प्रचण्डको हातबाट ‘हिन्दू गणतन्त्रात्मक राज्य’ घोषणा गराउने चलखेल ?

बाह्र दिने सडक धर्ना स्थगनबारे गोपाल किरातीको अपील

प्रचण्ड (फाइल फोटो)

तेस्रो जनअन्दोलन राष्ट्रिय परिषद, नेपालका संयोजक  गोपाल किरातीले एक अपील प्रकाशित गर्दै ‘राजतन्त्र पुनर्स्थापना किमार्थ सम्भव नरहेको, बरु राजावादीलाई भर्याङ बनाएर धर्मनिरपेक्षता खारेजगरि "हिन्दू गणतन्त्रात्मक राज्य" घोषणा गराउनेतर्फ दलाल तथा एकलजातीय पुँजीवादीहरु तल्लीन रहेका तथा त्यो पनि प्रधानमन्त्री पदका लागि दाम्लो छिनाएर हामफाल्ने प्रचन्डकै हातबाट गराउने सूचनाहरु रहेको’ बताएका छन् ।

विगत १२ दिनदेखि जारी सडक धर्ना कार्यक्रम स्थगित भएको जानकारी दिन  जारी अपीलमा उनले उक्त कुरा बताएका हुन् ।

किरातीले जारी गरेको अपीलको पूर्ण पाठ निम्नानुसार छ:

बाह्र दिने सडक धर्ना स्थगनको अपील

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश, २४ फागुन २०८१ को अवसरमा "तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपाल" द्वारा आयोजित "तेस्रो जनआन्दोलन सडक धर्ना अपील" १२ औं दिनमा आज स्थगन गरिएको अनुरोध गर्दछौं। सडक धर्ना अपीलका मागमुद्दा, उपलब्धी र विभिन्न परिस्थितिका कारण धर्ना स्थगित गरिएको भन्दै जसवारे निम्न अनुसार विषय प्रष्ट गर्दछौं।

१. फिव्यख्य (माइतीघर), काठमाडौंमा सानदार ब्यानरसहित दुई प्रकारका मागमुद्दामा १२ दिने सडक धर्ना अपील गरिएको हो।

त्यस अन्तर्गत जनवर्गीय मागमुद्दामा लघुवित्त, मिटरव्याजी, सहकारी, बिमा, बैंक तथा स्वर्गद्वारी गुठी पीडितलाई बाँच्न देऊ तथा जातव्यवस्था ऊन्मूलन गर एवं सामुदायिक सरोकारका मागमुद्दामा मुकुम्लुङ, बोझेनी, ढोरपाटन, ग्रामथान र नेवारी गुठीलगायतको रक्षा गर, आदि थिए।

राजनीतिक मागमुद्दा अन्तर्गत पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना एवं भ्रष्टाचारी शासन अन्त्य, नयाँ राष्ट्रिय एकीकरण र संविधानको समाजवादी सारतत्व कार्यान्वयनका लागि तेस्रो जनआन्दोलन थिए।

उपरोक्त मागमुद्दामा २४ फागुन २०८१ देखि  ६ चैत २०८१ सम्म बसिएको १२ दिने धर्ना अपीलका उपलब्धीमध्ये राजनीतिक सवालमा गुणात्मक परिवर्तनको प्रारम्भिक सन्देश निर्माण तथा सांगठानिक रुपमा सामुहिक अभ्यास पर्दछन। विभिन्न परिस्थितिमध्ये आन्तरिकमा धर्ना अपील संयोजक (गोपाल किराती) को स्वास्थ्य प्रतिकुलता र बाह्यतर्फ गणतन्त्रका शासकहरुको दलाल तथा एकलजातीय पुँजीवादी अपराधका कारण उत्पन्न जनअसन्तोषलाई भजाउने राजावादी उद्दण्डताका कारण सम्भावित हिंसात्मक भिडन्त दृष्टिगोचर छन।

त्यसर्थ जनवर्गीय तथा सामुदायिक सरोकारका मागमुद्दा आन्दोलनमा सडक सहभागिता र गुणात्मक परिवर्तनको राजनीतिक सन्देश निर्माणमा प्रारम्भिक सफलता हासिल गरिसकिएको पृष्ठभूमिमा, प्रथम जनआन्दोलन दिवश चैत २४ केन्द्रित कार्यक्रम तयारीका निमित्त धर्नालाई बाह्रै दिनमा स्थगित गर्नु परेको स्पष्ट गर्दछौं। र, प्रारम्भिक सन्देश लिएर (विभिन्न माध्यमबाट) जनसमुदायमाझ गइहाल्नु पर्दछ भने समग्र स्थितिको मूल्याङ्कन गर्दै सामुहिक समिक्षासहित विशेष कार्यक्रम तयारीमा केन्द्रित हुनु पर्दछ।

उपरोक्तवारे केही तथ्यको प्रष्टीकरण यहाँ अवश्य जरुरी छ। जो, निम्नानुसार गरिन्छ:

१. तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपाल गठनको पृष्ठभूमि र कार्यभार

एमालेको प्रस्ताव र कांग्रेस-माके समर्थनमा २०७९ फागुन १७ गते राती डकैटशैलीमा प्रदेश नाम कोशी थोपरिएपछि त्यस विरुद्व सामुदायिक संस्थाहरुको अगुवाइमा प्रतिरोध आन्दोलन सुरु गरियो। जसका निमित्त २०७९ फागुन २७ गते ईटरीमा बसेको भेलाले "प्रदेश १ पुन:नामाङ्कन संघर्ष समिति" गठन गर्यो। त्यही संघर्ष समितिको २०८० पुस २६-२७ गते धरानमा बसेको बैठकले प्रदेश नाम कोशी खारेज आन्दोलनको रक्षा र विकासका लागि समेत भनेर "तेस्रो जनआन्दोलन पहल" को निर्णय लिइयो। क्रमश: ललितपुरको चुम्लुङ भवनस्थित २० माघ २०८० मा मार्गदर्शन भेलागरी हाम्रै (गोपाल किरातीकै) संयोजकत्वमा "तेस्रो जनआन्दोलन तयारी समिति" गठन गरियो। तयारी समितिद्वारा एक विज्ञप्तिसहित २३ माघ २०८०  काठमाडौंमा पत्रकार सम्मेलनगरी आफ्ना मूलभूत उद्देश्यहरु सार्वजानिक गरियो।

उपरोक्त सम्बन्धमा प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिद्वारा २ मंसीर २०८१, विराटनगर विरोध प्रदर्शनसभा मार्फत प्रस्तुत गरिएका नयाँ कार्यक्रम र त्यस अघि साउन २०८१ मा प्रकाशित पहिचानवादी मोर्चाको अवधारणापत्रमा उल्लेखित विषय यहाँ महत्वपूर्ण छन। सर्वप्रथम प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिको उक्त नयाँ आन्दोलन कार्यक्रमको बुँदा १ मा भनिएको छ:

* प्रदेशस्तरको आन्दोलनले मात्र कोशीलगायत पहिचान विरोधी प्रदेश नामहरु खारेज भइरहेका छैनन्। त्यसैले पहिचानसहित अधिकारमा संघर्षरत जनसमक्ष देशव्यापी तेस्रो जनआन्दोलनको आव्हान गर्दछौं। जसले, पहिलो र दोस्रो जनआन्दोलनका संघीय लोकतान्त्रिक गणतन्त्रलगायत उपलब्धीहरु रक्षा गर्दै देशभक्त श्रमिक, दलित तथा विस्थापितवर्ग, लिङग, आदिवासी एवं क्षेत्रहरुको संयुक्त राज्यव्यवस्था स्थापना गर्न सकियोस्।

उक्त आव्हानपत्रको बुँदा १ देखि ६ सम्म र बुँदा १ को उपबुँदा क देखि ञ सम्मका विषय तेस्रो जनआन्दोलन सम्बन्धित छन।

विराटनगर आव्हान पत्रको "प्रदेश १ को हकमा" शीर्षक अन्तर्गत उपबुँदा ६ मा भनिएको छ- "धरान बैठकको कार्यादेशमा गठित तेस्रो जनआन्दोलनको निर्णायक पहलमा केन्द्रित रहँदै,...... तेस्रो जनआन्दोलन तयारी समिति मार्फत प्रदेश ३, ४, ५, ६ र ७ को हकमा प्रदेश पुन:नामाङ्कनसहित सम्भव ईलाकाहरुमा तेस्रो जनआन्दोलन कार्वाही बढाउदै समानान्तर स्वायत्तता अभ्यास आन्दोलनको घनिभूत बहश उठान गर्ने।"

* पहिचानवादी मोर्चा, संघीय समितिद्वारा प्रकाशित राजनीतिक एवं संगठनात्मक अवधारणापत्र मार्फत पनि तेस्रो जनआन्दोलन उठानलाई विशेष कार्यभारका रुपमा अघि बढाइएको छ। अथवा तेस्रो जनआन्दोलनको काम पनि पहिचानवादी मोर्चाले नै गर्ने आन्तरिक समझदारीमा (तेस्रो जनआन्दोलन तयारी समितिका) हामीहरु पहिचानवादी मोर्चाबन्दीमा जुटेका हौं, भनिरहनै परोइन।

* अन्ततः प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिको विराटनगर आव्हानपत्र, उपबुँदा ८ मा भनिएको छ- कोशी नाम खारेजी र पुन:नामाङ्कन प्रक्रिया २०८१ चैत १० गतेसम्ममा राज्यपक्ष, ८२ सांसद र दलहरुबाट अगाडि नबढे सोही दिनबाट प्रदेश १ संसद घेराऊ, मुख्यमन्त्री कार्यालय घेराऊसहित अनिश्चितकालीन प्रदेश १ आम हड्तालको आन्दोलन सुरुगरि प्रदेश १ बाट कोशी नाम खारेजी र पुन:नामाङ्कनको आन्दोलनसंगै तेस्रो जनआन्दोलनको प्रस्थान विन्दू तय गरिने उदघोष गर्दछौं।

हो, फिव्यख्य (माइतीघर) मा १२ दिन सडक धर्ना बसेर हामीले त्यही गरेका हौं, जुन प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिले २०८१ मंसीर २ गते विराटनगरमा भनेको थियो र पहिचानवादी मोर्चाको अवधारणापत्रमा उल्लेखित नीति तथा आन्तरिक समझदारीमा बोलिएको थियो।

"राष्ट्रिय परिषद, नेपाल" को हकमा २०८१ माघ ५ गते प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिका संयोजक श्री प्रेम येक्तेनसहितका नेताहरुसंगको छलफलमा २०८१ माघ १० गते काठमाडौंस्थित संघर्ष समितिको बैठक संगसंगै बसी निर्णय लिने ठोस गरिएकोमा मुकुम्लुङ आन्दोलन चर्किएबाट माघ १० गते काठमाडौंमा बैठक बस्न र भेट्न सकिएन।

उप्रान्त पहिचानवादी मोर्चाका संयोजक श्री महेन्द्र लावती र कावा संयोजक श्री ज्ञानवहादुर गुरुङ, संयुक्त पहिचानवादी मोर्चा संयोजक श्री डकेन्द्रसिं थेगिम र श्री प्रेम येक्तेनसंग मेसेन्जर, मोबाईल फोन मार्फत यता न्युनतम तयारी पूरा भएको र अब सडकमा जान ढिलाई गर्न नहुने, तर तयारी समितिको नाममा सडकमा जाँदा सान्दर्भिक नदेखिने हुनाले औपचारिक निर्णय सहज समयमा गरौं, काम "तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपाल" को नामबाट प्रारम्भ गरौं, भनी सरसल्लाह गरिएको हो। अतिरिक्त विभिन्न उत्पीडितजनका संघर्ष समितिहरु र माओवादी पहिचान पार्टी समेतको सहभागिता हुँदा गत बर्षको "तयारी समिति" ले मात्र आयोजक संगठनको सान्दर्भिकता नरहने हुँदा "तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपाल" गठन गरि कार्य प्रारम्भ गर्नु परेको स्पष्ट गर्दछौं।

२. आभार तथा धन्यवाद

सडक धर्ना अपीलको प्रारम्भदेखि स्थगनसम्मै भौतिक सहभागिता जाहेर गर्नु हुने पहिचानवादी मोर्चाका कावा संयोजक श्री ज्ञानवहादुर गुरुङ र उदघाटनसभामा लिखित सन्देश पठाउनु हुने संयुक्त पहिचानवादी मोर्चा संयोजक श्री डजेन्द्रसिं थेगिमप्रति आभार प्रकट  गर्दै मैदानमा खट्नु हुने व्यवस्थापकीय दायित्वको देशभक्त श्रमिक मोर्चाका साथीहरु र विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु भएका मित्रहरु तथा सञ्चारकर्मीहरुमा धन्यावाद ज्ञापन गर्दछौं।

अन्त्यमा, नेपालमा  राजतन्त्र सम्पूर्ण रुपले अनावश्यक ठहर भएकोले नै गणतन्त्र स्थापना गरिएको तथ्य दोहर्याउदै, तर आफुलाई गणतन्त्रवादी भनिटोपल्नेहरु वास्तविक गणतन्त्रवादी नभएको, तिनीहरु केवल गणतन्त्रको रगत चुस्ने दलाल तथा एकलजातीय शासक मात्र भएको प्रष्ट गर्दै राजावादी र दलाल पुँजीवादी दुवैका विरुद्व देशभक्त समाजवादी लोकतान्त्रिक कार्यदिशाको तेस्रो जनआन्दोलनमा जुट्न पाँच उत्पीडित जनसमुहका नेपाली समक्ष गम्भीर आव्हान गर्दछौं। जसबाट भ्रष्टाचारी शासन अन्त्य, नयाँ राष्ट्रिय एकीकरण र संविधानको समाजवादी सारतत्व कार्यान्वयन गर्न सकियोस्।

साथसाथै, राजतन्त्र पुनर्स्थापना किमार्थ सम्भव नरहेको, बरु राजावादीलाई भर्याङ बनाएर धर्मनिरपेक्षता खारेज गरी "हिन्दू गणतन्त्रात्मक राज्य" घोषणा गराउनेतर्फ दलाल तथा एकलजातीय पुँजीवादीहरु तल्लीन रहेका विश्लेषणहरु छन। त्यो पनि प्रधानमन्त्री पदका लागि दाम्लो छिनाएर हामफाल्ने प्रचन्डकै हातबाट गराउने सूचनाहरु छन।

अत: गणतन्त्रको हुर्मत लिने दलाल पुँजीवादी र राजावादी दुवैका विरुद्व देशभक्तिपूर्ण तेस्रो जनआन्दोलनको अर्थराजनीतिक कार्यदिशामा जुट्न ढिला नगरौ, भनी आग्रह गर्दछौं। र, त्यस्तै परे मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा धर्मनिरपेक्ष राज्य र हिन्दू राज्यको विकल्पमा "रैथाने सँस्कृतिसहित सनातन धर्म स्वतन्त्र मुलुक" भनी सम्यक निरुपण गर्न सकिनेवारे यसैसाथ बहश प्रस्ताव गर्दछौं।

अभिवादनसहित अब सतीले सरापेको होइन, बुद्वले आशीर्वाद दिएको देश नेपाल भनौं!

(गोपाल किराती)

संयोजक, तेस्रो जनअन्दोलन राष्ट्रिय परिषद, नेपाल

तथा व्यवस्थापकीय दायित्वको देशभक्त श्रमिक मोर्चा

२०८१ चैत ६