नेताका छोराहरू: बलिदान, संघर्ष, र विवादका प्रसंग

दोश्रो विश्वयुद्ध चलिरहेको थियो। सोभियत संघ र नाजी जर्मनीबीच घमासान युद्ध जारी थियो। सोभियत नेता स्टालिनका दुईवटै छोराहरु सोभियत सेनामा भर्ती भएर युद्ध मोर्चामा खटिएका थिए। उनी सोभियत सेनामा लेफ्टिनेन्ट थिए।

सन् १९४१ मा स्टालिनका जेठा छोरा याकोभ जुकासभिली जर्मन सेनाको कब्जामा परे। जर्मन सेनाले याकोभ स्टालिनका छोरा हुन् भन्ने कुरा पत्ता लगायो। जर्मनीले सोभियत संघसँग युद्धबन्दी साटासाट गर्ने प्रस्ताव राख्यो। उसले याकोभको बदलामा आफ्ना एक जना जनरल साट्ने प्रस्ताव गर्‍यो। तर स्टालिनले यो प्रस्ताव सिधै अस्वीकार गरे। एक जना लेफ्टिनेन्टको लागि जनरल छोड्ने मूर्खता स्टालिनले गर्न चाहेनन्। भलै त्यो आफ्नै छोरा किन नहोस्। सन् १९४३ मा जर्मनीको बन्दी शिविरबाट भाग्न खोज्ने क्रममा याकोभलाई जर्मन सेनाले गोली हानेर हत्या गर्‍यो।

कोरियाली युद्धमा उत्तर कोरियालाई पराजित गर्दै अमेरिकी सेनाहरू चीनको सिमाना नजिक आइपुगेपछि चीनले कोरियामा सैन्य हस्तक्षेप गर्ने नीति लियो। लाखौँ चिनियाँ सेनाहरू जनस्वयंसेवक सेनाको नाममा उत्तर कोरियामा प्रवेश गरे। यही सैनिक टोलीमा माओ त्से-तुङका जेठा छोरा माओ अनाइङ थिए। उनी चिनियाँ सेनाका कमान्डर पेङ्ग तेहहुइका सचिव र दोभाषेको रूपमा कार्यरत थिए।

उत्तर कोरियामा प्रवेश गरेको करिब एक महिना पछि, २५ नोभेम्बर १९५० मा, चिनियाँ सेनाको शिविरमा अमेरिकी युद्धक विमानले गरेको बमबारीमा माओ अनाइङको मृत्यु भयो।

माओ अनाइङको मृत्युको खबर त्यही दिन चीनको केन्द्रीय सैन्य आयोगलाई रिपोर्ट गरियो। प्रधानमन्त्री चाओ एन-लाएले सो खबरले माओ त्से-तुङलाई ठूलो मानसिक धक्का पुर्‍याउँछ भनेर तत्काल नसुनाउने निर्णय गरे। उनले त्यो खबर करिब एक महिनापछि मात्र जानकारी गराए।

केही समयपछि, जब मार्शल पेङ्ग आफ्नो कामको रिपोर्ट गर्न बेइजिङ आइपुगे, उनले माओलाई यो घटनाबारे दुःख व्यक्त गर्दै भने— "तपाईंले आफ्नो अनाइङलाई मेरो जिम्मा लगाएर कोरिया पठाउनु भएको थियो। मैले उनको रक्षा गर्न सकिनँ। म यसको लागि जिम्मेवार छु।"

माओले जवाफ दिए— "मानिसहरू युद्धमा सधैँ मर्ने गर्छन्। चिनियाँ जन स्वयंसेवक सेनाले आफ्ना थुप्रै सैनिकहरूको बलिदान दिएको छ। माओ अनाइङ साधारण सैनिक मात्र थिए। मेरो छोरा भएकै कारणले यसलाई ठूलो विषय नबनाउनुहोस्।"

केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई आममाफी दिएका छन्। हन्टर बाइडेनविरुद्ध बन्दुकसम्बन्धी, कर छली जस्ता आरोपमा सजाय भोगिरहेका थिए। उनको अपराधको सजायस्वरुप उनले २५ वर्षसम्म जेल जीवन बिताउनुपर्ने हुन्थ्यो। अझ, उनको ल्यापटपमा रहेका सामग्रीहरू झनै विस्फोटक थिए। त्यसअनुसार उनका १९१ वटा यौनसम्बन्धी अपराध, १२८ लागुपदार्थसम्बन्धी अपराध, र १४० वटा व्यापारसम्बन्धी अपराधहरू थिए। उनको ल्यापटपमा आधारित ६३० पृष्ठको रिपोर्ट नै तयार पारिएको थियो। यो रिपोर्ट इन्टरनेटमा सहज रूपमा उपलब्ध छ।

जो बाइडेनले भनेका छन्— "आज मैले मेरो छोरा हन्टरलाई माफी दिएको छु। उसलाई मेरो छोरा भएकै कारण विपक्षीहरूले निशाना बनाएका थिए, जुन गलत थियो।"

माथिका घटनाहरुलाई केलाउँदा थाहा हुन्छ: समाजवादी चरित्रको साँचो अभ्यासमा परिवारवाद प्रधान बन्दैन, रहँदैन, त्यहाँ त सामुहिकताको भावना र देश प्रधान बन्ने गर्छ । तर त्यसको ठीक विपरीत ‘साँचो प्रजातन्त्र’ भनेर फलाकिने पुँजीवादी चरित्र अँगालेकाहरुको अभ्यासमा भने कसरी परिवारवादलाई ग्वार्लाम्मै अँगालो हालिन्छ र अपराधमा लिप्त आफ्ना परिरवारका मान्छेहरुलाई उन्मुक्ति दिइन्छ, अनि त्यसको प्रतिरक्षामा काइते कुराहरु गर्ने गरिन्छ, भलै दसीप्रमाणहरुले त्यस्ता अपराधहरुका बारेमा चिच्याइचिच्याइकन गवाही नै दिइरहेको किन नहोस् !

सम्भवत: माथिका घटनाहरु नेपालका राजनीतिमा पनि विवेचना गरिनु पर्ने र एउटा सिक्न लायक कुरा बन्न सक्ला कि ?