मानव पुर्खाका खोजमा एउटा क्रान्तिकारी उपलब्धि लुसी !

संसारकै सबैभन्दा प्रसिद्ध जीवाश्मा लुसी कसरी खोजिएको थियो ? गीतले जुराएको त्यो अमर नाम !

प्राप्त जीवाश्माका आधारमा पुनसंरचना गरिएको लुसीको तस्विर

मानव विकासक्रमबारे जान्न, बुझ्न र थाहा पाउनका लागि लामो समयदेखि अध्ययन हुँदै आएका छन् । इतिहासका विभिन्न कालखण्डमा फेला परेका जीवाश्माहरुले मानव विकासक्रमबारे नयाँ नयाँ तथ्यहरु उद्घाटित गर्दै आएका छन् । त्यसक्रममा फेला परेका लुसी (Lucy) मानव विकासक्रमको सबैभन्दा चर्चित जीवाश्मा (fossil) मध्ये एक हो। यो करिब ३२ लाख वर्ष पुरानो मानिन्छ । यो त्यसबेलासम्म फेला परेका सबैभन्दा पुरानो मानव पुर्खाको कंकालमध्ये एक थियो ।

लुसीको खोजले मानव विकासक्रमबारे मानव जातिको बुझाइमा क्रान्तिकारी परिवर्तन ल्यायो। किनभने लुसी त्यस्तो प्रमाण थियो जसले मानव पुर्खा हात खुट्टा टेकेर मात्रै हैन, खुट्टा पनि टेकेर हिँड्न (Bipedalism) सिकिसकेका थिए भन्ने कुरा उद्घाटित गरिदिएको थियो । लुसीको अध्यययनबाट वैज्ञानिकहरुले मानिसका पुर्खाहरू रूख चढ्ने मात्र नभई जमिनमा दुई खुट्टाले हिँड्थे भन्ने थाहा लाग्यो । मानव पुर्खा लामो समयअघि नै दुई खुट्टामा हिँड्न सिकिसकेका थिए भन्ने कुरालाई पुष्टि गर्ने पहिलो प्रमुख प्रमाण लुसीलाई मानिन्छ ।

यसरी फेला परेको थियो लुसी

अमेरिकी जीवाश्म वैज्ञानिक डोनाल्ड जोहन्सनको नेतृत्व तथा टोम ग्रे, मौरिस ताएब र इभ कोप्पेन्सको सहनेतृत्वमा एउटा वैज्ञानिक टोली  इथियोपियाको अफार क्षेत्रमा रहेको हदार (Hadar) मा पुरातात्त्विक अन्वेषण गरिरहेका थिए । त्यसबेला खासै अध्यनन–अनुसन्धान भइनसकेको इथियोपियाको उत्तरपूर्वी भागमा रहेको यो ठाउँ पुरातात्त्विक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । किनभने यहाँ पुराना मानव पुर्खाका जीवाश्महरू फेला पर्ने सम्भावना धेरै थियो।  अनुसन्धानकर्ताहरूले पहिले नै केही पुराना जीवाश्महरू फेला पारिसकेका थिए । त्यही कारण उनीहरू यहाँ थप अनुसन्धान गर्न आएका थिए ।

लुसीको जीवाश्मीकृत अवशेष प्रारम्भिक मानव पूर्वजको सबैभन्दा पूर्ण कंकाल थियो, जब उनलाई फेला पारियो। - एरिजोना स्टेट विश्वविद्यालय । Image: https://www.aol.com

नोभेम्बर २४, १९७४, को दिन पुरातात्विक अन्वेषण र उत्खनन गरिरहँदा  अचानक जोहन्सनले मानिसको हड्डी जस्तो देखिने केही भागहरू फेला पारे।प्रारम्भिक अवलोकनपछि, त्यो जीवाश्म कुनै साधारण जीवको नभई मानव पुर्खासँग सम्बन्धित भएको निष्कर्ष निकालियो।त्यसबाट उत्साहित बनेको टोलीले थप उत्खनन गर्दा करिब ४०% मानव कंकाल (skeleton) फेला पर्यो। त्यसमा खुट्टाको हड्डी (Femur), खोपडीको हड्डी (Skull fragments), खुट्टाको औंला र हातका हड्डी, मेरुदण्ड (Spine) र पिँडुला हड्डी (Tibia) तथा पेल्भिसको हड्डीको  अंश थिए ।

‘लुसी’ नामाकरण

जीवाश्मा भेटिएको कुराले उक्त टोलीमा निक्कै हर्ष पैदा गर्‍यो । त्यो फेला परेको रात अनुसन्धान टोली आफ्नो क्याम्पमा त्यसको खुसियालीमा मनाउँदै थियो । त्यो समय उनीहरूले द बिटल्स ब्याण्डको गीत "Lucy in the Sky with Diamonds" सुन्दै थिए। त्यसले जोहन्सनको मनमा अनौठो विचार पलायो । उनले आफूहरुले फेला पारेको जीवाश्माको नाम सोही गीतको आधारमा लुसी (Lucy) राख्ने निर्णय गरे।

वैज्ञानिक अध्ययन र पुष्टि

पक्कै पनि उक्त जीवाश्मको खोज निक्कै महत्त्वपूर्ण थियो । विस्तृत अध्ययनपछि लुसीको उमेर ३२ लाख वर्ष पुरानो भएको प्रमाणित गरियो।त्यसको प्रजाति Australopithecus afarensis रहेको खुट्याइयो । अध्ययनको क्रममा वैज्ञानिकहरु के निष्कर्षमा पुगे भने लुसीका पालामा मानिसका पुर्खाहरू उभिएर दुई खुट्टामा हिँड्न थालिसकेका थिए । लुसीको हड्डी संरचनाले प्रमाणित गर्‍यो कि उनी बिपेडल (दुई खुट्टामा हिँड्ने) थिइन्। रोचक चाहिँ के थियो भने त्यसबेला मानव पुर्खाको मस्तिष्क अझै सानो थियो।

लुसीको शरीर संरचनाको अध्ययन गर्दा उसको पेल्भिस (hip bone) र फिमर (thigh bone) को संरचना आधुनिक मानवको जस्तै देखिन्छ।यो भनेको ‘बिपेडलिज्म’को प्रमाण हो । यस तथ्यको उद्घाटनले मानव विकासक्रमको अध्ययनमा ठुलो छलाङ दिएको थियो।

फेला परेको हड्डीहरुको अध्ययनबाट के अनुमान गरियो भने लुसीको उचाइ करिब १.१ मिटर (३.५ फिट) थियो। उनको तौल करिब २९-४५ किलोग्राम को बीचमा थियो। लुसीको टाउको टाउको सानो र बाँदर जस्तो थियो, तर शरीरको बनावटले मानवजस्तै दुई खुट्टामा हिँड्न सक्थिन् भन्ने देखाउँथ्यो।

वैज्ञानिकहरुले गणना गरेअनुसार, लुसीको मस्तिष्कको आकार ३८० – ४३० घन से.मी. (cubic centimeters) मात्र थियो । यो भनेको  जुन आजको चिम्पान्जीको जत्रै हो।यसको अर्थ, ऊ बुद्धिमानीको हिसाबले धेरै उन्नत थिएन ।

लुसी दुई खुट्टामा उभिएर हिँड्न सक्ने भए पनि उनी रुखहरु पनि चढ्न सक्थिन् । यो कुरा उनका हातहरू लामो रहेकोले देखाउँछ ।

लुसी दुई खुट्टामा हिँड्ने प्रारम्भिक मानव पुर्खामध्ये एक हो। लुसीको अध्ययनले मानिस दुई खुट्टामा हिँड्न सुरू गर्नुअघि नै मानव पुर्खाहरूको मस्तिष्क ठूलो भएको थिएन भन्ने देखाउँदछ । वैज्ञानिकहरुको विश्लेषणमा लुसीको शरीरको विशेषताहरूले बाँदर र मानिसबीचको संक्रमणकालीन रूप देखाउँछ। यसले पुष्टि गर्छ कि दुई खुट्टामा उभिएर हिँड्न थाल्नु मानव विकासक्रमको प्रारम्भिक विशेषता हो।

लुसीको हड्डीहरूको अध्ययन गर्दा  त्यसमा फ्र्याक्चरहरू फेला परेको तथा लडेर चोटग्रस्त भएको फेला परेको थियो । त्यस आधारमा वैज्ञानिकहरुले ऊ १२ मिटर (४० फिट) जति अग्लो रूखबाट खसेर मरेको हुनसक्ने निष्कर्ष निकालेका छन्।

हाल  लुसीको वास्तविक जीवाश्म इथियोपियाको नेशनल म्युजियम, एडिस अबाबा (Addis Ababa, Ethiopia) मा सुरक्षित छ।यसको प्रतिकृति (Replica) विभिन्न संग्रहालयहरूमा देख्न सकिन्छ ।

Main Image: https://en.wikipedia.org

 

 

सन् १९७४ मा इथियोपियाको अफारमा डोनाल्ड जोहानसन। तस्विर: मानव उत्पत्तिसम्बन्धी संस्थान/एरिजोना स्टेट विश्वविद्यालय । Image: https://media.zenfs.com

संसारकै सबैभन्दा प्रसिद्ध जीवाश्मा लुसी कसरी खोजिएको थियो ?

लुसी फेला पर्ने टोलीका नेता जोहानसनसँगको कुराकानी

नोभेम्बर २४, १९७४ मा अमेरिकी पुराजैवशास्त्री डन जोहानसन र स्नातक विद्यार्थी टम ग्रेले इथियोपियामा गरेको यस खोजले मानव इतिहासको नयाँ अध्याय खोलेको थियो। यसले ३२ लाख वर्ष पहिले पुरातन होमिनिनहरू दुई खुट्टामा सिधा हिँड्न सक्षम रहेको प्रमाण प्रस्तुत गर्‍यो— जुन गुण पहिला ठूलो मस्तिष्क र उपकरण प्रयोगसँगै पछिल्लो चरणमा विकास भएको ठानिएको थियो।

नयाँ प्रजाति Australopithecus afarensis को रूपमा वर्गीकृत गरिएकी, तर सरल नाम "लुसी" द्वारा व्यापक रूपमा परिचित, उनले बाँदर र मानवजस्तै विशेषताहरूको मिश्रण देखाइन्, जसले मानव परिवारको विकासक्रममा महत्त्वपूर्ण स्थान ओगटेको संकेत गर्‍यो। उनले पाँच दशकसम्म वैज्ञानिक अनुसन्धान र बहसलाई प्रेरित गरेकी छिन्, साथै मानव उत्पत्तिप्रति व्यापक सार्वजनिक जिज्ञासा जगाएकी छिन्।

हाल लुसीभन्दा दोब्बर उमेरका होमिनिन जीवाश्माहरू फेला परेका छन्, तर उनी अझै पनि पुराजैविकीय क्षेत्रकी ‘रक स्टार’ जस्तै छिन्। एउटै व्यक्तिको ४७ वटा हड्डीहरू मिलेर बनेकी, उनी फेला पारिएको समयमा मानव पूर्वजको सबैभन्दा पुरानो र सबैभन्दा पूर्ण कंकाल थिइन्।

रिजोना स्टेट विश्वविद्यालयको Institute of Human Origins का संस्थापक निर्देशक, ८१ वर्षीय जोहानसनसँग लुसीको खोजी र उनको महत्त्व किन आजसम्म कायम छ भन्नेबारे सिएनएनले गरेको कुराकानीको नेपाली अनुवाद प्रस्तुत छ:

 हामीलाई ५० वर्ष अगाडि फर्काएर लैजानुहोस्।

त्यो आइतबार बिहान थियो, र तापक्रम १०० डिग्री फारेनहाइटभन्दा माथि थियो। म इथियोपियाको अफार क्षेत्रमा थिएँ, जुन पृथ्वीका सबैभन्दा तल्लो ठाउँहरूमध्ये एक हो। त्यहाँ प्राचीन भूगर्भीय तहहरू छन्, जुन लाखौँ वर्ष पुराना छन्।

म ३२ लाख वर्ष पुरानो गादमाथि हिँड्दै विभिन्न प्रकारका जनावरहरूको जीवाश्मीकृत अवशेष खोजिरहेको थिएँ, विशेष गरी हाम्रा पूर्वजहरूको अवशेष। अचानक, मैले आफ्नो दाहिने काँधको माथितिर हेरेँ। यदि मैले बायाँ काँधमाथितिर हेरेको भए, मैले त्यो देख्न सक्ने थिइनँ।

मैले देखेको सानो हड्डीको टुक्रा थियो—कुहिना (elbow) को सानो भाग र पाखुरा (forearm)को हड्डीको अंश। मैले तुरुन्तै बुझें कि यो कुनै मानव पूर्वजको थियो। यो हरिणको थिएन। यो बाँदरको थिएन। यो कुनै पनि अन्य जनावरको अवशेष थिएन।

मेरो विद्यार्थी र म झुकेर नजिकबाट हेर्यौं। हामीले माथि नजर घुमायौं, र त्यहाँ खप्परका टुक्रा, पेल्भिस (pelvis)को टुक्रा, पाखुराको हड्डी, अनि खुट्टाको हड्डी फेला परे। त्यो क्षणमा मैले महसुस गरें कि यो त मेरो बाल्यकालदेखिको सपना थियो... मलाई सधैं अफ्रिका गएर केही विशेष कुरा फेला पार्न मन थियो, र हेर न, यो साँच्चै विशेष कुरा थियो। तर, हामीले अनुमान गरेका थिएनौं कि यसले मानव उत्पत्तिको अध्ययनमा ‘आइकनिक’ स्थान पाउनेछ।

मैले देखेको सानो हड्डीको टुक्रा थियो—कुहिना (elbow) को सानो भाग र पाखुरा (forearm)को हड्डीको अंश। मैले तुरुन्तै बुझें कि यो कुनै मानव पूर्वजको थियो।

कंकाल उत्खनन गर्न कति समय लाग्यो?

हड्डीहरू निकै नै नाजुक थिए। तिनीहरू खनिजीकृत भइसकेका थिए, ढुंगामा परिवर्तन भइसकेका थिए। हामीले धेरै सावधानीपूर्वक घिस्रिएर स्पष्ट देखिने टुक्राहरू उठायौं। त्यसपछि, माटोको माथिल्लो तहलाई एक एक इन्च गरेर हटायौं र ती टुक्राहरू बोराको झोलामा राख्यौं। त्यसपछि, तीनलाई नदीको पानीले निकै सुक्ष्म जालीबाट छानेर सफा गर्‍यौं। यो सम्पूर्ण प्रक्रिया करिब २ हप्ताभन्दा केही बढी (अन्दाजी अढाइ हप्ता) लागेको थियो।

यो निकै अचम्मको अनुभव थियो—उनी प्रयोगशालाको टेबलमा एकताबद्ध हुँदै गएको देख्दा। उनको फिमर (जाँघको हड्डी) केवल १ फिट (२८ सेन्टिमिटर) मात्र लामो थियो।

मैले सोचें, "यो के हो?" "के यो बच्चा हो?"
तर जब मैले उनको च्यापु (Jaw) हेरेँ, तिनीका बुद्धिबङ्गरा (wisdom teeth) उम्रिसकेका थिए, जसको अर्थ उनी वयस्क थिइन्।

साँच्चै उनी वयस्क थिइन् भने, उनको उचाइ जम्मा करिब ३.५ फिट (१ मिटर) मात्र हुनुपर्थ्यो!

जीवाश्माको नाम लुसी कसरी राखियो?

हड्डीहरूको नाजुक बनावट र छोटो कदका कारण हामीले उनलाई सम्भवतः महिलाका रूपमा ठानेका थियौं। (पछि गरिएका जीवाश्मा खोजहरूले देखाए कि पुरुषहरू महिलाभन्दा धेरै ठूला थिए।)

त्यो रात शिविरमा हामी द बीटल्स को एल्बम “Sgt. Pepper’s Lonely Hearts Club Band” बजाइरहेका थियौं। त्यही क्रममा “Lucy in the Sky With Diamonds” गीत बज्दै गर्दा शिविरका एक सदस्यले भने, “किन उनलाई लुसी भनेर नबोलाउने?”

सिधा हिँड्ने क्षमता झनै वनजङ्गलयुक्त वातावरणमा विकसित भएको थियो, जति हामीले पहिला सोचेका थियौं, त्योभन्दा बढी।

यो मात्र संयोग थियो, तर यो नाम टिकिरह्यो। धेरै हिसाबले यो आकर्षक नाम थियो। मानिसहरू यसलाई चिन्न र आत्मसात् गर्न सक्थे। यसले ती हड्डीहरूलाई एउटा मानिसको रूपमा जीवन्त बनायो। यसले मानिसहरूलाई आकर्षित गर्‍यो, र उनीबारे थप जान्न उत्सुक बनायो।आजसम्म पनि उनी आम मानिसका लागि मानव उत्पत्तिको प्रतीक बनेकी छन्।

लुसी कस्तो संसारमा बस्थिन्?

त्यो वातावरण अहिले तपाईंले अफ्रिकाको खुला मैदान (Serengeti) मा चार-पांग्रे गाडीमा यात्रा गर्दा देख्नेजस्तो थिएन।त्यो खुला मैदान थिएन। त्यो जंगलले ढाकिएको थियो, तर अत्यधिक घना उष्णकटिबंधीय वर्षावन थिएन—कहिलेकाहीं खुला झाडी पनि हुन्थ्यो। त्यसैले त्यहाँ विभिन्न प्रकारका फलफूल, गेडागुडीहरू सजिलै पाइन्थे। सम्भवतः उनीहरूले चराहरूको गुँड, गोहीका गुँड, कछुवाका गुँडबाट अन्न संकलन गर्थे।

यो देखिन्छ कि सिधा हिँड्ने क्षमता झनै वनजङ्गलयुक्त वातावरणमा विकसित भएको थियो, जति हामीले पहिला सोचेका थियौं, त्योभन्दा बढी।
पहिलेको धारणा यस्तो थियो कि जङ्गल समाप्त भएपछि मात्र हामीहरू घाँसे मैदान (savanna) मा निस्कियौं, र उभिएर अग्लो घाँसको माथिबाट वरपर हेर्ने प्रवृत्ति विकसित गर्‍यौं।

तर वास्तविकता के हो भने, घाँसे मैदानमा घरपालुवा बिरालोभन्दा पनि तीव्र चाल भएका मांसाहारी जनावरहरू छन्, र त्यस्तो स्थानमा बाँच्न गाह्रो हुन्थ्यो।

मलाई लाग्छ, लुसी नै त्यो ‘स्पार्क’ थिइन् जसले मानव उत्पत्तिको अध्ययनमा नयाँ चरणको सुरुवात गरिन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनको खोजले ३० लाख वर्षको समयसीमालाई तोड्यो।

मलाई लाग्छ दुई खुट्टामा हिँड्ने बानी (bipedalism) तर्कसंगत रूपमा वनजङ्गलमै विकसित भएको थियो।

लुसीको खोज गरिएको समयमा उनको महत्त्व के थियो?

उनको खोज हुँदा, उनी सबैभन्दा पुरानो र सबैभन्दा पूर्ण रूपमा फेला परेको होमिनिन जीवाश्म थिइन्। त्यसबेला, १९७० को दशकको सुरुवातमा, यो क्षेत्र (हदार, इथियोपिया) अज्ञात भूभाग (terra incognita) थियो। धेरै कम वैज्ञानिकहरूले यहाँ अन्वेषण गरेका थिए। लुसीको खोजपछि, अन्य वैज्ञानिकहरू पनि आफ्नै अभियान सञ्चालन गर्न थाले, र अझ रोमाञ्चक खोजहरू हुन थाले।

तर मलाई लाग्छ, लुसी नै त्यो ‘स्पार्क’ थिइन् जसले मानव उत्पत्तिको अध्ययनमा नयाँ चरणको सुरुवात गरिन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनको खोजले ३० लाख वर्षको समयसीमालाई तोड्यो। साथै, हदार क्षेत्रमा धेरै जीवाश्महरू पाइएका छन्।
यस क्षेत्रबाट Australopithecus afarensis प्रजातिका धेरै जीवाश्म फेला परे, जसले मानव विकासक्रम बुझ्नका लागि एक ठोस आधार प्रदान गर्‍यो।
यसकारण, अफार क्षेत्रका अन्य खोजहरूलाई पनि लुसीसँग तुलना गरी मूल्याङ्कन गर्न सकियो।

मानव विकासक्रमको अध्ययनमा पछिल्ला ५० वर्षमा तपाईंलाई सबैभन्दा धेरै चकित बनाएको कुरा के हो?

सबैभन्दा चकित पार्ने कुरामध्ये एउटा हामीकहाँ निएन्डरथल (Neanderthal) को जीन रहेको पत्ता लाग्नु हो।वर्षौँ पहिले, हामी आफूलाई निएन्डरथलबाट धेरै फरक मान्थ्यौं। हामीबीच जीनको आदानप्रदान भएको थिएन भन्ने सोचिन्थ्यो।

सबैभन्दा चकित पार्ने कुरामध्ये एउटा हामीकहाँ निएन्डरथल (Neanderthal) को जीन रहेको पत्ता लाग्नु हो।

तर जीवाश्म-आनुवंशिकी (paleogenetics) को अध्ययनले देखायो कि हाम्रो जीनमा १% देखि ४% निएन्डरथल DNA छ।म आफैंसँग २.१% निएन्डरथल जीन छ—केही व्यक्तिहरूभन्दा बढी।

यसबाहेक, पछिल्लो मानव उत्पत्तिको अध्ययनमा एक अर्को आश्चर्यजनक खोज साइबेरियामा फेला परेको जीवाश्मबाट भएको थियो।त्यहाँ पत्ता लागेको DNA न त मानव थियो, न त निएन्डरथल।यो एक बिल्कुलै नयाँ प्रजाति थियो, जसबारे हामीलाई धेरै थाहा छैन।हामीले तिनीहरूलाई "Denisovans" भनेर नाम दिएका छौँ।

पछिल्लो ५० वर्षमा लुसीसम्बन्धी धारणा कसरी परिवर्तन भएको छ?

शुरुआती दिनहरूमा, मुख्य प्रश्न उठेको थियो—हामीलाई कसरी थाहा भयो कि लुसी ३० लाख वर्षभन्दा पुरानी छिन्? १९७० को दशकको सुरुवातमा चट्टानहरूको उमेर निर्धारण गर्ने  आर्गन डेटिङ (Argon dating) प्रविधिले निकै महत्त्वपूर्ण प्रगतिहरू गर्दै थियो।त्यसैले, यो प्रश्न चाँडै नै हट्यो।

तर केही आलोचकहरूले भने लुसीले टेढो कम्मर र टेढो घुँडासहितको चाल ("bent hip, bent knee gait") मा हिँड्थिन् भन्ने तर्क गरे।
तर सबैभन्दा महत्त्वपूर्ण प्रमाण सन् १९७८ मा भेटियो, जब मेरी लिकी (Mary Leakey) को टोलीले उत्तरी टान्जानियामा (Laetoli) पाइला छापहरू फेला पार्यो।

लुसीको प्रजातिले प्रत्यक्ष रूपमा आधुनिक मानव (Homo sapiens) लाई जन्म दिएको होइन।तर, मानव विकासक्रमको वंशवृक्षमा उनको स्थान अति महत्त्वपूर्ण थियो।

ती जीवहरू जुत्ता लगाउँदैनथे, त्यसैले ज्वालामुखीबाट निस्केको खरानी (volcanic ash) मा हिँड्दा समुद्रतटको बालुवामा पाइला छोडेझैँ छाप रह्यो।
यी छापहरूले देखाए कि उनीहरू लगभग हाम्रै जस्तै गरी दुई खुट्टामा हिँड्थे।

के लुसी आधुनिक मानवकी प्रत्यक्ष पूर्वज थिइन्?

लुसीको प्रजातिले प्रत्यक्ष रूपमा आधुनिक मानव (Homo sapiens) लाई जन्म दिएको होइन।तर, मानव विकासक्रमको वंशवृक्षमा उनको स्थान अति महत्त्वपूर्ण थियो।
उनको प्रजातिबाट उत्पन्न भएका धेरै होमिनिन प्रजातिहरू क्रमशः लोप भए।
तर होमो वंश (genus) ले निरन्तरता पायो र अन्ततः हामी होमो सेपियन्स (Homo sapiens) मा विकास भयौं।

स्रोत: https://www.aol.com