नेपाली जनआन्दोलन एक समीक्षा

सात सालमा जुन क्रान्तिकारी विस्फोट भयो त्यसको आरम्भ राणाशाही, अङ्ग्रेजी साम्राज्यवाद तथा भारतीय पूँजीले संयुक्त रूपमा गरेको नेपाली समाजको शोषणबाट उत्पन्न भएको सामाजिक र आर्थिक स्थितिबाट भएको हो । राणाशाहीको राजनैतिक व्यवस्था राणापरिवार त्यसमा पनि प्रधानमन्त्रीको परिवारले गर्ने लूट र शोषणलाई कानूनी मान्यता दिने र अङ्ग्रेजी साम्राज्यवादको स्वार्थ रक्षागर्ने थियो, आर्थिक नीति सामन्ती शोषणको अतिरिक्त विदेशी पूँजी विशेष रूपले भारतीय पूँजीलाई राष्ट्रिय स्वार्थको विपरित दिशामा हुल्ने थियो र सांस्कृतिक नीति भारतीय साम्प्रदायिक हिन्दू सँस्कृति र धर्म अनुकूल नेपाललाई पनि हिन्दूकरण गर्ने थियो। एकातिर यस्तो थियो भने अर्कोतिर त्यस बेलासम्म नेपालमा आधुनिक पूँजीवादी वर्गका प्रतिनिधिका रूपमा पूँजीवादी शिक्षा प्राप्त गरेका शिक्षित समुदाय पनि पैदा हुन थालेका थिए । त्यसको साथै राणाशाहीको उत्तरार्ध कालमा आधुनिक पूँजीपतिवर्गको साथै सर्वहारा वर्ग पनि नेपालमा पैदा भए । यसले गर्दा नेपालको मध्ययुगीन सामन्ती समाज क्रमिक रूपमा अर्धसामन्ती समाजको स्थितिमा पुग्नाले शासक राणा र अङ्ग्रेजी साम्राज्यवादको स्वार्थ जुटेर एक हुन पुगेको थियो । त्यसै दौरानमा भारतीय एकाधिकार पूँजीको पनि प्रवेश हुन थालेको थियो ।

राणाशाही विरोधी सङ्घर्ष शुरुमा दुई राजपरिवार अर्थात् श्री ५ र श्री ३ को बीचको सङ्घर्षको रूपमा देखापर्न आयो । पछि क्रमिक रूपबाट तल ओर्लदा ओर्लदा मजदुर किसानबीचमा पुग्न गयो ।

नेपालमा राणाशाहीका यस्ता राजनैतिक, आर्थिक र सांस्कृतिक व्यवस्थाको विरुद्ध देशका विभिन्न वर्गहरू यहाँसम्म कि स्वयम् सामन्तवर्गको एउटा ठूलो हिस्सा पनि आ-आफ्नो स्वार्थको निम्ति राणाशाही विरोधी आन्दोलनमा सरिक हुन थाले । नेपालको सामन्तवर्ग क्रमिक रूपमा शाही परिवारका व्यक्तिहरूको नेतृत्वमा सङ्गठित भई राणाहरूलाई अपदस्थ गरी आफू शक्तिमा जान चाहन्थे । नेपालको पूँजीवादी वर्ग राणाशाहीको विरुद्ध राजाको वैधानिक नायकत्व स्वीकार गर्दै प्रजातान्त्रिक व्यवस्थाको निम्ति सङ्घर्ष गर्दथ्यो । नेपालका मजदुर वर्ग किसान मजदुर एकतामा जोड दिँदै जनवादी गणतन्त्र स्थापनाको निम्ति प्रजातान्त्रिक आन्दोलनमा सरिक हुँदै आएका थिए । सबैको उद्देश्य भिन्ना भिन्नै हुँदा हुँदै पनि अङ्ग्रेजी छत्रछायाँमा हुर्किएको राणाशाहीलाई शक्तिबाट अपदस्थ गर्ने कुरा सबैको निम्ति मिलनको बिन्दु हुन गएको थियो ।

राणाशाही विरोधी सङ्घर्ष शुरुमा दुई राजपरिवार अर्थात् श्री ५ र श्री ३ को बीचको सङ्घर्षको रूपमा देखापर्न आयो । पछि क्रमिक रूपबाट तल ओर्लदा ओर्लदा मजदुर किसानबीचमा पुग्न गयो । शुरुमा यो सङ्घर्ष दरबारबीचको षड्यन्त्र थियो भने पछि गई क्रमिक रुपरूले देशव्यापी हुँदैगयो । नेपाली जनआन्दोलनप्रति यस्तो दृष्टिकोणको अभावमा नेपाली जनआन्दोलनको सही मूल्यांकन हुन सक्दैन । राणाशाहीलाई अङ्ग्रेजी साम्राज्यवादको बलियो ओत प्राप्त हुँदा कोतपर्वपछि राणाको विरुद्ध शाही परिवारका व्यक्तिहरूले रचेका षड्यन्त्रहरू असफल भए । आन्दोलन जनताको बीचमा पुग्न थालेपछि शाही परिवारका व्यक्तिहरूले पनि विभिन्न किसिमले जनआन्दोलनमा सरिक भई आफ्नो गुमेको शक्ति प्राप्त गर्ने चेष्टा गर्न थाले ।

यस जनआन्दोलनलाई हामीहरू मोटा मोटी रूपले दुई चरणमा विभक्त गर्न सक्दछौं । एक प्रथम विश्वयुद्धभन्दा पहिले हाम्रो जनआन्दोलनको प्रधान स्वरूप राजनैतिक नभई धार्मिक थियो भने प्रथम विश्वयुद्धपछि यसको स्वरूप क्रमिक रूपले सामाजिक तथा राजनैतिक हुन गयो ।

नेपालको इतिहासमा लखन थापाको 'उत्पात' को चर्चा हुन्छ । त्यसलाई इतिहासकारहरूले 'हास्यास्पद विद्रोह' को संज्ञा दिएका छन् । लखन थापाको यो 'उत्पात' राणाशाही स्थापना भएको ३० वर्षपछि अर्थात् सन् १८७६ अप्रिल महिनामा जंगबहादुर मर्नुभन्दा एकवर्ष पहिले भएको हो । यो 'उत्पात' गोरखाका लखन थापा नामक एक साधारण व्यक्तिले आफूलाई दैवी अधिकार प्राप्त भएको घोषणा गरी राणाशाहीको संस्थापक जंगबहादुरको शक्तिलाई हाँक दिएर शुरु गरेका थिए । यसमा शाही परिवार तथा कुनै पनि भाइ भारदारी सम्बन्ध नभएको हुनाले यसलाई हामीले हास्यास्पदको रूपमा नलिई दैवी शक्तिको ओतमा राणाशाहीको विरुद्ध जनताले दिएको एक चुनौतिको रूपमा लिनुपर्दछ । नयाँ सिद्धान्तको अभावमा जनताले पुरानै सिद्धान्तको आधारमा शोषक वर्गलाई हाँक दिएका घटनाहरूको उल्लेख विभिन्न देशको इतिहासमा पनि पाइन्छ । लखन थापाको ‘उत्पात' लाई यसै श्रेणीमा राख्न सकिन्छ ।

भानुभक्त संस्कृतका पण्डित भए पनि त्यसबेलाको पण्डित समाजले हेला गरिएको नेपाली भाषामा रामायण लेखी गुरु पुरोहित वर्गको धार्मिक एकाधिपत्यप्रति प्रहार गरे । माधवराज शास्त्रीले गरेको सत्यार्थ प्रकाशको प्रचारले धर्मको नाममा भोग विलासी जीवन व्यतितगर्ने गुरु पुरोहित वर्गको भण्डाफोर गर्ने काम गर्‍यो ।

त्यसपछि नेपाली जनआन्दोलनको इतिहासमा भानुभक्तको रामायण र माधवराज शास्त्रीको सत्यार्थ प्रकाशको प्रकाशन र प्रचार विशेष रूपले उल्लेखनीय छ । शुरुमा एक कुरा स्पष्ट गर्न जरुरी छ । त्यो हो युरोपमा रोमन क्याथोलिक धर्मको विरोधमा प्रोटेस्टेन्ट धर्मको प्रचार र प्रकाशनले पोपको धार्मिक ठेक्कालाई प्रहार गरी राष्ट्रियताको भावना उठाउनमा बल पुऱ्यायो । यस भावनाले युरोपीय राष्ट्रहरूमा स्वतन्त्र चिन्तनको जगमा मानवतावादी सिद्धान्तको विकास गरी पूँजीवादलाई बल पुऱ्याएको थियो । भानुभक्त संस्कृतका पण्डित भए पनि त्यसबेलाको पण्डित समाजले हेला गरिएको नेपाली भाषामा रामायण लेखी गुरु पुरोहित वर्गको धार्मिक एकाधिपत्यप्रति प्रहार गरे । माधवराज शास्त्रीले गरेको सत्यार्थ प्रकाशको प्रचारले धर्मको नाममा भोग विलासी जीवन व्यतितगर्ने गुरु पुरोहित वर्गको भण्डाफोर गर्ने काम गर्‍यो । यसको परिणामस्वरूप नेपालमा स्वतन्त्र चिन्तन गर्ने मानवतावादी विचारधाराले विकसित हुने मौका पायो । यो भावना लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' शीर्षक कवितामा स्पष्ट रूपमा फुलेको पाइन्छ । यस सम्बन्धमा भानुभक्तको रामायण पहिलो चरण थियो भने सत्यार्थ प्रकाशको प्रचार दोस्रो चरण ।

नेपालमा राणाशाहीको उदयपछि पुरोहित वर्गले आफ्नो वर्गद्वारा गरिने शोषणलाई न्यायसङ्गत र व्यापक बनाउन परलोकको डर देखाई कर्मकाण्डको जाल फैलाउन थालेका थिए । यस अनुसार मरेपछि आफ्नो पापमोचन गरी स्वर्गमा जानको निम्ति एक माध्यमको आवश्यकता थियो । त्यस माध्यमको रूपमा स्वयम् पुरोहित वर्ग देखापर्न आए । धर्ममा आफ्नो एकाधिपत्य कायम गर्न यस वर्गले धार्मिक पुस्तक पढ्ने अधिकारबाट जनतालाई बञ्चित गरेको थियो । यो हक केवल गुरु पुरोहित वर्गलाई मात्र थियो । भानुभक्तको रामायणले ईश्वर र सर्वसाधारण जनताको बीचमा माध्यमको रूपमा खडा भएको गुरु पुरोहित वर्गको स्वार्थमा कुठाराघात गयो । यस मानेमा नेपाली जनआन्दोलनमा यसलाई रामायणको देन मान्नुपर्छ ।

भानुभक्त रामायण गुरु पुरोहित वर्गको धार्मिक एकाधिपत्यको विरुद्ध देखिए तापनि राणाशासकहरूले यसलाई पचाउन सके र यसको प्रचारमा कुनै बाधा दिएनन् । कारण भानुभक्तको रामायणले रामलाई ईश्वरको अवतारको रूपमा पेश गरेको छ । यसले गर्दा उनीहरूलाई रामको अवतारको रूपमा आफूलाई पेशगर्न सजिलो भयो ।

भानुभक्तको रामायणलाई पचाउन सक्ने राणाशासकले सत्यार्थ प्रकाश पचाउन सकेन । यसको एकमात्र कारण रामायणले राजतन्त्रको सम्बन्धमा दैवी अधिकारमा अवतारवादी सिद्धान्तको प्रतिपादन गर्दछ भने सत्यार्थ प्रकाशले त्यसको खण्डन गर्दछ । त्यसको साथै यो सम्पूर्ण हिन्दू कर्मकाण्डको नै विरुद्ध भएको हुँदा सत्यार्थ प्रकाश राणाशाही र गुरु पुरोहित दुवैको स्वार्थको विपरित हुन गयो । त्यसको अतिरिक्त यो सत्यार्थ प्रकाशको आन्दोलनका जन्मदाता दयानन्द सरस्वतीले भारतमा अङ्ग्रेजी साम्राज्यवादको मुसलमान सम्प्रदाय पक्षीय नीतिको विरुद्ध राजनैतिक आन्दोलन गरेको हुँदा राणाशाहीको निम्ति सत्यार्थ प्रकाशको प्रचार सहिसक्नु थिएन । अतः काठमाडौमा माधवराज शास्त्रीले सन् १८९६ मा यसको प्रचारको निम्ति आर्य समाजको प्रधान कार्यालय खोल्दा उनी र उनका समर्थकहरूको विरुद्ध राजकाजको अभियोग लगाइयो । डण्ड कुण्डको रूपमा जेल नेल र जरिमानाको अतिरिक्त पशुपतिनाथलाई उनीहरूले ढुंगाको मूर्ति भनेका हुनाले रोजै पशुपतिनाथको दर्शन गर्ने दण्ड दिइएको थियो ।

रामायणले राजतन्त्रको सम्बन्धमा दैवी अधिकारमा अवतारवादी सिद्धान्तको प्रतिपादन गर्दछ भने सत्यार्थ प्रकाशले त्यसको खण्डन गर्दछ । त्यसको साथै यो सम्पूर्ण हिन्दू कर्मकाण्डको नै विरुद्ध भएको हुँदा सत्यार्थ प्रकाश राणाशाही र गुरु पुरोहित दुवैको स्वार्थको विपरित हुन गयो ।

नेपालमा देखापर्न आएको यो आर्यसमाजी आन्दोलन नेपालका पूँजीपति वर्गका सैद्धान्तिक प्रतिनिधिहरूले व्यक्तिगत स्वतन्त्रताको निम्ति सूत्रपात गरेको राजनैतिक आन्दोलन हो । यो आन्दोलन राणाशाही विरोधी हुनुको साथै अङ्ग्रेजी साम्राज्यवादको पनि विरोधी हुन गएको हुँदा यो पन्पिन नपाउँदै यसमाथि प्रहार पर्न गयो । राणाशाहीले यसलाई दवाई सास फेर्न नपाउँदै नेपाली जनआन्दोलन अर्को रूपमा प्रकट हुनआयो । यसले सामाजिक सुधारको साथै राजनैतिक स्वरूप पनि ग्रहण गर्यो । प्रथम विश्वयुद्धको दौरानमा संसारको छ खण्डको एक खण्ड रुसमा लेनिन स्तालिनको नेतृत्वमा भएको महान समाजवादी क्रान्तिले विश्वव्यापी पूँजीवाद तथा साम्राज्यवादको साङ्लोलाई चुँडाली मानव इतिहासमा पहिलो चोटी स्थायी रूपले शोषित वर्गको समाजवादी राज्य गठन गयो । यसबाट विश्वको राजनैतिक रंगमञ्चमा आएको परिवर्तनको प्रभाव भारत हुँदै नेपालमा पनि आइपुग्यो ।
अङ्ग्रेजी साम्राज्यवाद तथा राणाशाहीले रुसी समाजवादी क्रान्तिको समाचारलाई फैलिनबाट रोक्नको निम्ति गरेका लाखौं प्रयत्नको बाबजूद उक्त सर्वहारा क्रान्तिको खबर देशको कुना काप्चामा ती नेपाली सैनिकहरूले पुऱ्याए, जसलाई प्रथम विश्वयुद्धमा अङ्ग्रेजी साम्राज्यवादको पक्षमा लड्न राणाशाहीले पठाएको थियो ।

अङ्ग्रेजी साम्राज्यवाद तथा राणाशाहीले रुसी समाजवादी क्रान्तिको समाचारलाई फैलिनबाट रोक्नको निम्ति गरेका लाखौं प्रयत्नको बाबजूद उक्त सर्वहारा क्रान्तिको खबर देशको कुना काप्चामा ती नेपाली सैनिकहरूले पुऱ्याए, जसलाई प्रथम विश्वयुद्धमा अङ्ग्रेजी साम्राज्यवादको पक्षमा लड्न राणाशाहीले पठाएको थियो ।

त्यसको साथसाथै प्रवासमा बस्न बाध्य गरिएका नेपालीरूले बनारस तथा देहरादूनबाट 'गोर्खाली', 'गोर्खा संसार' तथा 'तरुण गोरखा' पत्रिकाहरू प्रकाशित गरी राणाशाही शासनको कटु आलोचना गर्नथाले । यसै सिलसिलामा सन् १९२१ मा गोर्खा पल्टनको एक मुख्य केन्द्र देहरादूनमा नै 'गोर्खा लीग' नामक नेपालीहरूको एक संस्था पनि गठन भयो । सरकारी कर्मचारीसम्मले पनि राणाशाहीको अङ्ग्रेजी साम्राज्यवादपरस्त नीतिको आलोचना गर्नथाले । त्यसमा सुब्बा कृष्णलालद्वारा लिखित 'मकैको खेती' मा “बेलायती कुकुरभन्दा देशको भुस्याहा कुकुर उपयोगी हुन्छ" भन्ने लेखेबापत उनीमाथि राजकाज मुद्दा चलाइयो । त्यस बखत राणाशाही नेपाल र नेपालीहरूको मातृभूमि नभई एक झ्यालखानाको रूपमा परिणत भएको थियो भन्नेकुराको बोध त्यसैताका लेखनाथद्वारा लिखित "बालक बबुरो द्विज शुकनामा, हुँ म परेको छु पिंजडामा, मकन हरे शिव ! शान्ति र चैन, सपनाबीच पनि रतिभर छैन ।” भन्ने 'पींजडाको सुगा' शीर्षकमा भएको कविताबाट स्पष्ट हुन्छ ।

देशभित्र र प्रवासमा बसेका नेपालीहरुले चलाएका समाजसुधार आन्दोलनहरुले नेपाली युवाहरुमा राणाशाही र अङग्रेजी साम्राज्यवादविरुद्ध भावना जगायो ।

पुष्पलालका छानिएका रचना भाग १ बाट साभार