शासकीय अहंकार र हताश मनस्थितिले निम्त्याएको बर्बर दमन !
जेन–जी भनेर चिनिने युवापुस्ताले देशव्यापी रुपमा गरेको विरोध प्रदर्शनमाथि बर्बर दमन गरेर सरकारले नरसंहारको ताण्डव मच्चाएको छ । यो लेख्दासम्म दर्जन भन्दा माथिको मृत्यु भइसकेको छ (जुन बढ्ने निश्चित छ) भने सयौंको संख्यामा गम्भीर घाइते भएका छन् ।राजधानीका अस्पतालहरु घाइतेले भरिएका छन् ।
वेथिति, भ्रष्टाचार, दण्डहीनता र शासकवर्गहरुमा पलाएको चरम अहंकारले निम्त्याएको घोर निराशाजनक र अवसादपूर्ण स्थितिबाट वाक्कदिक्क बनेका युवा पुस्ताले गरेको आन्दोलनको मर्मलाई समुचित सम्बोधन गर्नु जरुरी थियो । तर त्यसको सट्टा जसरी ओदे (ओली–देउवा नेतृत्वको) सरकारले बर्बर दमन गरेर दबाउन खोजेको छ, इतिहासमा उनीहरुको अनुहार नराम्ररी कालो पोतिएको शासक वर्गको रुपमा दर्ज हुनेछ । पञ्चायती दमनको झल्को दिने, अझ त्यसलाई समेत माथ दिने गरी भएको कायरतापूर्ण दमन र नसंहारकारी घटनाहरुले सरकारको आतंकित मानसिकतालाई उजागर गरेको छ ।तरल र संवेदनशील वस्तुस्थितिमा जनतामा पैदा भएको निराशा र आक्रोशमा खेलेर स्थितिलाई भड्काउने आन्तरिक तथा बाह्य चलखेलको सम्भावनालाई फलिभूत हुन नदिन सबै पक्ष जिम्मेवार बन्नु यतिखेर निक्कै जरुरी छ ।
हामी ओदे सरकारले गरेको यस नृशंस दमन एवं बर्बर हत्याकाण्डको घोर भत्सर्ना गर्दछौं । यस किसिमको बर्बर दमन र हत्याकाण्ड तुरुन्तै रोकेर घटनाको न्यायिक छानविन गरी ‘अपराधी’हरुलाई न्यायको कठघरामा उभ्याउन, समयको पदचापलाई बेलैमा महसूस गरेर सरकारबाट राजीनामा गर्न तथा युवाहरुको आवाजलाई सुनी निकासको मार्ग प्रशस्त गर्न माग गर्दछौं । शासकीय अहंकारमा जनताका न्यायोचित मागहरुलाई सुन्न र सम्बोधन गर्न इन्कार गर्ने दमनकारी शासनहरु धूलोपीठो बनेर इतिहासको रछ्यानमा मिल्किन बाध्य हुने गरेको विगतका घटनाक्रमहरुबाट पाठ सिक्न चेतावनी पनि दिन चाहन्छौं ।
ढोँगी बहुपक्षीयतावादको दोबाटोमा क्युबा
सपनाको मृत्यु र फासीवादी उन्माद
लोकरञ्जक, सम्मोहनकारी र चामत्कारिक नेतृत्वले अगुवाइ गर्ने मध्यमवर्गीय सामाजिक …
क्षितिज पारिको यात्री: इब्न बतुताको अविस्मरणीय विश्व-परिक्रमा
जब पेन्सिल नै तरबार बन्यो
रुजवेल्ट र फायरसाइड च्याट्स: राजनीतिक सञ्चारको कालजयी विरासत
खतरनाक एल नीनो विकसित हुँदै: खडेरी र अनिकालको चेतावनी
प्रतिक्रिया