‘चैत्र– ३’ : प्रजातान्त्रिक आन्दोलनको एक अभूतपूर्व घटना !

एउटा चर्चित चिनियाँ भनाइ छ: इनारको पानी खानेले इनार खन्नेलाई सम्झनुपर्छ ! तर स्थिति त्यसको विपरीत छ । आज सडकमा खुलेआम शासनतन्त्र र शासकहरुका विरुद्ध सत्तोसराप गर्न पाइरहेका पुस्ताहरुका लागि हिजोको शासनतन्त्र कस्तो कहाली लाग्दो थियो, शासनतन्त्र तथा शासकहरुलाई मननपर्ने कुरा छिसिक्क बोल्दा पनि कस्तो कहरपूर्ण थियो भन्ने कुराको बोध नहुन पनि सक्छ । अझ त्यसमाथि थप, त्यस्ता शासक तथा शासनतन्त्रका विरुद्ध भएका संघर्षहरु, अघिल्ला पुस्ताका योद्धाहरुले देखाएका साहस र संघर्षका गाथाहरु पनि उनीहरुलाई थाहा नहुन सक्छ ।
अहिलेको खुला र दलीय शासन व्यवस्थामा विभिन्न पार्टीहरुमा विभाजित भएर पार्टी नेतृत्वको स्तुतिगान र भक्त्तिगानमा लिप्त तथा फरक आस्था र विचार राख्नेहरुका विरुद्ध सत्तोसराप गरिरहेका साहित्यकार–कलाकारहरुको बाहुल्यता देख्दा धेरैलाई हिजोको कालरात्रिमा लेखक–कलाकारहरुले कसरी एकापसमा हातेमालो गरेका थिए र त्यस्ता निषेधकारी, दमनकारी शासनसत्ता–शासकहरुका विरुद्ध आवाज बुलन्द गरेका थिए भन्ने कुरा थाहा नहुन पनि सक्छ ।
नेपाली कला–साहित्यको इतिहासमा २०४६ साल चैत्र ३ गते एउटा यस्तो युगान्तकारी घटना घटित भएको थियो, जुन न पहिले कहिल्यै भएको थियो न त आजसम्म पनि भएको छ । त्यस दिन फरक विचार, आस्था र मान्यता राख्ने साहित्यकार–कलाकारहरुले तत्कालीन पञ्चायती शासनसत्ताविरुद्ध मुखमा कालो पट्टी बाँधेर संगठित रुपमा विरोध र प्रतिरोध गरेका थिए ।
उक्त दिन क्रममा काठमाडौंको त्रिचन्द क्याम्पस, सरस्वती सदनमा खुलाचौरमा १५० जनाभन्दा बढी लेखक-कलाकारहरूले तात्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध सामूहिक विरोध गरेका थिए । मुखमा कालोपट्टी बाँधी, पलेंटी कसेर बसी यसरी विरोध गर्न थाल्ननपाई उनीहरू सबै गिरफ्तार भए । त्यसबेला बयोबृद्ध साहित्यकार युद्धप्रसाद मिश्रदेखि लिएर कलिली कवयित्री सुम्निमा तुलाधर समेत सयौं लेखक- कलाकारहरूलाई पंचायती सत्ताले सामूहिक रूपमा गिरफ्तार गरेको थियो । त्यसबेला बरिष्ठ प्रगतिशील साहित्यकार
पारिजातदेखि लिएर बरिष्ठ साहित्यकारहरु हृदयचन्द्र सिंह प्रधान कमल दीक्षित, मोहन कोइराला, डायमन शमशेर, डा. ध्रुवचन्द्र गौतम, खगेन्द्र संगौला, अशेष मल्ल, विमल निभा, स्नेह सायमि, हरिगोविन्द लुइँटेल, राजेन्द्र अधिकारी, नारायण ढकाल, लोकप्रिय कलाकारहरू मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य लगायत थुप्रै साहित्यकार–कलाकारहरुले इतिहासको संगीन घडीमा आफूमा रहेको न्यायचेतलाई प्रमाणित गरेका थिए ।
आजका पुस्ताले हिजो अग्रजहरुले गरेको यो संघर्षको कथा थाहा पाउनु जरुरी छ ।यो यस अर्थमा पनि जरुरी छ कि हिजोको एकतन्त्रीय निरंकुश शासन सत्ता फ्याँक्न जिउ ज्यानका परवाह नगरी संघर्षमा होमिएका राजनीतिक दलका नेताहरुको हातमा शासनसत्ताको बागडोर पुगेको त छ तर उनीहरुबाट जनअपेक्षित र स्वयं उनीहरुले वाचा गरेअनुसारको परिवर्तन र उन्नत खालको शासनसत्ताको अनुभूति जनताले गर्न पाएका छैनन् ।
यस पृष्ठभूमिमा चैत ३ गतेको उक्त ऐतिहासिक घटनाको महत्त्वबोध गराउने डा. ध्रुवचन्द्र गौतम र खगेन्द्र सङ्ग्रौलाका विचारहरु हामीले यहाँ प्रस्तुत गरेका छौं । साहित्यकार गोविन्द वर्तमानले संयोजन गर्नु भएको यी सामग्री हामीले मूल्याङ्कन मासिकको २०५५ चैत्र अंकबाट लिएका हौं । त्यसैगरी, चैत ३ आन्दोलनमा सक्रिय साहित्यकार हरिगोविन्द लुइँटेलका तत्सम्बन्धी विचारका भिडियो (उनको अनुमतिमा उनकै युट्युब च्यानलबाट) पनि हामीले यहाँ प्रस्तुत गरेका छौं ।
राजनेताहरुले चैत्र ३ को महत्व बुझ्नु जरुरी छ
By Janak Bhatta - Own work, CC BY-SA 4.0, Link
हामी लेखकहरू खराबीहरू विरूद्ध जसरी लेख्छौं, ती खराबीहरू रहुन्जेल जुनबेला पनि लेखकहरू एक भएर सडकमा उत्रनु पर्ने आवश्यकता बाँकी रहन्छ ।
डा. ध्रुवचन्द्र गौतम
चैत्र ३ लाई तपाईं कसरी सम्झनु हुन्छ ?
अभिव्यक्ति स्वतन्त्रताको निम्ति ०४६ चैत्र ३ गते लेखकहरू आन्दोलनमा उत्रिएका थिए । त्यो एउटा ठूलो ऐतिहासिक घटना हो । हाम्रो इतिहासको पूरै पाना पल्टाए पनि यो खालको घटना देखिदैन । इतिहासमा त्यसअघि 'मकै पर्व' जस्ता घटनाहरू भएका छन् तर सहित्यकार, कलाकार जस्ता सिर्जनशील व्यक्तिहरूले त्यति ठूलो संख्यामा सडकमा ओर्लिएर निरंकुश सत्ताको विरोध जनाएको त्यो पहिलो महत्वपूर्ण घटना थियो ।
तपाईं त्यस दिन कालोपट्टी बाँध्न कुन प्रेरणाले जानु भएको थियो ?
त्यस कार्यक्रमबारे मलाई लेखकहरूले भन्न आउनासाथ मलाई लाग्यो- म त्यहाँ जानु पर्छ । मलाई त्यस कार्यक्रमबारे कुनै पूर्वाभास पनि थिएन । म संगठनमा रहने खालको मानिस होइन, त्यसैले चैत्र ३ को कार्यक्रमबारे कसैले मलाई भन्न नआएको भए त्यसबारे मलाई केही थाहा नै हुने थिएन । हामी जुन कुराका विरूद्ध लेखिरहेका छौं, त्यो लेखन कहिल्यै पनि सत्ताको पक्षमा थिएन । लेखनमा हामी सत्ताको विपक्षमा थियौं भने जब विद्रोह वा क्रान्तिको अवस्थामा इतिहासले लेखकको भौतिक उपस्थिति माग गर्दछ, तब हामीले सहभागी हनै पर्दछ भन्ने मलाई लाग्यो । त्यसमा सहभागी नहुनु भनेको आफ्नो दायित्वबाट भाग्नु हुन्छ भन्ने मलाई लाग्यो । त्यसैले म सहभागी भएको हुँ । ०४६ सालको जन आन्दोलनमा पहिलो सामूहिक गिरफ्तारी चैत्र ३ गते नै भएको हो । आन्दोलनमा गतिरोध आएको, आन्दोलनकारीले नै सरेन्डर गर्छन् कि जस्तो स्थिति उत्पन्न भएको बेलामा सिर्जनशील मान्छे जम्मा भएर जुन विरोध गरे, त्यसले आन्दोलनलाई अघि बढाउन एउटा उर्जाको काम गरेको थियो ।
०४६ साल चैत्र ३ गते प्रजातन्त्रवादी र प्रगतिशील दुईथरि विचारका लेखकहरू अभिव्यक्ति स्वतन्त्रताको निम्ति एक भएर आन्दोलनमा उत्रिएका थिए । आजको सन्दर्भमा चाहिँ यी दुई विचारका लेखकहरूको सहकार्य आवश्यक छ कि छैन भन्ने लाग्छ ?
लेखक मुक्तिकामी हुन्छ । उसलाई अभिव्यक्ति स्वतन्त्रता चाहिन्छ । त्यसबेला त्यस्तो स्वतन्त्रता थिएन । सम्पूर्ण राजनीतिक वातावरण उकुसमकुस हुने खालको थियो । त्यसैले दुबै विचारका लेखक कलाकारहरू एक भएर आन्दोलनमा उत्रिए । तर अहिले स्थिति अलि फरक छ । त्यो बेला र अहिले एउटा अन्तर के छ भने, अहिले लेख्न बोल्न चाहिँ पूर्ण स्वतन्त्रता छ । त्यसबाहेक राजनीतिक अस्थिरता, भ्रष्टाचार र अन्य विकृति चारैतिर व्याप्त छ । त्यसैले अब मुखमा पट्टी बाँध्नु चाहिँ पर्दैन तर अन्य तरिकाले खराबीहरू विरूद्ध संघर्ष गर्नुपर्छ । यस्तो विरोधका लागि सहकार्य आवश्यक छ । हामी लेखकहरू खराबीहरू विरूद्ध जसरी लेख्छौं, ती खराबीहरू रहुन्जेल जुनबेला पनि लेखकहरू एक भएर सडकमा उत्रनु पर्ने आवश्यकता बाँकी रहन्छ ।
संक्षेपमा चैत्र ३ को सन्देशलाई तपाई कसरी व्यक्त गर्नु हुन्छ ?
- सिर्जनशीलहरू साँच्चिकै जुटेर प्रोटेस्ट गरे भने त्यो प्रोटेस्ट फलदायी हुन्छ र सिर्जनशीलहरूमा प्रोटेस्ट गर्ने मानसिकता सधैं रहिरहनु पर्छ भन्ने सन्देश 'चैत्र -३' ले दिएको छ ।
'चैत्र -३' को स्मृतिलाई दिगो राख्न र यसको गरिमालाई सम्मान गर्न मइरहेको गतिविधि तपाईंलाई कस्तो लाग्छ ?
चाहे हार होस् चाहे जीत, एउटा लेखकको नाताले आन्दोलनमा जानुपर्छ भनेर ०४६ चैत्र ३ मा हामी सडकमा गएका हौं । त्यस कुराको गुणगान गर्नु भनेको हामीले आफ्नो गुणगान गर्नु होइन, एउटा महत्वपूर्ण ऐतिहासिक क्षणको स्मृति गर्नु हो । भोलि आउने लेखकहरूको नयाँ पिंढीलाई पनि इतिहासको त्यो क्षणबारे जानकारी हुनु पर्दछ । त्यो ऐतिहासिक क्षणको स्मृतिलाई ज्यूँदो राख्नु पर्छ । त्यसैले 'चैत्र -३' को गरिमा र स्मृतिलाई ज्यूँदो राख्नका निम्ति जे जस्ता कामहरू भइरहेको छन्, त्यो अझै पर्याप्त छैन । तर जति काम भइरहेको छ, त्यो चाँही सकारात्मक नै छ । म के पनि भन्छु भने प्रजातन्त्रपछि आएका जम्मै सरकारहरूले ऐतिहासिक क्षणमा लेखकहरूले खेलेको भूमिकालाई सम्झनु पर्थ्यो, तर त्यस्तो भएको छैन ।
अहिलेको नयाँ साहित्यिक पुस्ताले 'चैत्र ३ को त्यो गरिमालाई अघि बढाउन खोजेको छ कि छैन ?
नयाँ पुस्ताले 'चैत्र -३' को महत्वलाई राम्ररी बुझेर त्यसको गरिमालाई आत्मसात् गर्छ कि गर्दैन भन्ने कुरामा म त्यति स्पष्ट छैन । नयाँ पुस्तालाई त्यस विषयमा अवगत गराउने दायित्व हाम्रो पनि हो । तर हामीबाट पर्याप्त मात्रामा त्यो काम हुन सकेको छैन । नयाँ पुस्तालाई चैत्र ३ गते को महत्ताबोध गराउन हामीले सेक्दो प्रयास गर्नु पर्दछ भन्ने मलाई लाग्छ ।
यस सन्दर्भमा लेखकहरूको अन्य दायित्व पनि छ कि ?
- चैत्र ३' को महत्व नयाँ पुस्तालाई बुझाउनुका साथसाथै हाम्रो राजनीतिक निकायलाई पनि राम्ररी बुझाउनु पर्ने स्थिति छ । धेरैजसो राजनीतिकर्मीहरूले ०४६ सालको आन्दोलनमा लेखकहरूले गरेको योगदानलाई बिर्सिसकेका छन् । देश हाँक्ने राजनीतिले नै हो । त्यसैले अहिलेका राजनेताहरूले चैत्र ३ को महत्व बुझ्नु जरूरी छ । नयाँ पुस्ताले त क्रमश: बुझ्दै जानेछ ।
'चैत्र -३' लाई म आदर, गर्व र उमङ्गसाथ सम्झन्छु
सांसदका सूट र तस्करका बूट लगाएर मण्डलेको नाङ्गो र निर्लज्ज मुद्रामा भिन्न सन्दर्भ र भिन्न शैलीमा हिजोको नादिरशाही निरंकुशतन्त्रले मुन्टो उठाउदै गरेको कुरूप यथार्थ हाम्रासामु छर्लङ्गै छ ।
खगेन्द्र सङ्ग्रौला
'चैत्र - ३ लाई तपाईं कसरी सम्झनु हुन्छ ?
०४६ साल चैत्र ३ गतेको दिनलाई म आदर, गर्व र उमङ्गसाथ सम्झन्छु । नागरिकको मानवीय मर्यादा र जनाधिकारका पक्षमा, पंचायती दासताविरूद्ध भिन्न-भिन्न जीवन- दृष्टि र आस्था अँगाल्ने लेखक- कलाकर्मीहरूको ऐक्यबद्धतामाझ स्वाभिमानका सगरमाथा सरहका युद्धप्रसाद मिश्र, पारिजात, कृष्णचन्द्रसिंह प्रधान र अरूहरूका साथमा सडक संघर्षमा सामेल हुँदाको त्यस क्षणलाई म आफ्नो जीवनको एक सार्थक र सुन्दर क्षणको रूपमा
सम्झन्छु ।
'चैत्र -३ ले हामीलाई दिएको सन्देश के हो ?
-चैत्र -३' ले दिएको सन्देशलाई तीन भागमा बाँड्न सकिन्छ । पहिलो, लेखक-कलाकर्मी हस्तीहाडे बुर्जामा शब्द, रंग र स्वरको विलासी खेल खेल्ने सिल्ली होइन । बरू ऊ त अग्रगामी सामाजिक चेतनाको बाहक र क्रियाशील न्याय- योद्धा हो । दोस्रो जीवनयात्राको घुमाउरो र जटिल बाटोमा भिन्न भिन्न जीवनदृष्टि र आस्था अंगाल्ने स्वभिमानी लेखक-कलाकर्मीहरूमाझ सहकार्य गर्ने साझा सरोकारका सवालहरू पनि हुन्छन् । एक जिम्मेवार लेखक-कलाकर्मी ले सचेततासाथ यस कुराको हेक्का राख्नुपर्छ । तेस्रो, इतिहासका उदात्त तर जोखिमपूर्ण क्षणहरूमा समयले स्वाभिमानप्रेमी र चाटुकार दुवैथरि कलाकर्मीको कठोर परीक्षा गर्छ ।
चैत्र तीनको स्मृति र गरिमालाई माथि उठाउन हामीले के के गर्नुपर्ला ?
चैत्र ३ गतेको स्मृति र गरिमालाई माथि उठाउन हामीले गर्नुपर्ने कामहरू हुन्: त्यसको ऐतिहासिक महत्ताबोध गर्नु र त्यसलाई लिपिबद्ध गर्नु । वर्तमान सन्दर्भमा त्यसको प्रासङ्गिकता ठम्याउनु । भिन्न-भिन्न जीवन-दृष्टि र आस्था अँगाल्ने लेखक-कलाकर्मीहरूमाझ सहकार्य गर्न सकिने साँझा बुँदाहरू किटान गर्नु र सम्पर्क, संवाद र प्रकाशन तीन वटै स्तरमा सहकार्य गर्न खोज्न् ।
प्रगतिशील तथा प्रजातन्त्रवादी स्रष्टाहरूको सहकार्य आजको सन्दर्भमा किन आवश्यक छ ?
-२०४६ सालको बलिदानी जन-संघर्षबाट प्राप्त हाम्रा वाक, प्रकाशन तथा जमघटका अधिकारहरू संसदभित्रैबाट तीब्र गतिमा कुण्ठित र दमित हुँदैछन् । तीव्र गतिमा कुण्ठित र दमित हुँदैछन् । सांसदका सूट र तस्करका बूट लगाएर मण्डलेको नाङ्गो र निर्लज्ज मुद्रामा भिन्न सन्दर्भ र भिन्न शैलीमा हिजोको नादिरशाही निरंकुशतन्त्रले मुन्टो उठाउदै गरेको कुरूप यथार्थ हाम्रासामु छर्लङ्गै छ । त्यसैले त्यस्तो त्यस्तो सहकार्यको आवश्यकताबारे थप शब्द खर्च गर्नु जरूरी छैन ।

नामको अभिशाप: केनन बनानाको दु:खान्त कथा

समाजवाद र महिलाहरू

निकोलाई चाउचेस्कु: अति महत्वाकांक्षाको दुर्दान्त अन्त्य

कविता लेख्दा पनि सर्वश्वहरणसहित जन्मकैद !

त्यो बाटो जसले मलाई लेनिनवादतिर पुऱ्यायो

चे ग्वेभारा: समाजवादको सपनादेखि बलिदानसम्म

माओ त्सेतुङ: आफ्ना छोरा र बुहारीको नजरमा

प्रतिक्रिया