चकचक गर्दा पुच्छर नै चुँडियो !

शहरमा एउटा ठूलो भवन निर्माण भइरहेको थियो। भवनमा काठको काम धेरै थियो । त्यसैले काठ चिर्ने काम भइरहेको थियो। यहाँ-त्यहाँ काठका लट्ठाहरू छरिएका थिए । तिनलाई चिरेर विभिन्न आकारका काठ निकाल्ने काम भइरहेको थियो ।

दिउँसो खाजा खाने समय भयो । सबै मजदूरहरूले काम रोके र अलि पर गएर खाजा खान थाले । त्यहाँ एउटा लट्ठा आधा चिरिएको थियो। मजदूरहरूले त्यस आधा चिरेको लट्ठामा काठको कीला घुसारेर छोडे। यसो गर्दा फेरि आरी घुसाउन सजिलो हुन्छ।

त्यही बेला त्यहाँ बाँदरहरूको एउटा समूह उफ्रँदै-कुद्दै आइपुग्यो। तीमध्ये एउटा बाँदर निकै चकचके थियो । त्यसले चीजहरू जथाभावी चलाउने र छेडछाड गर्ने गर्थ्यो। बाँदरहरूको मुखियाले सबैलाई त्यहाँ भएका चीजहरू नछुन निर्देशन दियो। सबै बाँदरहरू रूखतर्फ लागे, तर त्यो चकचके बाँदर अटेर गरेर पछि बस्यो र चकचक गर्न थाल्यो।

उसको आँखा आधा चिरिएको लट्ठामा पर्‍यो। बस, ऊ त्यतातिर गयो र बीचमा अड्याइएको कीलालाई हेर्न थाल्यो। त्यसपछि उसले छेउमै रहेको आरी देख्यो। त्यसलाई उठाएर काठमा घस्न थाल्यो। आरी घस्दा किर्रर्र किर्रर्र आवाज निस्कियो, जसले उसलाई रिस उठ्यो, अनि उसले आरी फ्याँकिदियो।

 

उसले फेरि लट्ठाको बीचमा फँसेको कीलालाई चलाउन थाल्यो। उसको दिमागमा जिज्ञासा उठ्न थाल्यो— यदि यो कीला लट्ठीको बीचबाट निकालियो भने के होला? अब ऊ कीलालाई समातेर त्यसलाई बाहिर निकाल्न जोड गर्न थाल्यो।

चकचके बाँदरले  जोड लगायो, कीला हल्लिन र सर्न थाल्यो। यसबाट बाँदर आफ्नो बलमा खुसी भयो। ऊ अझै जोडले खौं-खौं गर्दै कीलालाई तान्न र धकेल्न थाल्यो। तर यो चकचकको बीचमा उसको पुच्छर लट्ठीका दुई चिरिएका भागहरूबीच पसेको कुरा उसले थाहै पाएन।

उत्साहित भएर उसले एकैचोटि जोडले झट्का दियो। कीला बाहिर निस्कियो ।  त्यसपछि लट्ठीका दुई चिरेका भागहरू फटाक गर्दै क्लिपझैँ जोडिए। त्यसो हुँदा बीचमा पसेको बाँदरको पुच्छर च्यापियो । उसलाई निक्कै दुख्यो । ऊ जोडले चिच्यायो।

बाँदर चिच्याएको सुनेर मजदूरहरू दौडिदै आए । मजदुरहरुलाई देख्नेबित्तिकै बाँदरले भाग्न खोज्यो । त्यसो हुँदा उसको पुच्छर चुँडियो। पीडाले ऊ बेस्सरी चिच्यायो । अनि आफ्नो चुँडिएको पुच्छर लिएर त्यहाँबाट भाग्यो।