सात दलित युवा महिलालाई 'जस्ट फ्युचर्स फेलोसिप'
जात, वर्ग र लैंगिकताको अन्तर्संयोजनमा आधारित समालोचनात्मक ज्ञान उत्पादनमा केन्द्रित १२ महिनाको बहिन-वृत्ति

जस्ट फ्युचर्स पहल (जेएफपी)ले बागमती प्रदेशका सात जना युवा दलित महिलालाई १२ महिनाको लागि 'जस्ट फ्युचर्स फेलोसिप' प्रदान गर्ने निर्णय गरेको छ। यही अगस्ट २०२५ बाट सुरु हुने यो फेलोसिप "आफ्ना कथा आफै बुन्छौं" भन्ने मूल नारासहित दलित महिला तथा यौनिक तथा लैंगिक अल्पसंख्यकको नेतृत्व विकास, लेखन, अनुसन्धान र बौद्धिक हस्तक्षेपमा केन्द्रित रहने बताइएको छ।
छनौट भएकाहरुमा सरिना द्योला, मंजिता परियार, प्रमिला बिक, कंचन कटुवाल, राधिका रोका, मनिका विश्वकर्मा र संगिता मिजार रहेका छन्।
फेलोसिपका लागि २०१ जनाले आवेदन दिएका थिए भने अन्तिम चरणमा सर्ट लिस्ट गरिएका १६ जनामध्ये ती सात जना बहिन-वृत्तिका लागि छनौट भएका हुन्।
फेलोसिप छनौटका लागि पूर्व सांसद तथा दामल फ्याकल्टी अन्जना विशंखे, त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री डा. मुक्तसिंह लामा, दामल फेलो मधु महरा लगायतले अन्तर्वार्ता लिएका थिए। उनीहरूको मूल्याङ्कनको आधारमा जेएफपीको संचालक समितिले अन्तिम निर्णय गरेको हो।
संस्थाका अनुसार फेलोसिपको उद्देश्य दलित महिलाका भोगाइ, अनुभूति र ज्ञानलाई केन्द्रमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्नु हो। पत्रकारिता, लेखन, शिक्षण, राजनीतिक गतिविधि आदिमा संलग्न सहभागीहरूले आफ्नो निजी र सामाजिक इतिहासमाथि अध्ययन गर्नेछन्। त्यसै आधारमा जात, वर्ग, लैंगिकता र यौनिकता सम्बन्धी समालोचनात्मक विश्लेषण र रचनात्मक लेखन विकास गरिनेछ।
जेएफपीकी संस्थापक अध्यक्ष सरिता परियारका अनुसार, "नेपालको बौद्धिक इतिहास जातीय शक्तिको इतिहास हो। दलित नारीवादी ज्ञानशास्त्रमा आधारित जेएफपीले दलित महिलालाई ज्ञान उत्पादन र भविष्य निर्माणको शिल्पी बनाउने उद्देश्य राखेको छ।"
उनका अनुसार यो पहल केवल प्रतिक्रियात्मक कार्यक्रम होइन, बरु सामूहिक नेतृत्व र बौद्धिक हस्तक्षेपको रणनीतिक प्रयोग हो।
फेलोसिप अन्तरगत सहभागीहरू अन्तरविषयीय सिकाइमा आधारित सेमिनार र संवाद कार्यक्रममार्फत वैचारिक मन्थनमा सहभागी हुनेछन्। यिनीहरूका साथमा जेएफपी फ्याकल्टीका विज्ञ तथा बौद्धिकहरू पनि सिक्ने-सिकाउने प्रक्रियामा संलग्न हुनेछन्।
संस्थाका कार्यकारी निर्देशक सोना खटिकका अनुसार, काठमाडौं उपत्यका मात्र होइन, बागमतीका विभिन्न जिल्लाबाट सहभागी भएका दलित महिला फेलोहरू भविष्यमा फेलोसिपको दायरालाई अन्य प्रदेशमा समेत विस्तार गर्ने योजना रहेको छ। आगामी दश वर्षभित्र पाँच सयभन्दा बढी फेलो उत्पादन गर्ने लक्ष्यसहित यो अभियान अघि बढाइएको बताइएको छ।

रसुवाको भीषण बाढीले धनजनको ठूलो क्षति

इरानको आणविक केन्द्रमाथिको हमला: नष्ट भयो, नष्ट भएन !

इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष उत्रियो ! प्रतिवाद गर्ने इरानको चेतावनी

इरानको समर्थनमा बोले किराती

‘इन्काउन्टर’ मा तीन दिनभित्र सात माओवादी नेताको मृत्यु; अधिकार समूहद्वारा बर्ब…

फेरि मारिए माओवादीका अर्को वरिष्ठ नेता

रुसविरुद्ध युक्रेनको अपरेशन स्पाइडर: रुसको प्रतिशोध कस्तो होला ?

प्रतिक्रिया