हिमालय र जलवायु संकटको वैश्विक सन्देश

पृथ्वीको मुटुजस्तै फैलिएको हिमालय श्रृंखलालाई "तृतीय ध्रुव" भनेर पनि चिनिन्छ । यो तृतीय ध्रुव आज जलवायु परिवर्तनको चपेटामा परेको एक संवेदनशील पर्यावरणीय क्षेत्र बनेको छ। एशिया महादेशका लगभग सबै प्रमुख नदीहरूको उद्गम स्थलका रूपमा हिमालयले केवल एक भौगोलिक संरचना मात्र होइन, तर करोडौं मानिसको जीवन, जीविकोपार्जन र संस्कृतिको मेरुदण्डको रूपमा काम गर्दै आएको छ। यद्यपि, पछिल्ला केही दशकमा मानवीय क्रियाकलापका कारण उत्पन्न हरितगृह ग्यासहरूले निम्तयाएको जलवायु परिवर्तनको दुश्चक्रले यो प्राचीन हिमशृङ्खलाको स्वरूप मात्र होइन, सन्तुलन पनि बदलिरहेको छ।
विज्ञानले प्रमाणित गरिरहेको छ कि हिमालय क्षेत्र समुद्री सतहको तुलनामा दोब्बर गतिमा तातिरहेको छ। तापक्रम वृद्धिका कारण त्यहाँका हिउँका थुप्राहरू झन्झन् छिटो पग्लिन थालेका छन्, जसले ग्लेसियरहरूको जीवनचक्रमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। ग्लेसियरहरू केवल हिमालयमै होइन, सम्पूर्ण विश्वका पानीको 'बैंक' हुन, र तिनीहरूको क्षय मानव सभ्यताको आसन्न भविष्यमा भोग्नु पर्ने दीर्घकालीन संकटको पूर्वसूचक हो। ग्लेसियर पग्लिएसँगै निर्मित हिमतालहरू (glacial lakes) विस्तार हुँदै छन् र ती मध्ये कैयौं अस्थिर बन्दै गएका छन् । त्यसले 'हिमताल विस्फोट'को जोखिम अत्यन्तै बढाएको छ। यस्तो विस्फोटले तल्लो भेगका बस्तीहरू, कृषि क्षेत्र, तथा पूर्वाधारहरूमा क्षति पुर्याउने सम्भावना सधैं एक आपतकालीन खतरा बनेर उभिएको छ।
जलवायु परिवर्तनका यी प्रत्यक्ष प्रभावहरू हिमालय वरिपरिका मुलुकहरू - विशेषगरी नेपाल, भारत, भूटान, र तिब्बत क्षेत्रका लागि भयानक मानव तथा पर्यावरणीय संकट बनिरहेका छन्। जलस्रोतमा निर्भर सिँचाइ प्रणाली, पिउने पानीको व्यवस्था, र जलविद्युत योजनाहरू दीर्घकालीन अस्थिरता र संकटको दिशामा अग्रसर छन्। जलवायुको परिवर्तनले मौसमी चक्रलाई बिथोलिरहेको छ - वर्षाको समय, तीव्रता र वितरण प्रणाली असन्तुलित बन्दै गएको छ। एकातर्फ खडेरी, अर्कातर्फ बाढी–पहिरो जस्ता विपद्को आवृत्ति र तीव्रता बढ्दो क्रममा रहेको छ। यसले हिमाली समाजको परम्परागत जीवनशैलीमात्र होइन, खाद्य सुरक्षा, स्वास्थ्यमाथिको जोखिम, तथा आर्थिक श्रोतसाधनहरूको वितरण प्रणाली नै हल्लाइदिएको छ।
हिमालयमा देखिएको संकट क्षेत्रीय सीमाभन्दा पर गएकाले यसको असर समग्र पृथ्वीमा फैलिने प्रकृतिको छ। एशियाका मुख्य नदीहरू - गंगा, ब्रह्मपुत्र, सिन्धु, मेकोंग, याङत्से - यिनै हिमनदीहरूको जलबाट पोषित छन्। यिनीहरू करोडौं मानिसको दैनिकी, कृषि उत्पादन, उद्योग तथा सहरहरूको जीवनधार हुन्। ग्लेसियर पग्लने क्रमले सुरुवाती चरणमा पानीको मात्रा बढाए पनि दीर्घकालमा यसले ती नदी प्रणालीहरूमा पानीको प्रवाह घटाउने र सुक्दै जाने निश्चित सम्भावना बोकेको छ। यस्तो अवस्थामा जलको अभाव भविष्यको प्रमुख अन्तर्राष्ट्रिय द्वन्द्वको कारण बन्नेछ । यो द्वन्द्व विशेष गरी जलस्रोतहरू साझा उपभोग गरिरहेका तर राजनीतिक एकता नभएका राष्ट्रहरूबीच चर्कने निश्चित छ ।
त्यसैले, हिमालयमा भइरहेको वातावरणीय रुपान्तरणलाई केवल एक क्षेत्रमा सीमित पर्यावरणीय चुनौतीको रूपमा हेर्नु भुल हुनेछ। यो संकट मानव सभ्यताको नैतिक, वैज्ञानिक र राजनीतिक बुझाइको परीक्षा हो। यस समस्याले देखाएको छ कि पृथ्वीको कुनै पनि कुनामा भएको वातावरणीय असन्तुलन विश्वव्यापी असरहरू ल्याउन सक्छ। त्यसैले हिमालयको रक्षा गर्नु भनेको केवल उचाइमा रहेको हिमतालको संरक्षण मात्र होइन, पृथ्वीका लाखौं जीवनहरूको सुरक्षा सुनिश्चित गर्नु हो।
तर यो चुनौतीबीच पनि समाधानका मार्गहरू खुल्ला छन्। वैज्ञानिक अनुसन्धान, दीर्घकालीन जलवायु नीतिहरू, पारिस्थितिकीय शिक्षा र क्षेत्रीय सहकार्य नै यस समस्याबाट पार पाउने एक मात्र बाटो हो। हरित ग्याँस अत्यधिक जलवायु परिवर्तनमा सबैभन्दा बढी योगदान गर्ने मुलुकहरूले नैतिक जिम्मेवारी लिई हिमालय र त्यसमा आश्रित जीवन प्रणालीको संरक्षणमा सकृयता देखाउन आवश्यक छ। यसका लागि प्रविधिको न्यायोचित हस्तान्तरण, हरित विकासको सहयोग र जोखिम न्यूनीकरणमा लगानी गर्नुपर्छ।
अन्ततः हिमालयमा भइरहेको परिवर्तन मानवजातिको समग्र भविष्यप्रतिको चेतावनी पनि हो - कि प्रकृति सधैं सहनशील रहँदैन। यसैले अब हामीसँग विकल्प र धेरै समय छैन । हामीले चुप लागेर हेर्ने कि जलवायु न्यायका पक्षमा बोल्ने, काम गर्ने, र नयाँ युगको खोजी गर्ने भन्नेबार ठोस निर्णय लिनुपर्ने बेला आइपुगेको छ।
प्रतिक्रिया