इरान र इजरायलबीच किन चर्किँदैछ युद्ध ? इतिहासले के भन्छ ?

अहिले प्रत्यक्ष युद्धमा उत्रिएको इजरायल–इरानबीच कुनै बेला गहिरो मित्रता र सहकार्य पनि थियो !

इरान र इजरायल सधैंजसो प्रत्यक्ष युद्धमा थिएनन्। आज यी दुई देश कट्टर प्रतिद्वन्द्वी जस्तै देखिए पनि, सामान्य धारणा विपरीत, एक समय यस्ता थिएनन्। इजरायल र इरान पहिले कुनै हदसम्म मित्रवत सम्बन्धमा थिए। यस प्रसंगमा म यी दुई राष्ट्रबीचको द्वन्द्वका केही मूल कारणहरू हेर्न चाहन्छु, किनकि मलाई लाग्छ–अहिले हामी जे देखिरहेका छौं, त्यसको बुझाइमा यसले धेरै सहयोग पुर्‍याउँछ। “हामीले शत्रुलाई चिनेका छौं, र त्यो हामी स्वयं हौं।”

इरानको पहलवी राजवंशको शासनकालमा, यी दुईबीचको सम्बन्ध खासै खराब थिएन। किनभने सन् १९५० मा, इजरायल स्थापना भएको दुई वर्षमै, इरानले de facto रूपमा इजरायललाई मान्यता दिएको थियो। अब प्रश्न उठ्छ–de facto मान्यता दिनु भनेको के हो? यसको मतलब हो–इरानले इजरायली कूटनीतिक मिसनलाई आफ्नो राजधानी तेहरानमा कार्यालय खोल्न अनुमति दिएको थियो। तर अलमल नपर्नुहोस्–यसको अर्थ पूर्ण कूटनीतिक मान्यता थिएन। यो पूर्ण दूतावास थिएन। बरु इरानले सार्वजनिक रूपमा तटस्थता अपनाएको थियो। उनीहरूले यस्तो गरे, ताकि अरब राष्ट्रहरू र आफ्नै मुस्लिम जनसंख्यालाई चिढाउने काम नहोस्।

तर त्यसपछि जे भयो, त्यो अझै रोचक छ। इरान र इजरायलबीच एउटा रणनीतिक साझेदारी बन्यो। यो त्यस्तै थियो–जस्तो "The Brave and the Bold" कमिकको एपिसोड नम्बर १९१ मा ब्याडम्यान र जोकर मिलेर कुनै मिशनमा गएका होऊन्। अब तपाईं आफैंले निर्णय गर्न सक्नुहुन्छ–ब्याडम्यान को हो? इजरायल कि इरान? तपाईंको इच्छामा भर पर्छ। तर त्यो रणनीतिक साझेदारी भन्नाले के जनाउँछ? यसको अर्थ हो–यी दुई देशले सैनिक र गुप्तचर क्षेत्रमा सहकार्य गरेका थिए। आज यस्तो कुरा कल्पना गर्न पनि गाह्रो छ !

त्यो बेलामा, यी दुई राष्ट्रका साझा स्वार्थ–अरब राष्ट्रवादी आन्दोलनहरूलाई रोक्ने थियो। विशेषतः, उनीहरूले मिश्रका नेता गमाल अब्देल नासेरको प्रभावलाई सन्तुलनमा राख्न चाहन्थे। नासेरले एकीकृत अरब संसारको परिकल्पना गरेका थिए। उनको सोच थियो–अरब देशहरूबीच सैन्य एकता हुनुपर्छ। किनभने उनी पश्चिमी प्रभावको प्रतिरोध गर्न चाहन्थे, र आफूलाई क्षेत्रीय रूपमा स्वतन्त्र देखाउन चाहन्थे। उनका एक उद्देश्यमध्ये एक थियो–मध्यपूर्वमा अरबहरूकै वर्चस्व रहने एउटा गठबन्धन बनाउने।

तर इरानको दृष्टिकोणबाट हेर्दा, त्यो कुरा स्वीकार्य थिएन। हो, इरान पनि मुस्लिम बहुल देश हो, तर उनीहरू फारसी हुन्, अरब होइनन्। त्यसैले, नासेरको विचारधाराले इरानलाई क्षेत्रीय स्तरमा किनारामा पुर्‍याउने डर थियो। त्यसबेला मिश्रले इजरायलविरुद्ध युद्ध पनि लड्यो र कूटनीतिक रूपमा पनि उनीहरूको विरोध गर्‍यो। यसैले इरान र इजरायलबीच एउटा साझा शत्रु बन्यो–मिश्रको सरकार। त्यतिबेला यी दुई देशको साझा लक्ष्य थियो–सोभियत र अरब प्रभावलाई सन्तुलनमा ल्याउने प्रयास गर्नु।

यसैको एउटा हिस्सा हो–इजरायलको पेरिफेरी सिद्धान्त (Periphery Doctrine)। यो इजरायलका पहिलो प्रधानमन्त्री डेभिड बेन गुरियनले बनाएको एउटा परराष्ट्र नीति थियो । सन् १९५० को दशकदेखि नै इजरायलले यो पेरिफेरी रणनीति अपनाउँदै आएको छ। यो नीति समयसँगै परिवर्तन हुँदै आएको छ, तर यसको प्रारम्भिक उद्देश्य भनेको अरब नभएका मुलुकहरू–जस्तै इरान, टर्की र इथियोपिया–सँग सन्धि गर्ने थियो । यी देशहरू मध्यपूर्वको परिधिमा पर्थे। यस पेरिफेरी सिद्धान्तसम्बन्धी प्रत्यक्ष छलफलहरू अब इजरायली सरकारको राष्ट्रिय अभिलेखालयमार्फत सार्वजनिक भइसकेका छन्।

मलाई लाग्छ, इरान र इजरायलबीचको आर्थिक सहकार्यको सबैभन्दा ठोस उदाहरणमध्ये एक थियो "Ailat–Ashkelon Pipeline Company" (EAPC)। यो सन् १९६० को दशकमा इरानी तेल इजरायल पुर्‍याउने उद्देश्यले निर्माण गरिएको एक तेल पाइपलाइन थियो । यो परियोजनामा सुरुमा इरान र इजरायल ५०/५० साझेदार थिए। यो पाइपलाइन बनाउनुको एउटा प्रमुख कारण थियो–मिश्रले स्वेज नहर इजरायली पानीजहाजका लागि बन्द गरेपछि त्यसलाई छल्न पाइपलाइनको प्रयोग गर्नु। यसले इरानबाट लाल सागर हुँदै इजरायलसम्म तेल पुर्‍याउने व्यवस्था मिलायो, जहाँ त्यसलाई प्रशोधन गरी युरोप पठाउन सकिन्थ्यो।

एउटा भनाइ छ–विपत्ति आएपछि अचम्मका साथीहरू बन्छन्। जस्तै, मैले फेला पारेको CIA को ‘declassified’ (तर sanitized) दस्तावेजले देखाउँछ–१९६० देखि १९८० को दशकसम्म इजरायल र इरानका गुप्तचर एजेन्सीहरू निकै नजिकबाट सहकार्य गरिरहेका थिए। त्यो दस्तावेजबाट केही वाक्य यस्ता छन्:

“इजरायलले शाहको शासनकालमा नियमित रूपमा इरानलाई हतियार बिक्री गर्थ्यो–मुख्यतया साना हतियार, मोर्टार, गोलीगठ्ठा। इजरायलीहरूले इरानी वायुसेना र थलसेनाका लागि इञ्जिन मर्मत र अन्य प्राविधिक सहयोग पनि उपलब्ध गराउँथे। साथै, इरानको सुरुवाती रक्षा उद्योगलाई प्राविधिक सहयोग प्रदान गरिएको थियो।”

त्यसपछि एउटा अंश ‘रेड्याक्टेड’ छ–हामीलाई थाहा दिन नमिल्ने गरी। त्यसपछि फेरि लेखिएको छ:

“हथियार बिक्रीले इजरायलको नवस्थापित रक्षा उद्योगलाई पनि ठूलो फाइदा पुर्‍यायो। अनि बराबरी विनिमय वस्तु विनिमय प्रणाली अन्तर्गत, इजरायलले हतियार र प्राविधिक सहयोग दिन्थ्यो, र बदलामा अत्यावश्यक तेल प्राप्त गर्थ्यो।”

CIA को भनाइ अनुसार, उनीहरूले सम्भव भएसम्म यो सहकार्य सहज बनाइदिएका थिए, किनभने यसले सोभियत संघको प्रभावलाई सन्तुलनमा राख्न सहयोग पुर्‍याउँथ्यो। भू-राजनीतिमा धेरै कुरा गुप्त प्रेरणा र गहिराइमा लुकेका गठबन्धनहरूमा आधारित हुन्छन्–जसको बारेमा हामी प्रायः धेरै वर्षपछि मात्र थाहा पाउँछौं।

तर भ्रममा नपर्नुस्–इरान र इजरायलबीचको सम्बन्ध कति गहिरो थियो भन्ने कुरा उनीहरूले खुल्ला रूपमा सार्वजनिक गरेका थिएनन्। यो एउटा ‘घनिष्ट मित्रता’ थियो– लुकाइएको मित्रता। त्यसको एउटा कारण भनेको अन्य मुस्लिम बहुल राष्ट्रहरूबाट आउने सम्भावित आलोचना पनि थियो। तर पर्दापछाडि भने ती दुई देश निकै मिलेर काम गरिरहेका थिए।

अब त्यो ‘फ्रेम टाइप’ व्यवस्थाले कसरी काम गर्थ्यो भन्ने कुरा हेरौं– इरानले इजरायललाई तेल आपूर्ति गर्थ्यो, र इजरायलले बदलामा सैन्य सहयोग प्रदान गर्थ्यो। यो अस्वाभाविक गठबन्धन पारस्परिक सुरक्षा चासोमा आधारित थियो। पुरानै शैलीको कुरा हो–“तिमी मेरो ढाड कोर्नु, म तिमीलाई गिजोल्छु।”

अब प्रश्न उठ्छ–यी दुई राष्ट्र एक अर्काको अस्तित्वलाई सहेर बस्ने अवस्थाबाट पूर्ण घृणा गर्ने तहसम्म कसरी पुगे?

त्यसो त सन् १९६० कै दशकदेखि इरानमा इजरायलविरुद्धको आलोचना पनि विकसित हुँदै थियो। केही रिपोर्टहरूमा उल्लेख भएअनुसार धेरै ईरानीहरू PLO (Palestinian Liberation Organization) मा सामेल भएर इजरायलविरुद्ध लड्न स्वयंसेवक बनेका थिए। “मानिस त्यो होइन, जो ऊ सोच्दछ कि ऊ हो। ऊ त्यो हो, जुन ऊ लुकाउँछ।”

तर इरान–इजरायल सम्बन्धमा वास्तविक मोड सन् १९७९ को इरानमा भएको इस्लामिक क्रान्तिपछि आयो । पश्चिमी शक्तिसँग मिलेर शासन गर्दै आएको पहलवी राजवंशको पतन भयो र त्यसको सट्टा इरानमा  "इस्लामिक गणराज्य" स्थापना गरियो। शासनको स्वरूप नै फेरियो–अब सत्ता सर्वोच्च धार्मिक नेताको हातमा गयो। त्यस क्रान्तिपछि इरानले इजरायल र अमेरिका विरुद्ध खुला रूपमा आक्रामक भाषाशैली प्रयोग गर्न थाल्यो। इरानले इजरायलसँग सबै कूटनीतिक सम्बन्ध तोड्यो, तिनीहरूको दूतावास बन्द गरिदियो। तेल पाइपलाइन परियोजनामा पनि अब सहकार्य रहेन।

यति हुँदाहुँदै पनि, ती दुई देशबीच प्रत्यक्ष युद्धको अवस्था थिएन। अझ, पछि इरान–इराक युद्धको समयमा उनीहरूले फेरि अवसरअनुसार एक–अर्कासँग सीमित सहकार्य गरे– किनभने इजरायलका दुई प्रमुख प्रतिद्वन्द्वीहरू (इरान र इराक) एकअर्कासँग भिडिरहेका थिए।

सन् १९८० को दशकको शुरुवाततिर इजरायलले आफ्ना हतियारको भण्डारबाट इरानलाई झण्डै ७५ मिलियन डलर बराबरका हतियारहरू बेचेको थियो। 'शत्रुको शत्रु भनेको त्यो ठाउँ हो जहाँ मैले करोडौं डलरको हतियार बेच्न सक्छु' भन्ने भनाइ यहाँ प्रकट भएको जस्तो लाग्छ।

अघिल्लो ‘Declassified’ गरिएको CIA दस्तावेजले यो गुप्त सौदाबाजीका पछाडि रहेका उद्देश्यहरूबारे पनि केही संकेत दिन्छ। त्यसमा CIA को Directorate of Intelligence ले लेखेको छ:

"इजरायलीहरूले हामीलाई बताएका छन् कि उनीहरूले दिएको सहयोगले इरान–इराक युद्ध लामो समयसम्म चलिरहोस् भन्ने आशा राखेका छन्, जसले गर्दा बग्दादको विशाल सेनालाई इरानको पूर्वी सीमामा बाँधेर राख्न सकियोस्।"

अर्थात्, यो रक्तरञ्जित युद्ध जति लामो तन्कियो, इजरायलको हितमा थियो।

त्यसै रिपोर्टमा थप भनिएको छ:

“उनीहरूले इरानमा अझै बाँकी रहेका ४०,००० यहूदीहरूप्रति मानवतावादी व्यवहार गरियोस् भन्ने आशासाथ तेहरानसँग केही प्रभाव कायम राख्ने सोच पनि पालेका छन्।”

१९७९ को इस्लामिक क्रान्तिभन्दा अगाडि, अनुमानअनुसार करिब १ लाख यहूदीहरू इरानमा बसोबास गर्थे। आज त्यो संख्या घटेर ८ हजारदेखि १० हजारको बीचमा झरेको छ। अनि किन घट्यो भन्ने कुरा खासै रहस्यमय छैन।

क्रान्तिपछि इरानमा आयातोल्ला खमेनीको नेतृत्वमा इस्लामिक शासन प्रणाली स्थापना भयो । यो इस्लाममा आधारित थियो। यस्तो विचारधाराले इजरायललाई पश्चिमी उपनिवेशवादको एक विस्तारको रूपमा हेर्‍यो। इरानको दृष्टिमा इजरायल एक 'सेटलर स्टेट' थियो–एक उपनिवेशवादी परियोजना, जसले प्यालेस्टाइनी मुसलमानहरूलाई दमन गरिरहेको थियो।

मलाई लाग्छ, इरान–इजरायलको यो द्वन्द्व केही असामान्य किसिमको हो– अर्थात्, आधुनिक युगका धेरै युद्धहरूसँग तुलना गर्दा फरक लाग्छ। धेरै युद्धहरू सीधा भौतिक स्वार्थका कारण–जस्तै भूमि, स्रोतसाधन वा आर्थिक फाइदाका लागि हुन्छन्। तर यो द्वन्द्व प्रायः विचारधारामा आधारित छ–सिद्धान्त र आस्थामा।

केवल इरानको होइन, इजरायलको पक्षबाट पनि। इजरायलले आफ्नै यहूदी पहिचानको रक्षाका लागि र आफ्ना जनताको सुरक्षा सुनिश्चित गर्न यो विचारधारात्मक अवस्थिति लिएको छ। अनि यही कारण हो, कि यी दुई राष्ट्रबीच सीधै युद्धमा जानु कठिन देखिन्छ। त्यसैले हामीले प्रत्यक्ष युद्धभन्दा बढी ‘प्रोक्सी वार’ (पर्दापछाडि अरूलाई प्रयोग गरेर गरिने युद्ध) देखेका छौं।

अब दुई तथ्यांकहरू केलाउँदा यस द्वन्द्वलाई बुझ्न अझ सजिलो हुन्छ:

इजरायलको जनसंख्या करिब ९.५ मिलियन छ भने इरानको जनसंख्या ८८ मिलियन छ। तर इजरायलको GDP (Gross Domestic Product) ५०० अर्ब अमेरिकी डलरभन्दा बढी छ, जबकि इरानको GDP करिब ४०० अर्ब डलर मात्र। यसले के देखाउँछ भने–जनसंख्यामा धेरै सानो भए पनि इजरायलको आर्थिक शक्ति इरानभन्दा बढी छ।

यसले द्वन्द्वलाई हेर्ने एउटा दृष्टिकोण दिन्छ। इरानको ठूलो जनसंख्या र भौगोलिक आकारले उसलाई मध्यपूर्वमा ठूलो प्रभाव राख्न सक्षम बनाएको छ। अर्कोतर्फ, इजरायल प्रविधि र अन्तर्राष्ट्रिय गठबन्धनहरूमा धेरै भर पर्ने देश हो र यिनै कुराहरू आगामी भागहरूमा देखिनेछन्।

१९६० को दशकको अन्त्यसम्म पुग्दासम्म इजरायलले परमाणु हतियार बनाउन आवश्यक प्रविधि प्राप्त गरिसकेको छ भन्ने विश्वास व्यापक थियो। यसले इजरायलविरुद्ध ठूला स्तरको पूर्ण युद्धको सम्भावना निकै कम गरायो। त्यसबेलाको अवस्थाले दुवै पक्षलाई एक-अर्काविरुद्ध सिधा भिड्नेभन्दा पनि अप्रत्यक्ष तरिकाले संघर्ष गर्न बाध्य बनायो– त्यो पनि यस्तो शैलीमा जसलाई सजिलै अस्वीकार गर्न सकियोस् (plausible deniability)।

यसको मतलब, हामीले छिमेकी राष्ट्रहरूमा हुने गुप्त गतिविधिहरू देख्यौं, जसको उद्देश्य इजरायललाई अस्थिर बनाउनु थियो।

सन् १९८२ मा इजरायलले लेबननमा आक्रमण गरेपछि, इरानले लेबननस्थित हिजबुल्लाह लडाकुहरूलाई समर्थन गर्न सुरु गर्‍यो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले आफ्ना उत्कृष्ट १५०० सैनिकहरू लेबनान पठायो, जसको उद्देश्य हिजबुल्लाहलाई तालिम दिनु, हतियार उपलब्ध गराउनु, र सशस्त्र सुसंगठित समूहको रूपमा विकास गर्न मद्दत गर्नु थियो।

सन् १९८० को दशकको सुरुवातदेखि नै इरानले हिजबुल्लाहलाई वर्षेनी सयौँ मिलियन डलर बराबरको सहयोग पठाउँदै आएको छ।

एक दशकपछि, १९९० को दशकको मध्यतिर इरानले अर्को प्रोक्सी गाजाभित्र खडा गर्‍यो। सन् १९९३ मा इरानले लाखौँ डलर बराबरको हतियार र तालिम गाजाभित्र हमास लडाकुहरूलाई बेच्यो। त्यसबेलादेखि इरानको यो सहयोग र प्रभाव अझै बलियो बन्दै गयो, जसले गर्दा इजरायलमा भएका आक्रमणहरू सजिलो भएको छ।

मेरो व्यक्तिगत धारणा र अनुमान अनुसार, सन् १९९० को दशकको सुरुवातपछि केही ठूलो परिवर्तन आयो–इन्टरनेटको व्यापक प्रयोग र सूचना प्रवाहको तीव्र विस्तार।

अब यो सम्भव छैन कि प्रोक्सीहरूलाई सजिलै अस्वीकार गर्न सकियोस्। म आफैंले स्याटेलाइट तस्वीर किन्न सक्छु र हेर्न सक्छु कि इरानबाट हतियार कता जाँदै छन्। म हेर्न सक्छु कि इजरायलले गाजालाई कसरी पर्खालले घेरेर नाकाबन्दी गरेको छ।

२०२० को दशकमा यसप्रकारको गुप्त युद्ध लड्न गाह्रो भएको छ। यही एउटा सानो कारण हो जसले मलाई लाग्छ–इरान र इजरायलबीचको युद्ध 'प्रोक्सी वार' बाट बढेर सिधा टकरावमा परिणत भइरहेको छ।

तर यत्ति मात्रै होइन, युद्धको तीव्रता बढाउने थुप्रै अन्य कारणहरू पनि छन्।

हामी प्रायः मिडियामा इरानी प्रोक्सीहरूको कुरा सुनिरहन्छौं, तर इजरायलले आफ्ना प्रोक्सीहरू खडा गर्ने वा इरानविरुद्ध असन्तुष्टि फैलाउने प्रयासबारे धेरै सुन्न पाइँदैन। उदाहरणका लागि–पीपल्स मोजाहेदिन अफ इरान (People's Mojahedin of Iran) एक यस्तो समूह हो, जसले इरानको सरकारविरुद्ध उनीहरूको आफ्नै भूमिमा विद्रोह गरिरहेको छ।

सन् २०१२ मै NBC News ले दुईजना अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक रिपोर्ट प्रकाशित गरेको थियो, जसमा भनिएको थियो कि–यस समूहलाई इजरायलले आंशिक रूपमा वित्त, तालिम, र हतियारमा सहयोग गरेको हो। यद्यपि, उक्त समूहले भने यो आरोप अस्वीकार गरेको छ।

यहाँ केही अन्य रिपोर्टहरू पनि छन् जसले दाबी गर्छन् कि इजरायल र संयुक्त राज्य अमेरिका दुबैले इरानभित्र सक्रिय कुर्द अलगाववादी समूहहरूलाई केही हदसम्म सहयोग पुर्‍याएका छन्। विशेषतः कुर्दिस्तान फ्री लाइफ पार्टी (Kurdistan Free Life Party – PJAK) को चर्चा गरिन्छ, जुन समूह इरानभित्र कुर्द स्वायत्तताको पक्षमा लड्दै आएको छ।

इजरायलसँग इरानभित्र ठूलो प्रोक्सी समूह स्थापना गर्ने त्यस्तो क्षमता छैन, र यसको मुख्य कारण सांस्कृतिक भिन्नता हो। आखिर कूटनीति भन्नु नै कसैलाई तपाईंको कुरा उसैले गरेकोजस्तो लाग्ने बनाउने कला हो ।

इजरायलले इराकभित्र रहेका कुर्द अलगाववादी समूहहरूलाई सहयोग गर्ने सम्बन्ध सन् १९६० को दशकदेखि नै कायम राखेको हो। कुर्द शक्तिसँगको यस्तो गठबन्धन इजरायलको पेरिफेरी डक्ट्रीन (Periphery Doctrine) सँग मेल खान्छ, जुन रणनीति इजरायलले छिमेकी गैर-अरब मुलुकहरूसँग सन्तुलन कायम राख्नका लागि अपनाएको थियो।

हालै रॉयटर्सले प्रकाशित गरेको एक रिपोर्टमा भनिएको छ–इरानले इराकभित्रको कुर्द क्षेत्रमा हमला गरेर त्यहाँ रहेको एक इजरायली गुप्तचर मुख्यालय नष्ट गरेको छ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स ले दिएको आधिकारिक वक्तव्यमा भनिएको छ–

"जायोनिस्ट शासनद्वारा गरिएका पछिल्ला आक्रमणहरूको प्रतिक्रियास्वरूप, जसका कारण प्रतिरोध धुरीका कमाण्डरहरू मारिए, इराकको कुर्दिस्तानमा रहेको मुख्य गुप्तचर केन्द्रमाथि ब्यालिस्टिक मिसाइलद्वारा हमला गरी नष्ट गरिएको हो।"

इजरायलको प्रत्यक्ष संलग्नता पुष्टि भएको छैन, तर विश्लेषकहरूको धारणा अनुसार, इजरायल र अमेरिका दुबैले कुर्द अलगाववादीहरूलाई तालिम, गुप्त सूचना, र रणनीतिक सहयोग दिएको हुन सक्छ–जसको उद्देश्य इरानको क्षेत्रीय प्रभावलाई कमजोर पार्नु हो।

हामीलाई थाहा छ, इजरायलले विगतमा इरानविरुद्ध अन्य गुप्त अपरेशनहरू पनि सञ्चालन गरिसकेको छ। उदाहरणका लागि, सन् २०१० मा इरानको परमाणु कार्यक्रममाथि प्रहार गर्न प्रयोग गरिएको कम्प्युटर भाइरस (Stuxnet), र इरानी वैज्ञानिकहरूका हत्या–यी सबैले इजरायलको गुप्त हस्तक्षेप प्रमाणित गर्छन्।

अब यहाँको भू–राजनीतिक गठबन्धनहरू दोस्रो विश्वयुद्धपछि उल्टो भएको जस्तो देखिन्छ।

सन् २०१७ को जुन महिनामा इजरायलका पूर्व रक्षा मन्त्रीले एउटा वक्तव्य दिएका थिए:

"हामी र अरबहरू (त्यही अरबहरू जसले सन् १९६७ को ६ दिने युद्धमा यहूदी राष्ट्रलाई नष्ट पार्न गठबन्धन बनाए) आज हामीसँग एउटै डुङ्गामा छन्। कतारबाहेकका सबै सुन्नी अरब राष्ट्रहरू आज हामीसँग एउटै पक्षमा छन्, किनभने हामी सबैका लागि सबैभन्दा ठूलो खतरा भनेको आणविक इरान हो।"

तर चिन्तित बनाउने कुरा यो हो कि यो इरान-इजरायलको प्रोक्सी युद्ध अब ठूला मिडल इस्ट (मध्यपूर्व) को शीतयुद्धमा परिणत हुँदैछ।

इजरायल र इरानबीचको तनाव केही चरणहरूमा यति धेरै बढ्यो कि यो अन्य मुलुकहरूका द्वन्द्वमा समेत फैलियो।

यो द्वन्द्वमा महत्वपूर्ण मोड सन् २०११ बाट सिरियाली गृहयुद्ध सुरु भएपछि आएको हो ।

इजरायल र इरान दुबैले आफ्नो लडाइँ सिरियामा सार्न प्रयास गरे। सिरिया इरानका लागि आफ्ना प्रोक्सीहरूलाई हतियार र सहयोग पुर्‍याउन महत्वपूर्ण पारवहन मार्ग हो।

सिरियाली सरकार लगभग ध्वस्त हुँदा त्यहाँ शून्यता, अराजकता र अस्थिरता आयो। यही अवस्थाले इरानलाई इजरायलको छेउमै प्रभाव विस्तार गर्न मौका दियो।

इजरायलले इरानको प्रभावलाई सीमित गर्न अत्यधिक हवाई आक्रमणहरू प्रयोग गर्‍यो–साँच्चिकै असामान्य मात्रामा। सन् २०११ देखि आजसम्मको अवधिमा इरान र इजरायलबीचको प्रोक्सी युद्ध निकै गम्भीर बनिसकेको छ, विशेषतः सिरियाली गृहयुद्धपछि त यसको स्वरूप नै बदलिएको हो।

पहिला स-साना 'जवाफी कारबाहीहरू' हुन्थे–तर अहिले स्थिति "कसले कुकुरहरू खोल्यो?" भन्ने जस्तो भयावह बन्दै गएको छ। खासगरी जब अक्टोबर ७ का हमासद्वारा गरिएका आक्रमणहरू भए, त्यतिबेला जसले चासोपूर्वक हेरेन उसलाई त लाग्न सक्छ–"खासै तनाव त थिएन नि, सब ठिकठाकै थियो!"

तर वास्तविकता यस्तो थिएन।यो युद्ध त वर्षौँदेखि चुपचाप बल्झिरहेको थियो।

किन इजरायल र इरानबीच प्रत्यक्ष आक्रमणसम्मको स्थितिमा पुगेको होला त? धेरै कारणहरू छन्, तर एक महत्वपूर्ण कारण चाहिँ इजरायलले साउदी अरेबियासँग गठबन्धन बनाउन खोज्नु हो–जसलाई इरानले ठूलो खतरा मानेको हो।

इरानको दृष्टिकोणमा, इजरायल–अरब सम्बन्ध सामान्य बन्ने प्रयासहरू आफैंमा खतरनाक थिए। किनभने यदि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्सजस्ता सुन्नी अरब राष्ट्रहरू इजरायलसँग मिलेर इरानविरुद्ध गठबन्धन बनाउँछन् भने त्यो इरानका लागि निकै कमजोर पार्ने स्थिति हुन जान्थ्यो।

त्यसैले कतिपय विश्लेषकहरूको भनाइ छ–इरानले यस्तै एक गठबन्धन बनिनसकोस् भनेर अक्टोबर ७ को हमलालाई ‘जानाजानी’ समर्थन गरेको हुन सक्छ।

आजको वास्तविकता के हो भने– इरान खुलेआम इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरिरहेको छ, र इजरायलले इरानभित्रै हमला गर्दैछ।

हो, इरान र इजरायलबीचको तनाव दशकौँदेखि छ, तर यस्ता तनावहरू अहिले मात्र खुल्ला लडाइँमा परिणत भएका छन्।यो सबै युद्धको जरा प्रोक्सी युद्धहरू, आणविक हतियार विकास, विचारधारात्मक असहमति र युद्धको त्यो पुरानो तर अझै समाप्त नहुने क्षेत्रीय प्रभावको होडबाजीमा गाडिएको छ ।

यी सबै कारणहरू दोस्रो विश्वयुद्धपछिका समयदेखि क्रमशः विकसित हुँदै आएका हुन्। र आज फेरि हामी सबैलाई एउटा नयाँ खतरा नजिक पुर्‍याइरहेका छन्।

अहिले प्रत्यक्ष युद्धमा उत्रिएको इरान–इजरायलबीचको घृणा र प्रेमको सम्बन्धलाई तथ्यहरुको आधारमा केलाउने कोशिस गरिएको Task &Purpose मा प्रशारित सामग्रीको संशोधित अनुवाद