अद्भूत र विचित्रका माकुराहरु

माकुरो तपाईं हामी सबैले देखिरहेको जीव ! घर, गोठका कुनाकाप्चा तथा बोटविरुवाहरुको अन्तरकुन्तरमा जालो बुनेर कीरा फट्यांग्रालाई पक्रन खप्पीस जीवको नाम हो माकुरो । सामान्यतः मान्छेलाई अति कम हानी गर्ने तर हानिकारक कीरा फट्यांग्राहरुलाई खाएर उल्टै फाइदा पुर्याउने मानिसको सहयोगी जीव हो– माकुरो ।

माकुरा आर्थोपड जनावरहरुको लगभग ३४ हजार प्रजातिहरुमध्येका एक प्रजाति हो । हिँडडुल गर्नका लागि यसको आठवटा खुट्टाहरु हुन्छन् । त्यसको मुखमा तीखो दाँतहरु हुन्छन्, जुन विषग्रन्थीसँग जोडिएको हुन्छ । माकुराले रेशम जस्तो मसिनो धागो निकाल्ने गर्छ, जसको प्रयोग यसले आफ्ना बासस्थानको निर्माण गर्न तथा शिकारहरु पक्रनको लागि गर्ने गर्छ । माकुरा सामान्यतः संसारभरि नै पाइने गर्छ  ।

ठूलो रौं भएको माकुरा, जसको आकार हाम्रो मुट्ठीजत्रो हुन्छ । सानो गुलाबी माकुरा, जसको आकार आलपीनको टुप्पो जत्रै मात्र हुन्छ । माछा मार्ने माकुरा पनि हुन्छ, पौडी खेल्ने माकुरा पनि हुन्छ । माकुरा पहाडमा पनि बस्छ, गुफामा पनि बस्छ । जालो बुनेर शिकार पक्रने माकुरा पनि हुन्छ, र जालो नबनाई बाघ सिंहले जस्तै शिकार गर्ने माकुरा पनि हुन्छ । गंगटो जस्तो देखिने माकुरा पनि हुन्छ र भिँक्रा (रुखको सुकेको मसिनो हाँगा) जस्तो देखिने माकुरा पनि हुन्छ । यसरी, यस संसारमा धेरैथरिका विचित्र विचित्रका माकुराहरु पाइन्छन् । अहिलेसम्म ज्ञात भएअनुसार, यस संसारमा माकुराकै मात्र करीब ३० हजार प्रजातिहरु छन् !

आउनुहोस्, हामी पनि माकुराको यो विचित्रको संसारको केही हिस्सालाई चियाऔं ।

आफ्नै जालोमा फँस्न सक्छ माकुरो !

तपाईं हामीले देख्ने गरेका छौं, माकुराले कीरा फट्यांग्राहरुलाई पक्रन जाल बुन्ने गर्छ । यसको जालमा परेपछि हत्तपत्त कीरा फट्यांग्राहरु उम्कन सक्दैन । यसको जाललाई छुनेबित्तिकै त्यसमा कीरा फट्यांग्राहरु टाँसिन पुग्छ । तर त्यही जालमा माकुरा चाहिँ टाँसिदैन । यस्तो किन र कसरी हुन्छ ?

वास्तवमा, सुन्दा अचम्म लाग्न सक्छ, तर सावधानी नअपनाउने हो भने माकुरो आफ्नो जालोमा आफैं फस्न सक्छ । तर आफैंले बुनेको आफ्नो घर जालोमा हिँड्दा डुल्दा यसले सावधानी अपनाइरहेको हुन्छ । यसलाई जालोको कुन धागोमा हिँड्दा टाँसिदैन र कुन जालोमा हिँड्दा चाहिँ टाँसिन्छ भन्ने कुराको राम्रो हेक्का हुन्छ ।  त्यसैले यो जालोमा टाँसिदैन । यस माकुराले विभिन्न किसिमका जालो बुन्ने धागोहरु उत्पादन गर्न सक्छ । त्यसमध्ये यसले शिकार पक्रनको लागि टाँसिने खालको धागो उत्पादन गरी प्रयोग गरेको हुन्छ । त्यसबाहेक, यसले जालोलाई थाम्न र बलियो बनाउन नटाँसिने खालको धागो पनि उत्पादन गरेर जालोमा प्रयोग गरेको हुन्छ । यही नटाँसिने धागोको प्रयोग गरेर यसले जालोमा आफू हिँड्ने सुरक्षित बाटो पनि निर्माण गरेको हुन्छ ।

जालोमा कीरा फट्याँग्रा फँसेपछि यसले त्यहीँ नटाँसिने धागोलाई मात्र आफू हिँड्ने बाटोको रुपमा प्रयोग गर्छ । माकुराको स्पर्श क्षमता यति शक्तिशाली हुन्छ, यसले सजिलैसँग टाँसिने र नटाँसिने धागो चिन्न सक्छ ।

Photo: https://en.wikipedia.org/

तरल हुन्छ जालो बुन्ने धागो !

माकुराको जालो बुन्ने धागो त्यसको आमाशयमा रहेका विशेष ग्रन्थीहरुमा उत्पादन हुने गर्छ । ती ग्रन्थीहरुमा उत्पादन भएको धागो स–साना प्वालहरु भएर आमाशयको पुछारमा रहेको जालो बुन्ने अंगसम्म आइपुग्छ । रोचक के छ भने, माकुरोको जालो बुन्ने यो धागो शुरुमा तरल रुपमा रहेको हुन्छ । तर जालो बुन्ने क्रममा हावाको सम्पर्कमा आएपछि सुकेर यो ठोस बन्न पुग्छ ।

जहाँ पनि पाइने जीव !

माकुरोले बुन्ने जालो जति विचित्र र कलात्मक हुन्छ, त्यति नै विचित्र यो जीव स्वयं आफू नै पनि छ । यो जीव जस्तोसुकै वातावरणमा पनि पाइन्छ । यो जीव हावा, पानी, जमीन, रुख, जमीनभित्र जताततै पाइन्छ, जुन कुरा यसको विभिन्न प्रजातिहरुमा निर्भर गर्छ । यो जीव ९ सेन्टिमिटर ठूलोदेखि आँखाले नै देख्न नसकिने आकारसम्मको पनि हुन्छ । फेरि यसका केही प्रजातिहरु पानी नखाइकनै पनि बाँच्न सक्छ । माकुराको एउटा प्रजाति टारान्टुलाले त स–सानो चराहरु नै पनि खान्छ र यो १५ वर्षको आयुसम्म बाँच्न सक्छ ।

कीरा हैन माकुरो

तपाईं हामी माकुरोलाई कीराको रुपमा लिने गर्छौं । तर रोचक त के छ भने, वैज्ञानिक वर्गीकरणमा माकुरो कीराको वर्गभित्र पर्दैन । यो कीराभन्दा भिन्न एराच्निड्स (Arachnids) वर्गमा पर्दछ । यस वर्गमा आठवटा खुट्टा, आठ वटा आँखा तथा दुई भागमा विभक्त शरीर तथा पखेटा हुने जीवहरु पर्दछन् ।

सबै माकुरोले जालो बुन्दैन !

सुन्दा अनौठो लाग्न सक्छ, तर सबै माकुरोले जालो बुन्दैन । पानीमा पाइने माकुरो (युरोपियन वाटर स्पाइडर) ले हावा भरिएको घण्टी आकारको घर पानीभित्र बनाएको हुन्छ । यसले आफ्नो त्यस घरलाई आफ्नो आमाशयमा सतहबाट भरेर ल्याएको हावाले भरेर राखेको हुन्छ । हावाले भरिएको त्यस घरमा यस माकुरोले अण्डा पार्ने र बच्चा हुर्काउने काम गर्छ । त्यसैगरी, केही माकुरोले पात वा काठको खोक्रोमा एक कोठे घर बनाएर बस्छ ।

चरा खाने भयानक माकुरा !

दक्षिण अमेरिकाको अमेजनको जंगलमा विचित्र विचित्रका, भयानक जीवजन्तुहरु पाइन्छन् । त्यस्तै जीवजन्तुहरुमध्येका एक हुन्– चरा खाने विशाल माकुरा । शरीरभरि रौं नै रौं भएको यो माकुराले आफ्नो खुट्टालाई बीस सेन्टीमिटर परसम्म एकैपटकमा पुर्याउन वा घुमाउन सक्छ ।

तस्विर: https://sdzwildlifeexplorers.org

प्रायजसो माकुराहरुले जालो बुनेर आफ्नो शिकारलाई पक्रने गर्छ । तर यो माकुराले अरु माकुराले जस्तो जालो बुन्दैन । यसले रुखमा चढेर आफ्ना शिकारहरुलाई खोज्ने गर्छ । विशेष गरी यस माकुराले मुख्य गरेर कीरालाई आफ्नो आहार बनाउँछ तर यसले भेटेमा स–साना माउसुली, छेपारो, सर्पका बच्चा र चरालाई समेत पक्रेर खान्छ । त्यसैले यो माकुरालाई चरा खाने माकुरा (bird eating spider) पनि भनिन्छ ।

सौभाग्यको कुरा के छ भने, यो माकुरा मान्छेको लागि भने खतरनाक चाहिँ छैन । यसको टोक्यो भने एउटा मौरीले टोके जतिकै दुख्छ । साथै, यसको रौंले पनि निकै पीडा दिन्छ । आफूमाथि खतरा आइलागेको आभाष पाएपछि यस किसिमका केही माकुराहरुले आफ्नो पेटबाट रौं थुतेर आक्रमणकारीमाथि हिर्काउँछन् । यस माकुराको छालाको रंग कालो हुन्छ । चरा खाने यो माकुराको आकार १० सेन्टिमिटरसम्म हुन्छ ।

रंग परिवर्तन गर्ने माकुरा

गंगटो माकुरा (Crab spider) को शिकार गर्ने तरिका अनौठो हुन्छ । यो माकुरा फूलमा बस्छ र फूलको रस खान आउने कीराहरुलाई आफ्नो शिकार बनाउँछ । यो माकुरा र फूलको रंग झण्डै झण्डै एउटै जस्तो देखिन्छ, जसले गर्दा फूलको रस खान आउने कीराले आफ्नो यो शत्रुलाई हत्तपत्त ठम्याउन सक्दैन । अझ यो माकुराको पोथी जातिले फूलको रंग अनुसार, आफ्नो रंगलाई समेत विस्तारै परिवर्तन गर्न सक्छ ।

ग‌गटो माकुरा । तस्विर: https://encrypted-tbn0.gstatic.com/

झट्ट हेर्दा फूलकै अंगजस्तो देखिने भएकोले फूलको रस खाने कीराहरु निस्फिक्री भएर आएर फूलमा बस्छ । यसरी कीरा फूलमा बस्दा उत्पन्न हुने कम्पनले माकुराले कीरा आएर फूलमा बसेको थाहा पाउँछ र झम्टेर आफ्नो शिकारलाई पक्रन्छ ।

जिउदै माकुराको शरीरमा बच्चा जन्माउने कीरा !

कल्पना गर्नुहोस्, पखेटा भएको एउटा भयानक जीवले तपाईंलाई पक्र्यो । पक्रेपछि त्यो जीवले तपाईंलाई डसेर निस्क्रिय तुल्याइदियो । त्यसपछि त्यो पखेटा भएको भयानक जीवले तपाईंको शरीरमा अण्डा पार्यो र तपाईंलाई जमीनमा कतै लुकायो । निश्चित समयपछि त्यो अण्डाबाट बच्चाहरु निस्क्यो । र, त्यसरी निस्केको बच्चाले तपाईंलाई जिउँदै खाइदियो ।

के यस्तो घटना वास्तविक जीवनमा हुन सम्भव छ ? अहँ ! तपाईं हामीमध्ये कसैले पनि वास्तविक मानव जीवनमा यस्तो घटना हुन सम्भव छ भनेर सोच्न पनि सक्दैनौं । यस्तो घटना त अंग्रेजी फिल्ममा वा त्यस्तै डरलाग्दो कहानी वा कथाका किताबहरुमा मात्र हुन सम्भव छ भनेर तपाईं हामी जोसुकैले पनि सजिलै भन्न सक्छौं ।

तर मानव जगत्का लागि यस्तो घटना असम्भव भए पनि जीवजगतमा यस्ता घटनाहरु हुने गर्छन् ।

टारान्टुला । Photo: https://www.amnh.org

यस जीव जगतमा पहेलो पखेटा र कालो शरीर भएको, बारुला जस्तो जस्तै एउटा कीरा हुन्छ, जसलाई अंग्रेजी भाषामा Wasp भनिन्छ । यही कीराले नै शरीरभरि रौं भएको ठूलो खालको माकुरा– टारान्टुला (Tarantula) को शरीरमा अण्डा पारेर बच्चा जन्माउँछ ।

सर्वप्रथम यसले यस जातिको माकुरालाई जिउँदै पक्रन्छ । यसले माथि उल्लेख गरिएजस्तै गरी त्यसलाई डसेर हलनचल बनाइदिन्छ, तर मार्दैन । त्यसपछि त्यस कीराले त्यस माकुराको शरीरमा अण्डा पार्छ । अण्डा पारिसकेपछि त्यस कीराले माकुरालाई जमीनमा लुकाउँछ । यसरी त्यस माकुराको जीवित शरीरमा केही समयसम्म ती अण्डाहरु हुर्कन्छन् । जब अण्डाबाट बच्चा निस्कन्छ, ती बच्चाहरुले जन्मनेबित्तिकै त्यो माकुरालाई खाइदिन्छ ।

रोचक त के छ भने, यो कीराको भरखरै जन्मेको बच्चाले माकुरालाई आफ्नो भोजन बनाए पनि यसको माउले भने फल र फूलहरुको रस मात्र खान्छ ।

माकुराबारे रोचक जानकारीहरु

• केही प्रजातिका पोथी माकुराले आफ्नो बच्चा जन्माउने क्रममा आफ्नो जीवन पनि बलिदान गर्ने गर्छ । वास्तवमा, यस्ता माकुराका बच्चा जन्मने क्रममा आफ्नै माउलाई खाइदिने गर्छ । उदाहरणको लागि अस्ट्रेलियन क्र्याब माकुरा यस्तै प्रजातिको एउटा माकुरा हो ।

• केही प्रजातिका माकुराको भालेले पोथीलाई आफूतिर आकर्षित गर्नको लागि गितार जस्तो आकारको जालो बुन्ने गर्छ ।

• हामीले देख्दै आएको माकुरा अति सानो हुन्छ । जंगलतिर घुम्न जाँदा हामीमध्ये केहीले १–२ इन्चसम्मको माकुरा पनि देखेका छौं होला । तर यस संसारमा एक समयमा निक्कै ठूला आकारका माकुराहरु पनि हुने गर्थे । त्यस्ता माकुराहरु अहिले त यस संसारमा पाइँदैनन् तर तिनका जीवाशेषहरु भने फेला पर्ने गरेका छन् । अहिलेसम्म फेला परेका सबैभन्दा ठूलो माकुराको जीवाशेष अर्जेन्टिनामा फेला परेको छ । मेगाराच्ने (Megarachne) नाम दिइएको त्यो जीवाशेष ५० सेन्टिमिटरको थियो ।

• प्रायः माकुराहरु मानिसको ज्यान लिने हदसम्मको खतरनाक हुँदैनन् तर हलिउडका केही फिल्महरुले माकुरालाई निक्कै खतरनाक जीवको रुपमा देखाउने गर्दा मानिसहरुमा त्यसका बारेमा निक्कै ठूलो भ्रम रहने गरेको छ । त्यस्तै एउटा भ्रम व्लाक विड्डो नाम गरेको माकुराको बारेमा पनि छ । धेरै जनाले के विश्वास गर्छन् भने यो माकुराले टोक्यो भने ज्यानै जान्छ । तर वास्तवमा कुरा त्यसो होइन । हो, व्लाक विड्डो नाम गरेको यो माकुरा विषालु हुन्छ तर त्यसको पोथी जाति मात्रै विषालु हुनेगर्छ, भाले विषालु हुँदैन । फेरि यस प्रजातिको पोथीले टोकेका मध्ये १ प्रतिशत मानिसहरुको मात्र ज्यान खतरामा पर्ने गरेको छ, त्यो पनि समयमा सही उपचार नपाएर । बेलैमा उपचार पाउने हो भने यो माकुराको टोकाइबाट मानिस मर्दैन ।

• विष नहुने भएकोले भाले व्लाक विड्डो माकुराले शिकार पनि गर्न सक्दैन । खालि पोथी माकुराले मात्रै शिकार पक्रने गर्छ । यस प्रजातिको माकुरामा भालेको एउटै भूमिका सन्तान उत्पादनको काममा सहयोगी हुने मात्रै हो ।

• प्रायः सबै जीवहरुको अस्थिपञ्जर शरीरभित्रै हुने गर्छ । तर माकुरा यसको अपवाद हो । माकुराको अस्थिपञ्जर यसको शरीरको बाहिरी भागमा हुने गर्छ ।

सामान्यतः माकुराको आठवटा आँखाहरु हुन्छन् । यति धेरै आँखाहरु भएपछि त अवश्य पनि यसको देख्ने शक्ति पनि निक्कै तेजिलो हुन्छ होला भन्ने तपाईंलाई लाग्न सक्छ । तर सत्य त्यस्तो हुँदैन । वास्तवमा, माकुराको देख्ने शक्ति निक्कै कमजोर हुन्छ ।

• अहिलेसम्म संसारभरिमा माकुराका ३४ हजार प्रजातिहरु फेलापरिसकेका छन् । तीमध्ये पनि करीब २७ प्रजातिका माकुराहरु मात्रै मानिसको ज्यान लिने हदसम्मको विषालु हुने गरेको पत्ता लागेको छ ।   

• माकुराको नंग्रा त्यसको खुट्टाको अन्तिम भागमा हुने गर्छ ।

• माकुराको जालो हेर्दा नाजुक देखिन्छ, तर एउटा माकुराले बुनेको जालोले सयौं  माकुराहरुलाई जालोमा कुनै क्षति नभइकनै सजिलै थाम्न सक्छ ।