लेनिन र उपहार

लेनिनलाई कसैले उपहार पठाएको पटक्कै मन पर्दैनथ्यो, अझ त्यसमा पनि संस्थाहरूले उपहार पठायो भने । १९१९ तिरको कुरा हो, भरखर भरखर राजकीय फार्महरूबाट अन्न र फलफूलहरू उत्पादन हुन थालेको थियो । २२ अगस्त १९१९ को दिन मस्को सोभियतको खाद्य विभागद्वारा राजकीय फार्ममा उत्पादन भएको फलको नमूना लिएर लेनिनलाई पठाइयो ।
यो काम लेनिनलाई पटक्कै मन परेन । भोलिपल्टै उनले खाद्य विभागलाई एउटा चिठ्ठी पठाए । चिठ्ठीमा लेखिएको थियो- "म विनम्रतापूर्वक तपाईसँग अनुरोध गर्दछु कि फेरि यसरी फल वा अन्य चीज मलाई पठाउने काम नगर्नुहोला । मलाई फल वा केही कुरा पठाउनु जरूरी छैन । बरू यसको सट्टामा राजकीय फार्ममा कति फल उत्पादन भयो र कहाँ कहाँ वितरण गरियो, ती उत्पादन भएका फलहरूमध्ये अस्पताल, स्वास्थ्य चौकी, बच्चाहरूको नर्सरी आदि ठाउँमा जान्छ कि जाँदैन र गएको भए कति गएको छ, त्यसको तथ्यहरू म थाहा पाउन चाहन्छु ।”

प्रस्तुति: मुक्ता श्रेष्ठ