अत्यधिक थकान लाग्छ ? यस्ता हुन सक्छन् कारणहरू !

हामीमध्ये कतिपयलाई बिना कारण अत्यधिक थकान लाग्ने समस्याले सताइरहेको हुन सक्छ । खासै कुनै शारीरिक श्रम गरिएको हुँदैन, त्यस्तो कुनै स्वास्थ्य समस्याहरु भएको पनि देखिएको हुँदैन, तर पनि हामीलाई अत्यधिक थकान लाग्ने गर्छ । यस्तो हुनुका विभिन्न कारणहरु हुन सक्छन् । तीमध्ये केही प्रमुख कारणहरु निम्न हुन सक्छन् :

अनिद्रा

हामीलाई अत्यधिक थकालन महसूस हुनुको एउटा प्रमुख कारण अनिद्रा हुन सक्छ । अनिद्राले मानिसको समग्र स्वास्थ्य र तन्दुरुस्तीमा नकारात्मक असर पार्न सक्छ।

सामान्यत: दिनको सात–आठ घण्टा सुत्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ । सबैभन्दा राम्रो बानी चाहिँ हरेक हरेक रात निश्चित समयमा सुत्ने र प्रत्येक बिहान पनि निश्चित समयमा उठ्ने गर्नु नै हो । राम्रो निद्राको लागि ओछ्यान आरामदायी छ कि छैन, कोठा पर्याप्त अँध्यारो र उचित रुपमा न्यानो (बढी तातो वा अति चिसो नभएको) छ कि छैन, र मोबाइल फोन तथा टेलिभिजन अफ छन् कि छैनन् भनेर सुनिश्चित गर्नुहोस्। यी कुराहरुले निद्रालाई प्रभावित गर्न सक्छ । सबै कुरा सही हुँदाहुँदै पनि तपाईंलाई राम्रो निद्रा लाग्दैन भने चाहिँ चिकित्सकको परामर्श लिनु पर्छ ।

स्लीप एप्निया अर्थात निदाएको बेला केही बेर सास फेर्न रोकिनु

स्लीप एप्निया एक गम्भीर निन्द्रा विकार हो । यो समस्याले पीडित व्यक्तिमा सुतिरहेको बेला छोटो समयका लागि सास फेर्न रोकिने गर्छ ।

धेरैजसो मानिसहरूले यस किसिमको समस्यालाई महसुस नै गर्दैनन्, तर यसले गर्दा निदाएको बेला ठूलो आवाजमा घुर्ने तथा दिनभर थकान महसुस हुन सक्छ।

शरीरको तौल अत्यधिक बढी हुनु,  धूम्रपान–मद्यपान जस्ता खराब बानीले स्लीप एप्नियाका लक्षणहरूलाई झनै खराब बनाउँछ। यदि तपाईंको तौल बढी छ भने, तौल घटाउनुहोस्, धूम्रपान छोड्नुहोस्, र मदिरा परहेज गर्नुहोस्। यस्तो समस्याले धेरै सतायो भने चिकित्सककहाँ जचाउनु पर्छ । चिकित्सकले तपाईंलाई सुत्दा श्वासप्रश्वास खुला राख्न मद्दत गर्ने CPAP (कन्टिन्युअस पोजिटिभ एयरवे प्रेसर) उपकरण प्रयोग गर्न सिफारिस गर्न सक्छ ।

शरीरमा उर्जाको अभाव

तपाईको खाना खाने बानीले पनि तपाईंको निद्रामा प्रभाव पार्न सक्छ।

पर्याप्त नखानु वा पौष्टिक आहार नखानु पनि थकानको एउटा कारण बन्न सक्छ। खासगरी रगतमा रक्तचिनीको स्तर छिट्टै बढाउने खाना खाने बानी भएकाहरुलाई रगतमा रक्तचिनीको स्तर घट्नासाथ थकान महसुस हुन्छ।

यसबाट बच्ने उपाय भनेको फलफूल, तरकारी, सम्पूर्ण अन्न र प्रोटिन समावेश सन्तुलित आहार खानु नै हो । खासगरी, चिनी र बोसोको उच्च मात्रामा भएका अस्वस्थकर तथा रेडिमेड खानेकुरा (जङ्क फुड) कम खानु वा परहेज गर्नु सबैभन्दा उत्तम उपाय हो ।

रक्तअल्पता

आइरन (लौहतत्त्व) को कमीका कारण हुने रक्त अल्पता अर्थात् एनिमिया महिलाहरूमा थकान देखापर्नुको एउटा प्रमुख कारण हो।

हाम्रो शरीरमा रगत मार्फत् अक्सिजनको आपूर्ति गर्ने काममा आइरनले महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।  यदि शरीरमा पर्याप्त आइरन छैन भने, तपाईंको शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्न पर्याप्त अक्सिजन नपाउन सक्छ। महिनावारीको बेला धेरै रक्तस्रो हुने तथा गर्भवती महिलाहरुमा आइरनको कमीका कारण एनीमिया हुने जोखिम बढी हुन्छ।

यदि तपाईं आइरनको कमीका कारण हुने एनिमियाको समस्यालाई  खानपीनमा आइरन पाइने खानेकुराहरु समावेश गरेर हल गर्न सकिन्छ । खासगरी पर्याप्त मात्रामा आइरन पाइने खानेकुराहरूमा मासु, बिन्स, टोफु, आलु, ब्रोकोली, बदाम, आइरन मिसाइएको अन्न, र ब्राउन राइस पर्छन्। अत्यधिक एनिमियाको समस्यामा चिकित्सकको सल्लाहमा आइरन सप्लिमेन्ट पनि लिन सकिन्छ ।

डिप्रेसन

डिप्रेसनले दुःख र चिन्ता मात्र होइन, थकान, अनिद्रा, दुखाइजस्ता शारीरिक लक्षणहरू पनि निम्त्याउन सक्छ।

यदि तपाईं वा तपाईंले माया गर्ने कोही डिप्रेसनबाट पीडित हुनुहुन्छ भने, चिकित्सकीय सहयोग लिनुहोस्। डिप्रेसन बिना उपचार ठीक नहुन सक्छ, र यसका लागि विभिन्न उपचार विधिहरू उपलब्ध छन्, जसमा थेरापी र औषधिहरूले लक्षणहरू समाधान गर्न मद्दत गर्छन्।

हाइपोथाइरायडिज्म

थाइराइड ग्रन्थिले शरीरको मेटाबोलिज्म अर्थात् शरीरले इन्धनलाई ऊर्जामा रूपान्तरण गर्ने गतिलाई नियन्त्रण गर्छ। थाइराइड कम सक्रिय हुँदा (हाइपोथाइरायडिज्म), थकान, डिप्रेसन, र तौल बढ्न सक्छ।

रक्त परीक्षणले कसैलाई हाइपोथाइरायडिज्म छ कि छैन भनेर पुष्टि गर्न सक्छ। सकारात्मक कुरा यो हो कि यो अवस्थाले सामान्यत: थाइराइड हर्मोनको प्रतिस्थापन उपचारमा राम्रो प्रतिक्रिया देखाउँछ।

क्याफिनको अत्यधिक सेवन

धेरै मानिसहरूले ऊर्जाका लागि तथा स्फूर्ति प्राप्त गर्नका लागि क्याफिन सेवन गर्छन्। मध्यम मात्रामा क्याफिनले शारीरिक सतर्कता र ऊर्जा अवश्य पनि बढाउने गर्छ तर त्यही कुरा बढी भयो भने चाहिँ नकारात्मक असरहरु पनि पर्ने गर्छ । खासगरी  शरीमा अत्यधिक क्याफिन भयो भने बेचैनी, हृदयगति बढ्न, उच्च रक्तचाप, चिन्ता, र अनिद्राजस्ता समस्याहरू निम्त्याउन सक्छ। अनि क्याफिनले केही बेर स्फूर्ति बढाएको महसूस भए पनि त्यसको प्रभाव समाप्त भएपछि, थकानको अनुभूति हुन सक्छ।

त्यसैले हामीले चिया कफी खाँदा धेरै खानु हुन्न । खासगरी, कफी, चिया, कोलाहरु धेरै खाने आदत छ भने त्यसलाई विस्तारै घटाउँदै लानुपर्छ । अचानक क्याफिन छोड्दा "विदड्रल" लक्षणहरू देखिन सक्छन्, त्यसैले त्यसको सेवनलाई विस्तारै घटाउँदै लैजानुपर्छ ।

मूत्र मार्गमा संक्रमण

मूत्र मार्गमा संक्रमण (UTI) ले पनि थकान वा कमजोरी गराउन सक्छ । मूत्र मार्गमा संक्रमण हुँदा पिसाब गर्दा जलन वा दुखाइ, र बारम्बार वा तुरुन्तै पिसाब लाग्ने अनुभूति जस्ता लक्षणहरु देखापर्न सक्छ । यस्ता अवस्थामा चिकित्सकको सहायता लिनुपर्छ ।

मधुमेह

मधुमेहले पनि  हामीलाई अनावश्यक रुपमा थकित तुल्याउने गर्छ ।  खासगरी, रगतमा उच्च रक्तचिनी हुँदा, यो ऊर्जा लागि प्रयोग हुनुको सट्टा रगतमा नै रहन्छ, जसले थकानको महसुस गराउँछ। निम्न रक्तचिनी (ब्लड ग्लुकोज) हुँदा पनि शरीरका लागि अत्यावश्यक ऊर्जा बन्न पाउँदैन । फलत: त्यसले पनि थकान निम्त्याउँछ।

जलविनियोजन अर्थात् डिहाइड्रेसन

हामी सबैलाई थाहा छ कि पानीले तिर्खा मेटाउँछ, तर यसको कमीले हामीलाई थकान पनि गराउने गर्छ । खासगरी,  शरीरमा जलविनियोजन हुँदा हामीलाई आलस्य हुने तथा अत्यधिक थकान लाग्ने समस्याहरु देखापर्न सक्छ ।

सामान्यता कुनै पनि तरल वा झोल पदार्थले हाम्रो शरीरलाई जलविनियोजनबाट बचाउँछ । तर शरीरमा जलविनियोजन हुन नदिनका लागि सबैभन्दा उत्तम विकल्प पानी नै हो ।  दैनिक करिब आठ गिलास पानी पिउनु शरीरको लागि उत्तम मानिन्छ । तर तपाईंले व्यायाम गर्नुहुन्छ वा गर्म वातावरणमा बस्नु हुन्छ भने त्योभन्दा बढी पानीको आवश्यकता पर्न पनि सक्छ। सामान्यत: मूत्रको रङबाट हाम्रो शरीरमा जलविनियोजन भए नभएको अनुमान गर्न सकिन्छ । तपाईको शरीरमा पर्याप्त मात्रामा पानी पुगेको छ भने तपाईंको मूत्र कञ्चन वा हल्का पहेँलो हुनेछ। तर त्यो गाढा पहेलो छ भने तपाईलाई जलविनियोजन भएको हुन सक्छ । त्यो भनेको तपाईंको शरीरलाई बढी तरल पदार्थको आवश्यकता छ ।

हृदय रोग

हृदय रोगको समस्यामा पनि थकान महसूस हुन सक्छ । खासगरी, हृदय रोगमा मटुले शरीरका सबै भागहरुमा पर्याप्त मात्रामा रक्त प्रवाह गर्न असमर्थ हुन्छ र हाम्रा शरीरका कोषहरुले पर्याप्त मात्रामा अक्सिजन नपाउने तथा त्यसका खराब पदार्थहरुको शुद्धिकरण प्रक्रियामा समेत अवरोध आउने हुनाले हामीलाई  थकान लाग्न सक्छ । त्यसैले अत्यधिक थकान लागिबस्छ भने कतै त्यो  हृदय रोगको संकेत त होइन भनेर सतर्क हुनु उत्तम हुन्छ । त्यस्तो अवस्थामा चिकित्सीय सहयोग लिनु बुद्धिमानी हुन्छ ।

शिफ्ट कामले पैदा हुने निद्रा विकार

शिफ्ट कामले तपाईंको शरीरको २४-घण्टे आन्तरिक घडी, वा सर्केडियन रिदममा गडबडी ल्याउन सक्छ। जब तपाईं रातमा काम गर्नुहुन्छ वा शिफ्टमा काम गर्नु हुन्छ, तपाईंको शरीरको कहिले जाग्ने र कहिले सुत्ने भन्नेत् क्रममा अनियमितता आउन जान्छ र त्यसले थकान निम्त्याउँछ।

शिफ्टमा काम गर्नुपर्नेहरुले दिनको समयमा सुत्नुपरेमा, आफ्नो सुत्ने स्थानलाई अन्धकार, चिसो, र शान्त बनाउनुपर्छ ताकि राम्रो निद्रा पुगोस्। रातमा काम गर्दा, कार्यक्षेत्रलाई उज्यालो राख्नु जाति हुन्छ । यथासक्य शिफ्टमा काम गर्दा छिटो छिटो शिफ्टको समय परिवर्तन गर्नुको सट्टा एउटै खालको शिफ्टमा काम गर्नु जाति हुन्छ ताकि शरीर त्यही अनुसार अभ्यस्त भएर राम्ररी निद्रा पर्न सकोस् ।

खाद्य एलर्जी

केही खाद्य पदार्थले दीर्घकालीन थकान निम्त्याउन सक्छन्। यदि तपाईंलाई कुनै विशेष खाना खाएपछि थकान अनुभव हुन्छ भने, यो त्यो खाना तपाईंको लागि सही नभएको कुराको  संकेत हुन सक्छ जसलाई सामान्यत: खाद्य असहिष्णुता भनेर मानिन्छ ।

खाद्य असहिष्णुतालाई चिन्ने राम्रो उपाय भनेको "एलिमिनेशन डाइट" हो। त्यसका लागि आफूलाई फाइदा नगर्ने खालका शंकास्पद खाना हटाएर हेर्ने र त्यसो गर्दा शरीरमा थकान लाग्ने समस्यामा कमी आए नआएको पत्ता लगाउन सकिन्छ । त्यस्ता खाना नखाँदा थकानको समस्या हट्ने र खाँदा देखिने भयो भने तपाईमा देखापरेको थकानको कारण खाद्य असहिष्णुता नै हो भनेर ठम्याउन सकिन्छ ।

दीर्घकालीन थकान सिन्ड्रोम (CFS) र फाइब्रोमाइल्जिया

​​​​​​​दीर्घकालीन थकान सिन्ड्रोम र फाइब्रोमाइल्जिया दुई अवस्थाहरू हुन् जसले लगातार तर कारण नै थाहा नहुने गरी थकान निम्त्याउन सक्छ ।

यी दुवै अवस्थाहरू पुराना (क्रोनिक) हुन्छन्, र एउटै उपचार सबैका लागि प्रभावकारी हुँदैन। यद्यपि जीवनशैलीमा केही परिवर्तनले थकानका लक्षणहरूलाई कम गर्न वा हटाउन सकिन्छ । यस्तो समस्यामा सबैभन्दा राम्रो उपाय भनेको चाहिँ  राम्रो निदाउने बानी (क्याफिन घटाउने, कोठालाई अँध्यारो र शान्त राख्ने), आरामदायी उपायहरू, हल्का व्यायाम, र सन्तुलित आहार आदि नै हुन् ।

हल्का थकानको छिटो समाधान

हामीमध्ये केहीलाई कुनै विशेष चिकित्सकीय कारणबिना थकान लाग्न सक्छ। यस्तो समस्याको एउटा राम्रो समाधान व्यायाम हुन सक्छ । नियमित व्यायाम गर्ने व्यक्तिहरूमा थकान कम हुने देखिएको छ। शारीरिक स्फूर्ति र ऊर्जा बढाउनका लागि हल्का-देखि-मध्यम स्तरको व्यायाम (जस्तै हिंड्ने, योगा गर्ने) ले पनि थकानलाई कम गर्न मद्दत पुर्याउन सक्छ।

https://www.medicinenet.com