चीन: ‘अपमानको शताब्दी’देखि विश्वमहाशक्तिको यात्रा !

एक शताब्दी लामो अपमानको पिडा भोगेको चीनलाई १९४९ यता न त कसैले अपमान गर्न सकेको छ न उसको उन्नति/प्रगतिलाई रोक्न सकेको छ!

कुनैबेला ’एशियाको रोगी मान्छे’ चीनलाई भनेर अपमान तथा हेलाहोचो गरिने चीन यतिखेर विश्वमहाशक्ति अमेरिकालाई टक्कर दिने हैसियतमा उभिएको छ । विश्वकै दोस्रो सबैभन्दा अर्थतन्त्रका रुपमा रहेको चीनले विज्ञान, प्रविधि र नवप्रवर्तनलगायत हरेक क्षेत्रमा अमेरिकालाई कडा टक्कर दिइरहेको छ । चीनको दीर्घकालीन आर्थिक वृद्धिको दर, जनसंख्या, र प्रविधि क्षेत्रमा उसले गर्दै आएको लगानीलाई आधार, ठूलो उत्पादन क्षमता, ठूला पूर्वाधार परियोजना, र गन्तव्य बन्दै गरेको उपभोक्ता बजारलाई लिएर कतिपय अर्थशास्त्रीहरुले आगामी सन् २०५० सम्ममा चीनले अमेरिकी अर्थतन्त्रलाई समेत पछाडि पार्न सक्ने अनुमान गर्दै आएका छन् ।

अध्यक्ष माओ त्से तुङले जनवादी गणतन्त्र चीनको स्थापना गर्नु भन्दा केही दिनअघि चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनमा भनेका थिए— "चिनियाँ जनता उठेका छन्!"

जनवादी गणतन्त्र चीन स्थापना भएको आज ७५ वर्ष पुगेको छ। सन् १९४९ को अक्टोबर १ मा चीनको राजधानी बेइजिङमा रहेको तियानमेन चोकमा अध्यक्ष माओ त्से तुङले जनवादी गणतन्त्र चीनको घोषणा गरेका थिए। यो घोषणा किन महत्वपूर्ण छ भने चीन अपमानको शताब्दीलाई पराजित गर्दै अघि बढ्न सफल भएको थियो। चीनको "अपमानको शताब्दी" (Century of Humiliation) भन्नाले १९ औं शताब्दीको मध्यदेखि २० औं शताब्दीको मध्यसम्मको अवधि बुझाउँछ, जब चीन विदेशी शक्तिहरूद्वारा बारम्बार पराजित र शोषित भएको थियो। यो अवधिमा चीनले युद्धहरूमा हार व्यहोर्नुपर्‍यो, महत्वपूर्ण भूभागहरू गुमायो, विदेशी देशहरूसँग असमान सन्धिहरूमा हस्ताक्षर गर्न बाध्य भयो, र आन्तरिक विद्रोहहरू तथा अशान्तिहरूको सामना गर्‍यो। विशेष रूपमा, अफिम युद्धहरू (१८३९–४२, १८५६–६०), बक्सर विद्रोह (१८९९–१९०१) जस्ता घटनाहरूले चीनको राष्ट्रिय गर्वमा ठूलो धक्का पुर्‍यायो। यिनै परिप्रेक्ष्यमा, अध्यक्ष माओ त्से तुङले जनवादी गणतन्त्र चीनको स्थापना गर्नु भन्दा केही दिनअघि चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनमा भनेका थिए— "चिनियाँ जनता उठेका छन्!"

जनवादी क्रान्ति भन्दा अगाडि चीनलाई एसियाको रोगी मान्छे भनेर मजाक उडाइन्थ्यो। १९४९ पछि पहिलो पटक चीन विदेशी आधिपत्यबाट मुक्त बन्न सफल भयो। युरोपेली र जापानी साम्राज्यवादीहरूले आफू माथि लादेका अनेकौं अपमानजनक सन्धि र सम्झौताहरूलाई च्यात्दै चीन साँचो अर्थमा स्वतन्त्र बन्यो। चीन आधुनिकीकरण र विकासको बाटोमा अघि बढ्न थाल्यो। कम्युनिस्ट सरकारले पहिलो चरणमा थालेका कामहरुले चीनको भाग्य र भविष्यमा ठूलो परिवर्तनको संकेत गर्‍यो। यस समयावधिमा आधुनिकीकरण र औद्योगिकीकरणको आधार तयार गरियो, जसको असफलताले अघिल्लो शताब्दीको चिनियाँ इतिहासलाई सताएको थियो। चीनमा विशाल रूपमा जमिन पुनर्वितरण गर्ने जस्ता क्रान्तिकारी भूमिसुधारका कार्यक्रमहरू सुरु गरियो। जसबाट प्राप्त राजस्व चीनमा औद्योगिकीकरण निर्माणमा लगाइयो। माओको शासनकालमा चीनले ४ प्रतिशतभन्दा बढीको विकास कायम राखेको थियो। माओको शासनकालको अन्त्यतिर आइपुग्दा चीन विश्वकै छैठौं विशाल औद्योगिक देश बन्न सफल भयो। १९७४ तिरै चीनले जेट प्लेन, रेल, पानीजहाज, अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र, हाइड्रोजन बम र स्याटेलाइट निर्माण गरिसकेको थियो। सन् १९५२–७८ का बीचमा चीनको राष्ट्रिय आय ५ गुणाले बढ्यो। त्यस बेला राष्ट्रिय आय ६० अर्ब युआनबाट ३०० अर्ब युआन पुग्यो। जसमा मुख्य योगदान औद्योगिक क्षेत्रको थियो। त्यस समयमा चीनले मानव विकासको क्षेत्रमा हासिल गरेको उपलब्धिहरू झनै उल्लेखनीय मानिन्छ। माओकालीन चीनमा चिनियाँहरूको जनसंख्या र औसत आयु दोब्बर भएको थियो। १९४९ मा चिनियाँहरूको औसत आयु ३६ वर्ष थियो भने १९७६ मा करिब ६२ वर्ष थियो। त्यस्तै, चीनको जनसंख्या १९४९ मा ५४ करोड थियो भने १९७६ मा ९३ करोड पुगेको थियो। जीवनस्तरको वृद्धि र ग्रामीण क्षेत्रमा नांगो खुट्टाका डाक्टरहरू तथा अन्य कार्यक्रमहरू मार्फत स्वास्थ्य सेवाको सफल विस्तारका कारण भएको थियो। त्यस्तै, १९४९ मा साक्षरता दर २०% रहेकोमा १९७६ मा यो ६६% पुगेको थियो।

कम्युनिस्ट सरकारले पहिलो चरणमा थालेका कामहरुले चीनको भाग्य र भविष्यमा ठूलो परिवर्तनको संकेत गर्‍यो। यस समयावधिमा आधुनिकीकरण र औद्योगिकीकरणको आधार तयार गरियो, जसको असफलताले अघिल्लो शताब्दीको चिनियाँ इतिहासलाई सताएको थियो।

चीनको अभूतपूर्व विकासको अर्को चरण १९७८ को सुधारपछि आएको हो। जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओ त्से तुङको निधन भएको केही वर्षपछि तेङ सियाओ फिङ सत्तामा आए। उनले १९७८ मा चीनलाई समाजवादी खुला बजार अर्थतन्त्रको बाटोमा डोहोर्‍याए। तेङले यो बाटो अपनाउनुको पछाडि केही व्यावहारिक कारणहरू थिए। चीनका छिमेकमा रहेका देशहरू मध्ये जापान विकास निर्माणमा अमेरिकालाई टक्कर दिने अवस्थामा पुगेको थियो। त्यस्तै, अन्य एसियन टाइगर अर्थतन्त्रहरू (दक्षिण कोरिया, सिंगापुर, हंगकंग र ताइवान) ले ठूलो आर्थिक प्रगति गर्न थालेका थिए। चीनले भारी उद्योगहरूको, आणविक बम, र मानव निर्मित उपग्रहहरूको निर्माण र सञ्चालन गर्न सफल भए तापनि अन्य क्षेत्रमा पछाडि पर्न थालेको थियो। यही गतिरोधलाई चिर्न आर्थिक सुधारहरू गर्न जरुरी थियो। फेरि, चीनमा आधुनिकीकरणको बहस कुनै नयाँ पनि थिएन। चीनमा आधुनिकीकरणको आवश्यकतालाई पहिलो पटक चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले १९६३ मा औंल्याएका थिए। उनले यसलाई चार आधुनिकीकरणको सूत्रको रुपमा  प्रस्तुत  गरेका थिए। यसलाई स्पष्ट पार्दै चाउले भनेका थिए - यदि हामीले शक्तिशाली समाजवादी देश निर्माण गर्ने हो भने आधुनिक कृषि, उद्योग, राष्ट्रिय सुरक्षा, र विज्ञान र प्रविधिलाई आधुनिकीकरण गर्नु पर्छ। तेङ सियाओ फिङको आर्थिक सुधार कार्यक्रमको प्रेरणा पनि चाउ एनलाईको चार आधुनिकीकरणलाई मान्न सकिन्छ।

चीनमा आधुनिकीकरणको आवश्यकतालाई पहिलो पटक चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले १९६३ मा औंल्याएका थिए। उनले यसलाई चार आधुनिकीकरणको सूत्रको रुपमा  प्रस्तुत  गरेका थिए। यसलाई स्पष्ट पार्दै चाउले भनेका थिए - यदि हामीले शक्तिशाली समाजवादी देश निर्माण गर्ने हो भने आधुनिक कृषि, उद्योग, राष्ट्रिय सुरक्षा, र विज्ञान र प्रविधिलाई आधुनिकीकरण गर्नु पर्छ।

आर्थिक सुधार यताका ४ दशकमा यो देशले अभूतपूर्व विकास गरेको छ। विकासको तीव्र रफ्तारका कारण चीनले २०१४ मा अमेरिकालाई एउटा आर्थिक सूचकांक, कुल ग्राह्यस्थ उत्पादनलाई क्रय शक्ति समताबाट नाप्ने पद्धतिमा (PPP in GDP), उछिनिसकेको छ। १९५० मा अमेरिकाको हिस्सा पिपिपिको आधारमा विश्वको जीडीपीमा २७.३ प्रतिशत थियो भने चीनको हिस्सा मात्र ४.५ प्रतिशत थियो। शीत युद्ध जितेको बेला, १९९० मा अमेरिकाको हिस्सा २०.६ प्रतिशत थियो भने चीनको ३.८६ प्रतिशत मात्र थियो। तर २०१८ मा अमेरिकाको १५ प्रतिशत थियो भने चीनको १८.६ प्रतिशत। अब अर्को आर्थिक सूचकांक, नोमिनल कुल ग्राह्यस्थ उत्पादन (Nominal GDP), मा पनि छिट्टै उछिन्दैछ। केही आर्थिक विश्लेषणहरूका अनुसार, यदि चीनले २०३५ सम्म आफ्नो देशको आर्थिक वृद्धिदर ४%-५% कायम राख्यो भने, अमेरिकालाई उछिन्ने वाला छ।

चीनले आर्थिक सुधारको क्रममा आफ्नो समाजवादी चरित्रलाई परित्याग गरेन। चीनको सरकारले अर्थतन्त्रका प्रमुख स्तम्भहरू — ठूला उद्योग, ऊर्जा, यातायात, सञ्चार, र वैदेशिक व्यापारमा कडा नियन्त्रण कायम राख्छ। चीनको वित्तीय बजारमा चारवटा सरकारी बैंकहरू नै हावी छन्, जो पुँजीपति र निजी लगानीकर्ता प्रति भन्दा सरकार प्रति जवाफदेही हुन्छन्। चीनमा विदेशी लगानीलाई बिना सर्त आउन दिएको थिएन। उनीहरूलाई राज्यको विकास योजनाअनुसार नियमन गरिएको थियो। प्रविधिको हस्तान्तरणलाई विदेशी लगानीको प्रमुख सर्तको रूपमा राखिएको थियो। चीन मामिलाका विद्वान मार्टिन ज्याक्सका अनुसार, चीन सरकारले अमेरिकी गाडी निर्माता कम्पनी फोर्डलाई आफ्नो कारखाना सञ्चालन गर्न दिनु अघि उसलाई चीनका गाडीका स्पेयर पार्ट्स बनाउने कारखानाहरूको प्राविधिक क्षमता विस्तार गर्न साझेदारीमार्फत लगानी गर्न लगाएको थियो। त्यस्तै, अमेरिकी वायुयान निर्माता कम्पनी बोइंगका जेटहरू किन्नु अघि उसलाई चीनमा स्पेयर पार्ट्स र पुरै प्लेन बनाउने क्षमता निर्माणमा सहयोग गर्न लगाइएको थियो।

चीनले विज्ञान र प्रविधिमा निरन्तर जोड दिएका कारण यो क्षेत्रमा पर्याप्त प्रगति गरेको छ। चीन अहिले विश्वको विज्ञान र प्रविधिमा अग्रणी नवप्रवर्तकहरू मध्ये एक भएको छ। यो नवीकरणीय ऊर्जा, अन्तरिक्ष अन्वेषण, डिजिटल नेटवर्किङ, क्वान्टम कम्प्युटिङ, न्यानो टेक्नोलोजी, र उन्नत प्रविधि निर्माणजस्ता धेरै महत्त्वपूर्ण क्षेत्रमा विश्वव्यापी नेतृत्वकर्ताको रूपमा स्थापित भएको छ। यसले वैज्ञानिक अनुसन्धान प्रकाशन र पेटेन्ट स्वीकृतिको क्षेत्रमा अमेरिकालाई पछि पार्दै विश्व नेतृत्वकर्ता स्थान हासिल गरेको छ।

चीनले आर्थिक सुधारको क्रममा आफ्नो समाजवादी चरित्रलाई परित्याग गरेन। चीनको सरकारले अर्थतन्त्रका प्रमुख स्तम्भहरू — ठूला उद्योग, ऊर्जा, यातायात, सञ्चार, र वैदेशिक व्यापारमा कडा नियन्त्रण कायम राख्छ।

आधुनिक प्रविधिको मुख्य आधार सेमीकंडक्टर चिपहरूलाई मानिन्छ। यस प्रविधिमा चीनले पहुँच नपाओस् भनेर अमेरिकाले केही वर्षदेखि नाकाबन्दी लगाउँदै आएको छ। अमेरिकाले आफूले मात्र नभई नेदरल्याण्ड, ताइवान, र दक्षिण कोरियालाई समेत चीनतर्फ चिप निर्यात गर्न प्रतिबन्ध लगाएको छ। अझ चिप बनाउने लिथोग्राफी मेसिन निर्यात गर्न पनि बन्देज लगाएको थियो। यी सब नाकाबन्दी र बन्देजहरूको बाबजुद पनि चीनले चिप निर्माणको क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ। चिनियाँ कम्पनीहरूले ५ न्यानो मिटरका चिपहरू निर्माण गर्न सफल भएका छन्।

विश्वभरि गरिबी घटाउने काममध्ये ७० प्रतिशत काम चीनमा भएको छ। राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई इतिहासकै सबैभन्दा महानतम गरिबी विरुद्धको उपलब्धिको रूपमा वर्णन गरेका थिए।

राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीन सरकारले चरम गरिबी निवारणको महत्वाकांक्षी परियोजना सुरु गरेको थियो। त्यसबेला चीन सरकारको आकलनअनुसार करिब १० करोड मानिसहरू गरिबीको रेखामुनि रहेका थिए। यो अभियान सुरु भएको ८ वर्षपछि चीनले आफ्नो देशमा चरम गरिबी उन्मूलन भएको घोषणा गर्‍यो। यो अभियानको क्रममा १० करोड मानिसहरूलाई चरम गरिबीको रेखाबाट बाहिर ल्याइएको थियो। चीनको गरिबी विरुद्धको अभियानलाई विश्वकै सबैभन्दा सफल अभियान मानिन्छ। भनिन्छ, विश्वभरि गरिबी घटाउने काममध्ये ७० प्रतिशत काम चीनमा भएको छ। राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई इतिहासकै सबैभन्दा महानतम गरिबी विरुद्धको उपलब्धिको रूपमा वर्णन गरेका थिए। समग्रमा भन्न सकिन्छ, यो ऐतिहासिक विजय सन् १९४९ को चिनियाँ क्रान्तिबाट सुरु भएको सात दशक लामो प्रक्रियाको परिणति हो। समाजवादी निर्माणका प्रारम्भिक दशकहरूले आधार तयार गरे, जुन सुधार र खुलापनको अवधिमा अझ सुदृढ भयो। यस अवधिमा करोडौं चिनियाँ जनताहरू गरिबीबाट माथि ल्याइए।

करिब २०० वर्ष अगाडि फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका थिए - चीन सुतेको दैत्य हो। उसलाई सुत्न देउ। यदि उ बिउँझियो भने सारा विश्वलाई हल्लाइ दिनेछ।

आजभन्दा करिब २०० वर्ष अगाडि फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका थिए - चीन सुतेको दैत्य हो। उसलाई सुत्न देउ। यदि उ बिउँझियो भने सारा विश्वलाई हल्लाइ दिनेछ। चीनलाई विदेशीले कब्जा गरेको बेला संघाईको एउटा पार्कमा सूचना टासिएको थियो - कुकुर र चिनियाँलाई प्रवेश निषेध। यस्तो अपमान व्यहोर्नु पर्दा समेत सम्पूर्ण चीन अफिमको नशा मस्त थियो। यो अपमानको तन्द्रा बाट चीन व्युझेको युगान्तकारी संकेत माओ त्से तुङ्गले गरेका थिए। अध्यक्ष माओ त्से तुङले जनवादी गणतन्त्र चीनको स्थापना गर्नु भन्दा केही दिन अगाडि चीनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनमा भनेका थिए - चीनियाँ जनता उठेका छन्। त्यसैको निरन्तरताको रूपमा २०१९ अक्टोबर १ का दिन तियानमेन स्क्वायरको मञ्चबाट चिनियाँ राष्ट्रपति सि जिनपिङले घोषणा गरे कि अघि बढी रहेका चिनियाँ जनता र  चीनलाई कुनै पनि शक्तिले रोक्न सक्दैन। एक शताब्दी लामो अपमानको पिडा भोगेको चीनलाई १९४९ यता न त कसैले अपमान गर्न सकेको छ न उसको उन्नति/प्रगतिलाई रोक्न सकेको छ!