पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको  दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ। भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग विस्तृत वार्ता गरे । राष्ट्रपति पुटिनले  यस भ्रमणलाई अत्यन्त फलदायी रहेको संज्ञा दिएका छन्। दुवै नेताहरूबीचको महत्वपूर्ण भेटवार्तापछि रुस र चीनले एक संयुक्त विज्ञप्ति जारी गरेका छन्, जसमा दुई देशबीचको रणनीतिक संवादलाई थप मजबुत बनाउने र आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने साझा वाचा गरिएको छ। यसैक्रममा इरान युद्धको प्रसङ्गलाई लिएर अमेरिकाको कडा आलोचना गर्दै दुवै शक्ति राष्ट्रले अबको समयमा एक नयाँ र न्यायपूर्ण विश्व व्यवस्थाको आवश्यकता रहेको कुरामा विशेष जोड दिएका छन्।

बुधबार बेइजिङस्थित 'ग्रेट हल अफ द पिपल'मा भएको औपचारिक वार्तापछि जारी गरिएको उक्त संयुक्त विज्ञप्तिमा दुवै नेताले इरान युद्ध र मध्यपूर्वी तनावका बारेमा गम्भीर चर्चा गरेका थिए। उनीहरूले इजरायल र अमेरिकाको सैन्य आक्रमणलाई अवैध ठहर गर्दै त्यसको विरोध जनाएका छन्। साथै, उनीहरूले कुनै पनि देशमाथि लगाइने एकपक्षीय प्रतिबन्ध र विदेशी राष्ट्रहरूद्वारा अन्य देशको सम्पत्ति जफत गरिने कार्य अन्तर्राष्ट्रिय नियम विपरीत हुने भन्दै त्यस्ता कदमहरूको कडा शब्दमा निन्दा गरेका छन्।

रुस र चीनले समानता र सन्तुलनमा आधारित बहुध्रुवीय विश्व र नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्धलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन्। दुवै देशले वर्तमान वैश्विक व्यवस्थामा सुधार गर्दै एक न्यायपूर्ण र सुदृढ प्रणाली निर्माण हुनुपर्ने धारणा राखेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई यस्तो संसार निर्माण गर्न आह्वान गरेका छन् जहाँ सबै देशहरूले समान हैसियतमा रहेर मिलेर काम गर्न सकून्, प्रत्येक राष्ट्रको सुरक्षा चासोलाई उत्तिकै महत्त्व दिइयोस् र विश्वमा रहेका विविध संस्कृति एवं फरक सोचको सम्मान गरियोस्। राष्ट्रपति पुटिनको यस भ्रमणका क्रममा रुस र चीनबीच अर्थतन्त्र, ऊर्जा, यातायात र अन्तर्राष्ट्रिय सहयोग जस्ता रणनीतिक क्षेत्रहरूमा करिब ४० वटा महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर समेत भएको छ।

रुसी नेता भ्लादिमिर पुटिन मङ्गलबार राति बेइजिङ पुगेका थिए यो उनको चीनको २५ औँ भ्रमण थियो। बुधबार राष्ट्रपति सी जिनपिङसँग भएको बैठकमा पुटिनले वैश्विक मामिलाहरूमाथि चर्चा गर्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई 'जङ्गलराजको पुनरागमन' को संज्ञा दिए र यसको सामूहिक रूपमा सामना गर्ने विषयमा कुराकानी गरे । राष्ट्रपति सी जिनपिङले पुटिनको यस भ्रमणलाई सफल बताउँदै वार्ताको परिणाम सकारात्मक र फलदायी निस्किएको उल्लेख गरे ।

राष्ट्रपति सी जिनपिङले चीन र रुस समानता, पारस्परिक सम्मान, आपसी विश्वास र लाभका आधारमा नयाँ युगका लागि एक व्यापक रणनीतिक सहयोग साझेदारी विकास गर्न प्रतिबद्ध रहेको बताए। दुवै देशले व्यापार, लगानी, ऊर्जा, विज्ञान र संस्कृतिका क्षेत्रमा आपसी सहयोगलाई निरन्तर बढावा दिँदै आएका छन्। चीन र रुसबीचको यो साझेदारीले विश्व राजनीतिमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।

भ्लादिमिर पुटिनले दुवै पक्षको संयुक्त प्रयासका कारण रुस-चीन सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको उल्लेख गरे । उनले दुई देशबीच उच्च स्तरीय भ्रमण र संवादहरू नियमित रूपमा भइरहेको र राजनीतिक विश्वास झन् मजबुत बन्दै गएको बताए। विशेषगरी ऊर्जा आपूर्ति, यातायात, रसद (लजिस्टिक), विज्ञान तथा प्रविधि जस्ता क्षेत्रहरूमा सहकार्य निरन्तर गहिरिँदै गएको पुटिनको भनाइ थियो।

Source: https://navbharattimes.indiatimes.com