अझै पनि रहस्यकै गर्भमा रहेको चङ्गेज खानको चिहान !

दुई तिहाई पृथ्वीमाथिको कब्जा, करोडौंको बर्बर नरसंहार र चिहानसँग गाँसिएको अनौठा मिथक

इतिहासकै सबैभन्दा बर्बर र निर्मम शासकहरुमध्येका एक थिए चङ्गेज खान । सन् १२०६ मा मङ्गगोल साम्राज्यको संस्थापकको रुपमा आधिकारिक रुपमा नेतृत्व सम्हालेका उनले आफ्नो शासनकालको २१ वर्षमा  उनले मङ्गोल साम्राज्यलाई संसारकै सबैभन्दा ठूलो साम्राज्यमा परिणत गरे । त्यस क्रममा उनका बर्बर सेनाले कराडौं मानिसहरुको निर्ममतापूर्वक हत्या गरे ।

पृथ्वीको एक तिहाइ हिस्सा कब्जा !

अति महत्त्वाकांक्षी र विस्तारवादी शासक चङ्गेज खानले आफ्नो जीवनकालमा संसारको करिब एक तिहाइ हिस्सामाथि आधिपत्य जमाएका थिए । उनको नेतृत्वमा भएको मङ्गोल साम्राज्यको विस्तारले इतिहासकै सबैभन्दा ठूलो निरन्तर रूपमा जोडिएको साम्राज्य निर्माण गरेको थियो ।

चङ्गेज खानको राज्य विस्तार अभियानको पहिलो तारो चीन बनेको थियो। त्यसक्रममा उनको नेतृत्वमा रहेको मङ्गोल सेनाले उत्तरी चीनको जिन वंशलाई पराजित गर्दै चीनको ठूलो भूभाग मङ्गोल साम्राज्यमा समाहित गरेका थिए ।

चङ्गेज खानले मध्य एसियामा रहेको तत्कालीन ख्वारिज्म साम्राज्य (अहिलेको इरान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, र अफगानिस्तानको हिस्सा) लाई पनि आफ्नो बर्बर युद्धकलाको माध्यमबाट जितेका थिए। ततपश्चात ख्वारिज्म साम्राज्यको अधीनमा रहेका भूभागहरूलाई मङ्गोल साम्राज्यको अधीनस्थ तुल्याइएको थियो ।

ख्वारिज्म साम्राज्यलाई निलेपछि मङ्गोल साम्राज्यको तारो इस्लामिक साम्राज्यहरु बनेको थियो ।  मङ्गोलहरूले इरान र इराकमा शासन गरिरहेका शक्तिशाली इस्लामिक साम्राज्यलाई पराजित गरे र ती क्षेत्रहरू  समेत मङ्गोल साम्राज्यको मातहतमा ल्याए ।

मङ्गोलहरूले युरोपको पूर्वी क्षेत्रमा समेत आक्रमण गरेर साम्राज्य विस्तार गरेका थिए । त्यस दौरानमा  रुसका केही हिस्साहरू उनीहरूको नियन्त्रणमा आए। यो मङ्गोल आक्रमणकै कारण नवौं शताब्दीमा स्थापित, तत्कालीन समय (१०–११ औं शताब्दी)मा विकासको चरम सीमामा पुगेको भनिएको तथा  किभ शहर राजधानी रहेको स्लाविक राज्य किवन रस मङ्गोल साम्राज्यमा विलय भएको थियो । मङ्गोल साम्राज्यको विस्तार त्यतिमै रोकिएन । त्यो युरोपको पूर्वी सीमासम्म पुगेको थियो, जहाँ केही हिस्सामा मङ्गोलहरूको आक्रमणले ठूलो प्रभाव पारेको थियो।

चङ्गेज खानको मृत्युको समयसम्म मङ्गोल साम्राज्य करिब २ करोड ४० लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो । यो भनेको  पृथ्वीको लगभग एक तिहाइ भूभाग हो। यो साम्राज्यको विस्तार एशिया, मध्य एसिया, युरोपको पूर्वी किनारा, र मध्यपूर्वसम्म भएको थियो। इतिहासमा बहुचर्चित रोमन साम्राज्यभन्दा पनि यो निक्कै ठूलो थियो । आफ्नो उत्कर्षमा रोमन साम्राज्यको क्षेत्रफल ५० लाख वर्गकिलोमिटरसम्म फैलिएको थियो ।

४ देखि ६ करोडको नरसंहार !

मङ्गोले सेनाले चलाएको साम्राज्य विस्तारको युद्ध र त्यस दौरानमा गरिएको बर्बर दमनका कारण संसारभरि कतिजना मानिसहरु मारिएका थिए भन्नेबारेमा ठोस तथ्याङ्कहरु उपलब्ध छैन । तर इतिहासकारहरूले त्यो संख्या करिब ४ करोडदेखि ६ करोडसम्म हुन सक्ने आँकलन गरेका छन् । उनीहरुले मङ्गोल सेनाले जितेको भूभाग र तत्कालीन जनसांख्यिक वितरणको आधारमा त्यो आँकलन गरेका हुन् ।

चङ्गेज खानको सेनाले ख्वारिज्म साम्राज्यमाथि गरेको आक्रमण (१२१९-१२२१) मा सबैभन्दा ठूलो ठूलो मात्रामा नरसंहार भएको थियो। त्यस दौरानमा करिब १ करोड १० लाखदेखि १ करोड ५० लाख  मानिसहरू मारिएको अनुमान छ।

त्यसै गरी, उत्तरी चीनमा उनले गरेका आक्रमणहरूको क्रममा पनि लाखौँ मानिसहरू मारिएका थिए। विशेष गरी जिन वंश र अन्य सत्ताहरूविरुद्ध गरिएको आक्रमणले ठूलो संख्यामा जनसंख्या क्षति गरेको थियो।

उता मध्य एसियाका समरकन्द र बुखारा जस्ता शहरहरूमा पनि ठूलो नरसंहार भएको थियो। यी आक्रमणहरूले  तत्कालीन समयमा मध्यम एसियाली जनसंख्यामा ठुलो गिरावट ल्याएको अनुमान गरिन्छ ।

मङ्गोलहरूले इरान र बगदादमा गरेका आक्रमणहरूमा पनि ठूलो जनधनको क्षति भएको थियो। इतिहासकारहरुको अनुमानमा बगदादको विनाश (१२५८) मा मात्र करिब ८ लाख मानिसहरू मारिएका थिए । त्यसै गरी,  पूर्वी युरोपमा, विशेष गरी किवन रस राज्यमाथिको आक्रमणमा पनि ठूलो नरसंहार भएको थियो।

मङ्गोलहरूको आक्रमणले १३औं शताब्दीमा पृथ्वीको कुल जनसंख्याको करिब १०% मानिसहरु बर्बरतापूर्वक हत्या गरिएको इतिहासकारहरु उल्लेख गर्छन्। त्यसो त चङ्गेज खानको क्रूर युद्धनीति र बर्बर दमनको प्रभावले जनसंख्याको भयानक विनाश मात्र नभई तत्कालीन सामाजिक, आर्थिक, र सांस्कृतिक संरचनामा पनि ठूलो असर पारेको थियो।

बर्बर शासकको मृत्यु

संसारभरि नै बर्बरताको ताण्डव मच्चाउने चङ्गेज खाको मृत्यु सन् मृत्यु १२२७ मा भएको थियो । उनको मृत्यु कसरी भएको थियो भन्नेबारेमा आधिकारिक जानकारीहरु उपलब्ध छैन । तर कतिपय इतिहासकारहरुले उनको मृत्यु   Western Xia साम्राज्यविरुद्धको अभियानको क्रममा भएको उल्लेख गरेका छन् । त्यसअनुसार उनी युद्धको क्रममा घोडाबाट खसेर गम्भीर घाइते भएका थिए र त्यही चोटको कारण उनको मृत्यु भएको थियो ।

तर केही इतिहासकारहरु भने उनको मृत्यु चोटका कारण नभई निरन्तर युद्धका कारण वृद्धावस्थामा पैदा भएको शारीरिक थकावट र स्वास्थ्यको गिरावटका कारण स्वाभाविक रूपमा नै भएको अनुमान गर्छन् । यसका लागि उनीहरु मृत्युको समयमा चङ्गेज खानको उमेर  उमेर करिब ६० वर्षको रहेको र त्यसबेलाको औसत आयुको हिसाबले त्यो उमेरमा निधन हुनु कुनै अनौठो कुरा थिएन ।

चङ्गेज खानको मृत्युबारेको विवरण अस्पष्ट भए तापनि उनको मृत्यु १२२७ मा भएको र त्यसपछि मङ्गोल साम्राज्यको नेतृत्व उनका उत्तराधिकारीहरूले लिएका थिए।

जब चिहानलाई पनि गोप्य राखियो !

 चङ्गेज खानको निधनपछि उनलाई गाडिएको थियो । तर उनलाई कहाँ गाडिएको थियो भन्ने कुरा अझैसम्म अज्ञात छ। इतिहासकारहरू र पुरातत्वविद्हरूले उनलाई गाडिएको स्थान पत्ता लगाउन लामो समयदिख अनुसन्धान र खोजी गर्दै आइरहेका छन् तर उनको अन्तिम विश्रामस्थल अझसम्म पत्ता लागेको छैन।

चङ्गेज खानको चिहान अहिलेसम्म पत्ता नलाग्नुको पछाडि एउटा रोचक किम्बदन्ती जोडिएको छ ।

भनिन्छ, जीवनको उत्तरार्धकालमा आफूले गरेको बर्बर कृत्यहरुमाथि चङ्गेज खानमा पश्चतापको भाव पलाएको थियो । त्यही भएर उनले आफ्ना उत्तराधिकारीहरुलाई आफ्नो मृत्युपछि आफूलाई अत्यन्तै गोप्य ढङ्गले, भविष्यपर्यन्त संसारमा कसैले थाहा पाउन नसक्ने गरी समाधिस्थ गर्न आदेश दिएका थिए । उनले यसरी आदेश दिनुको कारण चाहिँ भविष्यमा आफ्नो चिहान बर्बर शासन चलाउनेहरुका लागि प्रेरणाको स्रोत तथा तीर्थस्थल नबनोस् भन्ने नै थियो ।

चङ्गेज खानको त्यही इच्छाअनुसार उनको शवलाई गाड्ने क्रममा अति गोपनीयता अपनाइएको थियो। कतिसम्म भने चङ्गेज खानको शवलाई गाड्ने काम सम्पन्न गरिसकेपछि, उनको शव गाड्ने मानिसहरूलाई पनि हत्या गरिएको थियो ताकि   चिहानको स्थानबारे उनीहरुबाट जानकारी वा सूचना अरुले पाउन नसकुन् । कसैकसैले त्यसरी मारिने सैनिकहरुको संख्या २ हजार रहेको हुन सक्ने अनुमान गर्छन् । अझ कतिसम्म भनिन्छ भने त्यसरी लाश गाड्ने मानिसहरूको हत्या गर्नेहरूलाई पनि पछि हत्या गरिएको थियो ताकि उनको समाधिस्थलबारे जानकारी चुहिने सम्भावना अलिकति पनि बाँकी नरहोस् ।

त्यसो त ऐतिहासिक प्रमाणहरू र प्रामाणिक स्रोतहरूको अभावले गर्दा यस कुराको औपचारिक पुष्टि हुन सम्भव छैन । तथापि, चङ्गेज खान र उनको मृत्युपछि अपनाइएको गोपनीयताबारे  धेरै मिथकहरुलाई जन्म दिएको छ । उनको चिहान अझैसम्म फेला नपर्नुले  त्यसबारेको मिथक र जनविश्वासलाई  अझ बढी रहस्यमय बनाएको छ।

त्यसो त मिथकअनुसार चङ्गेज खानको समाधिमा उनले साम्राज्य विस्तारको क्रममा संकलन गरेका अकूत धन पनि सँगै गाँडिएको हुनुपर्छ ।

संसारमा मंगोलिया यस्तो देश हो, जसको क्षेत्रफल त निक्कै ठूलो छ तर जनसंख्या भने निक्कै पातलो । यसको हालको क्षेत्रफल १५ लाख ६० हजार वर्गकिलोमिटर रहेको छ । यो भनेको संसारकै १८ औं ठूलो राष्ट्र हो । तर यसको क्षेत्रफलको तुलनामा जनसंख्या निक्कै कम अर्थात ३३ लाख मात्रै छ । विशाल गेवी मरुभूमि र अग्ला मैदानी भागहरुले ढाकिएको मङ्गोलियामा अधिकांश बसोबास राजधानी उलानबाटोरमा रहेको छ ।

मङ्गोल परम्परामा मृतकलाई मरेको ठाउँमा छाडदिने र जनावरहरुलाई खानदिने चलन रहेको इतिहास छ । चङ्गेज खानको पालोमा छिमेकी चीनको सिको गरेर जमीनमुनि चिहान बनाएर गाड्ने चलनमा पनि थियो । त्यस्ता कतिपय चिहानहरु त ६५ फिट तलसम्म पनि हुने गर्थे ।

यस आधारमा सन् २०११ सम्म डिजिटल इमेजिङ, एरियल फोटोग्राफी, राडर लगायतका प्रविधिको उपयोग गरेर चङ्गेज खानको समाधि खोज्ने परियोजना नै चलाइएको थियो । सन् १९८० को दशमा उलनबाटोर स्टेट युनिभर्सिटीले चङ्गेज खानको जन्मथलो खेन्ती प्रान्तलाई लक्षित गरेर उत्खनन नै थालेको थियो । तर १९९० मा भएको परिवर्तनपछि त्यो परियोजनाको विरोध भयो । बहुसंख्यक मङ्गोलहरुको राय चङ्गेज खानको समाधि खोजिनु नहुने, त्यसलाई गोप्य नै रहन दिनुपर्ने रह्यो ।  त्यसमा चिहान खन्दा अभिशाप हुने परम्परागत अवधारणाले पनि काम गरेको थियो ।

अझै पनि अनौपचारिक रुपमा खानको समाधि खोज्ने प्रयत्नहरु पटक पटक भएका छन् तर अझैसम्म कसैले पनि त्यसमा सफलता पाउन सकेको छैन ।

Image: https://www.gannett-cdn.com

.