नक्सलवादी आन्दोलनका प्रभावशाली नेताको निधन
“प्रवाहको विपरीत हिँड्नु वामपन्थ”

भारतीय नक्सलवादी नेता अजीजुल हकको निधन छ। उनी ८३ वर्षका थिए। प्रखर कवि, राजनीतिक चिन्तक, र भारतको नक्सलवादी आन्दोलनका अन्तिम प्रभावशाली नेतामध्ये एक मानिने अजीजुल हकको सोमबार कोलकातामा निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिए र घरमै लडेपछि हात भाँचिएर आइसीयुमा भर्ना गरिएका थिए।
उनको निधनसँगै, १९६० र ७० को दशकमा पुरै भारतलाई हल्लाएको पश्चिम बंगालको नक्सलवादी आन्दोलनको एउटा युगको अन्त्य भएको छ।
अजीजुल हकको जन्म सन् १९४२ मा हावड़ामा भएको थियो। उनले कलकत्ताको प्रतिष्ठित प्रेसिडेन्सी कलेजबाट स्नातक उत्तीर्ण गरेका थिए। ६० को दशकको उत्तरार्धमा चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावमा चारु मजुमदारद्वारा सुरु गरिएको नक्सलवादी आन्दोलनले पश्चिम बंगाललाई पुरै प्रभाव पारेको थियो। त्यस बेला उनले आफ्नो अध्ययन त्यागेर नक्सलवादी आन्दोलनमा समाहित भएका थिए।
अजीजुल हक नक्सलवादी आन्दोलनप्रति पूर्ण रूपमा प्रतिबद्ध थिए। उनी चारु मजुमदारका निकट सहयोगी र अनुयायी थिए। चारु मजुमदारको निधनपछि उनी समेत सामेल भएर महादेव मुखर्जीको नेतृत्वमा सिपिआइ मालेको एउटा समूह क्रियाशील रह्यो। यो समूह चिनियाँ नेता लिन प्याओ समर्थक थियो। उनले ७० को दशकको सुरुवातमा नक्सलबारी विद्रोह दबाइएपछि पनि त्यसको आगो निभ्न दिएनन्। त्यस बेला बङ्गालमा सबैभन्दा हिंसात्मक विद्रोहको नेतृत्व यही समूहले गरेको थियो। १९७८ मा महादेव मुखर्जी सँग मतभेद भएपछि अजीजुल हक र निसिथ भट्टाचार्यले सिपिआइ माले (सेकेन्ड सेन्ट्रल कमिटी) गठन गरे। उनीहरूकै नेतृत्वमा १९७० को दशकको उत्तरार्धतिर पश्चिम बंगाल र बिहारका ग्रामीण भेगहरूमा समानान्तर क्रान्तिकारी सरकार गठन गर्ने प्रयास गरियो।
हक पहिलो पटक सन् १९७० मा पर्वतीपुरम षड्यन्त्र मामिलामा पक्राउ परेका थिए। सन् १९७६ मा प्रधानमन्त्री इन्दिरा गान्धीको सरकारले भारतमा इमर्जेन्सी लगाएको बेला अजीजुल हक आफ्ना साथीहरूका साथ जेल ब्रेक गरेर फरार पनि भएका थिए। उनी सन् १९७७ मा रिहा गरिए। आफ्नो जीवनको १८ वर्ष उनले जेलमा बिताए।
सन् १९८२ मा भएको पुनः गिरफ्तारीले पश्चिम बंगालको सत्तारूढ वाम मोर्चाभित्र समेत असन्तोष जन्मायो। त्यसबेलाका जेल मन्त्री देबव्रत बन्दोपाध्याय र जतिन चक्रवर्तीले जेलमै भेटेर उनलाई जमानतमा छोड्न सिफारिस गरेका थिए। तर ज्योति बसु सरकारले छोड्न इन्कार गर्र्यो ।
उनको आत्मकथा ‘कारागारे अठार वर्ष’ नक्सलवादी आन्दोलन र त्यसको वैचारिक दृढताको एक जीवन्त दस्तावेज हो। उनका अन्य रचनाहरू, जस्तै ‘नक्सलबारी: तीस वर्षअघि र त्यसपछि’ मा उनले संस्थापनपक्षको सोचप्रणालीलाई प्रश्न गरेका छन्।
बिस्तारै उनले कट्टर नक्सलवादबाट दूरी बनाउँदै लगे। रोचक कुरा के छ भने, उनले सन् २००६ मा सिंगुरमा सिपिएमको औद्योगिकरण अभियानको समर्थन गर्दै आफूलाई भूमि अधिग्रहणको विरोध गर्ने पूराना साथीहरूभन्दा पृथक धारणा राखेका थिए।
“वामपन्थ भन्नु भनेको प्रवाहको विपरीत हिँड्नु हो,” भन्ने हकको भनाइ थियो। अन्तिम समयसम्म पनि उनी लेखनमा सक्रिय थिए। उनी राष्ट्रिय पत्रपत्रिका तथा पत्रिकाहरूमा लेख लेखिरहन्थे, सधैं विद्रोही शैलीमा।
अजीजुल हकको निधनसँगै भारतको नक्सलवादी आन्दोलनलाई नेतृत्व गर्ने अन्तिम जीवित इतिहासको पनि अन्त्य भएको छ।

एआईको युगमा के पढ्ने ?

इला शर्माको निधन

सात दलित युवा महिलालाई 'जस्ट फ्युचर्स फेलोसिप'

रसुवाको भीषण बाढीले धनजनको ठूलो क्षति

इरानको आणविक केन्द्रमाथिको हमला: नष्ट भयो, नष्ट भएन !

इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष उत्रियो ! प्रतिवाद गर्ने इरानको चेतावनी

इरानको समर्थनमा बोले किराती

प्रतिक्रिया