दलतन्त्रको अकर्मण्यता र दुर्गा प्रसाईहरुको विनिर्माण

‘व्यवस्था बदल्ने’ हुँकारका साथ दुर्गा प्रसाईहरुले हिजो काठमाडौं खाल्डोमा आन्दोलन र प्रदर्शन गरे । मिडियाबाजी गरेजस्तो उनको पक्षमा लाखौं जनता त सडकमा उत्रिएनन् तथापि उनको पक्षमा देखिएको जनलहरलाई कम आँक्न मिल्दैन । वर्षौंको जनाधार कमाएका राजनीतिक दलहरुले समेत यतिखेर २–४ हजारभन्दा बढी मानिस सडकमा उतार्न सक्ने अवस्था नरहेको बेला दुर्गा प्रसाईको पक्षमा देखिएका जनसमर्थनले दिएको संकेत शुभ छैन ।

अहिलेको गणतन्त्रलाई मास्ने, राजालाई शासनसत्ताको शीर्षासनमा स्थापित गर्ने– उनीहरुको आन्दोलनको प्रकट एजेण्डा यो छ । अहिले त्यसको नेतृत्व गर्ने अग्रपंक्तिमा दुर्गा प्रसाई देखिएका छन् । तर यसलाई दुर्गा प्रसाई मात्रैको आन्दोलनको रुपमा लिनु महाभूल हुनेछ । दुर्गा प्रसाईलाई अघि सारेर उहिले सत्ताको सिंहासनमा बसेर वा त्यसको गणेश परिक्रमा गरेर सुखभाेग गरेकाहरु तथा अहिलेका व्यवस्थालाई बदलेर आफूअनुकूलको पुरानै व्यवस्था लागू गर्न चाहने प्रतिगमनका खेतालाहरु यतिखेर सल्बलाइरहेका छन् । प्रसाईको विगत, व्यक्तित्व, राजनीतिक योगदानहरु हेर्दा उनी एक्लोको दिलदिमाग र सामर्थ्यबाट मात्रै यो आन्दोलनको जन्म भएको र त्यसलाई व्यवस्था परिवर्तन गर्ने तहसम्म लैजाने ‘गर्जन’ उनले खुलेआम र हाक्काहाक्की गरेका हुन् भनेर पत्याउन सकिने अवस्था छैन ।

आम रुपमा दुर्गा प्रसाईको छवि एक स्वास्थ्य उद्यमीको हो । केही समयअघिसम्म उनी आफ्ना हालको थातथलो झापा जिल्लामा अस्पताल चलाइरहेको तथा त्यहाँ मेडिकल कलेज खोल्ने सुरसार गरिरहेका उद्यमीका रुपमा चिनिन्थे । उनी आफूलाई सगौरव जनयुद्धका सिपाही तथा सोहीकारण सैनिक हिसासतमा ६ महिना बिताएका कथा भज्थे । उनको व्यक्तित्वको उत्थान र चर्चा एकाएक त्यसबेला चुलियो, जब उनले सैद्धान्तिक रुपमा दुईतिर मुख फर्काएर बसेका नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादीका अध्यक्षहरु केपी ओली र प्रचण्डलाई आफ्नो निवासमा मार्सी चामलसहितको भोजभतेर खुवाएको कुरा बाहिर आयो । त्यतिबेलासम्म ती दुई पार्टीहरु एक भइसकेका थिएनन् । कागतालीको कुरा, उनको मार्सी भोजन भक्षण गरेको छोटो समयमै दुई पार्टी एक भएर नेकपा बन्यो । उत्तर–दक्षिण मुख फर्काएर बसेका दुई पार्टीलाई एकीकरण गर्न आफूले भूमिका खेलेको डिंग हाक्ने दह्रो मसला दुर्गा प्रसाईलाई मिल्यो ।

स्रोत: सामाजिक सञ्जाल

दुर्गा प्रसाईको व्यक्तित्वको उत्थान र चर्चा एकाएक त्यसबेला चुलियो, जब उनले सैद्धान्तिक रुपमा दुईतिर मुख फर्काएर बसेका नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादीका अध्यक्षहरु केपी ओली र प्रचण्डलाई आफ्नो निवासमा मार्सी चामलसहितको भोजभतेर खुवाएको कुरा बाहिर आयो ।

दुर्भाग्यवश, नेकपाका माथिल्लाे तहका नेतृत्वमा पलाएको व्यक्तिगत अहंकार, नेतृत्वको शिखरमा आफू बस्नैपर्ने मानसिकता तथा अन्य आन्तरिक एवं बाह्य कारणहरुका बीच अदालती आदेशले नेकपाले अल्पायुमै आर्यघाटको बाटो ततायो । नेकपाको निर्माणदेखि अवसानसम्मको छोटो तर तीब्रयात्रामा सैद्धान्तिक कारण र मुद्दाहरु कहिल्यै प्रधान बनेन । रमाइलो कुरा के भयो भने नेकपाको निर्माणसँगै समानान्तर रुपमा निर्माण हुँदै गरेको दुर्गा प्रसाईको व्यक्तित्वको विनिर्माण (Manufacturing)  मा भने त्यसले खासै फरक पारेन । ‘पूर्व माओवादी’ को साइनो र झापालीसमेत भएका कारण प्रसाई र ओलीबीचको सम्बन्धमा मिठासै मिठास पैदा भयो । प्रसाईले ओलीलाई हजुरबाको विशेषणले पुकार्न थाले । अब उनका लागि ओली जस्तो असल र देशभक्त नेता विश्वमै कोही रहेन ।

प्रसाईंको सपना–विपना मेडिकल कलेज सञ्चालन गर्ने थियो । त्यसको लागि बैंकहरुबाट ठूलै ऋण लिएर उनले लगानी पनि गरिसकेका थिए । सम्भवतः त्यसका लागि उनले प्रचण्ड ओलीसँगको आफ्नो ‘सुमधुर’ सम्बन्धलाई पनि उपोग गरेका थिए होलान् । अन्यथा,  बैंकहरुले अरबौंको ऋण उनको एक्लो सामर्थ्यको आधारमा मात्रै पत्याउने थिएन होला । आशा र भरोसा सत्ताको मियो बनेका प्रचण्ड, ओलीमाथि प्रवल थियो । तर यसबीचमा गोविन्द केसीको आन्दोलनले उनको सपनामाथि बज्रपात भयो । प्रसाई केसीको विरुद्ध धारे हात लगाएर कुर्लन थाले । अझै पनि उनको आशा–भरोसा प्रचण्ड र ओलीबाट निकास निस्कन्छ भन्ने नै थियो । तर जब प्रचण्ड ओली पनि केसीका आन्दोलनअघि निरीह देखिए, प्रसाईको मेडिकल कलेज खोल्ने सम्भावनाका सबै ढोकाहरु पनि क्रमशः बन्द हुँदै गयो । त्यसले निराशाको चरम स्थितिमा पुगेको प्रसाईलाई विस्फोटनको स्थितिमा पुर्यायो । उनी 'हजुरबा' ओली र आफ्ना पूर्व माओवादी कमाण्डरको फेर समात्न छाडेर त्यसको विपरीत ध्रुव राजतन्त्रको शरणमा पुगे । जनआन्दोलनले इतिहासको चिहानमा पुरिसकेको राजतन्त्रले आफूलाई त्राण दिने विश्वासका साथ उनी राजतन्त्र पुनस्थापना गर्ने गफ जोत्न थाले ।

जब प्रचण्ड ओली पनि केसीका आन्दोलनअघि निरीह देखिए, प्रसाईको मेडिकल कलेज खोल्ने सम्भावनाका सबै ढोकाहरु पनि क्रमशः बन्द हुँदै गयो । त्यसले निराशाको चरम स्थितिमा पुगेको प्रसाईलाई विस्फोटनको स्थितिमा पुर्यायो । उनी हजुरबा र आफ्ना पूर्व माओवादी कमाण्डरको फेर समात्न छाडेर त्यसको विपरीत ध्रुव राजतन्त्रको शरणमा पुगे ।

शुरुमा उनको कुरालाई कसैले पत्याएनन् । तर आफ्नो धनबल,  गफ जोत्न सक्ने क्षमता तथा जनसम्पर्ककै आधारमा जब उनले पूर्व राजालाई समेत मञ्चमा उतारेर मौजुदा व्यवस्थाका विरुद्ध सत्तोसराप गरे, उनको व्यारोमिटर एकाएक माथि चढ्यो । हिजोसम्म गफाडी गफ लाग्ने प्रसाईका कुराहरुले बजार भाउ पाउन थाल्यो । जनताका दुःख निवारणको हसिन सपना देखाएर सत्तामा पुगेकाहरुबाट दुःख निवारण नभएपछि दुर्गा प्रसाईहरुमा मानिसहरुले दुःख निवारकको छवि देख्न थाले । अहिलेको अवस्थाबाट हत्तु र निराश बनेकाहरुका लागि प्रसाईको नायकीय छवि निर्माण हुन थाल्यो ।

आम जनता वर्तमानसँग निराश छन्, हतोत्साही छन् र आजित छन् । वर्तमान अवस्थासँग भड्किएका छन्, रिसाएका छन् । वर्तमान व्यवस्थाको असल एवं जनपक्षीय चरित्रबारे आमजनतालाई प्रशिक्षित नगर्दा गणतन्त्र कुन चरीको नाम हो भन्ने जस्तै हुन थालेको छ । संघीयता आफैंमा राम्रो शासन व्यवस्था हो भन्ने कुराबारे शास्त्रीय तोत्र त जपिएको छ तर शासनसत्तामा बसेकाहरुले तदअनुकूलका शासकीय संरचनाहरुको निर्माण तथा आफ्ना संस्कार चरित्रहरु निर्माण गर्न नसक्दा यो भनेको कार्यकर्ताहरुलाई व्यवस्थापन गर्ने लुटाहा र जनतामारा व्यवस्था मात्रै हो भन्ने घातक छवि निर्माण हुँदै गइरहेको छ ।   कोभिड, विश्व बजारमा आइरहेका उथलपुथल, जलवायु परिवर्तनका असरहरुले घट्दै गइरहेका उत्पादनहरु, खुम्चिँदै गइरहेको रोजगारीकाा अवसरहरु, बढ्दो आर्थिक संकट, कमजोर बन्दै गइरहको मुद्रा, सुशासनको खडेरी, भ्रष्टाचारको जगजगी, विकास निर्माणका कामहरु आएका सुस्तता, भइरहेका संरचनाहरुको विध्वंशीकरण लगायतका कुराहरुले जनतामा थुप्रिँदै र चुलिँदै गइरहेको (Accumulated)  निराशा र वितृष्णाले निकासको खोजी गरिरहेको छ ।  खासगरी, गणतन्त्रको आवरणमा हावी दलतन्त्रको सिद्धान्तहीन–नैतिकताविहीन चोचोमोचोले निर्माण भएको अवस्थाले उनीहरु वाक्क दिक्क छन् । उनीहरु व्यवस्था हैन, अवस्था बदलिने कुराको पर्खाइमा छन् । लामो विरासत राख्ने राजनीतिक दलहरुबाट उनीहरुको विश्वास र भरोसा टुट्दै गइरहेको अवस्था छ । गत डेढ वर्षभित्र भएका संघीय तथा स्थानीय चुनावहरुमा दलहरुको घटदो जनमत र नयाँ अनुहार र छविप्रतिको जनरुझानले पनि त्यो कुरालाई संकेत गरिकेको छ । तर यो कुराबाट पाठ सिक्न मौजुदा राजनीतिक दलहरु तयार भएको देखिन्न । उनीहरुले यो अवस्थालाई सम्बोधन गर्ने, जनताका समस्याहरुको निकास खोज्ने सवालमा खासै पहल गरिरहेको देखिन्न ।

स्रोत: प्रसाईको फेसबुक पेज

प्रतिगमनका लागि जुर्मुराइरहेकाहरु तथा आवरणमा त्यसको नेतृत्व गरिरेका दुर्गा प्रसाईहरुले जनतामा उत्पन्न यो भाव र चरम नैराश्यतालाई राम्ररी पक्रेका छन् र त्यसलाई मौजुदा व्यवस्था विरुद्ध उपयोग गर्ने राम्रो कोशिश गरिरहेका छन् । अर्थतन्त्रको मौजुदा हालत हुनुमा केही मुठ्ठीभर राजनीतिक नेताहरु, व्यापारीहरु र कर्मचारीहरुको कारण हो भन्ने कुरालाई उनले भुइँतहसम्मका जनतामा राम्ररी बुझाएका छन्

प्रतिगमनका लागि जुर्मुराइरहेकाहरु तथा आवरणमा त्यसको नेतृत्व गरिरहेका दुर्गा प्रसाईहरुले जनतामा उत्पन्न यो भाव र चरम नैराश्यतालाई राम्ररी पक्रेका छन् र त्यसलाई मौजुदा व्यवस्था विरुद्ध उपयोग गर्ने राम्रो कोशिश गरिरहेका छन् । अर्थतन्त्रको मौजुदा खराब हालत हुनुमा केही मुठ्ठीभर राजनीतिक नेताहरु, व्यापारीहरु र कर्मचारीहरुको कारण हो भन्ने कुरालाई उनले भुइँतहसम्मका जनतामा राम्ररी बुझाएका छन् र आफ्नो आन्दोलनले व्यवस्थामा परिवर्तन ल्याउन सक्यो भने त्यसलाई बदल्ने आशा जगाएका छन् । बैंक, सहकारी र लघुवित्तहरुको ऋणले थिचिएका, ऋण लिएको बेलाभन्दा पछि भयानक ढङ्गले बृद्धि हुने व्याजले थिलथिलो बनेर वा आफूले छाक कटाएर जम्मा गरेका रकम सहकारीहरुले दम्पच पारिदिएकै कारण आफ्नो पुर्ख्यौली थातथलोबाट विस्थापित हुन पुगेका वा हुने स्थितिमा पुगेकाहरुको संख्या दिनानुदिन बढ्दैछ । यथार्थमा अहिलेको शासनसत्तामा रजगज गरिरहेकाहरुले यी यावत समस्याहरुलाई समाधान गर्ने कोशिश गर्ने, त्यसका लागि आवाज उठाउनु पर्ने हो, निकासका उपायहरु पहिल्याउनु पर्ने हो । त्यसो गरिएको खण्डमा आजित जनताहरुले विकल्पको खोजी गर्न तथा प्रसाईहरुको मुख ताकिबस्नै पर्दैनथियो । तर दुर्भाग्यको कुरा, जनतालाई थाङ्नामा सुताउन थालिसकेका मुद्दाहरु राजनीतिक दलहरुको नजरमा चढ्दै चढ्दैन, उनीहरुको प्रमुख प्राथमिकतामा पर्दैन पर्दैन । फलतः उनीहरुको त्यो निराशालाई आशामा बदल्दै दुर्गा प्रसाईहरुले आफूहरुको शासनसत्तामा २० लाखभन्दा तलका सबै ऋणहरु मिनाहा गरिदिने सपना देखाएका छन् । गाउँघरतिर डुल्ने चटेकेले एउटा कालो खैरो ढुङ्गो देखाउँदै ‘हरेक रोगको एउटै उपाय शान्तिपत्थर औषधी’ भनेर आममानिसहरुलाई लठ्ठ पारेजस्तै  दुर्गा प्रसाईहरुले सबै समस्याको समाधान व्यवस्था परिवर्तन भनेर अहिले निराशाको गर्तमा डुबेका जनताहरुलाई आफ्नो पक्षमा पार्ने अभियानमा जुटेका छन् । त्यसमाथि थप, अहिलेको जटील भूराजनीतिक अवस्थामा देशी विदेशी शक्तिहरुलाई रिझाएर सत्तामा टिकिरहनका लागि कतिपय अवस्थामा रुपान्तरणकारी दिशामा अघि बढ्न खुट्टा कमाउनुपर्ने तथा आमजनताका समस्याप्रति आँखा चिम्लिरहनुपर्ने  मौजुदा राजनीतिक दलहरुको बाध्यता पनि उनीहरुको लागि आफ्ना एजेण्डाहरु जनतामा छर्न गतिलो बहाना बनेको छ । रमाइलो कुरा के छ भने, यही परिवेशको सेरोफेरो पारेर पूर्व राजा ज्ञानेन्द्र कम्युनिष्टहरुको उर्वर भूमि झापामा आफ्ना पूर्वज पृथ्वीनारायण शाहको सालिक उद्घाटन गर्दैछन् । यो फगत संयोग मात्र नभएर प्रतिगमनको पक्षमा जनताको नाडी छाम्ने कसरत पनि हुन सक्छ ।

अहिलेको अवस्थामा दुर्गा प्रसाईले उठाएका मुद्दाहरुको केस्रा केलाएर विवेचना गरिनु जरुरी छ । उनले उठाएका सबै मुद्दाहरु खराब छैनन् । उनले उठाएका केही मुद्दाहरु ‘जेनुइन’ छन्, जसलाई सम्बोधन गर्ने पहल र आँट राज्य एवं राजनीतिक दलहरुले गर्नु जरुरी छ ।

बुझ्नु जरुरी कुरा के हो भने अहिले व्यवस्था परिवर्तनको हुँकार गरिरहेका दुर्गा प्रसाईहरु आजको समयमा उग्रता र अराजक चिन्तनका एक उम्दा नमुना हो । यो नमूना त्यसै तयार भएको छैन, यसको विनिर्माणमा विगत ३४ वर्षभन्दा लामो समयदेखि शासनसत्तामा हालीमुहाली चलाउँदै आएका राजनीतिक दलहरुको अकर्मण्यता र नालायकीपन मूल रुपमा जिम्मेवार छन् । अहिलेको अवस्थामा दुर्गा प्रसाईले उठाएका मुद्दाहरुको केस्राकेस्रा केलाएर विवेचना गरिनु जरुरी छ । उनले उठाएका सबै मुद्दाहरु खराब छैनन् । उनले उठाएका केही मुद्दाहरु ‘जेनुइन’ छन्, जसलाई सम्बोधन गर्ने पहल र आँट राज्य एवं राजनीतिक दलहरुले गर्नु जरुरी छ । त्यसलाई ‘प्रतिगमन'को विल्ला भिराइदिँदैमा जनताले भुल्ने र पत्याउन सक्ने अवस्था छैन । त्यसैले आजको खाँचो भनेको दलहरु अहिलेको अकर्मण्यता र नालायकीपनको दायराबाट बाहिर निस्केर जनताको समस्याहरुलाई केलाउने, तिनका हल खोज्ने र वर्तमान व्यवस्थाभित्रै अवस्था परिवर्तन गरेर देखाउनेतिर अग्रसर हुनु नै हो । आफू अकर्मण्यता र नालायकीको दलदलमा भाँसिइरहने, जनताका समस्याहरु हल गर्नतिर अग्रसर नै नहुने र खालि प्रतिगमनको शास्त्रीय रटान लगाएर राजा एवं दुर्गा प्रसाईहरुलाई सत्तोसराप मात्रै गरिरहने हो भने अवस्थामा परिवर्तन आउन चाहिँ खै कुन्नि, मुलुकलाई अराजकता र फासीवादको भयानक दलदलतिर डोहोर्याउने खतरा भने चर्को रुपमा उत्पन्न हुनेछ ।

थप, यो पनि

एउटा व्यापारीले हल्लाइदिन सक्ने ‘पिपलपाते गणतन्त्र’ र जनतामा बढ्दो चरम नैराश्यता