नयाँ दिल्ली विधानसभा चुनाव: आम आदमी पार्टीको पराजय र भाजपाको विजयले सिकाएको पाठ

नयाँ दिल्ली विधानसभा चुनाव: आम आदमी पार्टीको पराजय र भाजपाको विजयले सिकाएको पाठ
नयाँ दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी पराजित भएको छ। ७० सदस्यीय दिल्ली विधानसभामा भारतीय जनता पार्टी (भाजपा) ले ४८ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको छ। यहाँ पनि नयाँ पार्टीहरूको पतन भएको भन्दै खुशियाली मनाइँदैछ। लगातार दुई कार्यकाल बहुमत हासिल गरी १० वर्षसम्म सरकार चलाएको आम आदमी पार्टीका लागि यो चुनाव ठूलो धक्का साबित भएको छ। तथापि, अहिले पनि दिल्ली विधानसभामा आम आदमी पार्टीका २२ जना सांसद रहेका छन्।
मत प्रतिशतको आधारमा हेर्ने हो भने, भाजपाले अघिल्लो चुनावको तुलनामा करिब ७.५% मत वृद्धि गर्दै ४५.८% प्राप्त गरेको छ, जबकि आम आदमी पार्टीले १०% मत गुमाउँदै करिब ४३.८% मा खुम्चिएको छ। यो आम आदमी पार्टीका लागि ठूलो झट्का भए पनि यसको पूर्ण रूपमा पराजय भने होइन। अझै पनि पार्टीसँग भाजपासँग प्रतिस्पर्धा गर्न सक्ने संरचना र जनशक्ति बाँकी छ।
कांग्रेसको लगातार तेस्रो पराजय
उता, भारतको सबैभन्दा पुरानो राजनीतिक दल, भारतीय राष्ट्रिय कांग्रेस, लगातार तेस्रो पटक शून्य सिटमा सीमित हुन पुगेको छ। कांग्रेसले सन् २०१५, २०२०, र हालै सम्पन्न २०२५ को चुनावमा एक पनि सिट जित्न सकेन। १४० वर्ष पुरानो यो पार्टीभन्दा १०-१२ वर्ष पुरानो आम आदमी पार्टी नै सफल देखिएको छ।
भाजपा सरकारको लोकप्रिय योजनाहरू
यस पटक आम आदमी पार्टीलाई पछारेर भाजपाले सत्तारोहणको अवसर प्राप्त गर्नुमा उसले अघि सारेको लोकप्रिय योजनाहरुले पनि काम गरेको देखिन्छ । आम आदमी पार्टीमाथि भाजपा सरकारको आरोप थियो कि उसले दिल्लीका जनतालाई सित्तैमा बिजुली, पानी, र सार्वजनिक बसको भाडा निःशुल्क उपलब्ध गराएर राजनीति गरिरहेको छ। तर, भाजपा स्वयंले भने त्यही बाटो अपनाएको थियो यसपालिको चुनावमा । यसपालिको चुनावमा सित्तैमा बिजुली, पानी, र सार्वजनिक बसको भाडा निःशुल्क उपलब्ध गराउनुको अतिरिक्त निम्न योजनाहरू घोषणा गरेको थियो:
महिला कल्याण योजना
गरिब महिलाहरूलाई ग्यास सिलिन्डर रु ५०० मा उपलब्ध गराइने।
प्रत्येक वर्ष २ वटा ग्यास सिलिन्डर निःशुल्क दिइने।
गर्भवती महिलाहरूलाई रु २१,००० को आर्थिक सहायता।
६ वटा पोषण किट निःशुल्क प्रदान गरिने।
महिलाहरूलाई प्रति महिना रु २,५०० प्रदान गरिने।
स्वास्थ्य सेवा सुधार
पहिलो क्याबिनेट बैठकबाटै आयुष्मान भारत योजना लागू गरिने।
१० लाखसम्मको निःशुल्क उपचार सुविधा उपलब्ध गराइने।
खाद्य सहायता
बस्ती क्षेत्रमा "अटल क्यान्टिन" स्थापना गरिने।
रु ५ मा खाना उपलब्ध गराइने।
शिक्षा तथा रोजगारी कार्यक्रम
प्रतियोगी परीक्षाको तयारी गर्ने विद्यार्थीहरूलाई रु १५,००० को आर्थिक सहायता।
प्राविधिक वा व्यावसायिक कोर्स गर्नेहरूलाई प्रति महिना रु १,००० प्रदान गरिने।
५०,००० सरकारी जागिर सिर्जना गरिने।
२० लाख रोजगारी तथा आत्मनिर्भर अवसरहरू उपलब्ध गराइने।
श्रमिक सहायता
दर्ता भएका श्रमिकहरूलाई रु ३ लाखसम्मको ऋण उपलब्ध गराइने।
सीप तथा उपकरणका लागि रु १०,००० सहायता प्रदान गरिने।
वृद्धभत्ता पुनः सञ्चालन
६० वर्षभन्दा माथिका नागरिकहरूको भत्ता रु २,००० बाट बढाएर रु २,५०० गरिने।
७० वर्षभन्दा माथिका नागरिकहरूलाई रु ३,००० भत्ता प्रदान गरिने (हालसम्म रु २,५०० दिइँदै आएको छ)।
शिक्षा नीति सुधार
केजी (KG) देखि स्नातकोत्तर (PG) सम्म निःशुल्क शिक्षा प्रदान गरिने।
के यो आम आदमी पार्टीको अप्रत्यक्ष जित हो?
भाजपाले चुनाव जित्न आम आदमी पार्टीलाई निरन्तर आलोचना गर्दै आएको थियो कि उसले जनतालाई धेरै सुविधाहरू बाँडेको छ। तर अन्ततः भाजपा स्वयं नै ती सुविधाहरूलाई अझ बढी प्रतिस्पर्धात्मक रूपमा दिन बाध्य भयो। यस्तो अवस्थामा, के यो आम आदमी पार्टीको अप्रत्यक्ष जित होइन?
भाजपाको जित सहज थिएन
भाजपाले यस पटकको दिल्ली चुनाव सहज रूपमा जितेको होइन। भाजपाको केन्द्र सरकारले आम आदमी पार्टीको दिल्ली सरकारलाई लगातार १० वर्षसम्म निरन्तर रूपमा दबाब दिइरह्यो। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र उनका मन्त्रीहरूलाई भ्रष्टाचारको मुद्दामा जेल हाल्ने लगायतका कानुनी कारबाही गरियो। भाजपाले आम आदमी पार्टी र तिनका नेताहरुविरुद्ध केन्द्रीय सत्ताको उपयोग–दुरुपयोग भरमार गर्यो । त्यसले आम आदमी पार्टीका मुख्य नेता केजरीवालको सार्वजनिक छविलाई निक्कै नोक्सान पुर्यायो । यसैको प्रतिफलस्वरूप भाजपाले यो जित निकाल्न सफल भएको हो।
केजरीवालको पराजय र राजनीतिक भविष्यमा प्रश्नचिन्ह
चुनावमा आम आदमी पार्टीका प्रमुख नेता अरविन्द केजरीवाल समेत पराजित भए। अन्ना हजारेको लोकप्रिय आन्दोलनबाट छवि निर्माण गरी राजनीतिमा प्रवेश गरेका केजरीवालले दिल्लीको सत्तामा भाजपालाई परास्त गर्दै लामो समय शासन गरेका थिए। तर, अहिले त्यही केजरीवाललाई दिल्लीको विधानसभाको चुनावमा भाजपाले पराजित गरिदिएको छ।
यस पटकको चुनावी नतिजाले भाजपालाई दिल्लीको सत्तामा पुनःस्थापित मात्र गराएको छैन, भाजपालाई कडा टक्कर दिएका केजरीवालको राजनीतिक भविष्यमाथि समेत गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ।
वास्तवमा, सत्तामा छँदा र सत्तामा नहुँदा अरविन्द केजरीवालले गरेका वाचाहरुमा देखिएका आनका तान फरकपनाले आमजनतामा एक किसिमको मोहभङ्गताको स्थिति पैदा भएको थियो । सत्ताको सोपान भोग्न पाएपछि केजरीवालले आफ्ना सिद्धान्त र विचार परित्याग गरेका थिए। उनको शुरुवाती धारणा थियो कि कुनै पनि वाद वा विचारभन्दा कामको राजनीतिलाई प्राथमिकता दिनुपर्छ। साथै, उनका अनुसार पुराना पार्टीहरू सबै भ्रष्ट भइसकेका थिए, र उनी भ्रष्टाचारविरोधी शक्तिका रूपमा उभिएका थिए।
भारतीय जनता पार्टी (बीजेपी) ले केजरीवालका यी सबै आदर्शहरूमा सुनियोजित रूपमा प्रहार गर्यो। उनले सामना गर्नुपरेका विभिन्न भ्रष्टाचार सम्बन्धी आरोपहरू उजागर गर्दै उनलाई जेलमा हालियो। यी घटनाहरूले दिल्लीका जनतामाझ केजरीवालको छवि ध्वस्त पारिदियो।
त्यस्तै, दिल्लीको चुनावमा लगातार दुई पटक अपार जित हासिल गरेपछि केजरीवालमा घमण्ड पलाउन थालेको थियो। उनले अन्य पार्टीहरूसँग गठबन्धन गर्ने आवश्यक ठानेनन्। यदि उनले यस पटक कांग्रेससँग गठबन्धन गरेका भए, उनको पार्टी फेरि विजयी हुने सम्भावना थियो। तर, सत्ताको घमण्ड र अहंकारले भरिएका केजरीवालले कांग्रेससँग गठबन्धन गर्न आवश्यक ठानेनन्। त्यसैले, यस पटकको पराजय स्वाभाविक मान्न सकिन्छ।
यस पटक आम आदमी पार्टीको पराजयमा भारतका आरएसएसको भूमिकाले पनि काम गरेको देखिन्छ । अघिल्ला चुनावहरुमा भाजपाले आरएसएसलाई ‘गौण ठान्दा’ भाजपाको पक्षमा उसको भूमिका निष्क्रय जस्तै बनेको थियो । तर यस पटक भाजपाले विगतको त्यो गल्तीलाई सच्याएको देखिन्छ । कतिसम्म भनिन्छ भने आरएसएसको सक्रियता नहुँदो हुन्थ्यो भने यस पटक पनि भाजपालाई दिल्लीको सत्तामा आरोहण गर्न फलामको च्यूरा चपाउन जत्तिकै कठिन हुने थियो ।
जे होस्, दिल्ली विधानसभाको चुनावले जतिसुकै अग्रगामी र जनमुखी कुरा गरे पनि सत्तामा पुगेकाहरुले व्यवहारमा त्यसलाई लागू गरेनन्, सत्ताको मातमा आफैंले गरेका वाचाहरु विपरीत व्यवहार प्रदर्शित गरे भने जनताले दण्डित गरेरै छाड्नेछन्, अनि त्यसको फाइदा घोर दक्षिणपन्थी शक्तिहरुले उठाउने अवसर प्राप्त गर्न सक्नेछन् भन्ने पाठ समेत सिकाएको छ ।
एजेन्सीहरुको सहयोगमा . I source: https://i.ytimg.com

ट्रम्प २.० – चीनको दृष्टिकोण

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तिक्तता…

अमेरिका र युक्रेनबीच खनिज स्रोतहरूमा पहुँचबारे सम्झौता

अमेरिका र रुसबीच रियादमा युक्रेन युद्ध अन्त्यबारे महत्वपूर्ण वार्ता

सभ्यताहरूबीचको संवाद शान्ति र संस्कृतिका लागि हवाना सम्मेलन

अमेरिका फस्ट: ट्रम्पको अन्तर्राष्ट्रिय सम्झौताबाट बहिर्गमन र सीमामा कडा कदमहरू

युक्रेनी ‘गोर्खा ब्रिगेड’को भर्ती गरौं !

प्रतिक्रिया