हमासका मुख्य नेता सिनवार मारिए !

तस्विर: अलजजिरा

इजरायलले प्यालेस्टाइनी लडाकु समुह हमासका मुख्य नेता याह्या सिनवारलाई मारेको छ। इजरायली सेनाले गाजामा एक अपरेसनको क्रममा एउटा घरमा हमला गरेको थियो। यसमा हमासका तीन जना लडाकु मारिएका थिए। तीमध्ये एक जनाको अनुहार याह्या सिनवारसँग मिल्दोजुल्दो देखिएको थियो। जसको अनुहार, दात र घडीले त्यो व्यक्ति याह्या सिनवार भएको संकेत गरेको थियो। पछि डीएनए परीक्षणपछि इजरायलली सेनाले मारेको व्यक्ति याह्या सिनवार नै भएको पुष्टि भएको थियो । याह्या सिनवारलाई ७ अक्टोबरको हमलाको मास्टरमाइन्ड मानिन्थ्यो ।

इजरायली सेनाले जारी गरेको ड्रोन फुटेजका अनुसार सैन्य पोसाक लगाएका र हतियार बोकेका घाइते अवस्थामा एउटा हात र औला चुडिएका याह्या सिनवार एउटा कुर्सिमा बसेका देखिन्छन्। उनेले आफ्नो नजिक आइपुग्न लागेको ड्रोनलाई काठको टुक्राले प्रहार गर्छन्। पछि उनलाई इजरायली सेनाका स्न्याइपरले गोली हानेर मार्छन्। याह्या सिनवार अन्तिम समयसम्म लड्दा लड्दै मारिए।

सिनवारको पूरा नाम याह्या इब्राहिम हसन सिनवार थियो। उनको जन्म गाजापट्टीको दक्षिणी क्षेत्रमा रहेको खान यूनिसको शरणार्थी क्याम्पमा भएको थियो।  सन् १९४८ मा इजरायलको स्थापना भएपछि हजारौं फिलिस्तिनीहरूलाई उनीहरूको पुर्ख्यौली घरबाट खेदियो, जसमा याह्याका आमा-बुवा पनि शरणार्थी बनेका थिए। दुई इजरायली सैनिक र चार फिलिस्तिनीहरूको अपहरण र हत्या गरेको आरोपमा सिनवारलाई १९८९ मा गिरफ्तार गरिएको थियो। त्यतिबेला याह्याको उमेर १९ वर्ष थियो। उनमा मुद्दा चल्यो। पछि उनलाई चारवटा आजीवन कारावासको सजाय सुनाइएको थियो। सिनवारले इजरायली जेलमा २२ बर्ष कारावास जीवन बिताएका थिए। उनि धाराप्रवाह हिब्रु भाषा बोल्न सक्थे। भनिन्छ उनले जेलमा बस्दै हिब्रु भाषा सिकेका थिए । २०११ मा इजरायली सैनिक गिलाद शालिटको सट्टामा १००० भन्दा बढी कैदीहरूको अदला-बदलीको क्रममा सिनवारलाई पनि रिहा गरिएको थियो ।

सिनवारलाई केही समयअघि मस्तिष्कको क्यान्सर भएको थियो । क्यान्सरको सफल उपचारपछि उनी फेरि हमासको अभियानमा पूरै लागिपरेका थिए ।