क्युबाको चिकित्सकीय अन्तर्राष्ट्रियता

फेब्रुअरी २५ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले द्वारा बिदेशमा संचालित चिकित्सा सहायता कार्यक्रमहरूसँग "सहभागी" हुने क्युबाली सरकारी अधिकारीहरू तथा अन्य देशका व्यक्तिहरूलाई समेत भिसामा प्रतिबन्ध लगाउने घोषणा गरे। अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ कि यो प्रतिबन्ध “हाल र पूर्व” अधिकारीहरूमा लागु हुन्छ, साथै “त्यस्ता व्यक्तिहरूका नजिकका पारिवारिक सदस्यहरू” मा पनि। यो कदम, जुन एक महिनाभित्र क्युबालाई लक्षित गरिएका सातौं उपाय हो, अन्तर्राष्ट्रिय रूपमा गम्भीर प्रभाव पार्ने खालको छ। दशकौंसम्म, झण्डै साठी देशहरूमा दशौं हजार क्युबाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू खटाइएका छन्, जो प्रायः विश्व स्वास्थ्य संगठन (WHO) का कर्मचारी संख्याभन्दा धेरै छन्, र ती सबै प्रायः उपेक्षित वा सेवा नपुगेका ग्लोबल साउथका देशहरुमा कार्यरत छन्। विदेशी अधिकारीहरूलाई भिसा नदिने धम्की दिई अमेरिकी सरकारले क्युबाली अन्तर्राष्ट्रिय स्वास्थ्य मिशनहरूमा अवरोध सिर्जना गर्न खोजेको हो। यदि यो योजना सफल भयो भने, लाखौं मानिसहरूले यसका दुखद परिणाम भोग्नेछन्।
रुबियोले आफ्नो राजनीतिक जीवन नै क्युबाली समाजवादविरुद्ध कडा अडानमा निर्माण गरेका छन्। उनले आफ्ना आमाबुबा फिदेल क्यास्ट्रोको शासनबाट भागेका हुन् भन्ने दाबी गरेका थिए, यद्यपि वाशिंगटन पोस्टले खुलासा गरे अनुसार, उनीहरू सन् १९५६ मै, फुलहेन्सियो बातिस्ताको अधिनायकवादी शासनका बेला मियामी गएका थिए। ट्रम्प प्रशासनमा विदेशमन्त्रीको हैसियतमा रुबियो अब अमेरिकाको क्युबाविरोधी नीतिलाई झन आक्रामक ढंगले अघि बढाउने स्थितिमा छन् — जुन नीति सन् १९६० को अप्रिलमा उप-विदेशमन्त्री लेस्टर म्यालोरीले अघि सारेका थिएः क्रान्तिकारी क्युबामाथि आर्थिक युद्धको हतियार प्रयोग गरी “भोकमरी, निराशा, र सरकार ढाल्ने” ल्याउने उद्देश्यसहित।
अमेरिकी सरकारले क्युबालाई मानव बेचबिखनको आरोप लगाउँदै विदेशमा खटाइएका क्युबाली स्वास्थ्यकर्मीहरूलाई दासहरूसँग तुलना गरेको छ। मार्को रुबियोको टुईटले यही आरोपलाई दोहोर्याएको थियो। तर यसको वास्तविक उद्देश्य क्युबाको अन्तर्राष्ट्रिय प्रतिष्ठा र स्वास्थ्य सेवा निर्यातबाट प्राप्त आम्दानीलाई कमजोर बनाउनु हो। सन् २००४ यता, क्युबाली चिकित्सा तथा व्यवसायिक सेवाको निर्यातबाट प्राप्त आम्दानी नै टापुराष्ट्रको सबैभन्दा ठूलो राजस्व स्रोत बनेको छ। यद्यपि लामो समयदेखि जारी अमेरिकी नाकाबन्दीले क्युबाको "सामान्य" अन्तर्राष्ट्रिय व्यापारमा अवरोध खडा गरेको छ, तर समाजवादी क्युबाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्न सफल भएको छ—त्यसैका साथसाथै अन्तर्राष्ट्रियवादी सिद्धान्तको आधारमा ग्लोबल साउथका देशहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ।
सन् १९६० यता करिब ६,००,००० क्युबाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले १८० भन्दा बढी देशहरूमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छन्। क्युबाली सरकारले आफ्नो चिकित्सा अन्तर्राष्ट्रियताको अधिकांश खर्च आफैं व्यहोरेको छ, जुन ग्लोबल साउथप्रति उसको एक अत्यन्त ठूलो योगदान हो—विशेषतः अमेरिकी नाकाबन्दीको प्रभाव र आफ्नै विकास चुनौतीहरूको सन्दर्भमा हेर्दा।
यद्यपि ग्वाटेमालाका अनुसन्धानकर्ता हेनरी मोरालेसले क्युबाको यो अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई "औपचारिक विकास सहायता" (Official Development Assistance - ODA) को रूपमा पुनःपरिभाषित गरेका छन्। उनले अन्तर्राष्ट्रिय बजारको औसत मूल्य तथा आर्थिक सहयोग तथा विकास संगठन (OECD) को कार्यविधि प्रयोग गरी क्युबाको विश्व विकासमा योगदानको आकार मापन गरेका छन्, जसले अन्य दाताहरू सँग तुलना गर्न सजिलो बनाउँछ। मोरालेसका अनुसार, क्युबाले चिकित्सा तथा प्राविधिक सेवाका रूपमा प्रदान गरेको ODA को मूल्य सन् १९९९ देखि २०१५ सम्मको अवधिमा ७१.५ अर्ब डलर भन्दा बढी रहेको थियो—जसको वार्षिक औसत ४.८७ अर्ब डलर पर्छ। यसले देखाउँछ कि क्युबाले आफ्नो कुल गार्हस्थ उत्पादन (GDP) को ६.६ प्रतिशत वार्षिक रूपमा ODA मा खर्च गरेको थियो, जुन विश्वकै सबैभन्दा उच्च अनुपात हो। तुलना गर्दा, युरोपको औसत ODA मात्र ०.३९ प्रतिशत थियो भने, अमेरिकाले ०.१७ प्रतिशत मात्र योगदान दिएको थियो। यस अवधिमा अमेरिकी नाकाबन्दीका कारण क्युबाले वार्षिक ४ देखि ५ अर्ब डलर को घाटा व्यहोर्नुपरेको हुँदा, यदि यो नाकाबन्दी नहुने हो भने क्युबाले आफ्नो ODA दोब्बर बनाउन सक्ने सम्भावना रहेको देखिन्छ।
यी खर्चहरूमा क्युबाली राज्यद्वारा शिक्षा, चिकित्सा तालिम, र टापु राष्ट्रमा आवश्यक पूर्वाधारमा गरिएको लगानी समावेश गरिएको छैन। साथै, क्युबाले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा कम शुल्क लिने वा धेरैजसो अवस्थामा शुल्क नै नलिने कारण ठूलो आर्थिक क्षति पनि बेहोर्नु परेको छ।
सन् २०१७ मा क्युबाली स्वास्थ्यकर्मीहरू ६२ देशहरूमा खटिएका थिए; तीमध्ये २७ देशहरू (४४ प्रतिशत) मा आमन्त्रण गर्ने सरकारहरूले कुनै पनि शुल्क तिरेका थिएनन्, भने बाँकी ३५ देशहरूले पूर्ण वा आंशिक रूपमा खर्च व्यहोरेका थिए—एक किसिमको लचकदार शुल्क संरचनाअनुसार। जहाँ-जहाँ आमन्त्रणकर्ताले सबै खर्च व्यहोर्छन्, त्यहाँ पनि उनीहरूले अन्तर्राष्ट्रिय मूल्यभन्दा कम शुल्क तिर्छन्। क्युबाले यो भिन्न शुल्क प्रणाली प्रयोग गरी आफ्नो आम्दानी सन्तुलनमा राखेको छ—जसअन्तर्गत धनी तेल राष्ट्रहरू (जस्तै कतार) बाट लिइएको शुल्कले गरिब राष्ट्रहरूमा निःशुल्क वा सस्तो दरमा सेवा पुर्याउन सहयोग पुर्याउँछ। चिकित्सा सेवाको शुल्क क्युबाली सरकारले लिन्छ, र त्यसको एक सानो अंश मात्र स्वास्थ्यकर्मीहरूलाई दिइन्छ—सामान्यतः उनीहरूले पाउने नियमित क्युबाली तलबभन्दा अतिरिक्त हुनेगर्छ।
सन् २०१८ मा, पहिलोपटक क्युबाको राष्ट्रिय तथ्याङ्क कार्यालयले छुट्टै रूपमा “स्वास्थ्य सेवा निर्यात” को आँकडा प्रकाशित गर्यो, जसअनुसार त्यस वर्ष क्युबाले ६.४ अर्ब डलर आम्दानी गर्यो। तर त्यसयता आम्दानीमा गिरावट आएको छ, विशेषतः अमेरिकी प्रयासहरू सफल भई क्युबाली चिकित्सा अन्तर्राष्ट्रियतामाथि हमला भएको कारण—जस्तै ब्राजिलमा भएका घटनाहरूले टापुको आम्दानीमा अर्बौंको क्षति पुर्याएको छ।
पहिल्यै सन् २००६ मा, जर्ज डब्ल्यू बुस प्रशासनले “मेडिकल प्यारोल कार्यक्रम” सुरु गर्यो, जसअन्तर्गत क्युबाली स्वास्थ्यकर्मीहरूलाई आफ्नो मिशन त्यागेर अमेरिकी नागरिकता लिन प्रलोभन दिइन्थ्यो। बाराक ओबामाले यो कार्यक्रम २०१७ को जनवरीसम्म, आफ्नो कार्यकालको अन्त्यसम्म पनि कायम राखे। २०१९ मा डोनाल्ड ट्रम्पले फेरि आक्रमण दोहोर्याउँदै क्युबालाई तेस्रो श्रेणी (Tier 3) मा राखिदिए, जुन अमेरिकी सूचीमा मानव बेचबिखन रोक्न असफल भएका देशहरूको श्रेणी हो—क्युबाको स्वास्थ्य अन्तर्राष्ट्रियतालाई आधार बनाएर। अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (USAID) ले समेत क्युबाली स्वास्थ्य कार्यक्रमहरू बदनाम गर्न र अवरोध सिर्जना गर्न विशेष परियोजना सुरु गर्यो।
सन् २०२४ मा अमेरिकी प्रतिनिधिसभाको विनियोजन समितिद्वारा पारित विधेयकमा “क्युबाबाट डाक्टरहरूको बेचबिखन” को पर्दाफास गर्ने कुरा समावेश गरिएको थियो, साथै “यस किसिमको आधुनिक दासत्वमा सहभागी भएका देशहरू” बाट सहायता फिर्ता गर्ने र क्युबाली प्रयोगशालाहरूलाई दिइने सहयोगसमेत बन्द गर्ने प्रावधान राखिएको थियो। उता, सोही विधेयकले क्युबाका लागि भनिएका “लोकतन्त्र कार्यक्रमहरू” मा ३० मिलियन डलर विनियोजन गर्यो—जसको वास्तविकता भने १९६० मा लेस्टर म्यालोरीले योजना बनाएको ‘शासन परिवर्तन’ हो, न कि लोकतन्त्रको प्रवर्द्धन।
आजको दिनमा क्युबा गम्भीर आर्थिक सङ्कटको चपेटामा छ, जुन प्रायः अमेरिकी प्रतिबन्धहरूको प्रत्यक्ष परिणाम हो। सार्वजनिक स्वास्थ्य प्रणाली अभूतपूर्व दबाबमा छ—सन् २०२१ यता भएको ठूलो मात्रामा आप्रवासनका कारण स्रोत र जनशक्तिको अभाव तीव्र रूपमा देखिएको छ। यद्यपि, क्युबाली सरकारले सन् २०२३ मा आफ्नो कुल गार्हस्थ उत्पादन (GDP) को करिब १४ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्दै निःशुल्क र सार्वभौमिक स्वास्थ्य सेवा कायम राखेको छ। अहिले पनि ५६ देशहरूमा २४,१८० क्युबाली स्वास्थ्यकर्मी कार्यरत छन्।
क्रान्तिकारी क्युबाको दृष्टिकोण कहिल्यै मात्र आफ्नै आवश्यकतामा सीमित थिएन। हेनरी मोरालेसको तथ्यांक अनुसार, केवल सन् १९९९ देखि २०१५ को अवधिमै, विदेशमा खटिएका क्युबाली स्वास्थ्यकर्मीहरूले ६ मिलियन मानिसको जीवन बचाएका, १.३९ अर्ब चिकित्सा परामर्श दिएका, १ करोड शल्यक्रिया गरेका, र २.६७ मिलियन सुत्केरी गराएका छन्। त्यस्तै, ७३,८४८ विदेशी विद्यार्थीहरू—जसमध्ये धेरै स्वास्थ्य क्षेत्रका थिए—क्युबाबाट व्यावसायिक रूपमा स्नातक भएका छन्। सन् १९६० देखि १९९८ सम्मका र २०१६ पछिका लाभार्थीहरूलाई समेत जोड्दा यो सङ्ख्या झनै उच्च हुँदै जान्छ।
लाभ प्राप्त गर्ने देशहरू विश्वका सबैभन्दा गरिब र सानातिना प्रभाव भएका राष्ट्रहरू हुन्; तीमध्ये थोरै सरकारहरूले अन्तर्राष्ट्रिय मञ्चमा प्रभाव जमाउनसक्ने शक्ति राख्छन्। यस्ता देशहरूमा लाभ पाउने जनसंख्या प्रायः सबैभन्दा वञ्चित र सीमान्तकृत वर्गहरू हुन्छन्। यदि क्युबाली स्वास्थ्यकर्मीहरू फर्काइए, तिनीहरूका लागि कुनै वैकल्पिक सेवा उपलब्ध हुने छैन। त्यसैले, यदि रुबियो र ट्रम्प सफल भए भने केवल क्युबालीहरू मात्र होइन, अहिले नै क्युबाली चिकित्सकीय अन्तर्राष्ट्रियताबाट जीवनरक्षा र जीवनस्तर सुधार गरिरहेका लाखौं विश्वव्यापी लाभार्थीहरू पनि पीडित हुनेछन्।

दक्षिणपूर्वी एसियामा आर्थिक सम्बन्ध सुदृढ गर्न सी जिनपिङको कूटनीतिक यात्रा

ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : यस्तो छ ट्रम्पको 'प्लान बी' !

स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी

नरसंहारको अन्तिम अध्याय

गाजामा युद्धविरामको अन्त्य

ट्रम्प २.० – चीनको दृष्टिकोण

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तिक्तता…

प्रतिक्रिया