चलाख बाँदर
थाइ लोककथा
एउटा ढेडू बाँदर थियो । आफूलाई खुबै चलाख ठान्थ्यो । चलाख हुँदाहुँदै एकपटक उसको पुच्छरमा तिखो र लामो काँडा बिझ्यो । ऐइया ऐइया गर्दै बाँदर एकजना हजामकहाँ पुग्यो । “यो काँडा सरक्क भिकिदिनुस् त, म तपाईंलाई धेरै पैसा दिन्छु ।” हजाम त्यस बाँदरलाई मौकामा तह लगाउन चाहन्थ्यो । उसले काँडा त निकाल्यो, तर त्यो काँडा निकाल्ने क्रममा छुराले पुच्छर पनि अलिकति काटिदियो ।
बाँदर रिसायो । “मेरो पुच्छर जस्ताको तस्तै पारेर गाँसिदेऊ, नत्र... ...।”
“नत्र के त ?”
“नत्र म तिम्रो छुरा नै खोसेर लान्छु ।”
हजामले पुच्छर गाँस्न कोसिस गर्यो, सकेन । त्यो जमाना डाक्टरको जमाना थिएन । अरु उपाय पनि थिएन । हजामले डराउँदै भन्यो– “भैगो बरु म छुरा दिन्छु । लैजाऊ ।”
“भेट्टाएँ ! छुरा भएपछि काम आउला नि !” बाँदर खुशी हुँदै जंगलतिर जाँदै थियो । बाटोमा दाउराको लागि भुत्ते हँसियाले रुखका हाँगा काटिरहेकी एकजना बुढी आइमाईलाई देख्यो । “आमा मेरो छुरा लाग्ने छ, यसले काट्नोस् न ।” बाँदरले छुरा दिँदै भन्यो । बुढी आइमाई छुराले हाँगा काट्न लागिन् । अचानक छुरा भाँच्चिएर दुई टुक्रा भयो । बाँदर रिसायो ।
“यसरी भाँच्न हुन्छ त ! मैले पनि धेरै मोल तिरेर ल्याएको छुरा हो यो ! ल जोडेर जस्ताको तस्तै बनाइदेऊ ।”
बुढी आइमाले छुरा जोडेर जस्ताको तस्तै बनाउन सकिनन् । बाँदरले भन्यो– “अब यसको हर्जाना तिर त ।”
“के तिरुँ ? मसित के छ र ? यही दाउरा हो ।” बुढी आइमाईले भनिन् । बाँदर त्यही दाउरा काँधमा बोकेर बाटो लाग्यो ।
पर बाटोको किनारमा एकजना अर्की बुढी आमा आगो बालेर ताइमा माछाको फुरौला पकाउँदै थिइन् । दाउरा अलि काँचो थियो । आगो त्यति बलेको थिएन । “ओहो, पकाउनु पर्ने यति धेरै बाँकी रहेछ । आगो बल्या छैन । यसरी कहाँ हुन्छ र ? ल मसित बल्ने दाउरा छ, बालेर पकाउँनुस् ।” बाँदरले भन्यो । बुढी आमालाई बाँदरका कुरा ठिक्कै लाग्यो । उनले ती दाउरा बाल्दै फुरौला पकाउँदै गइन् । उनलाई यी फुरौला दोभान बजारमा लगेर बेच्नु थियो । फुरौला पाकिसक्दा बाँदरका दाउरा बलेर एउटा मात्र बाँकी रहेको थियो । बाँदरले भन्यो– “ल तपाईंको काम भयो । मलाई मेरो दाउरा दिनुहोस् ।”
“दाउरा ? त्यो त बलिसक्यो त !” बुढी आमाले भनिन् ।
“कसैको केही लिएपछि उसलाई दिनुपर्छ भन्ने कुरा तपाईंलाई यति बुढी हुँदा पनि थाहा छैन ?” बाँदरले भन्यो– “दाउरा दिन नसक्ने भए मलाई यही फुरौला दिनू नि !”
बूढी आमासित जवाफ थिएन । बाँदर फुरौला पोको पारेर बाटो लाग्यो । बाटोमा एउटा गाउँ थियो । गाउँ छलेर ऊ डहरबाटै अर्कोतिर लाग्यो । पर बडेमानको आँपको बोटमुनि बसेर फुरौला खाने विचार थियो । डहरमा गाउँका कुकुर जुटेका रहेछन्, देखिहाले । जखमले ४–५ वटा कुकुरले उसलाई लखेटे । बाँदर दगुर्दै दगुर्दै त्यो बढेमानको रुख चढ्न त भ्यायो । ज्यान जोगाउने हतारमा उसले माछाको फुरौला रुखको फेदमै छोड्यो ।
गन्धबाटै कुकुरहरुले थाहा पाए । फुरौला सबै ती कुकुरहरुले त्यहीँ उभिएर खाए । चलाख बाँदर माथि हाँगाबाट जिल्ल परेर हेरिरह्यो ।
प्रस्तुति: शारदारमण नेपाल
प्रतिक्रिया