अमेरिकी इतिहासमै पहिलो त्यो बहस, जसले चुनावी प्रतिस्पर्धामा टेलिभिजनको महत्त्वलाई स्थापित गरिदियो !

यतिखेर अमेरिकामा राष्ट्रपतीय चुनावको सरगर्मी छ । उक्त चुनाव आगामी नोभेम्बर ५, २०२४ को दिन हुनेवाला छ । उक्त चुनावले सदाझैं यसपटक पनि अमेरिकी राजनीतिक परिदृश्यमा चार वर्षका लागि नयाँ राष्ट्रपतिको चयन गर्नेछ। रमाइलो कुरा के छ भने, अमेरिकी राष्ट्रपतीय चुनाव हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मङ्गलबार हुने गर्दछ ।

सन् १८४५ सम्म अमेरिकामा राष्ट्रपतीय चुनावको मिति हरेक राज्यमा फरक-फरक हुने गर्थ्यो। केही राज्यले अक्टोबरमा चुनाव गर्थे भने केहीले नोभेम्बरमा। यो असमानतालाई हटाउन र सबै राज्यमा एकै समयमा चुनाव सम्पन्न गर्न १८४५ मा  अमेरिकी कांग्रेसले नोभेम्बरको पहिलो मङ्गलबारलाई राष्ट्रपतीय चुनावको मिति निर्धारण गर्‍यो। सोहीअनुसार यस पटकको चुनाव पनि पहिलो मङ्गलबारकै दिन पारेर हुँदैछ ।

अमेरिकी चुनावको सबैभन्दा ठूलो आकर्षण र चर्चाको विषय भनेको त्यहाँका राष्ट्रपतिका उम्मेदवारहरुबीच हुने टेलिभिजन बहस पनि हो । त्यस्ता बहसहरुमा राष्ट्रपति पदका प्रमुख उम्मेदवारहरुले आमने–सामने भएर भाग लिन्छन् र आआफ्ना नीति तथा कार्यक्रमहरुका बारेमा जोडदार तर्कहरु राख्छन् । सामान्यत: यस्ता बहसहरु त्यहाँका प्रमुख दुई दलहरु डेमोक्र्याटिक पार्टीरिपब्लिकन पार्टीका उम्मेदवारहरु बीच हुने गर्छन् ।  लामो समयदेखि देशको राजनीतिक परिदृश्यमा प्रभावशाली भूमिकामा रहेका र हावी हुँदै आएका यी दुई दलहरू अमेरिकी राजनीतिक प्रणालीका स्तम्भ मानिन्छन् ।

 तर यसको अर्थ यो होइन कि केवल यिनै दुई दलले मात्र चुनाव लड्ने गर्छन्। अमेरिकी चुनावमा अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले पनि चुनाव लड्ने गर्छन्। उदाहरणको लागि, अमेरिकाको तेस्रो ठूलो दल लिवरटेरियन पार्टीले पनि हरेक राष्ट्रपतीय चुनावमा आफ्ना उम्मेदवार खडा गर्छ । त्यसै गरी अमेरिकाका ग्रीन पार्टी, कन्स्टिच्युसन पार्टी, सोसलिस्ट पार्टी, रिफर्म पार्टी तथा स्वातन्त्र उम्मेदवारहरु पनि राष्ट्रपतिको चुनाव लड्ने गर्छन् । सामान्यत: प्रमुख दुई दलबाहेक अन्य दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुले भोटमा केही प्रभाव पारे पनि चुनाव जित्न लगभग असम्भव जस्तै हुने गर्छ । त्यसैले राष्ट्रपतीय चुनावका सन्दर्भमा हुने टेलिभिजन बहसको केन्द्रमा प्रमुख प्रतिस्पर्धी डेमोक्र्याटिक र रिपब्लिकन पार्टीकै उम्मेदवारहरु हुने गर्छन् ।

टेलिभिजन बहसको अर्थ र महत्व

अमेरिकी चुनावमा राष्ट्रपतिका उम्मेदवारहरूबीच हुने टेलिभिजन बहसले अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ। यस्ता बहसहरूले उम्मेदवारहरूको नीतिगत विचार, उनीहरूको व्यक्तित्व, र उनीहरूको संकट समाधान गर्ने क्षमतालाई व्यापक जनतासमक्ष पुर्‍याउने माध्यमको रूपमा काम गर्छ। यो उम्मेदवारहरूको छवि, नीति, नेतृत्व क्षमताको परीक्षण गर्ने महत्त्वपूर्ण माध्यम पनि हो, जसले मतदाताहरूको विचार र निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्छ। विशेषगरी, यस्ता बहसमा गरिने प्रस्तुतिले  निर्वाचनमा भोट कसलाई दिने भनी  निर्णय गर्न नसकिरहेका मतदाताहरूलाई प्रभाव पार्न सक्छ, जसले अन्ततः चुनावी परिणामलाई व्यापक रुपमा प्रभावित तुल्याउन सक्छ ।

टेलिभिजन बहसले उम्मेदवारलाई आफ्नो नीति, विचार, र व्यक्तित्व प्रत्यक्ष रूपमा लाखौँ दर्शकहरूसामु प्रस्तुत गर्ने अवसर दिन्छ। मतदाताले उम्मेदवारको आत्मविश्वास, विचार स्पष्टता, र उनीहरूले कसरी आलोचना वा चुनौतिहरू सामना गर्छन् भन्ने कुरा प्रत्यक्ष रूपमा मूल्याङ्कन गर्न सक्छन्।उम्मेदवारहरूले बहसमा राम्रो छवि प्रस्तुत गर्न सक्नु भनेको धेरै मतदाताहरूको मनमा सकारात्मक प्रभाव पार्न सक्ने महत्वपूर्ण कुरा हो। उदाहरणको लागि, १९६० को पहिलो टेलिभिजन बहसमा जोन एफ. केनेडीले आफूलाई आत्मविश्वासपूर्ण र आकर्षक रूपमा प्रस्तुत गर्दा मतदाताहरूको ठूलो समर्थन जित्न सकेका थिए र राष्ट्रपति पदमा निर्वाचित पनि भएका थिए ।

यस किसिमका बहसले उम्मेदवारहरूका नीतिगत दृष्टिकोणहरूबीचको फरकलाई स्पष्ट रूपमा देखाउँछ। यो बहसको मुख्य भूमिका नै उम्मेदवारहरूले आफ्ना नीतिहरू कसरी लागू गर्न चाहन्छन्, दवाब र संकटको बेलामा कुन उम्मेदवारले कस्तो व्यवहार देखाउने गर्छन्  भन्ने कुराबारे मतदातालाई जानकारी दिनु हो। यस्ता बहसले उम्मेदवारको व्यवहारिकता र समस्या समाधान गर्ने क्षमतालाई समेत प्रदर्शित गर्ने हुनाले अनिर्णित मतदाता (Undecided voters) अर्थात्  चुनावअघि कुनै उम्मेदवार छनोट नगरेका वर्गलाई राष्ट्रपतिको उम्मेदवार चयन गर्न प्रभाव पार्ने गर्छ र चुनावको नतिजा नै  बदल्न पनि सक्छ।

आजका समयमा मिडिया, विशेषगरी सोशल मिडियाको भूमिकाले टेलिभिजन बहसको अर्थ र महत्त्वलाई अझ व्यापक र गहिरो बनाएको छ। बहसपछि सोशल मिडियामा हुने चर्चा र विश्लेषणले बहसको प्रभावलाई गुणात्मक रूपमा बढाउँछ। उम्मेदवारको हरेक प्रतिक्रिया, हाउभाउ, र बयान तुरुन्तै भाइरल हुन सक्छ, जसले आम जनमानसमा ठूलो प्रभाव पार्न सक्छ।त्यसो त उम्मेदवारहरूले बहसमा गरेका गल्ती वा कमजोरी पनि प्रचार माध्यमले धेरै ठूलो बनाएर प्रस्तुत गर्न सक्छ, जसले उनीहरूको अभियानलाई हानि पुर्‍याउन सक्छ ।

अमेरिकी इतिहासको पहिलो टेलिभिजन बहस

अमेरिकाको राष्ट्रपतीय चुनावको इतिहासमा सबैभन्दा पहिलो टेलिभिजन बहस अमेरिकी राष्ट्रपति उम्मेदवारहरू जोन एफ. केनेडी र रिचर्ड निक्सन बीच भएको थियो। २६ सेप्टेम्बर १९६० मा भएको यो बहस अमेरिकी राजनीतिक इतिहासमा एक महत्वपूर्ण घटना मानिन्छ, जसले टेलिभिजनको प्रभाव र सञ्चार माध्यमहरूको भूमिकालाई बलियोसँग स्थापित गरिदियो ।  

उक्त बहसमा सहभागी  जोन एफ. केनेडी, डेमोक्र्याटिक पार्टीका उम्मेदवार थिए भने  पूर्व उपराष्ट्रपति रिचर्ड निक्सन रिपब्लिकन पार्टीका उम्मेदवार। उक्त बहसको प्रारूपमा चारवटा प्रमुख विषयहरू समावेश गरिएको थियो: अर्थतन्त्र, विदेश नीति, नागरिक अधिकार, र कर। वाशिङ्टन डीसीमा भएको  तथा प्रत्यक्ष प्रशारण गरिएको उक्त बहसलाई करिब ७ करोड दर्शकहरूले हेरेका थिए।

सो बहसमा केनेडीको प्रस्तुति निक्कै प्रभावशाली रहेको थियो । उनले युवा र समसामयिक मुद्दाहरूलाई प्राथमिकता दिएर प्रगतिको सन्देश प्रस्तुत गरे।

बहसको दौरानमा केनेडीले अमेरिकी अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्ने आवश्यकता औँल्याए। उनले “नयाँ frontier” (नयाँ सीमाना) का सन्दर्भमा आर्थिक सुधारका कार्यक्रमहरूको वकालत गरे।उपभोक्ता अधिकारको संरक्षण र त्यसको महत्त्वलाई पनि उनले उठाए। विदेश नीतिका सवालमा केनेडीले सोवियत संघको बढ्दो प्रभाव र कम्युनिज्मको खतरा बारेमा चर्चा गरे र उनले अमेरिकाले विश्वभरि लोकतन्त्र र स्वतन्त्रता प्रवर्द्धन गर्नुपर्छ भनी बताए।

केनेडीले नागरिक अधिकारको मुद्दामा सबै अमेरिकीहरूको लागि समानता र मानव अधिकारको सुदृढीकरणका लागि पहल गर्नुपर्ने कुरा उल्लेख गरे।उनले स्वास्थ्य सेवाको पहुँचको महत्त्व र शिक्षाको सुधारको आवश्यकता पनि उठाए। शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने कुरा व्यक्त गरे।अन्तरीक्ष र विज्ञानको क्षेत्रमा अमेरिकाको नेतृत्व कायम राख्नका लागि महत्त्वपूर्ण कार्यक्रमहरूको आवश्यकताबारे उनले चर्चा गरे।केनेडीले शान्तिको प्रबर्धनलाई जोड दिए । उनले युद्ध र द्वन्द्वको सट्टा शान्तिपूर्ण संवाद र सहिष्णुतामा विश्वास राख्ने विचार व्यक्त गरे।

केनेडीले यी मुद्दाहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गरेर आफूलाई एक समसामयिक र दृष्टिसम्पन्न नेता रूपमा स्थापित गरे। उनका विचारहरूले धेरै मतदाताहरूलाई प्रभावित गर्यो र उनको चुनावी अभियानलाई सफल बनाउन ठूलो भूमिका खेले।

त्यसको विपरीत निक्सनको प्रस्तुतिकरण फितलो रहेको थियो । उनले आफ्नो अनुभवलाई प्रस्तुत गर्न प्रयास गरेका त थिए तर उनी थकित र तनावग्रस्त देखिन्थे ।

त्यसो त निक्सनले पनि कम्युनिज्म विरुद्धको संघर्षलाई महत्त्वपूर्ण रुपमा अघि सार्दै अमेरिकाको विश्वव्यापी नेतृत्व र सामरिक नीतिहरूको स्थायित्वमा जोड दिएका थिए । उनले पनि उनले रोजगार सिर्जना र आर्थिक वृद्धिमा ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै अमेरिकी व्यवसायको वृद्धि र अर्थतन्त्रको स्थायित्वलाई नै बढी महत्त्वका साथ उठाएका थिए ।

केनेडीले जस्तै उनले नागरिक अधिकारको महत्त्वलाई विशेष जोड दिएका थिए भने उनले स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार गर्नका लागि योजनाबद्ध कदम चाल्नुपर्ने कुरा उल्लेख गरेका थिए ।  उनले विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धानमा लगानी र त्यसको महत्त्वलाई स्वीकार गरेका थिए।

निक्सनले अमेरिकाको आन्तरिक सुरक्षा र दूतावासको सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता पनि व्यक्त गरेका थिए ।

रिचर्ड निक्सनले अनुभव र स्थायित्वको कुरामा जोड दिँदै गर्दै अमेरिकी राजनीतिक परिदृश्यमा आफ्नो भूमिकालाई सुदृढ बनाउनमा ध्यान केन्द्रित गरेका थिए। उनका विचारहरूले मतदाताहरूमा विश्वास र स्थिरताको महत्त्वको सन्देश प्रवाहित त गर्यो, जसले उनलाई चुनावमा कडा टक्करको प्रतिस्पर्धी बनायो।

उक्त बहसपछि गरिएका सर्वेक्षणहरूमा धेरै मतदाताहरुले केनेडीलाई प्राथमिकता दिन थालेको देखिएको थियो। यसले उनलाई चुनावमा महत्वपूर्ण फाइदा पुगेको विश्लेषण गरिएको थियो ।

बहसले पारेका केही प्रमुख प्रभावहरु

उक्त बहसले राजनीति र चुनावमा टेलिभिजनले प्रभावशाली भूमिका खेल्ने देखियो ।   १९६० को यो पहिलो टेलिभिजन बहसले चुनावी प्रक्रियामा मात्रै हैन,  त्यसमा टेलिभिजनको प्रभाव र राजनीतिक संचारमा गहिरो परिवर्तन ल्यायो। जोन एफ. केनेडीले उक्त बहसबाट आफ्नो चुनावी अभियानमा फाइदा उठाए र अन्ततः राष्ट्रपति बने। त्यस घटनाले टेलिभिजनलाई मात्र मनोरञ्जनको माध्यमको रूपमा होइन, राजनीतिक विचार र विमर्शको महत्वपूर्ण माध्यमको रूपमा स्थापित गर्यो।

फलत: त्यसपछिका चुनावी रणनीतिहरूमा टेलिभिजनको प्रयोगलाई प्राथमिकता दिइन थालियो ।त्यस बहसले दर्शकलाई सक्रिय सहभागी बनायो र मतदाता र उम्मेदवार बीचको सिधा संवादको महत्वलाई उजागर गर्यो।

बहसले उम्मेदवारको व्यक्तिगत छवि र व्यक्तित्वलाई पनि चुनावी प्रतिस्पर्धाको सन्दर्भमा महत्त्वपूर्ण बनायो। केनेडीले आत्मविश्वास र आकर्षण प्रस्तुत गरे भने निक्सन थकित र तनावग्रस्त देखिए, जसले मतदाताहरूको धारणा परिवर्तन गर्यो।त्यसैगरी, उम्मेदवारहरूको भाषण र संवाद शैलीले पनि मतदाताहरूको मनोविज्ञानमा प्रभाव पार्यो। यसले राजनीतिक संवादमा व्यक्तित्वको महत्त्वलाई बलियो बनायो।

बहसमा उठाइएका नागरिक अधिकार, विदेश नीति, र अर्थतन्त्र जस्ता सामाजिक मुद्दाहरू अमेरिकामा सार्वजनिक चासो र बहसको केन्द्रमा आए।

यो बहस चुनावी प्रतिस्पर्धा र दौडमा कति प्रभावकारी देखियो भने त्यसले चुनावको राजनीतिक रणनीतिमै परिवर्तन गरायो । खासगरी, चुनावी प्रचारको सन्दर्भमा उम्मेदवारहरूले भविष्यमा बहसमा सुसज्जित र प्रभावकारी रूपमा प्रस्तुत गर्न रणनीतिहरूमा सुधार गरियो।

त्यसबाहेक,  भविष्यका राजनीतिक संवादहरूमा डिजिटलीकरणको भूमिका बृद्धि भयो, जसले सूचना र विचारको प्रवाहमा नयाँ मार्ग प्रदान गर्यो।

बहसले मतदाताहरूको मनोविज्ञानमा प्रभाव पारेर निर्णय प्रक्रियामा समेत हस्तक्षेप गरेको देखिएको थियो । खासगरी, राष्ट्रपतिका उम्मेदवारहरुको जनतासँगको प्रत्यक्ष संवादले मतदाताहरूको धारणा र मतदान निर्णयमा शक्तिशाली प्रभाव पारेको थियो।

त्यो बहसको परिकल्पनाकार र आयोजक टेलिभिजन

अमेरिकी इतिहासमै पहिलो पटक सम्पन्न उक्त बहसको सिर्जनाकार  डोनाल्ड हेविटलाई मानिन्छ । उनी सीबीएस (CBS) को निर्माता थिए। उनले यो बहसको संरचना, प्रस्तुति, र प्रसारणका लागि आवश्यक तयारी मिलाएका थिए।

त्यसबाहेक सीबीएसका कार्यकारीहरू, विशेषगरी सीबीएस न्यूजका प्रमुख फ्रेड फ्रेन्डली, र एनबीसी, एबीसी, सीबीएसका अन्य सञ्चार माध्यमका प्रमुखहरूले पनि बहसको सफल आयोजना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

उक्त टेलिभिजन बहसको आयोजना न्युयोर्कको एनबीसी (NBC), सीबीएस (CBS), र एबीसी (ABC) टेलिभिजन च्यानलहरूले संयुक्त रूपमा गरेका थिए र त्यसलाई विश्वव्यापी रूपमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

Image: https://images.squarespace-cdn.com