नन्दु उप्रेतीको एकल कविता वाचन

जन्मथलो इलाम र कर्मथलो काठमाडौं बनाएका कवि नन्दु उप्रेतीका एक दर्जन जीवनवादी कविताहरू काठमाडौँमा गुन्जिए। जनसाहित्य संघ नेपालको "अविरल जनसाहित्य यात्रा कार्यक्रममा असार ८ गते शनिबार नन्दु उप्रेती कविका रूपमा उभिए ।

"ओ वीराङगना

के थियो तिम्रो नाम

कि तिम्रो कुनै नाम थिएन ?"

'के थियो तिम्रो नाम ?' शीर्षकको राष्ट्रनिर्माता बेनाम वीराङ्गनाको सम्मानमा लेखिएको कविताबाट कवि उप्रेतीले कविता वाचन आरम्भ गरेर 'देशको नक्सा र मेरो बुबा' कविताका निम्न पङ्तिहरूबाट वाचन समापन गरेका थिए :

" बाबू ! तिम्रो हातको नक्साको देशभन्दा

छातीभित्रको हाम्रो देश धेरै प्यारो थियो

छातीभित्रको हाम्रो देश धेरै ठूलो थियो ।”     

कार्यक्रममा कवि स्वयंले आफ्ना नौवटा कविता वाचन गरेका थिए भने कवि डाक्टर राजेन्द्रप्रसाद अधिकारी, पवित्रा सुवेदी र अनुप उप्रेतीले एकएकवटा कविता वाचन गरेर कविलाई सहयोग गरेका थिए।

कवि नन्दु उप्रेतीका कविताहरूमाथि समीक्षा गर्दै वरिष्ठ समालोचक प्राज्ञ प्राध्यापक केशव सुवेदीले समाजका समस्या, देशका पीडा, जनताका दु:खसुख, प्रकृति प्रेम, मात्तृ विशिष्टता, परदेशिएका सन्तानका कथाव्यथा, नाम नलेखिएका योद्धाहरूप्रति सम्मान,  युगचेतना र युगबोधको प्रस्तुति, सरलता भित्र बौद्धिकता , विचारको उत्कृष्टता उप्रेतीका कविताका गुण भएको बताएका थिए।

प्रमुख अतिथि साहित्यकार एवं सांसद रघुजी पन्तले नन्दु उप्रेतीका कविताले जीवनवादी विचार अँगालेको चर्चा गर्दै कविता एवं कुनै पनि साहित्यमा यो पार्टी वा ऊ पार्टीको आबद्धता आवश्यक नरहेको तर सही विचारको उपस्थिति साहित्यमा हुनुपर्ने विचार प्रकट गरेका थिए । डा. हरिप्रसाद सिलवालले कविको साहित्य लेखनको चर्चा गर्दै कविको परिचय प्रस्तुत गरेका थिए भने रमेश पोखरेलले उप्रेतीका कवितामाथि संक्षिप्त विचार राख्दै धन्यवाद व्यक्त गरेका थिए। उनले प्रत्येक महिनाको दोस्रो शनिबार सम्पन्न हुने एकल कविता वाचनमा आगामी श्रावण महिनाको दोस्रो शनिबारका लागि कवि डाक्टर राजेन्द्रप्रसाद अधिकारीलाई प्रस्तुत गर्ने जानकारी पनि दिएका थिए ।

कार्यक्रममा  सङ्घका अध्यक्ष कवि रामविनयको अध्यक्षतामा सम्पन्न  भएको  थियो ।