अमेरिकी स्वतन्त्रता संग्रामको एक महत्त्वपूर्ण घटना बोस्टन टी पार्टी

शीर्षक पढ्दा लाग्न सक्छ– हामीले यहाँ कुनै चिया पार्टी वा जमघटको बारेमा कुरा गरिरहेका छौं । तपाईंको मनमा त्यस्तो ख्याल आएको छ भने त्यो गलत हुनेछ । किनभने हामीले यहाँ उल्लेख गर्न गइरहेको बोस्टन टी पार्टी कुनै खाना–उत्सव वा जमघटको कुरा होइन, यो त डिसेम्बर १६, १७७३ मा अमेरिकी इतिहासमा घटित एउटा त्यस्तो महत्त्वपूर्ण घटना हो, जसले अमेरिकी क्रान्तिको इतिहासमा एउटा नयाँ अध्याय रचेको थियो ।

भएको के थियो ?

कुरा त्यसबेलाको हो, जतिखेर संसारभरि बेलायती साम्राज्यको जगजगी थियो । के भनिन्थ्यो भने– बेलायती साम्राज्यमा कहिल्यै पनि सूर्य अस्ताउँदैन । त्यसबेला अहिले विश्वको नाइके बनेर सर्वत्र आफ्नो साम्राज्यको जगजगी मच्चाइरहेको  अमेरिका स्वतन्त्र थिएन । त्यो बेलायती साम्राज्यको उपनिवेश थियो । अमेरिकामा बेलायती शासन चल्थ्यो ।

स्वभाविक रुपमा बेलायती साम्राज्यले आफ्ना अन्य उपनिवेशहरुमा जस्तै अमेरिकामा पनि विभिन्न करहरु लगाएको थियो । त्यसै मेसोमा उसले सन् १७७३ को १० मईमा ‘टी एक्ट’ लागू गर्‍यो । त्यस ऐनले बेलायतीहरुलाई चियाको कारोबारमा विभिन्न करहरुबाट उन्मुक्ति दियो । अर्थात्, ब्रिटिश ईस्ट इण्डिया कम्पनीलाई अमेरिकामा चीनबाट चिया आयात गरेर बिनाको चिया बिक्री गर्न अनुमति दिइयो ।

त्यसबेला संसारको अन्य भागहरुमा जस्तै अमेरिकामा पनि चिया लोकप्रिय पेय बनिसकेको थियो । बेलायतीहरुले बिना कर चियाको व्यापार गर्न पाउने भएपछि सबैभन्दा बढी मार चियाका व्यापारमा संलग्न उपनिवेशका अमेरिकी व्यापारीहरुलाई पर्‍यो । उनीहरुले चियामा मोटै कर तिर्नुपर्थ्यो । फलत: कर छुट पाएका बेलायतीहरुसँग उनीहरुले चिया व्यापारमा प्रतिस्पर्धा गर्न नसक्ने भयो । उनीहरुको व्यापार डुब्ने अवस्था पैदा भयो । त्यसै पनि अरु थुप्रै करका भारीले थिचिएका अमेरिकीहरुमा यस घटनाले बेलायतीहरुविरुद्ध विद्रोहको भावनालाई थप मलजल गराउने काम गर्‍यो ।

ठीक त्यतिखेर अमेरिकीहरुमा बेलायती साम्राज्यवादविरुद्ध विद्रोहको भावना तीब्र बन्दै गइरहेको थियो । यस नयाँ चिया ऐनले त्यसलाई ‘भड्काउने’ काम गर्‍यो । त्यसक्रममा सन् १७७३ डिसेम्बर १६ को रातमा एउटा घटना भयो । अमेरिकाको बोस्टन शहरको बन्दरगाहमा चिया बोकेर आएको जहाज राखिएको थियो ।  ब्रिटिश चियाको विरुद्धमा आन्दोलन गर्न संगठित भएका तथा आफूहरुलाई सन्स अफ लिबर्टी भन्ने संगठनका ६० जना जति कार्यकर्ताहरु आदिवासीको भेषमा रातको समयमा जहाजमा धावा बोले । उनीहरुले त्यस जहाजबाट ब्रिटिश ईस्ट इन्डिया कम्पनीको ३४२ पेटी चिया समुद्रमा फ्याँकिदिए ।

त्यसको केही दिनमा नै फिलाडेल्फामा पनि विद्रोह भयो । विद्रोहीहरुले बोस्टनमा जस्तो चिया समुद्रमा फ्याँकेनन् उनीहरुले चिया उतार्न दिएनन्, बेलायत नै फिर्ता पठाइदिए ।

यस घटनाले ठूलै हल्लीखल्ली भयो । ‘कहिल्यै घाम नडुब्ने’ बेलायती साम्राज्यको इज्जतमा धब्बा लगाइदियो । चियामा लगाएको कर विरुद्धको विद्रोहको रूपमा भएको त्यस घटनाले बेलायती सरकारलाई क्रोधित तुल्यायो । उसले त्यस घटनालाई देशद्रोहको रुपमा लियो ।  विद्रोहमा उत्रिएका उपनिवेशवादीहरूलाई दण्डित गर्न र तिनीहरूको विद्रोही गतिविधिहरूलाई रोक्न उसले बोस्टनमा सैनिकहरूको उपस्थिति बढायो। त्यसका साथसाथै सन् १७७४ मा "Coercive Acts" को नामले चिनिने पाँचवटा कडा कानूनहरू लागू गर्‍यो। त्यसअनुसार बोस्टन पोर्ट एक्ट (Boston Port Act) लागू गरेर बोस्टन बन्दरगाहलाई पूर्ण रूपमा बन्द गरियो । बन्दरगाह पुन: सुचारु गर्न जहाजबाट चियापत्तीको बाकस फ्याँकेर गरिएको नोक्सानीको क्षतिपूर्ति तिर्नुपर्ने शर्त राखियो ।

बोस्टन टी पार्टीको प्रतिरोधमा बेलायत सरकारले म्यासाचुसेट्स सरकार एक्ट (Massachusetts Government Act) लागू गर्‍यो । यस कानूनले उपनिवेशको सीमित स्वशासनलाई पनि झनै कमजेर बनाएर म्यासाचुसेट्स उपनिवेशको सरकारमा बेलायती नियन्त्रणलाई कडा बनाइयो । त्यसैगरी, प्रशासक तथा न्यायप्रणाली एक्ट (Administration of Justice Act) लागू गरियो । त्यस ऐनले बेलायती अधिकारीहरूलाई न्यायिक कारबाहीबाट जोगाउने प्रावधानहरु लागू गरियो । त्यसअनुसार बेलायती अधिकारीहरु विरुद्ध मुद्दा चलाउनुपर्ने स्थितिमा बेलायती सकारले चाहेअनुसार  तिनीहरूलाई सोझै बेलायतमा नै वा अन्य उपनिवेशहरूमा मुद्दा लगाउन सकिने व्यवस्था गरियो।

उपनिवेशमा ब्रिटिश सैनिकहरूलाई निजी घरहरूमा बस्न अनिवार्य गराउने व्यवस्था लागू गर्दै क्वार्टरिंग एक्ट (Quartering Act) लागू गरियो । त्यसबाहेक, क्युबेक प्रान्तमा क्याथोलिक धर्मलाई मान्यता दिँदै क्युबेक एक्ट (Quebec Act) लागू गरियो । यो ऐनले  क्युबेक क्षेत्रको सीमालाई विस्तार गरियो ।

बेलायतले थोपरेका यी ऐनहरुलाई सहनीयता नभएको ऐनहरू (Intolerable Acts) भनिन्थ्यो । तर बेलायतका यी कदमहरुले अमेरिकामा बेलायतविरुद्ध असन्तोषको आगो सल्काउने काम गर्‍यो । त्यसले उपनिवेशवाद भोगिरहेका अमेरिकीहरूमा विरोध र स्वतन्त्रताको भावना अझ बढी बढायो। उक्त घटनाले बेलायती साम्राज्यविरुद्ध उपनिवेशवादको कहर खेपिरहेका अमेरिकीहरूलाई एकजुट बनायो । त्यो असन्तोषको जगमा नै अमेरिकी स्वतन्त्रता संग्राम (American Revolutionary War) खडा भएको मानिन्छ । उक्त घटनालाई इतिहासकारहरु अमेरिकी स्वतन्त्रता युद्ध (American Revolutionary War) को सुरुआततर्फ एक महत्वपूर्ण कदमका रुपमा व्याख्या गर्ने गर्छन् ।

अमेरिकी स्वतन्त्रता सङ्ग्रामको एउटा नारा  "कर बिना प्रतिनिधित्व छैन" (No taxation without representation) भन्ने रहेको थियो । भनिन्छ, त्यो नाराको सूत्रपात नै बोस्टन टी पार्टीले गरेको थियो । इतिहासकारहरुको मतमा उक्त नाराले अमेरिकी क्रान्तिको मर्मलाई व्यक्त गर्दछ।

Image source: https://img.haikudeck.com