भारत–पाकिस्तानबीचको युद्धविराम सहमति : टर्यो युद्धको विभीषिका !

१० मे २०२५ मा भारत र पाकिस्तानबीच पूर्ण र तत्काल युद्धविराम सहमति भएको छ । यो सहमति केवल दुई देशबीचको द्वन्द्व रोक्ने निर्णय मात्र होइन, यो समग्र दक्षिण एशियाली सुरक्षा परिदृश्य, कूटनीतिक कसरत र शक्ति सन्तुलनको एउटा सूचक पनि हो। पछिल्ला दिनहरूमा भारत–पाकिस्तानबीच तीव्र भएको सैन्य तनावले सम्पूर्ण क्षेत्रलाई युद्धको चपेटामा तान्ने सम्भावना बढ्दो थियो, तर अन्ततः एउटा निर्णायक बिन्दुमा पुगेर शान्तिको बाटो रोजिएको छ।
सैन्य तनावबाट युद्धविरामसम्मको पृष्ठभूमि
यो समझदारी त्यतिबेला आएको छ, जब भारत र पाकिस्तान दुवै पक्षले एकअर्काको सैनिक संरचनामाथि प्रत्यक्ष आक्रमणलाई सुरु गरेर घनीभूत बनाउँदै लगेका थिए। भारतले पाकिस्तानका तीन वटा हवाई अखडामा एयर–टु–सर्फेस मिसाइल आक्रमण गर्यो भने पाकिस्तानले यसको जवाफमा “अपरेसन बुन्यान मर्सूस” घोषणा गर्दै भारतीय सैन्य संरचनालाई लक्षित गर्यो। पाकिस्तान–शासित काश्मिरमा भारतीय गोलाबारीका कारण १३ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भए । भारतको तर्फबाट आतंकवादी शिविरहरूलाई लक्षित गरिएको भनिए तापनि ६० भन्दा बढीको मृत्यु भएको खबर आयो। यस्तो असहज स्थितिमा विनाशको बिन्दु मा पुगेको द्वन्द्वलाई रोक्न सहमतिमा पुग्न सफल हुनु आफैँमा एउटा कूटनीतिक/राजनीतिक दुर्दर्शिता हो ।
कूटनीतिक सक्रियता र अन्तर्राष्ट्रिय मध्यस्थता
यस युद्धविराम सम्झौताका मूल कडीमध्ये अमेरिकी भूमिका स्पष्ट देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानका शीर्ष नेतृत्वसँग निरन्तर संवाद राख्दै यो समझदारीको जग तयार गरेका थिए। रुबियोले सार्वजनिक रूपमा यो सहमतिका लागि प्रधानमन्त्री मोदी र शहबाज शरिफको “दूरदृष्टि र विवेक” को प्रशंसा गरे। पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डारका अनुसार यस कूटनीतिक पहलमा तीन दर्जन देशहरूको सहभागिता थियो, जसले यो क्षेत्रीय द्वन्द्वले विश्व समुदायमा पार्ने प्रभावबारेको गम्भीरतालाई उजागर गर्छ।
भारत–पाकिस्तानको आधिकारिक दृष्टिकोण
भारतका परराष्ट्रमन्त्री सुब्रह्मण्यम जयशंकरले यो युद्धविरामलाई “गोलाबारी तथा सैन्य कारबाही रोक्ने आपसी समझदारी” भन्दै पुष्टि गरे। तर साथसाथै उनले भारतको पुरानो नीति—“आतंकवादका सबै स्वरूपविरुद्धको कठोर अडान” लाई पनि दोहोर्याए। यसले देखाउँछ कि भारत शान्तिको पक्षमा उभिँदैमा आफ्नो सुरक्षा चासोलाई बेवास्ता नगर्ने नीति अवलम्बन गरिरहन्छ। भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले दिउँसो पाकिस्तानका DGMO सँग टेलिफोन संवाद भएको र साँझ ५ बजेबाट थल, जल र आकाश सबै माध्यमबाट हुने कारबाही रोक्ने सहमति भएको बताए।
निष्पक्ष स्थलमा वार्ताको संकेत
युद्धविराम मात्र स्थायी समाधान होइन। यस सहमतिपछि निष्पक्ष स्थलमा विस्तृत वार्ता सुरु गर्ने कुरा अमेरिकी विदेशमन्त्री रुबियोले उल्लेख गरेका छन्। यसले आगामी दिनमा द्वन्द्वको कारण बनेका मू काश्मिर मुद्दा, सीमा पार आतंकवाद, जल–स्रोतको व्यवस्थापन र व्यापार सम्बन्ध जस्ता विषयहरूलाई समेटेर एर दीर्घकालीन समाधान खोज्ने प्रयासको सम्भावनालाई जन्म दिन्छ।
निष्कर्ष
भारत र पाकिस्तानबीचको पछिल्लो युद्धविराम केवल दुई राष्ट्रबीचको अस्थायी सम्झौता मात्र होइन, यो क्षेत्रीय स्थायित्व तर्फको महत्त्वपूर्ण कदम हो। अन्तर्राष्ट्रिय समुदायको सक्रिय भूमिका, कूटनीतिक संयमता र शीर्ष नेतृत्वको परिपक्वताले यो समझदारी सम्भव बनाएको हो। तर शान्तिको यस प्रारम्भिक प्रयासलाई सफलतामा रूपान्तरण गर्न अब विश्वासको वातावरण सिर्जना, द्वन्द्वका मूल कारणमा गहिरो वार्ता र दीर्घकालीन समाधानका उपायहरू आवश्यक छन्। नत्र यो युद्धविराम पनि विगतका सम्झौताहरूझैँ कागजी घोषणामा सीमित हुने खतरा यथावत रहिरहनेछ।

त्यो गलत हल्ला फैलाउने निन्दक को थियो?

जनताले इतिहासको डंगुरमा फ्याँकिदिएका तानाशाह मुसोलिनी

जैविक बुद्धिजीवी

सुनको मूल्य किन कीर्तिमानी उचाइमा पुगेको छ?

विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ?

घातक रोगहरुबाट रक्षा गर्ने रोजमरी

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

प्रतिक्रिया