किन पानीले खुर्सानीको पिरो घटाउनुको सट्टा झनै बढाइदिन्छ ?

तपाईंले झुक्किएर पीरो खानेकुरा खानुभयो वा तपाईंले टोकेको खुर्सानी कल्पना गरेको भन्दा नै बढी पीरो भयो ! त्यस अवस्थामा तपाईंको मुखमा पोल्छ, जलनको अनुभूति हुन्छ । हामी त्यसलाई मार्न वा काम गर्न हत्तनपत्त पानी पिउने गर्छौं । तर पानीले त्यो पीरोलाई कम गर्नुको सट्टा कहिलेकाहीँ झनै बढाइदिने गर्छ ।  

यस्तो किन हुन्छ ?

खुर्सानी खाँदा हामीलाई पीरोको अनुभूति हुनुको मुख्य कारण त्यसमा पाइने  अल्कलॉइड क्यापसाइसिन हो । त्यसले पिरोपन थप्ने काम गर्छ।

क्यापसाइसिन एक प्रकारको गैर-ध्रुवीय (non-polar) अणु हो, जबकि पानी ध्रुवीय (polar) हुन्छ। विज्ञानमा, "सम-सम घुल्छ" भन्ने सिद्धान्त छ । यस सिद्धान्तअनुसार ध्रुवीय पदार्थहरू ध्रुवीय पदार्थमा मात्र घुल्छन् र गैर-ध्रुवीय पदार्थहरू गैर-ध्रुवीय पदार्थमा मात्र घुल्छन् । पानी ध्रुवीय भएको कारण क्यापसाइसिन जस्तो गैर-ध्रुवीय तेलीय पदार्थलाई पानीले घुलाउन सक्दैन । यही नै मुख्य कारण हो, जसले गर्दा हामीलाई पीरो हुँदा जतिसुकै पानी खाए पनि त्यसले पीरोलाई कम गर्दैन बरु झनै पीरोको अनुभूति गराउन सक्छ ।  यस्तो किन हुन्छ भने जब पानी क्यापसाइसिनको सम्पर्कमा आउँछ, यसले क्यापसाइसिनलाई मुखको विभिन्न भागमा फैलाउन सक्छ, जसले गर्दा पिरोपन झनै तीव्र महसुस हुन सक्छ। पानीले क्यापसाइसिनको अणुहरूलाई भंग गर्न नसक्ने भएकाले पानीले पीरोको समस्या हल गर्नुभन्दा पनि थप फैलाउन सहयोग गर्छ।

उपाय के छ त ?

 क्यापसाइसिन पानीमा नघुले पनि यो अल्कोहल र चिल्लो तत्त्वमा भने राम्रोसँग घुल्छ। यसकारण, क्यापसाइसिनलाई हटाउन वा यसको पिरोपनलाई कम गर्न तेलीय वा फ्याटयुक्त पदार्थहरूको प्रयोग प्रभावकारी हुन्छ। अल्कोहलजन्य पेय पदार्थ, दूध, अमिलो क्रिम (sour cream) र आइसक्रिमले पनि पिरो कम गर्न मद्दत पुर्‍याउन सक्छ।

पीरो हटाउन वा कम गर्नमा दूधमा केसिइन (casein) नामक प्रोटिनले भूमिका खेल्ने गर्छ । त्यो प्रोटिनले क्यापसाइसिनसँग बन्धन गरेर यसको अणुहरूलाई तोड्न मद्दत गर्छ । त्यसैगरी दहीमा पनि केसिइन प्रोटिन र चिल्लो तत्त्व दुवै हुने भएकोले  त्यसले पिरोपनलाई घटाउन सहयोग पुर्‍याउँछ। त्यसैगरी अन्य तेलीय पदार्थले क्यापसाइसिनसँग राम्रोसँग प्रतिक्रिया गर्छ र यसलाई हटाउन सक्षम हुन्छ।

धेरै पीरो हुँदा चीनी खाँदा पनि केही कम हुन सक्छ । वास्तवमा क्यापसाइसिनलाई चिनीले नष्ट गर्न नसके पनि मुखमा क्यापसाइसिनको प्रभावलाई अस्थायी रूपमा कम गर्न सक्छ। अति चर्को पीरो भएको अवस्थामा अल्कोहल भएको माउथवासले कुल्ला गर्दा पनि केही राहत मिल्न सक्छ ।