भताभुङ्गे राजाको पुनरागमन

उहिले धरानमा एकजना चर्चित राजा थिए— भताभुङ्गे राजा। अझै पनि उनको दरबारको भग्नावशेष भेटिन्छ। भताभुङ्गे राजाको शासन साँच्चै अनौठो थियो। उनका सरकारमा लथालिंगे काजी र सत्यानासी विचारी थिए। उनको शासनकालमा दिउँसो हिँड्नेलाई चोर र राति हिँड्नेलाई साधु ठानिन्थ्यो। अनि चोरलाई चौतारोमा बसाइन्थ्यो र साधुलाई सुलीमा चढाइन्थ्यो।
एक दिन भताभुङ्गे राजाको दरबारमा एकाबिहानै एक जना फरियादी फरियाद लिएर आए। राजाले सोधे— "के भयो? तिमीलाई के समस्या पर्यो?"
फरियादीले भन्यो— "महाराज, म एउटा घरमा पाहुना लाग्न गएको थिएँ। त्यो घरको दैलोमा मेरो टाउको नराम्रोसँग ठोकियो। मेरो प्राण झन्डै गएको थियो। त्यस ढोकालाई सजाय दिनुपर्र्यो ।"
राजाले घरको ढोकालाई दरबारमा उपस्थित गराउन सिपाहीहरूलाई आदेश दिए। सिपाहीहरू घरको ढोका उखाल्न थाले। घरमूलीले भन्यो— "यदि यो ढोका उखालियो भने पूरै घर नै भत्किन्छ। बरु म नै दरबार जान्छु।"
सिपाहीहरूले घरमूलीलाई पक्रेर दरबार पुर्याए। घरमूलीले राजासँग बिन्ती गर्यो— "महाराज, यसमा मेरो कुनै गल्ती छैन। घर बनाउने डकर्मीले नै ढोका सानो बनाएको हो। दोष त उसको छ।"
राजाले डकर्मीलाई दरबारमा हाजिर गराउन आदेश दिए। सिपाहीहरूले डकर्मीलाई पक्रेर दरबारमा पुर्याए। डकर्मीले डराउँदै भन्यो— "महाराज, म ढोका बनाउँदै थिएँ। त्यसै बेला एक जना केटी त्यहाँ आइन्। उनको खुट्टाको पाउजु बजेको आवाज सुनेर मेरो ध्यान भंग भयो। मैले ढोकाको नाप बिर्सें। त्यसैले ढोका सानो बन्यो।"
राजाले त्यो केटीलाई बोलाउने आदेश दिए। सिपाहीहरूले उनलाई पक्रेर दरबारमा हाजिर गराए। उनले जवाफ दिइन्— "महाराज, यसमा मेरो कुनै गल्ती छैन। गहना बनाउने सुनारले नै यस्तो छमछम बज्ने पाउजु बनाइदियो।"
राजाले त्यो पाउजु बनाउने सुनारलाई पक्रेर ल्याउन आदेश दिए। सुनार दरबारमा थरथर काम्दै आइपुग्यो। बिचरा डरले उ केही बोल्नै सकेन। राजाले त्यो सुनारलाई दोषी ठहर्याउँदै झुन्ड्याउने आदेश दिए।
केही दिनअघि पोखरामा "भ्रमण वर्ष २०२५" को उद्घाटन समारोहमा हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। सरकारले यो घटनाको छानबिनका लागि एउटा कमिटी बनायो। छानबिनको क्रममा प्रहरीले बेलुन बेच्ने भारतीय नागरिक कमलेश कुमारलाई पक्राउ गरेछ।
जबकि सबैले देखेको सत्य के थियो भने— यो घटनाको पछाडि आयोजकको असावधानी नै मुख्य जिम्मेवार थियो। कमनसेन्स हुने जोसुकैले पनि यो घटनाको कारण अनुमान गर्न सक्छ। समारोहमा प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएका बेलुन प्रयोग गरिनु। अझ त्यो बेलुनलाई फायर क्यान्डलको छेउमा राखिनु। त्यही फायर क्यान्डलको झिल्काले बेलुनमा आगो सल्काउनु। यी सबका कारण बेलुनहरु अचानक विस्फोट भए। यति सामान्य कुरा थाहा हुँदा-हुँदै पनि एउटा निर्दोष बेलुन व्यापारीलाई पक्राउ गर्नु भनेको भताभुङ्गे राजाको शासनकै पुनरावृत्ति हो। भताभुङ्गे राजा व्यक्ति मात्र होइनन्, प्रवृत्ति पनि हुन्। भताभुङ्गे राजा अमर रहून!
प्रतिक्रिया