आणविक हतियार संकलनको भयानक होडबाजी: कुन देशसँग कति छ ?

परमाणु हतियार निर्माणमा अमेरिका र रुसलाई उछिन्दै चीन ?

रुस–युक्रेन युद्धमा अमेरिका र नाटोको बढ्दो सक्रियता र संलग्नताले विश्वमा परमाणु युद्धको खतरा बढ्दै गएको विश्लेषण गरिन थालेको छ । उक्त युद्धको शुरुवाती कालमै रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले ‘रुसको अस्तित्व संकटमा परेमा विश्वको अस्तित्व रहनु नरहनु कुराले कुनै फरक नपर्ने’ आशय व्यक्त गरिसकेका छन् । त्यसको सोझो अर्थ के हो भने रुसको अस्तित्वमाथि कुनै पनि किसिमले आघात हुने स्थिति पैदा भयो भने उसले परमाणु बमको प्रयोग गर्न हिच्किचाउने छैन । त्यो अवस्था भनेको विश्व विनाशको अवस्था हो ।

विश्वमा परमाणु हतियार भएका देशहरूको संख्या सीमित छ, तीमध्ये पनि देशसँग धेरै संख्यामा परमाणु बमहरू छन्। खासगरी, दोस्रो विश्वयुद्धपछिका कट्टर प्रतिद्वन्द्वी रुस र अमेरिकासँग यस संसारलाई पटक पटक नष्ट गर्न पुग्ने संख्यामा विनाशकारी परमाणु बमहरुको संकलन छ । त्यसबाहेक अरु केही देशहरुसँग पनि ठूलो संख्यामा परमाणुबमहरुको संकलन छ ।

कुन देशसँग कति परमाणु बम छ ?

औपचारिक रुपमा कुन देशसँग कति परमाणु बम छ भनेर कसैले पनि भन्न सक्दैन । तर आइक्यान (International Campaign to Abolish Nuclear Weapons), स्टकहोम इन्टरन्यासनल पीस रिसर्च इन्स्टिच्यूट लगायत केही अन्तरराष्ट्रिय संगठनहरुले यसबारेमा विभिन्न तथ्य–तथ्याङ्कहरुको विश्लेषणका आधारमा अनुमानित संख्याहरु प्रक्षेपण गर्ने गरेका छन्, जसलाई भरपर्दो नै मानिन्छ ।  यस्ता हतियारहरूको संख्या गोप्य राखिने हुनाले, माथिका संख्याहरू अनुमानित हुन्। यी संख्याहरू अन्तर्राष्ट्रिय सुरक्षा संस्थाहरू र अनुसन्धानकर्ताहरूका विभिन्न स्रोतहरूको आधारमा सार्वजनिक गरिएका हुन्। पछिल्लो आँकडाअनुसार परमाणु हतियार भएका देश र तिनको संख्या निम्नानुसार रहेका छन्–

रूस: अनुमानित ४५०० परमाणु बमहरू

संयुक्त राज्य अमेरिका: लगभग ३७०० परमाणु बमहरू

चीन: लगभग ४१० परमाणु बमहरू

फ्रान्स: लगभग २९० परमाणु बमहरू

युनाइटेड किङ्डम: लगभग २२५ परमाणु बमहरू

पाकिस्तान: लगभग १७० परमाणु बमहरू

भारत: लगभग १६४ परमाणु बमहरू

इजरायल: अनुमानित ९० परमाणु बमहरू

उत्तर कोरिया: लगभग ४०–५० परमाणु बमहरू

त्यसो त दक्षिण अफ्रिकाले १९८० को दशकमा नै परमाणु बम बनाउन सफलता हासिल गरेको बताइन्छ । तर उसले १९९० को दशकमा यसको सबै परमाणु हतियार नष्ट गरिसकेको दाबी गरेको छ। दक्षिण अफ्रिका परमाणु हतियार निर्माण गरी त्यसलाई स्वेच्छाले नष्ट गर्ने पहिलो देश मानिन्छ ।

उता इरानले पनि परमाणु बम बनाउन सफलता हासिल गरिसकेको आशंका अन्तर्राष्ट्रिय जगत गरिँदै आइएकोमा पछिल्लो पटक हमासको नेताको इरानको राजधानी तेहरानमा हत्या गरिएपछि इरानका एक नेताले इरानले परमाणु बम बनाइसकेको दावी गरेका थिए । तर उनको दावीको औपचारिक पुष्टि भनेको भएको छैन ।

ध्यान दिनुपर्ने कुरा के छ भने इरानले लामो समयदेखि परमाणु कार्यक्रम सञ्चालन गरिरहेको छ, तर इरानी अधिकारीहरूले सधैं यसको उद्देश्य शान्तिपूर्ण ऊर्जा उत्पादन र नागरिक प्रयोगका लागि भएको दाबी गरेका छन्।

इरानको परमाणु कार्यक्रमको सन्दर्भमा, २०१५ मा इरान र प्रमुख विश्व शक्तिहरू (P5+1: संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, रूस, चीन, र जर्मनी) बीच एउटा ऐतिहासिक सम्झौता भएको थियो । ‘ज्वाइन् कम्प्रिहेन्सिव प्लान अफ एक्सन (JCPOA)’ नाम दिइएको उक्त सम्झौताअनुसार, इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित गर्ने र यसको केही संवेदनशील सामग्रीलाई नष्ट गर्ने वाचा गरेको थियो र त्यसको बदलामा  अन्तर्राष्ट्रिय समुदायले इरानमाथि लामो समयदेखि लगाइँदै आइएको आर्थिक प्रतिबन्धहरू हटाउने सहमति गरेको थियो।

तर, २०१८ मा, संयुक्त राज्य अमेरिकाले यो सम्झौताबाट बाहिरिएको घोषणा गर्दै इरानमाथि फेरि कडा आर्थिक प्रतिबन्धहरू लगायो। बदलामा इरानले पनि सम्झौताको केही सीमाहरू पालना नगर्ने घोषणा गर्‍यो।

हालसम्म, अन्तर्राष्ट्रिय एजेन्सीहरूले इरानले परमाणु बम विकास गरेको पुष्टि गरेका छैनन्, तर उनीहरूको कार्यक्रमले यसका लागि आवश्यक तत्वहरूको अनुसन्धान र विकासमा सफलता हासिल गरिसकेको आशंका गरिन्छ ।

परमाणु बम बनाउने होडबाजी

सबैभन्दा पहिले परमाणु बम बनाउने देश संयुक्त राज्य अमेरिका हो। खासगरी, दोस्रो विश्वयुद्धमा हिटलरको बढ्दो सैन्य प्रभुत्व, इटाली तथा जापानको विश्वलाई निल्ने सैन्य अभियानबीच अमेरिकाले आफ्नो सैन्य सर्वोच्चता स्थापित गर्न कम्मर कसेर लागिपरेको थियो । यस्तो स्थितिबीच अमेरिकाले १९४५ मा पहिलो पटक परमाणु बमको सफल परीक्षण गर्‍यो ।

https://i.ytimg.com

परमाणु बम बनाउन अमेरिकाले थालेको  परियोजनाको नाम "म्यानह्याटन परियोजना" (Manhattan Project) दिइएको थियो । न्यूयोर्कको म्यानह्याटन जिल्लाबाट सुरु भएको हुनाले यसलाई "म्यानह्याटन परियोजना" नाम दिइएको थियो। अमेरिकी सेना र प्रसिद्ध भौतिकशास्त्री रोबर्ट ओप्पेनहाइमरले नेतृत्व गरेका तथा १९४२ मा सुरु गरिएको धेरै ठूलो र गोप्य यस परियोजनामा अमेरिकासहित बेलायत र क्यानाडाका वैज्ञानिकहरूसहित हजारौं वैज्ञानिक, इन्जिनियर, र सैनिकहरू संलग्न थिए।

यस परियोजनामा परमाणु विखण्डन (nuclear fission) गरेर परमाणु ऊर्जा उत्पन्न गर्ने र त्यसलाई विस्फोटक बनाउने प्रविधिको सफलतापूर्वक विकास गरिएको थियो। जुलाई १६, १९४५ मा न्यू मेक्सिकोमा पहिलो पटक "ट्रिनिटी" नामक परीक्षण गरेर संसारको पहिलो परमाणु बम विस्फोट गराइएको थियो।

आत्मसमर्पणको संघारमा पुगिसकेको जापानको हिरोशिमामा ६ अगस्ट १९४५   र नागासाकीमा ९ अगस्ट १९४५ मा  अनावश्यक ढंगले पहिलो पटक परमाणु बमको प्रयोग गरी नरसंहारको ताण्डव मच्चायो । उक्त घटनाले संसारलाई परमाणु युगमा प्रवेश गरायो ।

परमाणु बमको दौडमा रुसको सहभागिता

नागासाकी र हिरोशिमामा अमेरिकाले गरेको परमाणु बम प्रहार वास्तवमा जापानलाई झुकाउने भन्दा बढी सोभियत संघलाई तर्साउनका लागि समेत गरिएको थियो । दोस्रो विश्वयुद्धमा हिटलरको प्रचण्ड सैन्य शक्तिलाई परास्त गर्ने सोभियत सैन्य सर्वोच्चता अमेरिका लगायतका पुँजीवादी देशहरुका लागि निक्कै ठूलो चुनौती र बाधा थियो । त्यस स्थितिमा उसले परमाणु बम बनाउन हासिल गरेको सफलताले उसको सैन्य सर्वोच्चतालाई ह्वात्तै माथि पुर्‍याइदिएको थियो । यो स्थितिमा जसरी भए पनि परमाणु बम बनाउनै पर्ने परिबन्द सोभियत संघसामु आइलागेको थियो ।

त्यसैको परिणामस्वरुप "सोभियत परमाणु बम परियोजना" (Soviet Atomic Bomb Project) लाई उच्च प्राथमिकता दिएर थालनी गरियो ।

https://sun9-16.userapi.com/

सोभियत संघले २९ अगस्ट १९४९ मा आफ्नो पहिलो परमाणु बमको सफल परीक्षण कजाकिस्तानको सेमीपलाटिन्स्क (Semipalatinsk) परीक्षण स्थलमा गर्‍यो, जसलाई "RDS-1" वा "जु जो" (First Lightning) नाम दिइएको थियो। यस परीक्षणले अमेरिकाको परमाणु हतियारमाथिको एकल सर्वोच्चतालाई भंग गरिदियो । त्यसले सोभियत संघलाई परमाणु शक्ति सम्पन्न राष्ट्रको रूपमा स्थापित गर्‍यो।

सोभियत संघले आफ्नो परमाणु परियोजनाका लागि विभिन्न स्रोतहरू प्रयोग गरेको थियो । त्यसका लागि सोभियतहरुले आफ्नो वैज्ञानिक अनुसन्धान, युद्धको समयमा जर्मन वैज्ञानिकहरूबाट प्राप्त जानकारी, र अमेरिकी परमाणु परियोजनाबारे जासुसीका माध्यमबाट हासिल गरेका सूचनाहरू महत्त्वपूर्ण थिए। सोभियत संघको परमाणु बम विकासमा प्रमुख भूमिका खेल्ने वैज्ञानिकहरूमा इगोर कुरचातोभ (Igor Kurchatov) को नेतृत्वमा रहेको टोलीले महत्त्वपूर्ण योगदान दिएको थियो। त्यसो त के पनि भनिन्छ भने हिरोशिमा र नागासाकीको नरसंहारबाट विचलित भएका कतिपय अमेरिकी वैज्ञानिकहरुले नै पनि यस्तो विध्वंशकारी शक्तिमाथि एकल राष्ट्रको अधिकार हुनु नहुने भन्दै सोभियतहरुलाई तत्सम्बन्धी महत्वपूर्ण जानकारीहरु चुहाएका थिए ।

परमाणु बम बनाउने अन्य देशहरु

त्यसो त परमाणु बमको विध्वंशकता देखेपछि त्यो बनाउने होडमा तत्कालीन सोभियतसंघ मात्र हैन, अरु थुप्रै देशहरु पनि लागिपरेका थिए । यसैक्रममा ३ अक्टोबर १९५२ मा बेलायतले परमाणु बमको सफल परीक्षण गर्‍यो। यो परीक्षण पश्चिमी अस्ट्रेलियाको तटीय क्षेत्रमा गरिएको थियो, र यसलाई "ऑपरेशन हरिकेन" (Operation Hurricane) नाम दिइएको थियो। यसरी परमाणु बम बनाउने तेस्रो देशमा बेलायतले आफूलाई उभ्याउन सफल भयो ।

बेलायतले परमाणु बम बनाउने निर्णय द्वितीय विश्वयुद्धपछि लिएको थियो, मुख्यत: सोभियत संघ र अमेरिकासँगको शक्ति सन्तुलन कायम राख्नका लागि। युद्धकालमा अमेरिकी म्यानह्याटन परियोजनामा बेलायती वैज्ञानिकहरूले पनि सहयोग गरेका थिए, त्यहाँ हासिल गरेको अनुभव र प्रविधिको लाभ बेलायतलाई भयो । यस सफल परीक्षणपछि बेलायत विश्वामा तेस्रो र युरोपमा पहिलो परमाणु शक्ति सम्पन्न राष्ट्र बन्यो ।

त्यसको करीब ८ वर्षपछि परमाणु बम बनाउने चौथो देश फ्रान्स बन्यो । फ्रान्सले १३ फेब्रुअरी १९६० मा आफ्नो पहिलो परमाणु बम परीक्षण अल्जेरियाको सहारा मरुभूमिमा गर्‍यो। यसलाई "गेरबोइज़ ब्लु" (Gerboise Bleue) नाम दिइएको थियो ।

 उता समाजवादी खेमाका राष्ट्र चीनले १६ अक्टोबर १९६४ मा आफ्नो पहिलो परमाणु बम परीक्षण गर्‍यो। यो परीक्षण चीनको लोप नोर टेस्ट बेस (Lop Nur Test Base) मा गरिएको थियो।

परमाणु बम भएको मुलुकमा इजरायल पनि पर्दछ । इजरायलले कहिले परमाणु बम परीक्षण गर्‍यो भन्ने कुरा सार्वजनिक नभए पनि इजरायलले १९६० को दशकमा नै परमाणु क्षमता विकास गरिसकेको मानिन्छ । त्यसो त  इजरायलले आधिकारिक रूपमा आफूहरुसँग परमाणु बम रहेको स्वीकार गरेको छैन ।

दक्षिण एशियामा परमाणु बमको सफल परीक्षण गर्ने मुलुक भारत हो । भारतले १८ मे १९७४ मा आफ्नो पहिलो परमाणु बमको परीक्षण राजस्थानको पोखरण परीक्षण क्षेत्रमा गर्‍यो। त्यसलाई "स्माइलिंग बुद्धा" (Smiling Buddha) नाम दिइएको थियो ।

भारतको चीर परिचित प्रतिद्वन्द्वी मुलुक पाकिस्तानले २८ मे १९९८ मा आफ्नो पहिलो परमाणु बम परीक्षण गर्‍यो। उक्त परीक्षण बलूचिस्तानको चागाइ क्षेत्रमा गरिएको थियो।

समाजवादी खेमाका अर्का मुलुक उत्तर कोरिया पनि परमाणु बम बनाउन सफल राष्ट्रमा पर्दछ । उत्तर कोरियाले ९ अक्टोबर २००६ मा आफ्नो पहिलो परमाणु बमको परीक्षण पुङ्ग्ये-री परीक्षण स्थालमा गरेको थियो ।

चीनको बढ्दो सक्रियता

पछिल्ला दिनहरुमा चीनले परमाणु बम बनाउने प्रक्रियालाई तीब्र बनाएको छ । खासगरी, भूराजनीतिक द्वन्द्वको केन्द्र एशिया बन्दै गएपछि तथा विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच द्वन्द्व चुलिँदै गएपछि चीनले यी कदमहरु चालेको देखिन्छ ।  स्टकहोम इन्टरन्यासनल पीस रिसर्च इन्स्टिच्यूटको जनवरी २०२४ को तथ्याङ्कअनुसार यतिखेर चीनसँग लगभग ५०० वटा परमाणु बम छ ।  इन्स्टिच्यूटको रिपोर्टअनुसार २०२२ देखि २०२४ सम्म आइपुग्दा चीनको परमाणु बमको संख्यामा २२ प्रतिशत बृद्धि भएको छ ।

पछिल्लो पटक ‘वर्ल्ड वारियर डिप्लोमेसी’ अपनाएको चीनले तीब्र रुपमा परमाणु हतियारको क्षमतालाई बढाएर लगेको छ । अमेरिकी विश्लेषणमा चीनसँग २०३० सम्म १००० वटा परमाणु बम हुनेछ भने २०३५ मा त्यो बढेर १५०० भन्दा बढी हुनेछ ।

ध्यानयोग्य कुरा के छ भने त्यसको मारक क्षमता तथा विध्वंशक क्षमता पनि परम्परागत परमाणु बमहरुभन्दा निक्कै बढी र घातक हुनेछ । यस अर्थमा अमेरिकाले निकट भविष्यमा चीन आणविक शक्तिको हिसाबले  अमेरिकाका लागि रुसभन्दा पनि बढी खतरनाक हुने विश्लेषण गर्न थालेको छ ।

वार हेड र परमाणु बम एउटै कुरा होइन !

हामी समाचारमा बारम्बार सुन्ने गर्छौं– अमेरिकासँग यति वारहेड छ, रुससँग उति । वारहेड भन्नेबित्तिकै हामीमध्ये कतिपयलाई त्यो आणविक बम नै पो हो कि भन्ने पनि लाग्न सक्छ । तर वास्तवमा वारहेड र आणविक बम फरक कुरा हुन् ।

वार हेड भनेको कुनै मिसाइल, रकेट, टोरपीडो, वा अन्य हतियारको त्यो भाग हो, जसले विस्फोटक सामग्री बोक्छ। यो विस्फोटक सामग्री परमाणु, रासायनिक, जैविक, वा साधारण विस्फोटक जे पनि हुन सक्छ। वार हेड आफैंमा हतियारको मुख्य विनाशकारी भाग हो।

यस अर्थमा बुझ्नुपर्ने कुरा के हो भने परमाणु बम भनेको पनि वारहेडकै एउटा किसिम हो तर सबै वारहेडहरु परमाणु बम नै हुन्छ भन्ने हुँदैन ।

परमाणु बममा परमाणु ऊर्जाको नाभिकीय विभाजन भएर अत्यधिक ऊर्जा र विनाशकारी शक्ति उत्पन्न हुने गर्छ। यो वार हेडका विभिन्न प्रकारहरुमध्ये सबैभन्दा खतरनाक प्रकारमा पर्छ जुन विशेष रूपमा परमाणु विस्फोटक सामग्री (जस्तै यूरेनियम वा प्लुटोनियम) प्रयोग गरेर बनाइएको हुन्छ।

आणविक बम र हाइड्रोजन बम

आम विनाशकारी हतियारको कुरा गर्दा हामीलाई झट्टै आणविक बमको अनि त्यसले हिरोशिमा र नागासाकीमा गरेको नरसंहारको याद आउँछ । त्यसले गरेको विनाशलाई सम्झँदा सबैभन्दा विनाशकारी हतियार नै यही पो हो कि भन्ने पनि लाग्न सक्छ । तर आणविक बम  (Atomic Bomb) भन्दा पनि विनाशकारी  हाइड्रोजन बम (Hydrogen Bomb) हुन्छ । यी दुई फरक प्रकारका परमाणु हतियारहरू हुन्। यी दुवैलाई न्युक्लियर बम (Nuclear Bomb) पनि भनिन्छ ।

आणविक बमलाई फिसन बम पनि भनिन्छ। यसमा यूरेनियम, प्लुटोनियम जस्ता तत्त्वहरुको नाभिकको विभाजन गरेर ऊर्जा उत्पन्न गरिन्छ। त्यस प्रक्रियामा गर्दा ठूलो मात्रामा ऊर्जा, विकिरण, र विस्फोटक शक्ति उत्पन्न हुन्छ र विनाशलीला मच्याउँछ ।

https://www.the-sun.com

अर्कोतिर हाइड्रोजन बमलाई फ्यूजन बम वा थर्मोन्यूक्लियर बम पनि भनिन्छ। यसमा हाइड्रोजन आइसोटोप जस्ता हल्का तत्वहरूको नाभिकलाई मिलाएर (फ्यूजन गरेर) ऊर्जा उत्पन्न गरिन्छ। फ्यूजन प्रक्रियामा  आणविक बमको तुलनामा धेरै गुणा बढी ऊर्जा र विस्फोटक शक्ति उत्पन्न हुन्छ ।

आणविक बमले भारी तत्वहरूको नाभिकलाई विभाजित (फिसन) गरेर ऊर्जा उत्पन्न गर्छ। यो प्रक्रियामा अत्यधिक ऊर्जा उत्पन्न हुन्छ तर यसको शक्ति सीमित हुन्छ।

हाइड्रोजन बममा, हल्का तत्वहरूको नाभिकलाई मिलाएर (फ्यूजन) ऊर्जा उत्पन्न गरिन्छ ।  फ्यूजन प्रक्रियामा धेरै बढी ऊर्जा उत्पन्न हुन्छ, जसले गर्दा हाइड्रोजन बमको विस्फोटक शक्ति आणविक बमको तुलनामा हजारौं गुणा बढी हुन सक्छ।

आणविक बमले एक शहरको ठूलो भागलाई ध्वस्त पार्न सक्छ भने हाइड्रोजन बमको प्रभाव आणविक बमभन्दा धेरै टाढासम्म फैलन सक्छ।  यसले आणविक बमले भन्दा धेरै ठूला क्षेत्रहरूलाई क्षति पुर्याउन सक्छ, र यसले सम्पूर्ण शहर वा क्षेत्रहरूलाई नष्ट गर्न सक्छ।

हाइड्रोजन बम भएका देशहरु

हाइड्रोजन बम (Hydrogen Bomb) आणविक बमभन्दा बढी विध्वंशकारी हतियार हो र यसलाई विकास र निर्माण गर्न अत्यन्तै उच्च प्रविधि र स्रोतहरू आवश्यक पर्छ।  सबैभन्दा पहिले हाइड्रोजन बम बनाउने देश पनि संयुक्त राज्य अमेरिका नै हो । अमेरिकाले १९५२ मा हाइड्रोजन बमको सफल परीक्षण गरेको थियो ।

त्यसको अर्को वर्ष नै तत्कालीन सोभियत संघले सन् १९५३ मा  हाइड्रोजन बमको सफल परीक्षण गरेको थियो ।

त्यसैगरी, बेलायतले सन् १९५७ मा, चीनले १९६७ मा, फ्रान्सले १९६८मा हाइड्रोजन बमको सफल परीक्षण गरेको थियो ।

भारतले १९९८ मा पोखरणमा नै हाइड्रोजन बमको परीक्षण गरेको बताइन्छ ।  त्यसैगरी, उत्तर कोरियाले पनि  २०१७ मा हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो । तर त्यसको आधिकारिकताबारे विवाद छ ।

आणविक बम विस्फोटको काल्पनिक चित्र । Main image source: https://getwallpapers.com