सार्वजनिक पुस्तकालय स्थापना

सप्तरी जिल्लाको रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा स्थापना गरिएको 'रूपनगर सर्वोदय पुस्तकालय' नामक सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ ।

पुस्तकालयको उद्घाटन उच्च अदालत राजविराज इजलासका न्यायाधीश अर्जुन अधिकारीले आज एक समारोहबीच गरेका थिए । त्यस अवसरमा उनले ‘पठन संस्कृति हराउँदै गएको हाम्रो समाजमा पढ्ने र अनुसन्धान गर्ने बानी बसाल्न यो पुस्तकालयले मद्दत पुग्ने’ विश्वास व्यक्त गरेका थिए ।

त्यस अवसरमा कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन गुप्ताले नगरपालिकाले यस वर्ष एउटा सार्वजनिक पुस्तकालयका लागि वजेट छुट्याएको जानकारी दिँदै । रूपनगर क्याम्पस र यो पुस्तकालयलाई समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

सोही अवसरमा पाँच जना विद्यार्थीहरूलाई 'क्याम्पस छात्रवृत्ति' हस्तान्तरण गरिएको थियो भने कार्यक्रमको सभापतित्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाले गरेका थिए ।

क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलका अनुसार करीब पाँच हजार भौतिक पुस्तकका साथै केही हजार 'अफ लाइन' इ-पुस्तक राखेर आरम्भ गरिएको रूपनगर सर्वोदय पुस्तकालयमा आधा दर्जन विश्व स्तरीय 'अनलाइन' पुस्तकालयमा समेत पहुँच कायम गरिएको छ ।उनका अनुसार अमेरिकाको टेक्सास निवासी तथा 'सर्वोदय फाउण्डेसन नेपाल' स्थापना गरी मानव सेवा गर्दै आएका इञ्जिनियर विजयराज भट्टराईको संयोजनमा संकलित करिब १३ लाख आर्थिक सहयोगमा उक्त पुस्तकालय स्थापना गरिएको हो ।

बिहान क्याम्पसका विद्यार्थी र शिक्षकले प्रयोग गर्ने यो पुस्तकालय अपराह्न तीन घण्टा सार्वजनिक उपयोगका लागि खुला रहने छ ।