सिराज सिकदर : बङ्गलादेशी क्रान्तिको अधुरो सपना

पूर्वी बङ्गाल सर्बहारा पार्टीको उत्थान र पतनको कथा

१९६० को दशकमा विश्वभरिका युवाहरुमा माओ विचारधाराको जबर्जस्त प्रभाव थियो। दक्षिण एशिया पनि यो लहर बाट अछुतो थिएन। १९६७ मा भारतमा चारू मजुमदारको नेतृत्वमा चर्चित नक्सलवादी विद्रोह सुरु भएको थियो। यसबाट भारतको पश्चिम बङ्गालको सिमाना पारिरहेको पूर्वी पाकिस्तानमा प्रभाव नपर्ने कुरै भएन। त्यही वर्ष पूर्वी पाकिस्तानको राजधानी ढाकामा माओ विचारधारा र नक्सलवादी विद्रोहबाट प्रभावित युवाहरूको एउटा समूहले सिराज सिकदरको नेतृत्वमा माओ विचारधारा अध्ययन केन्द्र स्थापना गरेका थिए।

सिराज सिकदरको जन्म बेलायत अधिनस्थ भारतको बङ्गाल प्रान्तको शरियतपुर जिल्लामा २७ अक्टोबर १९४४ मा एउटा उच्च मध्यम वर्गीय परिवारमा भएको थियो। उनका बुवा अब्दुर रज्जाक सिकदर सरकारी अफिसर थिए। सिराजले १९५९ मा म्याट्रिक, १९६१ मा आइएसी, र १९६७ मा ढाका इन्जिनियरिङ युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका थिए।

उनी विश्वविद्यालयको विद्यार्थीकालदेखि नै कम्युनिस्ट विचारधारासँग प्रभावित भएको थिए र मार्क्सवादी-लेनिनवादी सिद्धान्तमा रुचि राख्न थालेका थिए । उनको त्यही रुचि पछि उनको जीवनको प्रमुख लक्ष्य बन्यो, जसले उनलाई कालान्तरमा बङ्गलादेशको वामपन्थी आन्दोलनमा एक प्रमुख व्यक्तित्वको रुपमा उभ्यायो ।

सिराज सिकदर चीन समर्थक नेसनल अवामी पार्टीको विद्यार्थी संगठन पूर्वी पाकिस्तान विद्यार्थी युनियनसँग सम्बद्ध थिए। सिराजले १९७० मा ढाका टेक्निकल ट्रेनिंग कलेजमा लेक्चररको रुपमा काम गरेका थिए।

उनी विश्वविद्यालयको विद्यार्थीकालदेखि नै कम्युनिस्ट विचारधारासँग प्रभावित भएको थिए र मार्क्सवादी-लेनिनवादी सिद्धान्तमा रुचि राख्न थालेका थिए । उनको त्यही रुचि पछि उनको जीवनको प्रमुख लक्ष्य बन्यो, जसले उनलाई कालान्तरमा बङ्गलादेशको वामपन्थी आन्दोलनमा एक प्रमुख व्यक्तित्वको रुपमा उभ्यायो र सन् १९६०–७० को दशकमा बङ्गलादेशमा मार्क्सवादी–लेनिनवादी–माओ विचारधाराको प्रचारप्रसार, र क्रान्तिकारी संघर्षको जग बसाल्ने तथा त्यहाँको क्रान्तिकारी समाजवादी आन्दोलनलाई अगाडि बढाउने काम गरेको थियो ।

संगठन निर्माण र बम प्रहार

सन् १९६८-६९ को समयमा बङ्गलादेश (तत्कालीन पूर्वी पाकिस्तान) मा राजनीतिक अस्थिरता र सामाजिक असन्तुष्टि व्यापक रुपमा बढ्दै गइरहेको थियो ।  यसै समयमा सिराज सिकदरको समूहले आफ्नो क्रान्तिकारी गतिविधिहरूलाई संगठित गर्न थाले।  सिराज सिकदरको नेतृत्वमा रहेको समूहले ८ जनवरी १९६८ मा पूर्वी बङ्गाल श्रमिक आन्दोलन (East Bengal Workers Movement EBWM) गठन गर्‍यो। यो संगठन स्थापना गर्दा माओ विचारधारा अध्ययन केन्द्रसँग सम्बद्ध करिब ५० जना युवा सहभागी भएका थिए। उक्त संगठन खोल्नुको उद्देश्य बङ्गलादेशमा सर्वाहारावरगको अधिनायकत्वको माध्यमबाट समाजवादको स्थापना गर्नुथियो ।

यस सम्मेलनमा सिराज सिकदरले पूर्वी बङ्गालको क्रान्तिका कार्यक्रमहरू प्रस्तुत गरेका थिए। माओ त्से तुङ्गको अन्तरविरोधहरूबारे प्रख्यात अवधारणालाई आधार मानेर उनले पूर्वी बङ्गालका प्रमुख अन्तरविरोधहरू पहिल्याएका थिए, जसअनुसार:-

१. पाकिस्तानको उपनिवेशवाद र पूर्वी बङ्गालका जनता बीचको अन्तरविरोध

२. सामन्तवाद र पूर्वी बङ्गालका किसानहरू बीचको अन्तरविरोध

३. अमेरिकी साम्राज्यवाद र पूर्वी बङ्गालका जनता बीचको अन्तरविरोध

४. सोभियत सामाजिक साम्राज्यवाद र पूर्वी बङ्गालका जनता बीचको अन्तरविरोध

५. भारतीय विस्तारवाद र पूर्वी बङ्गालका जनता बीचको अन्तरविरोध

६. बुर्जुवा वर्ग र पूर्वी बङ्गालका जनता बीचको अन्तरविरोध

पूर्वी बङ्गाल श्रमिक आन्दोलनले माओवादी विचारधारालाई आत्मसात् गरे र चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र अभ्यासबाट प्रेरित भएर बङ्गलादेशमा सशस्त्र संघर्षको अवधारणालाई अघि सारेको थियो संगठन स्थापनाको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा यसले राजधानी ढाका सहित केही शहरहरूमा स्वतन्त्र पूर्वी बंगाल (अहिलेको बंगलादेश) को झण्डा फहरायो। कार्ल मार्क्सको जन्मदिनको अवसर पारेर ५ मे १९७० मा ढाकास्थित पाकिस्तानी काउन्सिलमा ग्रिनेड प्रहार गर्‍यो।

पूर्वी बङ्गाल श्रमिक आन्दोलनले माओवादी विचारधारालाई आत्मसात् गरे र चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र अभ्यासबाट प्रेरित भएर बङ्गलादेशमा सशस्त्र संघर्षको अवधारणालाई अघि सारेको थियो । उनले राज्यसत्ता कब्जा गर्नका लागि जनमुक्ति सेनाको गठन गरे, जसले ग्रामीण इलाकामा आधार शिविरहरू स्थापना गर्‍यो र तत्कालै संघर्षमा होमियो। यसले ढाकाका भित्ताहरूमा "राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ" जस्ता माओ त्से तुङ्गका चर्चित भनाइहरू लेख्न थाल्यो। लिथो मेसिन प्रयोग गरेर आफ्नो पार्टीका दस्तावेजहरू र मुखपत्र "लाल झण्डा" प्रकाशित गर्न थाल्यो। यी कारवाहीहरूसँगै यो संगठनले देशभर नै आफ्नो प्रभाव विस्तार गर्न थाल्यो।

पूर्वी बंगाल श्रमिक आन्दोलनले अवामी लिगलाई राष्ट्रिय मुक्ति मोर्चा र अस्थायी क्रान्तिकारी सरकार गठन गर्नका लागि प्रस्ताव राख्यो। अवामी लिगले यो प्रस्ताव अस्वीकार गर्‍यो।

विशेषगरी विद्यार्थीहरूलाई यसले आफूतर्फ आकर्षित गरेको थियो। संगठन स्थापनाको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा यसले राजधानी ढाका सहित केही शहरहरूमा स्वतन्त्र पूर्वी बंगाल (अहिलेको बंगलादेश) को झण्डा फहरायो। कार्ल मार्क्सको जन्मदिनको अवसर पारेर ५ मे १९७० मा ढाकास्थित पाकिस्तानी काउन्सिलमा ग्रिनेड प्रहार गर्‍यो। त्यस्तै, त्यो वर्ष यो संगठनले पूर्वी पाकिस्तानमा रहेका विभिन्न सरकारी कार्यालय र अमेरिकी सूचना विभागमा समेत बम प्रहार गरेको थियो। त्यसका साथै, पूर्वी बंगालका क्रान्तिकारीहरूले देशका ग्रामीण क्षेत्रहरूमा वर्ग शत्रु सफायाको कार्यक्रम पनि सुरु गरेका थिए।

मुजिबुर रहमानको विजय र सत्ता हस्तान्तरणमा सैन्य शासकको अर्घेल्याइँ

सन् १९७० मा पाकिस्तानमा आम निर्वाचन सम्पन्न  भयो। कुल ३१३ सिटमध्ये १३ वटा महिलाहरूका लागि आरक्षित गरिएको थियो। ३०० सिटमध्ये पूर्वी पाकिस्तानमा १६२ सिट थिए भने पश्चिमी पाकिस्तानमा १३८ सिट थिए। आरक्षित महिला सिटमा पनि ७ पूर्वी पाकिस्तानको लागि र ६ पश्चिमी पाकिस्तानको लागि छुट्याइएको थियो। सो निर्वाचनमा शेख मुजिबुर रहमानको नेतृत्वमा रहेको अवामी लिगले पूर्वी पाकिस्तानको १६२ सिटमध्ये १६० र महिलाको लागि आरक्षित ७ वटै सिट जितेको थियो। पश्चिमी पाकिस्तानको जुल्फिकर अली भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपल्स पार्टीले ८१ प्रत्यक्ष र ५ आरक्षित गरी जम्मा ८६ सिट जितेको थियो। यस्तो स्पष्ट बहुमत प्राप्त गर्दा पनि पाकिस्तानका सैन्य शासक राष्ट्रपति याह्या खानले अवामी लिगका नेता शेख मुजिबुर रहमानलाई सत्ता हस्तान्तरण गर्न अस्वीकार गरे। उनले पाकिस्तानको संसद राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न मानेनन्। जसका कारण पूर्वी पाकिस्तानमा शेख मुजिबुर रहमानको नेतृत्वमा अवज्ञा आन्दोलन सुरु भयो।

पाकिस्तानको सैन्य दमन र बंगलादेश सरकार गठनको घोषणा

पूर्वी बंगाल श्रमिक आन्दोलनले राष्ट्रिय मुक्ति संघर्षका लागि देश भित्र रहेका सबै प्रगतिशील र देशभक्त शक्तिहरूसँग राष्ट्रिय मुक्ति मोर्चा बनाउने निर्णय गर्‍यो। यसको लागि उसले अवामी लिगलाई राष्ट्रिय मुक्ति मोर्चा र अस्थायी क्रान्तिकारी सरकार गठन गर्नका लागि प्रस्ताव राख्यो। अवामी लिगले यो प्रस्ताव अस्वीकार गर्‍यो। पूर्वी पाकिस्तानको स्थिति दिन प्रतिदिन तनावग्रस्त बन्न थाल्यो। पाकिस्तानले यो आन्दोलनलाई दबाउनको लागि २४ मार्च १९७१ मा "अप्रेसन सर्चलाइट" नाम गरेको कुख्यात सैन्य कारवाही सुरु गर्‍यो। ढाकाको सडकमा पाकिस्तानी सेनाले ट्यांक उतार्यो र प्रदर्शनमा उत्रेका थुप्रै आम नागरिकहरूको हत्या गर्‍यो। जसमा विद्यार्थी र बुद्धिजीवीहरू पनि सामेल थिए। शेख मुजिबुर रहमानलाई पाकिस्तानी सेनाले गिरफ्तार गर्‍यो। तर अवामी लिगका अन्य नेताहरू भने भारत तर्फ भागे। १० अप्रिल १९७१ मा अवामी लिगले भारत निर्वासनमै बंगलादेश सरकार गठन गरेको घोषणा गर्‍यो।

राष्ट्रिय मुक्ति बाहिनी सेनाको गठन

एकातिर अवामी लिगका नेताहरू भारतमा शरण लिएर बसेका थिए भने अर्कोतिर पूर्वी बंगाल श्रमिक संगठनले देशभित्रकै ग्रामीण क्षेत्रमा बसेर आफ्नै बलबुतामा पाकिस्तानविरुद्ध प्रतिरोध गर्ने निर्णय गर्‍यो। यसका लागि राष्ट्रिय मुक्ति बाहिनी नामक सेना गठन गर्‍यो। यो सेनाले पूर्वी पाकिस्तानको बारिसाल जिल्लाको पिएरा बगान भन्ने ठाउँ लाई मुक्त गर्न सफल भयो।

एकातिर अवामी लिगका नेताहरू भारतमा शरण लिएर बसेका थिए भने अर्कोतिर पूर्वी बंगाल श्रमिक संगठनले देशभित्रकै ग्रामीण क्षेत्रमा बसेर आफ्नै बलबुतामा पाकिस्तानविरुद्ध प्रतिरोध गर्ने निर्णय गर्‍यो।

३ जुन १९७१ मा पूर्वी बंगाल श्रमिक आन्दोलनको नाम परिवर्तन गरेर पूर्वी बंगाल सर्वहारा पार्टी राखियो, जसको संयोजक सिराज सिकदर बने। पाकिस्तानी सेनाको मुख्य निशाना बारिसाल जिल्लामा रहेको सर्वहारा पार्टीको आधार इलाका बन्यो। पाकिस्तानी सेनाले त्यो इलाकामा आक्रमण गर्‍यो। सर्वहारा पार्टीका छापामारहरू पछि हटे र देशका अन्य इलाकामा संगठित भए।

अवामी लिगको सेनासँगको भीडन्त

१९७१ को अगस्ट महिनातिर अवामी लिगको सेना मुक्ति बाहिनीका लडाकुहरु भारतबाट अत्याधुनिक हतियार सहित पूर्वी पाकिस्तान प्रवेश गर्न थाले। सर्वहारा पार्टीले अवामी लिगसँग पाकिस्तानी सेनाविरुद्ध मिलेर लड्ने प्रस्ताव राख्यो। तर अवामी लिगले सो प्रस्ताव अस्वीकार गर्‍यो। अवामी लिगको सेना मुक्ति बाहिनीले सर्वहारा पार्टीका कार्यकर्तामाथि पनि आक्रमण गर्न थाले। दुई समूहबीच सीधा टकराव सुरु भयो। सर्वहारा पार्टीले पाकिस्तानी सेना र अवामी लिगका विरुद्ध एकसाथ लड्नुपर्‍यो। नोभेम्बरसम्ममा पाकिस्तानी सेना र अवामी लिगले सर्वहारा पार्टीका थुप्रै कार्यकर्ताहरूको हत्या गरे। सर्वहारा पार्टीले पूर्वी पाकिस्तानका जनतालाई पाकिस्तानी सेना, अवामी लिग र भारतीय सेना विरुद्ध लड्न आह्वान गर्दै दस्तावेज प्रकाशित गर्‍यो।

भारतीय हस्तक्षेप र बङ्गलादेशको स्थापना

पूर्वी पाकिस्तानमा पाकिस्तानी सेनाले आम जनतामाथि भयानक दमन चक्र चलाएको थियो। अनुमान अनुसार यसबाट लाखौँ मानिसहरूको हत्या भएको थियो। पाकिस्तानी दमनबाट ज्यान जोगाउन दशौँ लाख शरणार्थीहरू भारत पस्न थाले। यस्तो अवस्थामा इन्दिरा गान्धीको नेतृत्वमा रहेको भारत सरकारले पूर्वी पाकिस्तानमा सैन्य हस्तक्षेप गर्‍यो।

पूर्वी पाकिस्तानमा भारतले गरेको सैन्य हस्तक्षेपको पछाडि पवित्र मानवतावादी उद्देश्य थिएन; यसका पछाडि पाकिस्तान टुक्र्याउने भू-राजनीतिक उद्देश्य मूलरुपमा रहेको थियो।

तर, पूर्वी पाकिस्तानमा भारतले गरेको सैन्य हस्तक्षेपको पछाडि पवित्र मानवतावादी उद्देश्य थिएन; यसका पछाडि पाकिस्तान टुक्र्याउने भू-राजनीतिक उद्देश्य मूलरुपमा रहेको थियो। भारतीय सेनाले सहजै पाकिस्तानलाई पराजित गर्दै १६ डिसेम्बर १९७१ मा बंगलादेशलाई स्वतन्त्र राष्ट्रको रूपमा स्थापना गर्‍यो।

नाजुक अवस्था

स्वतन्त्रतापछि अवामी लिगले शेख मुजिबुर रहमानको नेतृत्वमा सरकार गठन गर्‍यो। बंगलादेशमा भारतीय मोडेलको संसदीय व्यवस्था लागू भयो। शेख मुजिबुर रहमान प्रधानमन्त्री बने। उनको सरकारले मुस्लिम लिग र पाकिस्तान समर्थक पार्टीहरू बाहेक अरू सबैलाई राजनीतिक गतिविधि सञ्चालन गर्ने अनुमति दियो। स्वतन्त्र बंगलादेशको आर्थिक-सामाजिक अवस्था अत्यन्तै दयनीय थियो। स्वतन्त्रता संग्रामको क्रममा यो देशले भयानक आर्थिक र मानवीय क्षति भोग्नुपरेको थियो। लाखौँ मानिसहरूको मृत्यु भएको थियो, करोडौँ विस्थापित भएका थिए र दशौँ हजार महिलाहरू बलात्कृत भएका थिए। बंगलादेश यो घाउबाट तंग्रिन पाएको थिएन। त्यसपछि आएका भयानक आँधी, बाढी र भोकमरीले यस देशको अवस्था झन् नाजुक बनाएको थियो।

शेख मुजिबुर रहमान सरकारको जग नै हल्लाइदिने सशस्त्र संघर्ष

बङ्गलादेशमा शेख मुजिबुर रहमानको सरकारका मुख्य प्रतिस्पर्धी शक्ति कम्युनिस्टहरू थिए। त्यतिबेला बङ्गलादेशमा थुप्रै कम्युनिस्ट र बामपन्थी पार्टीहरू थिए। बङ्गलादेशका कम्युनिस्टहरूले १९७१ को स्वतन्त्रतालाई अधुरो ठान्थे र त्यसलाई पूरा गर्न जनवादी क्रान्तिको आवश्यक ठान्थे। ती मध्ये पूर्वी बङ्गाल सर्वहारा पार्टी मुख्य थियो। सर्वहारा पार्टीले सैद्धान्तिक र सांगठनिक रूपमा अवामी लिगको सरकारलाई ठूलो चुनौती दिएको थियो।

बङ्गलादेशका कम्युनिस्टहरूले १९७१ को स्वतन्त्रतालाई अधुरो ठान्थे र त्यसलाई पूरा गर्न जनवादी क्रान्तिको आवश्यक ठान्थे। ती मध्ये पूर्वी बङ्गाल सर्वहारा पार्टी मुख्य थियो।

१४ जनवरी १९७२ मा सर्वहारा पार्टीको पहिलो महाधिवेशन भयो, जसले सिराज सिकदरलाई अध्यक्षमा निर्वाचित गर्‍यो। सर्वहारा पार्टीले आफ्नो गतिविधि देशव्यापी रूपमा फैलाउन सफल भएको थियो। यसमा सबै तह र तप्काका मानिसहरू सामेल भएका थिए। यहाँसम्म कि बङ्गलादेश सेनाका कर्नेल जियाउद्दिन पनि सर्वहारा पार्टीमा सामेल भएका थिए। १९७३ को अप्रिलमा, यो पार्टीले ११ वटा जन संगठनलाई समावेश गरेर पूर्व बङ्गाल जातीय मुक्ति मोर्चा गठन गर्‍यो, जसको संयोजक सिराज सिकदरलाई बनाइयो। यस लगत्तै, यो पार्टीले बङ्गलादेश सरकारविरुद्ध सशस्त्र संघर्ष सुरु गर्‍यो।

सिकदर र उनको पार्टीले बङ्गलादेश स्वतन्त्रता संग्राममा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि, उनी बङ्गलादेशको आम जनताको स्वतन्त्रताभन्दा सामाजिक क्रान्तिलाई प्रमुख मान्थे। स्वतन्त्रतापछि, उनले शेख मुजीबुर रहमानको नेतृत्वमा रहेको नवगठित बङ्गलादेश सरकारलाई एक बुर्जुवा सरकार मान्दै यसको कडा आलोचना गरे र यसको विरोधमा क्रान्तिकारी संघर्षलाई जारी राखे।

यो पार्टीले देशका थुप्रै ठाउँमा रहेका प्रहरी चौकीहरूमा हमला गरेर हतियार लुटेको थियो। त्यस्तै, धेरैजना सरकार समर्थक व्यक्तिहरूलाई राष्ट्रका शत्रु घोषित गर्दै सफाया समेत गरेको थियो। सर्वहारा पार्टीले त्यसबेला शेख मुजिबुर रहमान सरकारको जग नै हल्लाइदिएको थियो।

यही परिस्थितिमा, यस पार्टीले १६ डिसेम्बर १९७३ मा देशव्यापी आम हड्तालको आह्वान गरेको थियो। बङ्गलादेशमा बढ्दो माओवादीहरूको चुनौतीको सामना गर्न, शेख मुजिबुर रहमानको सरकारले २८ डिसेम्बर १९७३ मा संकटकाल लागू गर्‍यो। सर्वहारा पार्टीको गतिविधि निरन्तर बढ्दै गएको थियो, र यसले देशका विभिन्न इलाकामा आफ्नो प्रभाव विस्तार गरेको थियो। यो पार्टीले देशका थुप्रै ठाउँमा रहेका प्रहरी चौकीहरूमा हमला गरेर हतियार लुटेको थियो। त्यस्तै, धेरैजना सरकार समर्थक व्यक्तिहरूलाई राष्ट्रका शत्रु घोषित गर्दै सफाया समेत गरेको थियो। सर्वहारा पार्टीले त्यसबेला शेख मुजिबुर रहमान सरकारको जग नै हल्लाइदिएको थियो।

सिकदरको गिरफ्तारी र हत्या

शेख मुजिबुर रहमानको सरकारको लागि सर्बहारा पार्टी ठूलो चुनौती बन्न थालेपछि बंगलादेशको सम्पूर्ण सरकारी सुरक्षा संयन्त्र सिराज सिकदरको खोजीमा लागेको थियो। यहाँसम्म कि शेख मुजिबुर रहमानका छोरा शेख कमाल व्यक्तिगत रूपमा यो अभियानमा संलग्न थिए।

सन् १९७५ को पहिलो दिन, बंगलादेशको प्रहरीले सिराज सिकदरलाई चटगाँव नजिक गिरफ्तार गर्न सफल भयो। उनलाई प्रहरीले राजधानी ढाकामा कडा सुरक्षाबीच पुर्‍यायो। सिराजलाई प्रधानमन्त्री निवास गणभवनमा लगियो, जहाँ शेख मुजिबुर रहमानले उनलाई सहमतिमा ल्याउन फकाउने प्रयास गरे। तर, सिराजले उनको आलोचना गर्दै सहमतिमा आउन अस्वीकार गरे।

त्यसपछि, शेख मुजिबुर रहमानले प्रहरीलाई सिराजलाई ठेगान लगाउन आदेश दिए। प्रहरीले सिराजलाई हत्कडी लगाएर र आँखामा पट्टी बाँधेर प्रयोगविहीन अवस्थामा रहेको रेसकोर्सको प्रहरी कन्ट्रोल रुममा लग्यो। जनवरी २ तारिखको दिन, उनलाई प्रहरी कन्ट्रोल रुमबाट बाहिर सुनसान सडकमा निकालेर गोली प्रहार गरियो। त्यसअघि उनलाई यातना दिइएको थियो ।

शेख मुजिबुर रहमानले प्रहरीलाई सिराजलाई ठेगान लगाउन आदेश दिए। प्रहरीले सिराजलाई हत्कडी लगाएर र आँखामा पट्टी बाँधेर प्रयोगविहीन अवस्थामा रहेको रेसकोर्सको प्रहरी कन्ट्रोल रुममा लग्यो। जनवरी २ तारिखको दिन, उनलाई प्रहरी कन्ट्रोल रुमबाट बाहिर सुनसान सडकमा निकालेर गोली प्रहार गरियो।

भनिन्छ, सिराजको हत्या शेख मुजिबुर रहमानको व्यक्तिगत जातीय रक्षा बाहिनीले गरेको थियो। सिराजको मृत्युको सम्बन्धमा जारी औपचारिक वक्तव्यमा भनिएको छ - प्रहरी हिरासतबाट भाग्ने क्रममा गोली लागेर सिराज सिकदरको मृत्यु भयो। तर, वास्तविकता यो थियो कि सिराजको छातीमा ६ गोली लागेको थियो, र ती सबै गोली अगाडिबाट हानिएका थिए। आफ्नो मृत्युको समयमा सिराज सिकदर जम्मा ३१ बर्षका मात्र थिए। सिराज सिकदरको हत्या पछि संसदमा, शेख मुजिबुर रहमानले घमण्डका साथ गर्जिएर भनेका थिए- 'सिराज सिकदर कहाँ छन्?'

उनको हत्यापछि सिराज सिकदरलाई बङ्गलादेशमा वामपन्थी आन्दोलनको शहीदको रुपमा सम्मान गरिन्छ ।

हत्याको बदला लिने प्रयास

सिराज सिकदरको मृत्यु पछि, उनकी १९ वर्षीया बहिनी शमीम सिकदरले आफ्नो दाजुको हत्याको बदला लिने प्रयास गरिन्। बदला लिनका लागि उनले सर्वहारा पार्टीसँग पेस्तोल मागिन्। पार्टीले उनलाई पेस्तोल उपलब्ध गरायो। शमीम आफ्नो दाजुको हत्यारासम्म पुग्न मौका खोजिरहेकी थिइन्। शमीम बंगलादेशकी उत्कृष्ट मूर्तिकार थिइन्। उनले अघिल्लो वर्ष मात्र राष्ट्रपतिबाट पुरस्कार प्राप्त गरेकी थिइन्। शमीमले शेख मुजिबुर रहमानसँग भेट गर्न धेरै पटक प्रयास गरिन्, तर उनलाई भेट्ने अवसर मिलेन।

सिराज सिकदरको मृत्यु पछि, उनकी १९ वर्षीया बहिनी शमीम सिकदरले आफ्नो दाजुको हत्याको बदला लिने प्रयास गरिन्।

एकपटक उनले ढाका विश्वविद्यालयको आर्ट स्कुलमा भएको प्रदर्शनीमा शेख मुजिबुर रहमानलाई निम्त्याइन्। शेख मुजिबुरले निमन्त्रणा स्वीकार गरे पनि, उनी त्यो कार्यक्रममा उपस्थित हुन सकेनन्। भाग्यले शेख मुजिबुर रहमानलाई बचाएको थियो। सिराज सिकदरको हत्याको ७ महिना पछि, १५ अगस्त १९७५ मा बंगलादेशी सेनाका अफिसरहरूले गरेको सैनिक विद्रोहमा राष्ट्रपति शेख मुजिबुर रहमान र उनको परिवारको हत्या गरियो। त्यो बेला विदेशमा रहेका उनका दुई छोरीहरू, शेख हसिना र शेख रिहाना, मात्र बचेका थिए।

बङ्गाल सर्वहारा पार्टीमा विभाजनको श्रृङ्खला र कमजोर बनेको कम्युनिष्ट आन्दोलन

सिराज सिकदरको हत्या पछि, पूर्वी बङ्गाल सर्बहारा पार्टीमा विभाजनको श्रृङ्खला सुरु भयो। पार्टी धेरै गुट र उपगुटमा विभाजित भयो। शेख मुजिबुर रहमान पछि सत्तामा आएका जनरल जियाउर रहमान र जनरल हुसैन मोहम्मद इर्शादजस्ता सैन्य शासकहरूको कठोर दमनका कारण सर्वहारा पार्टी क्रमशः छिन्नभिन्न हुँदै गयो। विस्तारै, बङ्गलादेशको राष्ट्रिय राजनीतिबाट सर्बहारा पार्टी किनारा लाग्दै गए। अनेकौं टुक्रामा विभाजित बङ्गलादेशका सर्बहारा आन्दोलनका घटकहरू अहिले पनि बेला बेलामा छिटपुट गतिविधिका कारण चर्चामा आउने गर्छन्। तर त्यसले बङ्गलादेशको राजनीतिमा सन् ६० र ७० को दशकजस्तो कुनै प्रभाव पार्न सक्षम छैन। सिराज सिकदरले देखेको बङ्गलादेशी क्रान्तिको सपना उनको निर्मम हत्यासंगै अधुरै रह्यो।

शेख मुजिबुर रहमान पछि सत्तामा आएका जनरल जियाउर रहमान र जनरल हुसैन मोहम्मद इर्शादजस्ता सैन्य शासकहरूको कठोर दमनका कारण सर्वहारा पार्टी क्रमशः छिन्नभिन्न हुँदै गयो।

सिराज सिकदरको योगदान बङ्गलादेशको वामपन्थी आन्दोलनको इतिहासमा अत्यन्त महत्त्वपूर्ण रहेको छ। उनले बङ्गलादेशमा क्रान्तिकारी आन्दोलनलाई संगठित र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेले। उनको क्रान्तिकारी दृष्टिकोण र सशस्त्र संघर्षको रणनीतिले तत्कालीन राज्यसत्ता र सामाजिक संरचनामा ठूलो परिवर्तन ल्याउन सकेन, तर त्यसले बङ्गलादेशको वामपन्थी आन्दोलनको दिशा र स्वरूपलाई गहिरो प्रभाव पारेको छ पक्कै पनि बङ्गलादेशमा भविष्यमा उठ्न सक्ने क्रान्तिकारी आन्दोलनहरूलाई सिकदरको विचारधारा र संघर्षले प्रेरणा प्रदान गर्ने छ ।