० को भूकम्पले १५ मिटरभन्दा अग्लो सुनामी ल्याएको थियो, जसमा २,३०० जनाको मृत्यु भएको थियो। त्यसबाहेक, सन् १८४१ मा क्याम्च्याट्का क्षेत्रमा भएको अर्को शक्तिशाली भूकम्पले पनि १५ मिटर उचाइको छालासहित तटीय भागहरू तहसनहस पारेको थियो।
यी ऐतिहासिक दृष्टान्तहरूले देखाउँछ कि हालको घटना अपवाद होइन, बरु उक्त क्षेत्रको भूगर्भीय स्वभावकै निरन्तरता हो।
यो भूकम्पलाई केवल 'भाग्यले बचायो' भनेर बुझ्नु एकतर्फी मूल्याङ्कन हुन्छ। यसको सार्थक व्याख्या गर्दा, यसलाई एउटा वैज्ञानिक चेतावनीको रूपमा लिनु उपयुक्त हुन्छ। यो पृथ्वीको प्लेटहरू अझै चलायमान छन्, र त्यसले जुनसुकै बेला शक्तिशाली कम्पन र सुनामी ल्याउन सक्छ भन्ने कुरा हामीलाई फेरि स्मरण गराएको छ ।
यस्ता प्राकृतिक घटनाले भौतिक क्षति गर्ने वा नगर्ने भन्ने कुरा केवल भूकम्पको शक्ति र स्थानमात्र होइन, मानव समाजको तयारी, चेतना, संरचना र पूर्वाधारको क्षमतामाथि पनि निर्भर हुन्छ।
नेपालका लागि सन्देश
नेपाल स्वयं एक अत्यन्त संवेदनशील भूकम्पीय क्षेत्र हो। हामीले पनि यस्ता अन्तर्राष्ट्रिय घटनाबाट शिक्षा लिनुपर्ने आवश्यकता छ। भूकम्पीय चेतावनी प्रणालीमा सुधार ल्याउनु, नागरिकस्तरमा चेतना अभिवृद्धि गर्नु, र भूकम्प प्रतिरोधी पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो।सन् २०१५ को गोरखा भूकम्पले हामीलाई सिकाएको पाठ अझै अधुरो छ। अहिले रूस लगायतका देशहरुले देखाएको तयारी र सर्तकता हाम्रो लागि दिशानिर्देशक बन्न सक्छ।

पृथ्वीमा ताजा पानीको भण्डार अभूतपूर्व रूपमा घट्दैछ

अव दाल भात पकाउन पनि आर्टिफिसियल इन्टेलिजेन्स (AI) !

सुप्राग्लेसियल लेक विस्फोट र विनाशको ताण्डव

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

गुरुत्वाकर्षणको पुनराविष्कार : आइन्स्टाइनको सापेक्षतावाद र ब्रह्माण्डको नयाँ व्याख्…

८ लाख वर्षअघिको अस्तित्व संकट: जब मानव जाति लोप हुने अवस्था नजिक पुगेको थियो…

प्रतिक्रिया