नरसंहारको अन्तिम अध्याय

यो नरसंहारको अन्तिम अध्याय हो। यो गाजाबाट प्यालेस्टिनीहरूलाई धपाउने अन्तिम रक्तरंजित प्रयास हो। खानेकुरा छैन। औषधि छैन। बास छैन। सफा पानी छैन। बिजुली छैन। इजरायलले तिब्र गतिमा गाजालाई मानविय दुखको एउटा भयावह केन्द्रमा बदल्दैछ, जहाँ सयौं प्यालेस्टिनीहरू मारिएका छन् र चाँडै फेरि हजारौं, दशौं हजारको संख्यामा मारिनेछन् वा तिनीहरूलाई कहिल्यै नफर्किने गरी जबरजस्ती विस्थापित गरिनेछ।
यो अन्तिम अध्यायले इजरायली झूटहरूको अन्त्यलाई संकेत गर्छ। दुई-राज्य समाधानको झूट। इजरायलले नागरिकहरूको सुरक्षा गर्न बनाइएका युद्ध कानूनको सम्मान गर्छ भन्ने झूट। इजरायलले अस्पताल र विद्यालयहरू केवल हमासले युद्धका लागि प्रयोग गरेकोले नै बमबारी गर्छ भन्ने झूट। हमासले नागरिकहरूलाई मानव ढालका रूपमा प्रयोग गर्छ भन्ने झूट, जबकि इजरायलले बारम्बार प्यालेस्टिनी बन्दीहरूलाई जबरजस्ती अगाडि लगाएर विस्फोटक सुरुङहरू र भवनहरूमा पठाउँछ। अस्पताल, संयुक्त राष्ट्रसंघका भवनहरू वा प्यालेस्टिनीहरूको सामूहिक मृत्युको लागि हमास वा प्यालेस्टाइन इस्लामिक जिहाद (PIJ) नै जिम्मेवार छन् भन्ने झूट — प्रायः प्यालेस्टिनीहरूका आफ्नै बाटो बिराएका क्षेप्यास्त्रहरू माथि आरोप लगाइन्छ। गाजामा मानवीय सहायता रोकिएको कारण हमासले राहत सामग्री चोरेको वा हतियार तस्करी गरेको हो भन्ने झूट। इजरायली बच्चाहरूको शिरच्छेदन गरिएको वा प्यालेस्टिनीहरूले इजरायली महिलाहरूको सामूहिक बलात्कार गरेका भन्ने झूट। गाजामा मारिएका हजारौं मध्ये ७५ प्रतिशत हमासका "आतङ्ककारी" थिए भन्ने झूट। युद्धविराम भङ्ग भएको कारण हमासले पुनः हतियार जम्मा गरिरहेको वा नयाँ लडाकु भर्ती गरिरहेको हो भन्ने झूट।
अब इजरायलको नरसंहारको असली रुप खुलेको छ। उसले गाजाको उत्तरी भाग खाली गर्न आदेश दिएको छ, जहाँ आश्रयहीन प्यालेस्टिनीहरू आफ्नै घरका भग्नावशेषहरूमा अलपत्र परेका छन्। अब जे आउनेवाला छ त्यो हो व्यापक भोकमरी — संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (UNRWA) ले मार्च २१ मा भनेअनुसार, तिनसँग जम्मा छ दिनको मात्र आटाको आपूर्ति बाँकी छ। दूषित पानी र खानाबाट हुने रोगहरूबाट हुने मृत्युहरु, बम, मिसाइल, तोप र गोलीहरूको लगातार हमलामा प्रत्येक दिन दर्जनौं मारिने वा घाइते हुनेछन्। कुनै पनि सेवा सञ्चालनमा रहने छैन — न बेकरीहरू, न पानी शुद्धिकरण र ढल प्रणाली, न अस्पतालहरू — इजरायलले मार्च २१ मा क्षतिग्रस्त टर्कीस-प्यालेस्टिनी अस्पताल बमले उडाइदियो। न विद्यालयहरू, न राहत वितरण केन्द्रहरू, न क्लिनिकहरू संचालनमा आउनेछन् । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका ५३ आपतकालीन गाडीमध्ये अहिले आधाभन्दा कम मात्र इन्धनको अभावका कारण सञ्चालनमा छन्। चाँडै ती पनि बन्द हुनेछन्।
इजरायलको सन्देश स्पष्ट छ: गाजा अब बस्नै लायकको ठाउ हुनेछैन। छोडेर जाउ या मर।
मंगलबारदेखि, जब इजरायलले युद्धविराम तोडेर भारी बमबारी गर्यो, ७०० भन्दा बढी प्यालेस्टिनीहरू मारिए, जसमा २०० बालबालिका थिए। एउटै २४ घण्टाभित्र ४०० प्यालेस्टिनीहरूको हत्या गरियो। यो त केवल सुरुआत मात्र हो। कुनै पनि पश्चिमी शक्ति, जसमा यो नरसंहारका लागि हतियार उपलब्ध गराउने अमेरिका पनि छ, यसलाई रोक्ने कुनै इच्छा राख्दैनन्। गाजामा साढे सोह्र महिनासम्म चलेका निरन्तर आक्रमणहरूका तस्बिरहरू भयानक थिए। तर अब आउने अवस्था झनै भयानक हुनेछ। यो बीसौँ शताब्दीका सबैभन्दा क्रूर युद्ध अपराधहरू — जस्तै सन् १९४३ मा नाजीहरूले वार्सा यातना शिविर (गेटो ) मा गरेको भोकमरी, सामूहिक हत्या र पूरै सहर ध्वस्त बनाएको घटना — सँग तुलना गर्न सकिनेछ।
इजरायलको सन्देश स्पष्ट छ: गाजा अब बस्नै लायकको ठाउ हुनेछैन। छोडेर जाउ या मर।
अक्टोबर ७ इजरायलको नीतिमा एउटा विभाजनकारी रेखा कोर्ने दिन बन्यो। यसभन्दा अघि इजरायलले प्यालेस्टिनीहरूलाई दमन र उत्पीडन गर्ने नीति अपनाएको थियो, तर त्यस दिनपछि अब तिनीहरूको पूर्ण उन्मूलन र ऐतिहासिक प्यालेस्टाइनबाट विस्थापन गराउने नीति अख्तियार गरियो। अहिले हामीले देखिरहेको परिघटना ऐतिहासिक रूपमा सन् १८७६ को जुन महिनामा भएको 'लिटिल बिगहर्नको युद्ध' सँग मिल्दोजुल्दो छ, जहाँ जर्ज आर्मस्ट्रङ कस्टरको नेतृत्वमा रहेका करिब २०० अमेरिकी सैनिकहरू सफाया गरिएको थियो। त्यो अपमानजनक पराजयपछि अमेरिकी आदिवासीहरूलाई निर्ममतापूर्वक मार्ने वा बाँचेकाहरूलाई युद्धबन्दी शिविर (पछि आरक्षण भनेर भन्न थालियो) मा हाल्ने योजना बनाइयो, जहाँ हजारौँले रोगका कारण ज्यान गुमाए, सशस्त्र सेनाको कडा निगरानीमा बाँच्न बाध्य भए र गरिबी तथा निराशाको दलदलमा फस्न पुगे। गाजाका प्यालेस्टिनीहरूलाई पनि उस्तै नियति भोग्न बाध्य पारिने सम्भावना छ — तिनीहरूलाई विश्वकै कुनै दुर्गम र अकल्पनीय ठाउँमा विस्थापित गरिनेछ, जहाँ उनीहरूलाई बिर्सिइनेछ।
“गाजावासीहरू, यो तिमीहरुकोलागि अन्तिम चेतावनी हो," इजरायली रक्षामन्त्री इजरायल काट्जले दिए:
"पहिलो सिनवार (हमास नेता याह्या सिनवार) ले गाजालाई ध्वस्त पार्यो, दोस्रो सिनवारले यसलाई पूर्ण रूपमा नष्ट गर्नेछ। हमास लडाकूमाथि हवाई सेनाले गरेको आक्रमण त केवल पहिलो चरण मात्र हो। अब यो अझै कष्टकर बन्नेछ, र तिमीहरूले यसको सम्पूर्ण मूल्य चुकाउनु पर्नेछ। लडाईंको क्षेत्रमा रहेका मानिसहरूको विस्थापन फेरि सुरु हुनेछ... बन्धकहरू फिर्ता गर, हमासलाई हटाऊ, अनि तिमीहरूको लागि नयाँ विकल्प खुल्नेछ — जसमा गाजाबाट बाहिर निस्कने अवसर पनि हुनेछ। यसको अर्को विकल्प भनेको पूर्ण रूपमा विनाश हो।"
इजरायल र हमासबीचको युद्धविराम सम्झौता तीन चरणमा कार्यान्वयन गरिने गरी डिजाइन गरिएको थियो। पहिलो चरण, जसको अवधि ४२ दिन तोकिएको थियो, लडाइँको अन्त्य गराउने थियो। यस अवधिमा हमासले ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको थियो, जसमा महिला, ५० वर्षभन्दा माथिका व्यक्ति र गम्भीर बिरामीहरू समावेश थिए। यसको बदलामा इजरायलले २,००० भन्दा बढी प्यालेस्टिनी पुरुष, महिला र बालबालिकालाई जेलमुक्त गर्ने सम्झौता थियो (मार्च १८ सम्म इजरायलले करिब १,९०० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिसकेको छ)। हालसम्म हमासले जम्मा १४७ बन्धकहरूलाई रिहा गरेको छ, जसमा आठ जनाको मृत्यु भइसकेको थियो। इजरायलका अनुसार, हालसम्म ५९ जना इजरायलीहरू अझै पनि हमासको नियन्त्रणमा छन्, जसमा ३५ जनालाई इजरायलले मृत घोषित गरेको छ।
इजरायलले सँधै जस्तै यसपटक पनि सम्झौतामा उल्लिखित सबै चरणहरूको पालना गरेन। यसअघि क्याम्प डेभिड सम्झौता वा ओस्लो शान्ति सम्झौतामा पनि समयसीमा र चरणहरू तोकिए तापनि इजरायलले पहिलो चरणबाट आफूलाई फाइदा हुने सबै कुरा लिने र त्यसपछि बाँकी चरणहरू उल्लंघन गर्ने नीति अपनाएको छ।
इजरायली सेना युद्धविराम सुरु भएको पहिलो दिन नै गाजाका जनसंख्या भएको क्षेत्रहरूबाट पछि हट्नेछ। सातौँ दिनमा विस्थापित प्यालेस्टिनीहरूलाई गाजाको उत्तरी भागमा फर्कन अनुमति दिने भनिएको थियो। साथै, इजरायलले प्रत्येक दिन ६०० वटा राहत ट्रकहरूलाई गाजामा खाद्यान्न र औषधि लिएर प्रवेश गर्न दिने सहमति गरेको थियो।
दोस्रो चरण, जुन युद्धविरामको सोह्रौँ दिनमा वार्ता गरेर तय गरिनुपर्ने थियो, बाँकी इजरायली बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने लक्ष्य राखिएको थियो। साथै, इजरायलले गाजाबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गर्ने तर केही भागमा, विशेष गरी गाजा र इजिप्टको बीच आठ माइल लामो "फिलाडेलफिया करिडोर" क्षेत्रमा, आफ्नो उपस्थिति कायम राख्ने बताइएको थियो। इजरायलले राफाह सीमा नाकाको नियन्त्रण पनि इजिप्टलाई हस्तान्तरण गर्ने सहमति जनाएको थियो।
तेस्रो चरणमा युद्धको स्थायी अन्त्य र गाजाको पुनर्निर्माणका लागि वार्ता गरिनुपर्ने थियो।
तर, इजरायलले सँधै जस्तै यसपटक पनि सम्झौतामा उल्लिखित सबै चरणहरूको पालना गरेन। यसअघि क्याम्प डेभिड सम्झौता वा ओस्लो शान्ति सम्झौतामा पनि समयसीमा र चरणहरू तोकिए तापनि इजरायलले पहिलो चरणबाट आफूलाई फाइदा हुने सबै कुरा लिने र त्यसपछि बाँकी चरणहरू उल्लंघन गर्ने नीति अपनाएको छ। यो प्रवृत्ति अहिलेसम्म कहिल्यै परिवर्तन भएको छैन।
इजरायलले दोस्रो चरणको सम्झौता मान्न अस्वीकार गर्यो। उसले सम्झौताको उल्लंघन गर्दै दुई हप्ता अघिदेखि नै उसले गाजामा मानवीय सहायता प्रवेश गर्न रोक लगायो। साथै, युद्धविराम अवधिमा नै कम्तीमा १३७ प्यालेस्टिनीहरूलाई हत्या गरियो। मार्च १५ मा इजरायली ड्रोन आक्रमणमा उत्तरी गाजाको बेत लाहियामा राहत वितरण टोली लक्षित गरियो, जसमा तीन जना पत्रकारसहित नौ जनाको ज्यान गयो।
मार्च १८ मा, जब अधिकांश प्यालेस्टिनीहरू सुतिरहेका थिए वा पवित्र रमजान महिनाको सूर्योदयपूर्व खानेकुरा (सहूर) को तयारी गरिरहेका थिए, इजरायलले फेरि भारी बमबारी र गोलाबारी सुरु गर्यो। अब बाँकी बन्धकहरू रिहा भए पनि इजरायलले आफ्ना आक्रमणहरू रोक्ने जुन गाजामा बमबारी र घेराबन्दी पुनः सुरु गर्नुको इजरायलको कथित कारण थियो।
यसैबीच, ट्रम्प प्रशासनले यो नरसंहारलाई समर्थन गरिरहेको छ। उनीहरूले नरसंहारको आलोचना गर्नेहरूलाई "यहूदीविरोधी" को रूपमा गाली गर्दै आवाज दबाउने, अपराधीकरण गर्ने वा देश निकाला गर्ने अभियान चलाइरहेका छन्, जबकि इजरायललाई अर्बौं डलर बराबरको हतियार आपूर्ति गरिरहेका छन्।
गाजामा इजरायलको जारी नरसंहारकारी आक्रमण यसको आप्रवासी औपनिवेशिक परियोजना र रंगभेदी राज्यको अपरिहार्य परिणति हो। सम्पूर्ण ऐतिहासिक प्यालेस्टाइनको कब्जा - र मलाई लाग्छ वेस्ट ब्याङ्कमा पनि चाँडै इजरायलद्वारा कब्जा गरिनेछ। र सबै प्यालेस्टिनीहरूलाई विस्थापित गर्नु यहूदीहरूको सधैं लक्ष्य रहिआएको छ।
आज हामी जसको साक्षी बनिरहेका छौँ, त्यो इतिहासका सबै प्यालेस्टिनीमाथिका आक्रमणहरूभन्दा धेरै भयावह छ। इजरायलको उन्मत्त नरसंहारवादी सपना— प्यालेस्टिनीहरूका लागि एउटा दुःस्वप्न— अब पूरा हुन लागेको छ।
इजरायलले सन् १९४८ र १९६७ का युद्धहरूमा सबैभन्दा भयावह अपराधहरू गर्यो। यी युद्धहरूमा ऐतिहासिक प्यालेस्टाइनका विशाल क्षेत्र कब्जा गरिए, हजारौँ प्यालेस्टिनीहरूको हत्या गरियो, र लाखौँलाई जातीय रूपमा विस्थापित गरियो। ती युद्धहरूका बीचमा पनि, पश्चिमी किनार (विशेष गरी पूर्वी जेरुसलेम) मा प्यालेस्टिनी भूमि क्रमशः कब्जा गर्ने, घातक आक्रमणहरू गर्ने, र जातीय सफाया गर्ने क्रम सुस्त गतिमा निरन्तर चलिरह्यो।
तर अब त्यो 'नियन्त्रित नृत्यको' प्रक्रिया समाप्त भएको छ। यो अन्तिम चरण हो। आज हामी जसको साक्षी बनिरहेका छौँ, त्यो इतिहासका सबै प्यालेस्टिनीमाथिका आक्रमणहरूभन्दा धेरै भयावह छ। इजरायलको उन्मत्त नरसंहारवादी सपना—प्यालेस्टिनीहरूका लागि एउटा दुःस्वप्न—अब पूरा हुन लागेको छ।
यसले अब सधैँका लागि त्यो मिथकलाई ध्वस्त पार्नेछ, जसअनुसार हामी वा कुनै पनि पश्चिमी राष्ट्र कानूनी शासनको सम्मान गर्छौँ, मानवअधिकार, लोकतन्त्र, र तथाकथित "पश्चिमी सभ्यताको नैतिकता" का रक्षक हौँ। इजरायलको बर्बरतापूर्ण आचरण हाम्रै प्रतिबिम्ब हो। हामीले यसलाई बुझ्न नचाहे पनि, बाँकी विश्व यस यथार्थलाई राम्ररी बुझिरहेको छ ।
स्रोत: https://x.com/ अनुवाद: केदार सिटौला

स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी

गाजामा युद्धविरामको अन्त्य

ट्रम्प २.० – चीनको दृष्टिकोण

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तिक्तता…

अमेरिका र युक्रेनबीच खनिज स्रोतहरूमा पहुँचबारे सम्झौता

अमेरिका र रुसबीच रियादमा युक्रेन युद्ध अन्त्यबारे महत्वपूर्ण वार्ता

सभ्यताहरूबीचको संवाद शान्ति र संस्कृतिका लागि हवाना सम्मेलन

प्रतिक्रिया