समाजवाद के हो?

आजकल बुर्जुवा विचारधाराको प्रभाव यति व्यापक भएको छ कि समाजवादको दृष्टिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेका धेरै मानिसहरू पनि यसका बारेमा एकदमै भ्रामक धारणाहरू राख्छन्। त्यसैले, यो आधारभूत प्रश्नमा फेरि एकपटक फर्कनु अप्रासंगिक हुनेछैन।

 समाजवादबारे सामान्य बुझाइ के छ भने, यो उत्पादनका साधनहरूमा सामाजिक स्वामित्व कायम भएको समाज हो, जसका लागि राज्यको स्वामित्वलाई नै एक प्रतिनिधि वा पर्यायका रूपमा लिइन्छ। तर, यो एउटा आवश्यक सर्त भए तापनि पर्याप्त सर्त भने होइन। उदाहरणका लागि, पूर्व युगोस्लाभियामा उत्पादनका साधनहरूमा मुख्यतया राज्यको स्वामित्व रहे तापनि त्यहाँ पुँजीवादसँग जोडिएका धेरै विशेषताहरू थिए; जस्तै कि बेरोजगारी, मुद्रास्फीति, अनि व्यक्तिगत तथा क्षेत्रीय असमानता (यद्यपि यो आजको नव-उदारवादी पुँजीवादले हासिल गरेको जति चरम भने थिएन)। त्यसैगरी फ्रान्सजस्ता धेरै पुँजीवादी देशहरू छन् जहाँ उल्लेख्य मात्रामा राष्ट्रियकृत (सरकारी) क्षेत्रहरू छन्, तर यो तथ्यले मात्रै फ्रान्सलाई समाजवादी देश बनाउँदैन। त्यसैले, समाजवादको अर्थ स्पष्ट रूपमा केवल सामाजिक वा सरकारी स्वामित्वभन्दा बढी केही हो।

फ्रान्सजस्ता धेरै पुँजीवादी देशहरू छन् जहाँ उल्लेख्य मात्रामा राष्ट्रियकृत (सरकारी) क्षेत्रहरू छन्, तर यो तथ्यले मात्रै फ्रान्सलाई समाजवादी देश बनाउँदैन।

पुँजीवादले आर्थिक पक्षहरू बीच मौलिक रूपमा जसलाई प्रवर्द्धन गर्छ, त्यो 'प्रतिस्पर्धा' हो। पुँजीपतिहरूबीचको प्रतिस्पर्धा जसले उनीहरूलाई पुँजी सञ्चय गर्न बाध्य पार्छ, ताकि उनीहरूले नयाँ प्रविधि र उत्पादनमा नवीनता ल्याउन सकून्, अन्यथा उनीहरू विस्थापित हुनेछन्। त्यसैगरी, श्रमिकहरूबीचको प्रतिस्पर्धा (जसलाई श्रमिकहरूले मार्क्सको भाषामा ‘गठबन्धन’ अर्थात् ट्रेड युनियनहरू बनाएर जित्ने प्रयास गर्छन्, जसलाई पुँजीपतिहरू सधैं तोड्ने वा कमजोर पार्ने खेलमा लागिरहन्छन्)। यसको ठीक विपरीत, समाजवाद आर्थिक पक्षहरूबीचको सहकार्यमा आधारित हुन्छ। उत्पादनका साधनहरूमा साझा स्वामित्व कायम नभएसम्म र नतिजास्वरूप पुँजीपति वर्गको अन्त्य नभएसम्म यस्तो सहकार्य असम्भव हुने भएकाले, समाजवादले श्रमिकहरूबीचको सहकार्य अर्थात् प्रतिस्पर्धाको त्याग वा बहिष्कारको माग गर्दछ। अघि उल्लेख गरिएको युगोस्लाभियाको उदाहरणमा, उसले ‘बजार समाजवाद’ को बाटो पछ्याएको थियो।  जसको अर्थ मूलतः पुँजीवादअन्तर्गत निजी स्वामित्वका फर्महरूले जस्तै राज्य-स्वामित्वका फर्महरूले बजारमा एक-आपसमा प्रतिस्पर्धा गर्नु थियो। र त्यही नै कारण थियो कि त्यसले पुँजीवादका कतिपय विशेषताहरू प्रदर्शन गर्यो।

उत्पादनका साधनहरूमा साझा स्वामित्व कायम नभएसम्म र नतिजास्वरूप पुँजीपति वर्गको अन्त्य नभएसम्म यस्तो सहकार्य असम्भव हुने भएकाले, समाजवादले श्रमिकहरूबीचको सहकार्य अर्थात् प्रतिस्पर्धाको त्याग वा बहिष्कारको माग गर्दछ।

प्रतिस्पर्धा पुँजीवादी प्रणालीको कार्यसञ्चालनको आधारभूत स्वरूप भएकाले, प्रतिस्पर्धात्मक दौडमा हार्नेहरूले कुनै न कुनै सजाय वा परिणाम भोग्नुपर्ने हुन्छ। यो सजाय प्रणालीबाट बाहिर निकालिनुको रूपमा हुनुपर्छ, जसको अर्थ प्रणालीको एउटा यस्तो ‘बाहिरी क्षेत्र’ हुनुपर्छ जहाँ यस्ता ‘असफल’ मानिसहरूलाई धकेल्न सकियोस्। यो ‘बाहिरी क्षेत्र’, जसलाई मार्क्स र एंगेल्सले ‘श्रमिकहरूको जगेडा फौज’ भनेका छन्, त्यसले पुँजीवादअन्तर्गत अझ महत्त्वपूर्ण भूमिका खेल्छ, जुन निम्न अनुसार छ:

उत्पादनको प्रत्येक प्रणालीलाई श्रमिकहरूमा कामप्रतिको उत्प्रेरणा र अनुशासन कायम राख्नका लागि कुनै न कुनै संयन्त्रको आवश्यकता पर्छ। दासप्रथाअन्तर्गत, दास स्वयं ‘मालिक’को स्वामित्वमा हुन्थ्यो, जसले कामको उत्प्रेरणा र अनुशासन कायम गराउन शारीरिक बल वा सास्तीको प्रयोग गर्न सक्थ्यो। सामन्तवादअन्तर्गत पनि त्यसै गरी, सामन्ती प्रभुको कोर्रा अर्थात् शारीरिक सास्ती नै कामको उत्प्रेरणा र अनुशासन कायम गर्ने साधन थियो। तर पुँजीवादअन्तर्गत कम्तीमा आदर्श रूपमा श्रमिकहरूमाथि शारीरिक बल प्रयोग गर्ने कुनै गुञ्जायस हुँदैन। त्यसो भए उनीहरू अनुशासित भएर काम गर्न कसरी उत्प्रेरित हुन्छन् त? यसको उत्तर हो: यदि उनीहरूले त्यसरी काम गरेनन् भने उनीहरूले ‘जागिर गुमाउनेछन्’ (बर्खास्तीमा पर्नेछन्), अर्थात् उनीहरू प्रणालीबाट बाहिर फ्याँकिनेछन्। र यो सम्भव हुनका लागि प्रणालीको एउटा ‘बाहिरी क्षेत्र’ हुनु अनिवार्य छ।

पुँजीवादी उत्पादन पद्धतिलाई ‘भित्री’ र ‘बाहिरी’ दुवै क्षेत्रहरू मिलेर बनेको एक समग्रताको रूपमा परिभाषित गरिनुपर्छ। यो ‘बाहिरी क्षेत्र’ प्रणालीको एउटा तार्किक अङ्ग हो; समग्र प्रणालीलाई परिभाषित गर्न यो ‘भित्री क्षेत्र’ जत्तिकै अत्यावश्यक छ।

यो ‘बाहिरी क्षेत्र’ अन्य दुईवटा अति महत्त्वपूर्ण उद्देश्यका लागि पनि आवश्यक छ: पहिलो श्रम उत्पादकत्वको तुलनामा वास्तविक मजदुरी नियन्त्रणमा रहने कुरा सुनिश्चित गर्न, जसले पुँजीपतिद्वारा अतिरिक्त मूल्यको निरन्तर हडप्ने प्रक्रियालाई सम्भव बनाउँछ; दोश्रो नगद मजदुरीका दाबीहरू नियन्त्रणमा रहेको सुनिश्चित गर्न, जसले मुद्राको मूल्यमा स्थिरता कायम राख्छ। त्यसैले पुँजीवादी उत्पादन पद्धतिलाई ‘भित्री’ र ‘बाहिरी’ दुवै क्षेत्रहरू मिलेर बनेको एक समग्रताको रूपमा परिभाषित गरिनुपर्छ। यो ‘बाहिरी क्षेत्र’ प्रणालीको एउटा तार्किक अङ्ग हो; समग्र प्रणालीलाई परिभाषित गर्न यो ‘भित्री क्षेत्र’ जत्तिकै अत्यावश्यक छ।

केवल मार्क्सवादले मात्र यो तथ्यलाई स्वीकार गर्छ र बुझ्छ, जुन मार्क्सवादबाहेक अर्थशास्त्रको अन्य कुनै पनि धाराले गर्दैन। उदाहरणका लागि, अर्थशास्त्रको सबैभन्दा सामान्य धारा 'वाल्डासियन' (Walrasian) ले बजारमा यस्तो सन्तुलन कायम भएको देख्छ जहाँ श्रम बजारलगायत सबै बजारहरूमा माग र आपूर्ति बराबर हुन्छन्। अर्को शब्दमा भन्नुपर्दा, यो प्रणाली प्रत्येक अवधिमा पूर्ण रोजगारीद्वारा चिनिन्छ; त्यहाँ कुनै जगेडा फौज हुँदैन, कुनै अनैच्छिक बेरोजगारी हुँदैन, र त्यसैले त्यहाँ कुनै ‘बाहिरी क्षेत्र’ नभई केवल ‘भित्री क्षेत्र’ मात्र हुन्छ। यस्तो प्रणालीमा कामको उत्प्रेरणा र अनुशासन के कुराले सुनिश्चित गर्छ भन्ने कुरा अनुत्तरित नै छाडिन्छ, जसको व्यावहारिक अर्थ त्यहाँ उत्पादन नै हुँदैन भन्ने हुन्छ। क्लासिकल राजनीतिक अर्थशास्त्रले पनि उत्पादनको व्याख्या गर्न सक्दैन, किनकि यसले कामको उत्प्रेरणा र अनुशासनको व्याख्या गर्न सक्दैन। यद्यपि मार्क्सले असाधारण उदारता देखाउँदै क्लासिकल अर्थशास्त्रीहरूका प्रमुख व्यक्तित्व डेभिड रिकार्डोलाई कुनै समय ‘उत्पादनका सर्वोत्कृष्ट सिद्धान्तकार’  भनेर वर्णन गरेका थिए।

क्लासिकल राजनीतिक अर्थशास्त्रले पनि उत्पादनको व्याख्या गर्न सक्दैन, किनकि यसले कामको उत्प्रेरणा र अनुशासनको व्याख्या गर्न सक्दैन।

यसले वास्तवमा हामीलाई पुँजीवाद र समाजवाद बीचको भिन्नताको मूल सारतत्वमा पुर्‍याउँछ। पुँजीवादले मानिसहरूलाई काममा लगाउन शारीरिक बल प्रयोग नगरे तापनि यसले ‘जागिरबाट निकालिने’ (बर्खास्तीको) त्रास, मानिसहरूलाई बेरोजगारीमा धकेल्ने, वा उनीहरूलाई ‘भित्री क्षेत्र’बाट ‘बाहिरी क्षेत्र’मा फ्याँक्ने बाध्यता वा दबाबमा निर्भर रहन्छ; तर समाजवादको भने कुनै ‘बाहिरी क्षेत्र’ हुँदैन। समाजवादअन्तर्गत मानिसहरू कुनै पनि प्रकारको डर, त्रास वा बाध्यताले गर्दा होइन, बरु आफू सम्बद्ध समुदायको हितका लागि काम गर्छन्, त्यही समुदाय जुन उत्पादनका साधनहरूको मालिक पनि हो। यस्तो समुदायको निर्माणका लागि उत्पादनका साधनहरूमा सामाजिक स्वामित्व हुनु अनिवार्य छ; यसले स्वयं समाजवादलाई पूर्ण रूपमा परिभाषित त गर्दैन, तर यो समाजवादको अस्तित्वका लागि एक आवश्यक सर्त भने अवश्य हो।

पुँजीवाद र समाजवाद बीचको यो आधारभूत भिन्नताबाट अर्को एउटा महत्त्वपूर्ण भिन्नता उत्पन्न हुन्छ। पुँजीवाद एक सजाय वा दण्डमा आधारित प्रणाली हो र यो त्यस्तै हुनुपर्छ सुस्त वा पछि पर्नेहरूलाई सजाय दिने सिद्धान्तमा आधारित प्रणाली। जबकि समाजवाद, जसको मूल सार नै सहकार्य हो, त्यो दण्डात्मक प्रणाली हुनै सक्दैन। यो दण्डात्मकता पुँजीवादी प्रणालीको कार्यशैलीमै जरा गाडेर बसेको हुन्छ; यो कसैको व्यक्तिगत दुष्टता वा खराब नीतिको परिणाम मात्र भने होइन।

पुँजीवाद एक सजाय वा दण्डमा आधारित प्रणाली हो र यो त्यस्तै हुनुपर्छ सुस्त वा पछि पर्नेहरूलाई सजाय दिने सिद्धान्तमा आधारित प्रणाली। जबकि समाजवाद, जसको मूल सार नै सहकार्य हो, त्यो दण्डात्मक प्रणाली हुनै सक्दैन।

जुन पुँजीपतिहरूले पुँजी सञ्चय गर्दैनन् र त्यसैले नयाँ प्रविधि र उत्पादनहरू भित्र्याउने क्षमता राख्दैनन्, उनीहरूलाई प्रणालीमा आफ्नो स्थान गुमाउने सजाय मिल्छ। र उनीहरूको ठाउँ धेरै पुँजी सञ्चय गर्ने र धेरै प्रविधि भित्र्याउने पुँजीपतिहरूले लिन्छन्, जुन सामान्यतया अझ ठूला पुँजीपति हुन्छन्। यही परिघटनालाई मार्क्सले पुँजीको ‘केन्द्रीकरण’ भनेका छन्। त्यसैगरी, पुँजीपतिहरूको सन्तुष्टि अनुसार काम नगर्ने श्रमिकहरूलाई पनि पुँजीपतिहरूद्वारा प्रणालीभित्रको आफ्नो ठाउँ गुमाउन बाध्य पारेर र बेरोजगारहरूको पङ्क्तिमा धकेलेर सजाय दिइन्छ। यसरी ‘बाहिरी क्षेत्र’ अर्थात् श्रमिकहरूको जगेडा फौज सजाय पाएकाहरूलाई थुपार्ने ठाउँ पनि हो, र साथसाथै श्रममाथि पुँजीको प्रभुत्व कायम गर्ने एउटा संयन्त्र पनि हो।

‘सुधारिएको पुँजीवाद’ वा ‘कल्याणकारी पुँजीवाद’ एउटा कपोल-कल्पना मात्र हो, किनकि यसले यो प्रणाली आफैँमा एउटा दण्डात्मक प्रणाली हो भन्ने तथ्यलाई बेवास्ता गर्छ।

यसबाट तुरुन्तै दुईवटा निष्कर्षहरू निकालिन्छन्: पहिलो, ‘कल्याणकारी पुँजीवाद’ तर्फ, अर्थात् आम जनताको सामान्य अवस्था सुधार्ने दिशामा चालिने कुनै पनि कदमले प्रणालीको दण्डात्मक शक्तिलाई घटाउँछ, र नतिजा स्वरूप श्रममाथि पुँजीको प्रभुत्वलाई पनि कमजोर बनाउँछ। यो एउटा यस्तो बुँदा हो जुन केन्सले बुझ्न सकेनन्; किनकि वाल्डासियनहरूले परिकल्पना गरे अनुसारको पुँजीवादी प्रणालीका त्रुटिहरूलाई देखेर पनि उनले प्रणालीलाई व्यापक रूपमा वाल्डासियन दृष्टिकोणबाटै हेरे। अर्थात्, उनले यसलाई ‘भित्री’ र ‘बाहिरी’ क्षेत्र मिलेर बनेको नभई केवल ‘भित्री क्षेत्र’ मात्र भएको प्रणालीका रूपमा देखा परे। केन्सका नीतिहरूप्रति पुँजीपतिहरूको विरोधलाई केन्सले प्रणालीको कार्यशैली नबुझेका कारण उत्पन्न भएको र समयक्रममा सही बुझाइ बढ्दै जाँदा हराएर जाने कुराका रूपमा देखेका थिए, तर वास्तवमा पुँजीपतिहरूको विरोधको जग अझ बलियो थियो। पुँजीवादअन्तर्गत पूर्ण रोजगारी असम्भव मात्र थिएन, बरु पूर्ण रोजगारीतर्फ चालिने कुनै पनि कदमले श्रममाथि पुँजीको शक्तिलाई कमजोर पार्ने दायरा बनाउँथ्यो (यद्यपि यसको अर्थ केही विशेष परिस्थितिहरूमा पुँजीले यस्तो कदमलाई स्वीकारै गर्दैन भन्ने चाहिँ होइन)। त्यसैले, पुँजीवादलाई स्थिर बनाउन चालिएका केन्सवादी उपायहरू आजकल पछाडि परेका वा ओझेलमा परेका हुनु कुनै आश्चर्यको विषय होइन। ‘सुधारिएको पुँजीवाद’ वा ‘कल्याणकारी पुँजीवाद’ एउटा कपोल-कल्पना मात्र हो, किनकि यसले यो प्रणाली आफैँमा एउटा दण्डात्मक प्रणाली हो भन्ने तथ्यलाई बेवास्ता गर्छ।

दोस्रो, समाजवाद आफ्नो स्वभावैले दण्डात्मक प्रणाली नभएकाले, यसको मुख्य विशेषता पूर्ण रोजगारी हुनुपर्छ। पूर्ण रोजगारी प्रदान गर्न नसक्नु वा कामको उत्प्रेरणा र अनुशासन कायम राख्न थप प्रत्यक्ष दबाबमूलक विधिहरूको प्रयोग गर्नु जस्ता दण्डात्मक पक्षहरू समाजवाद स्थापना भइरहेको सङ्क्रमणकालीन अवस्थाका विशेषता मात्र हुन सक्छन्, तर यी समाजवादका स्थायी विशेषता भने होइनन्; वास्तवमा यी समाजवादका सिद्धान्त विपरीत कुरा हुन्।

आधुनिक समयमा पूर्ण रोजगारी हासिल गरेका एक मात्र अर्थतन्त्रहरू सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादी अर्थतन्त्रहरू हुनु कुनै आश्चर्यको कुरा होइन। त्यहाँ समाजवादको पतनसँगै, ती समाजहरूमा हामी फेरि बेरोजगारीको व्यापक उपस्थितिमै फर्किएका छौँ। तर समाजवाद निर्माणका क्रममा जस्तोसुकै विचलन र विकृतिहरू भित्रिए तापनि, तिनलाई प्रणालीका स्थायी विशेषताका रूपमा देवत्वकरण गर्नु वा स्वीकार्नु ठूलो गल्ती हुनेछ।

Source: https://peoplesdemocracy.in

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्