के स्वस्थ रहनको लागि १० हजार पाइला हिँड्नु जरुरी छ ?

आजको डिजिटल युगमा हामीमध्ये धेरैले स्मार्टफोन, स्मार्टवाच वा फिटनेस ट्र्याकरमार्फत हरेक दिनको पाइला गन्ने बानी बसालेका छौँ। ती उपकरणहरूले हामीलाई एउटा विशिष्ट लक्ष्य दिन्छन्–१० हजार पाइला दिनहुँ हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भन्ने दवाबको साथ। यस्तो लाग्छ, मानौँ दैनिक जीवनमा ‘१० हजार पाइला’ पूरा गर्न नसकिएसम्म स्वास्थ्यको लक्ष्य अपूरो हुन्छ।

वास्तवमा यो १० हजार पाइला भन्ने संकल्प आखिर कहाँबाट आयो? के यो स्वास्थ्यको लागि निर्धारित कुनै वैज्ञानिक मापन हो? वा यो बजारको कल्पनामा आधारित एउटा ब्रान्डिङ रणनीति मात्रै?

१० हजार पाइला भन्ने अवधारणाको उत्पत्ति

धेरैलाई लाग्न सक्छ कि १० हजार पाइला हिँड्नुको सल्लाह कुनै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था वा वैज्ञानिक अनुसन्धाताहरूबाट आएको हो। तर  यो कुरा सत्य होइन । सत्य यसको ठीक विपरीत छ।

सन् १९६५ मा जापानको ‘यामासा’ नामक कम्पनीले ‘मानपो केई’ (Manpo-Kei) नामक एउटा पाइला मापन गर्ने यन्त्र निर्माण गर्‍यो। जापानी भाषामा मानपो को अर्थ हो–१० हजार पाइला। टोकियो ओलम्पिकको लहरसँगै स्वास्थ्यप्रतिको जनचेतना बढिरहेको थियो। यही अवसरलाई उपयोग गर्दै कम्पनीले १० हजार पाइला हिँडाइलाई ‘स्वस्थ जीवन’ को प्रतीकका रूपमा प्रचार गर्‍यो।

तर त्यसरी १० हजार पाइला भन्ने संख्या निर्धारित गरिनु कुनै वैज्ञानिक प्रमाणमा आधारित थिएन। यो संख्या शब्द-संगीत र ब्रान्डिङको हिसाबले आकर्षक थियो, जसले उक्त कम्पनीले निर्माण गरेको यन्त्रको बिक्री बढाउन सहयोग पुर्‍यायो।

त्यसैले, जुन संख्यालाई आज हामी स्वास्थ्यको वैज्ञानिक नापजाँच मानिरहेका छौँ, त्यो वास्तवमा एउटा व्यावसायिक कल्पनाको उपज थियो।

वैज्ञानिक तथ्यको कसीमा १० हजार पाइला

यसबारेमा पछिल्ला केही वर्षमा गरिएका गहन अनुसन्धानहरूले चाखलाग्दो परिणाम देखाएका छन्। उदाहरणस्वरूप, सन् २०१९ मा Harvard Medical School का अनुसन्धानकर्ताहरूले JAMA Internal Medicine मा एक उल्लेखनीय अध्ययन प्रकाशित गरे, जसमा १६ हजारभन्दा बढी वृद्ध महिलाहरूलाई समेटिएको थियो।

उक्त अध्ययन अनुसार, दिनमा ४४०० पाइला मात्रै हिँड्ने महिलाहरूको मृत्युदर, २७०० पाइला हिँड्नेहरूको तुलनामा निकै कम देखियो। झन् रोचक कुरा त के भने, पाइला संख्या ७५०० नाघेपछि स्वास्थ्यमा पाइने लाभ स्थिर हुन थाल्यो । यसले के कुराको प्रष्टै संकेत गर्यो भने –स्वास्थ्यका लागि पाइलाको संख्या बढाउनु राम्रो हो, तर १० हजार पुग्नैपर्छ भन्ने कुनै जरुरी छैन ।

ख्याल गर्नुपर्ने कुरा के हो भने  हरेक व्यक्तिको आवश्यक शारीरिक गतिविधि उसको उमेर, तौल, स्वास्थ्य अवस्था र गतिशील जीवनशैलीमा निर्भर हुन्छ। कुनै वृद्ध व्यक्तिका लागि ५ हजार पाइला नै उपयोगी ठहरिन सक्छ भने, कुनै खेलाडीका लागि १२ हजार पनि सामान्य हुन सक्छ। त्यसैले यो एकल संख्यालाई सबैका लागि बाध्यकारी मान्नु गलत हुनेछ।

१० हजार पाइलासम्बन्धी केही भ्रमहरु

१० हजार पाइला भन्ने सोचाइसँगै केही भ्रामक धारणाहरू पनि फैलिएका छन्।

सबैभन्दा पहिलो भ्रम हो–यदि तिमीले १० हजार पाइला हिँडेनौ भने तिमी स्वस्थ छैनौ भन्ने कुरा साबित हुन सक्छ भन्ने दवाब ।

यस प्रकारको सोचाइले मानिसलाई प्रेरणा दिनुको सट्टा आत्मग्लानीको अनुभव गराउँछ। यसले मानसिक तनाव सिर्जना गर्न सक्छ, जसले दीर्घकालीन रूपमा स्वास्थ्य सुधारभन्दा पनि मानसिक थकान र असफलताको भाव पैदा गर्छ।

त्यस्तै, दोस्रो भ्रम हो–जति धेरै पाइला, उति बढी फाइदा। यो पनि  वैज्ञानिक दृष्टिले सही कुरा होइन । व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार यसले गर्ने असर फरक हुन सक्छ । अत्यधिक हिँडाइले कतिपय व्यक्तिमा थकान, जोर्नीमा चोट, वा अन्य तनावसम्बन्धी समस्या ल्याउन सक्छ। वृद्ध व्यक्ति वा रोगीहरूका लागि यस्तो ‘अत्यास’पूर्ण हिँडाइ उपयुक्त हुँदैन। त्यसैले, १० हजार पाइलाको भ्रममा पर्नुभन्दा पहिले ख्याल गर्नै पर्ने कुरा के हो भने हामीलाई शरीर स्वस्थ राख्नको लागि आवश्यक शारीरिक गतिविधिहरु चाहिएको हो, कुनै निश्चित लक्ष्य पूरा गर्नै पर्छ भन्ने खालको ‘प्रतिस्पर्धा’ होइन।

हिँडाइको वैज्ञानिक लाभ

त्यसो त १० हजार पाइलाको अवधारणा आफैंमा खराब कुरा भने होइन । दैनिक हिँडाइ, खासगरी नियमित र मध्यम गतिमा गरिएको पैदलयात्रा, स्वास्थ्यका लागि एक अत्यन्त सरल र प्रभावकारी शारीरिक अभ्यास हो।

यसले मुटुको कार्यशक्ति सुधार गर्न सक्छ, रक्तचाप नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ, मधुमेहको जोखिम कम गर्छ, र शरीरमा इन्सुलिनको प्रभावकारिता बढाउँछ।

त्यसैगरी, मानसिक स्वास्थ्यका दृष्टिले पनि हिँडाइ निकै लाभदायक हुन्छ। प्राकृतिक वातावरणमा गरिएको छोटो पैदल यात्राले पनि तनाव घटाउने, चिन्ता कम गर्ने, र मनोबल वृद्धि गराउने गर्छ । वास्तवमा यो एक किसिमको ‘प्राकृतिक औषधि’ हो । यसलाई बिना साइड इफेक्ट तथा महंगो खर्च नै  नियमित रुपमा सेवन गर्न सकिन्छ ।

संख्या होइन, निरन्तर सक्रियता हो असली मन्त्र

त्यसैले बुझ्नुपर्ने कुरा के हो भने १० हजार पाइला भनेको स्वास्थ्यको ‘सुनिश्चित नाप’ होइन, एउटा औसत संकेत मात्र हो। तपाईं दैनिक ६ हजार पाइला हिँड्नुहुन्छ तर नियमित रूपमा, चाहिने गतिमा, र शरीरका संकेत सुनेर अगाडि बढ्नुहुन्छ भने–त्यो तपाईँका लागि १० हजारभन्दा पनि बढी अर्थपूर्ण हुन्छ।

स्वास्थ्य भनेको ‘गन्ती गर्ने खेल’ होइन, शरीरसँगको सहकार्य हो। हाम्रो लक्ष्य संख्या पछ्याउने होइन, सक्रिय जीवनशैली बनाउने हुनुपर्छ। यसकारण, जब तपाईं अर्कोपटक आफ्नो स्टेप काउन्टर हेर्नुहुन्छ, त्यो १० हजारको संख्या पुग्यो कि पुगेन भनेर बढी तनाव लिइबस्नु पर्दैन । सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंको जीवन स्वस्थ र सक्रिय छ, त्यसैले तपाईं दिनहुँ निश्चित पाइलाहरु हिँडिरहनुभएको छ । यसले तपाईंको स्वास्थ्यलाई निश्चितै रुपमा फाइदा पुग्छ ।