भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको गम्भीर संकट
इतिहासले यदाकदा त्यस्तो मोड लिन्छ, जहाँ कूटनीति र संवादका सबै ढोकाहरू बन्द भएर बारुदको गन्धले मात्र वातावरणलाई डोर्याउँछ। इरानमा जारी युद्धलाई अन्त्य गर्ने दिशामा इरान र अमेरिकाबीच जुन १६ को समझदारी (MoU) पछि मध्यपूर्वमा शान्तिको जुन झिनो आशा पलाएको थियो, त्यसलाई पछिल्ला ४८ घण्टाको भीषण बमबारीले सदाका लागि समाप्त पारिदिएको छ। अमेरिका र इरानबीचको यो नयाँ र भयावह चरणको द्वन्द्व दुई क्षेत्रीय शक्तिहरूको टकराव मात्र होइन; यो २१ औं शताब्दीको भू-राजनीतिक सन्तुलनलाई भत्काउने र पुन: परिभाषित गर्ने एक विध्वंसकारी खेल हो। विश्व अर्थतन्त्रको हृदय मानिने ‘स्ट्रेट अफ हर्मुज आज एउटा श्मशानजस्तै शान्त र भयभीत छ।
‘डिग्रेडेशन’ को खतरनाक खेल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा निर्देशित पछिल्लो सैन्य कारबाहीलाई वाशिंगटनले ‘प्रतिशोध’ को नाम दिएको छ, तर सैन्य विशेषज्ञहरूका लागि यो एउटा रणनीतिक ‘डिग्रेडेशन’ (क्षयीकरण) अभियान हो। सेन्ट्रल कमाण्ड (CENTCOM) ले जनाएअनुसार ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूमा प्रहार गरेका छन् । यो भनेको अमेरिका इरानको रक्षात्मक ढाँचालाई नै भविष्यमा फेरि लड्न नसक्ने गरी पंगु बनाउन चाहन्छ भन्ने कुराको द्योतक हो।
तर, अमेरिकी आक्रमणले उसको पक्षमा नतिजा ल्याउने सम्भावना कमै छ । सैन्य विश्लेषकहरुका अनुसार हतियारको बलमा इरानलाई जित्छु भन्ने ठान्नु एउटा गम्भीर रणनीतिक भूल मात्रै हो ।। इरानको भौगोलिक बनावट र उसको रक्षात्मक गहिराइ (Strategic Depth) लाई बेवास्ता गर्दै गरिएको यो आक्रमणले समाधान दिनुको सट्टा इरानको राष्ट्रवादी भावनालाई अझ बढी भड्काउनेछ। खामेनीको हत्यापछि इरानमा जनविद्रोह भड्किने अमेरिकी आँकलन विपरीत त्यसले इरानी जनतामा अभूतपूर्व एकता र देशभक्तिको भावना जागृत गराइदियो । अमेरिकाले बुझ्न नसकेको तर बुझ्नै पर्ने कुरा के हो भने सार्वभौम राष्ट्रको प्रतिरक्षा प्रणालीलाई निसाना बनाएर नामेट पार्ने प्रयत्नले कूटनीतिक संवादको अन्त्य गरिदिन्छ । आक्रमणमा परेको राष्ट्रको लागि त्यो स्थिति ‘अस्तित्वको लडाइँ’ बन्न पुग्छ । उसले हरहालतमा आफूलाई प्रतिरक्षामा लड्न उत्प्रेरित मात्रै गरिदिन्छ ।
२. हर्मुजको ठप्पता: विश्व अर्थतन्त्रको आघात
‘स्ट्रेट अफ हर्मुज विश्वको करिब २० प्रतिशत तेल आपूर्तिको प्रमुख नाडी हो। ब्लूमबर्ग न्युजका अनुसार, जुन १६ को सम्झौतापछि औसत दैनिक ३४ जहाज पार हुने गरेको यो जलमार्गमा अहिले यातायात लगभग ठप्प छ। विश्वको ‘तेल आपूर्तिको ठूलो हिस्सा ओग्ट्ने हर्मुज बन्द हुँदा त्यसले ग्लोबल सप्लाई चेनमा पार्ने प्रभावको अकल्पनीय हुन्छ । त्यसले समग्र विश्व अर्थतन्त्रलाई नै प्रभावित तुल्याएर महामन्दीको अवस्था सिर्जना गर्न सक्छ ।
फेरि भट्किएको युद्धसँगै संसारभरका सेयर बजारहरू, विशेष गरी ऊर्जा स्टकहरूमा देखिएको अस्थिरताले लगानीकर्ताहरूको मनोबल गिराएको छ। यो अवरोध लम्बियो भने, विश्वले मात्र होइन, विकासोन्मुख राष्ट्रहरूले तेलको मूल्यमा हुने आकाशे वृद्धिका कारण भयानक मुद्रास्फीति (Inflation) र आर्थिक मन्दीको सामना गर्नुपर्ने निश्चित छ। नेपालजस्तो ऊर्जाका लागि पूर्णतः आयातमा निर्भर देशका लागि यो संकटले अर्थतन्त्रको ढाड नै भाँच्नेछ।
युद्धको विस्तार: क्षेत्रीय युद्धको खतरा
इरानले आफूविरुद्ध आक्रमण गर्ने आफ्नो भूमिम र सहयोग उपलब्ध गराउने कुवेतको क्याम्प अरिफजान र अली अल सलेम एयरबेस तथा बहराइनको जुफायर र शेख ईसा बेसमा आक्रमण गरेको छ। यो घटनाक्रमल युद्धलाई दुई देशको सिमानाबाट बाहिर निकालेर सम्पूर्ण अरब प्रायद्वीपमा फैलाइदिएको छ।
बहराइन र कुवेतमा साइरन बज्नु भनेको युद्धको राप ती देशको घर-आँगनसम्म पुग्नु हो। इरानले अमेरिका र उसका सहयोगी राष्ट्रहरुलाई "आफूविरुद्धको आक्रमणमा संलग्न हुने सबै इरानी आक्रमणको तारो बन्ने प्रष्ट संकेत दिएको छ । यसले गर्दा मध्यपूर्वका अन्य राष्ट्रहरूका लागि पनि तटस्थ बस्ने ठाउँ बाँकी रहेको छैन। यो द्वन्द्व अब इरान-अमेरिकाको सीमाबाट बाहिर निस्केर एउटा पूर्ण क्षेत्रीय युद्धतर्फ धकेलिने खतरा दिनानुदिन बढ्दो छ ।
मानवीय पीडा र नैतिक पतन
युद्धका रणनीतिहरू जतिसुकै न्यायोचित रहेको दाबी गरिए पनि यसले ल्याउने परिणाम सधैं रगत र आँसु नै हुन्छ। अमेरिकी आक्रमणमा परी अहभाजको बाहिरी इलाकामा ३ जनाको ज्यान जानु, इरानशहरको विमानस्थलमा एक अग्निनियन्त्रकको मृत्यु र चाबाहारको इमाम अली अस्पताल नजिकै गोलाबारुद खस्नु त्यसैको उदाहरण हो ।
अमेरिकाले युद्धको क्रममा नागरिक पूर्वाधार, अस्पताल, बिजुलीको लाइन र रेलवे पुलमा गरिएको आक्रमणले ‘सैन्य लक्ष्य’ र ‘नागरिक जीवन’ बीचको सीमा मेटिदिएको छ। अन्तर्राष्ट्रिय कानून नमान्ने अमेरिकाको हाक्काहाक्की घोषणा र एकपक्षीय रुपमा इरानमाथि थोपरिएको युद्धले अन्तर्राष्ट्रिय कानुन र जेनेभा कन्भेन्सनका मानकहरू कागजका खोस्टाहरूमा सीमित भएका छन्।
नेटोको भूमिका र कूटनीतिक संशय
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईको अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको छ। नेटोका प्रमुख मार्क रुटले अमेरिकी आक्रमणलाई ‘आवश्यक’ भनेर गरेको समर्थनले इरानका लागि युरोपको ढोका सधैंका लागि बन्द गरिदिएको छ। अमेरिकी विमानहरूले युरोपेली आधारहरूबाट उडान भरेर इरानमाथि आक्रमण गरेका घटनालाई विश्लेषकहरुले युद्धमा युरोपेली राष्ट्रहरू प्रत्यक्ष सह-भागी भएको रुपमा लिएका ५न् ।
बाघेईको "विलफुल कम्प्लिसिटी" (जानीबुझी गरिएको संलग्नता) को आरोपले पश्चिमा लोकतन्त्रको ढोङलाई उदांगो पारेको छ। यसले भविष्यमा युरोप र इरानबीचको कूटनीतिक सम्बन्धलाई दशकौंसम्मका लागि चिसो बनाउनेछ। युद्धको इन्धन युरोपले दिने र त्यसको आगो अमेरिकाले इरानमा बल्ने यो समीकरणले विश्वलाई पुनः शीतयुद्धको जस्तै ध्रुवीकरणमा धकेल्दैछ।
नेतृत्वको रिक्तता र आन्तरिक मनोविज्ञान
सर्वोच्च नेता अली खामेनीको निधनले इरानलाई एउटा संक्रमणकालीन र संवेदनशील अवस्थामा पुर्याएको छ। सामान्यतः राष्ट्रिय संकटको समयमा मुलुकहरू एकताबद्ध हुन्छन्। खामेनीको अन्त्येष्टिमा देखिएको जनसागरले के देखाउँछ भने, इरानी जनता राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिन तयार छन्।
यस्तो समयमा, अमेरिकाले गरेको आक्रमणले नरमपन्थीहरूलाई पछाडि धकेलेर कट्टरपन्थीहरूलाई सत्ताको केन्द्रमा ल्याउने खतरा बढेको छ । युद्धलाई विराम लगाउने प्रयत्नमा संलग्न इरानी विदेशमन्त्रीका विरुद्ध इरानमा अहिले उठ्न थालेको आवाजले त्यही कुराको संकेत गर्छ। हिजो विध्वंशक हतियारको विरुद्धमा खामेनीले इरानलाई उभ्याएका थिए भने अहिले खामेनीको हत्यापश्चात इरानमा परमाणु बम बनाउनुपर्ने माग चर्को रुपमा उठ्न थाल्नुले पनि त्यसै कुरालाई दर्शाउँछ । युद्धको प्रत्यक्ष सामना गरिरहेको खामेनीपछिको इरानको यो नयाँ पुस्ता अब थप आक्रामक हुने सम्भावना प्रबल छ।
गाजा, लेबनान र त्रिआयामिक द्वन्द्व
इजरायलले गाजा र लेबनानमा जारी राखेको आक्रमणले यो मध्यपूर्वको समग्र भू-राजनीतिलाई नै अस्तव्यस्त पारेको छ। नबीतियाह अल-फवाकामा दुई मानिसको ज्यान जानु र गाजामा दैनिक हुने मृत्युले इरान, इजरायल र अमेरिकाबीचको यो त्रिआयामिक द्वन्द्वलाई एउटा ठूलो ‘क्षेत्रीय युद्ध’ को रूप दिएको छ। इरानको पतन खोज्नेहरूले यो बिर्सिरहेका छन् कि मध्यपूर्वको धागो कति बलियो र जटिल छ; एउटा धागो तान्दा सिंगो पर्दा नै ढल्न सक्छ।
विनाशको चक्रबाट बाहिर निस्कने बाटो के ?
अबको बाटो के? अहिलेसम्मका परिदृश्यहरु र इरानी प्रतिरोधले विश्व महाशक्ति अमेरिकालाई घुँडा टेकाउने गरी लडेको लडाइले देखाइसकेको छ– सैन्य शक्तिले समाधान दिन सक्दैन। दुवै पक्षले ‘ब्याक-च्यानल’ वार्ता सुरु गर्नैपर्छ। यसका लागि चीन वा रुस जस्ता शक्तिहरूले यो अवसरमा मध्यस्थताको लागि अगाडि आउनु जरुरी छ ।
इतिहाससिद्ध तथ्य के हो भने जब-जब महाशक्तिहरूले अहंकारको घोडामा चढेर बल प्रयोगमा उत्रन्छ, अन्तत: उसले पतनको परिणाम भोग्नै पर्छ । दु:खद पक्ष के भने, त्यसको मूल्य संसारभरका सर्वसाधारणले चुकाउनुपर्छ । अहिले अमेरिकी गुण्डागर्दीले सिर्जित इरान युद्धले विश्वलाई विनासको त्यही दिशातिर धकेलिरहेको छ ।
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
खामेनीको अन्त्येष्टिमार्फत् इरानले दिएको सन्देश
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…
क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…
अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…
प्रतिक्रिया