कोमाको अवस्थातर्फको यात्रामा पश्चिमी अर्थतन्त्र

बिगत दुई दशाब्दी अन्तर्राष्ट्रिय राजनितिमा महत्वपुर्ण घटनाहरु घटे, जस्ले अमेरिकी पूँजीवाद धराशाही बन्यो, तर उसकै गलत रणनीतिले। ग्रीक एकेडेमिक यानिस भारोफाकिस भन्छन्, पश्चिमी अर्थतन्त्र "माफिया अर्थतन्त्र हो।" मिडलइस्ट आइजका सम्पादक डेभिड हर्स्ट भन्छन् "अमेरिकी नेतृत्वको पश्चिमी पूँजीवाद जंगली पूँजीवाद हो।" अर्थात् "ससांर संक्रमणको संघारमा छ।"

१. अहिले दुइवटा अर्थतन्त्र छन्, प्रतिस्पर्धामा चीन र अमरीका। तर अमेरिकी अर्थतन्त्र बिस्तारै विघटनको बाटोमा हिँडिरहेको छ। विश्वयुद्धपछि ब्रेटनउड संझौता अनुरुप अमेरिकी डलरलाई "विनिमय मुद्राका रुपमा" स्थापित गर्न सफल भयो। जसले जोसँग व्यापार गरे पनि "डलर"मा बिनिमय गर्न बाध्य भए, र अमेरिकी अर्थतन्त्र स्वत: मोटायो। उदाहरणका लागि चीन र भारतले ब्यापार बढाए, तर उनीहरुको बिनिमय डलर थियो र बिनिमय दर डलरले निर्धारण गर्यो। डलर शक्तिशाली बन्यो र अमेरिका आफ्नो प्रभुत्व कायम गर्न सफल भयो। तर २०१० पछि, चीनले चलाकीपूर्ण रणनीति अपनायो, त्यो थियो चिनिया केन्द्रिय बैंकको "डिजिटल करेन्सी" र वीइच्याटबाट भुक्तानी, जस्ले डलरको माध्यमबाट व्यापार गर्नुपर्ने बाध्यता सकियो।

२. जति जति डिजिटल करेन्सी लोकप्रिय हुँदै गयो, डलरमाथिको परनिर्भरता कमजोर हुँदै गयो। पछिल्लो समयमा जब डलरमा पेट्रोलको मूल्य निर्धारण गर्ने अमेरिकी प्रभुत्व पेट्रो कन्ट्रीले बन्द गरे, यो डलरमाथिको मृत्युजनक घात थियो।

३. जब जब डलर कमजोर हुन थाल्यो, अमेरिका अन्तरास्ट्रिय परिस्थितिमा आएको परिवर्तनलाई समायोजन गर्न तयार भएन, संसारमा आफ्नो एकलौटी अधीन जोगाउन ऊ ज्यान छोडेर लाग्यो। अनि उसले दुइटा घातक रणनीति ग्रहण गर्यो।

क. चीनलाई पहिलो अर्थतन्त्र बन्न नदिन र उसको प्राविधिक विकासलाई ध्वस्त पार्न डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा चीनविरुद्ध "डिजिटल चिप्स" माथि प्रतिबन्ध लगायो। तर त्यस प्रतिबन्धको उल्टो असर भयो।चीनले चिप्स निर्माणको लागि अत्यावश्यक तथा विश्वबजारमा महत्त्वपूर्ण हिस्सा राख्ने आफूसँग भएको कच्चा पदार्थको निर्यातमा कडाइ गर्‍यो, एक किसिमले बन्द  नै गरिदियो। चीनले व्यापार बिस्तार गर्यो र दक्षिण दक्षिणको व्यापार र मौद्रिक सहायतालाई बिस्तार गर्यो। चीनले चिप्स निर्माणमा यति धेरै अन्वेषण र लगानी गर्यो, ऊ आफैं चिप्स निर्माणमा सक्षम र आत्मनिर्भर बन्यो, अब उसलाई अमेरिकी चिप्सको खासै आवश्यकता छैन। हुवावेविरुद्ध प्रतिबन्ध र फाइभजीमाथिको प्रतिबन्ध असफल भयो। विश्वबजारमा एकलौटी आर्थिक एकाधिकार राख्ने अमेरिकी चाहना असफल भयो।

ख. नेटोलाइ साविकभन्दा झनै पूर्वतिर बिस्तार गरेर रुसलाई हावाकावा खेलाउन तथा विघटनको दिशातिर लैजाने नेटो रणनीतिले रुसलाई युक्रेनमाथि आक्रामक कार्वाही गर्न बाध्य बनायो। पश्चिमी शक्तिले पश्चिमी बैंकमा रहेका रुसी खरबपतिका  सम्पत्ति रोक्का एवं जफत गरे। यस प्रभुत्ववादीले नीतिले गल्फ, एसियायी तथा अन्य देशका खर्वपतिलाई झस्कायो र उनीहरुले पश्चिमबाट आफ्ना सम्पत्ति निकाल्न थाले। यस गल्तीले अमेरिकी अर्थतन्त्रलाई अर्को घात गर्यो।

४. आज पश्चिमी अर्थतन्त्र कोमाको अवस्थातर्फको यात्रामा पुगेको छ। बेलायत लगायत युरोपेली प्रविधि विकासशून्य अवस्थामा छ। अब प्रविधिमा नवप्रवर्तन/इनोभेसनको प्रतिस्पर्धामा चीन र रुस एकातर्फ र अमेरिकाको बिचमा मात्र छ, र अमेरिकी प्रविधि अमेरिकी जंगली पूँजीवादका हातमा छ। १% धनीका हातमा सबै सम्पत्ति छ, र १५ प्रतिशत जनसंख्या निर्मम गरिबीको रेखामुनि झरेका छन् र मध्यम बर्ग गरिब बनिरहेका छन्। यो अवस्थामा अब समग्र दक्षीण र पश्चिमका बिचको "विभाजनमा पश्चिमको पराजय" सुनिश्चित छ। डेभिड हर्स्टको भनाइमा "पश्चिम उसका अंहकारका कारणले" आफैं ध्वस्त भइरहेको छ। 

५. नेपालका केही दृष्टिहीनमान्छेहरु पश्चिमी सहयोगमा देशको विकासको सपना देख्दै छन् र उनिहरु विदेशी सहयोग को दुर्ब्यसनी बनेका छन्। नेपाल आज ६४२३ मिलियन डलर  ( नेरु ९,४२,०१,२०,००,०००) ॠणको भार बोक्न बाध्य छ। यो ॠणको ३०% एडिबी, र ५०% अंश पश्चिमी सहयोग संस्थाहरुको छ। चीनको एक्जिम बैंक १.९०% र भारत र कोरियाको ४.१०% अंश   रहेको छ। तर केही पश्चिमी अन्धमान्छे नेपाल चीनको ॠण चंगुलमा परेको हल्ला चलाइरहेका छ। नेपाली हल्लामा विश्वास गर्छन्, र सत्य खोज्दैन। तथ्यको विश्लेषण गर्ने र यथार्थताको कुरा गर्नेलाई यी अन्धमान्छे चिनियापक्षधर भनी आरोप लगाउँछन्। यिनीहरु नेपालमा रुसी सहयोगलाई निषेध गर्छन्। यिनीहरु समग्र दक्षिणको उदयको यथार्थता देख्न सक्दैनन्। यिनिहरुलाई लाग्छ, बिश्व बदलिएको छैन र अहिले पनि यिनीहरु एक ध्रुवीय विश्वको सपना देखिरहेका छन्। यिनकै प्रभावमा नेपालका पार्टीहरु छिमेकी देश चीन र भारत सङ्ग संबन्ध बिगारी रहेका छन्। अबको बिश्व समग्र दक्षिणको युग हो, यथार्थ यही हो। पश्चिम बगैंचाको होइन, खण्डहरको यात्री हो।