पीकेकेको बिघटन

२०२५ फेब्रुअरी २७ मा टर्किको दियारबकिरमा आयोजित र्‍यालीका क्रममा जेलमा रहेका कुर्द नेताहरू अब्दुल्लाह ओजलानको तस्वीर समातेका एक प्रदर्शनकारी [सेर्ताच कायार/रॉयटर्स]।

बिगत चार दशकदेखि राष्ट्रिय मुक्ति आन्दोलनमा संलग्न कुर्दिस्तान वर्कर्स पार्टीले हतियार परित्याग गर्दै आफ्नो संगठनलाई विघटन गरेको छ। गत फेब्रुअरीमा टर्कीको जेलमा रहेका आफ्ना संस्थापक नेता अब्दुल्ला ओजलानले हतियार त्याग्न र संगठन विघटन गर्न गरेको आह्वानपछि पीकेकेले यो कदम उठाएको हो।

उत्तरी इराकमा शुक्रबार सम्पन्न पार्टीको कंग्रेसपछि यस समूहले "ऐतिहासिक" निर्णयहरू गरेको थियो। कंग्रेसमा ओजलानका "दृष्टिकोण र प्रस्तावहरू"बारे छलफल गरिएको थियो। सो कंग्रेसपछि जारी गरिएको विज्ञप्तिमा पीकेकेले आफ्नो सशस्त्र संघर्षले कुर्दिश अधिकारहरू दबाउने नीतिहरूलाई सफलतापूर्वक चुनौती दिएको उल्लेख गरिएको छ। त्यस्तै, पीकेकेले "आफ्नो ऐतिहासिक मिशन पूरा गरेको" बताउँदै, "१२औं कंग्रेसले पीकेकेको संगठनात्मक संरचना विघटन गर्ने र सशस्त्र संघर्षको विधि अन्त्य गर्ने निर्णय गरेको" जनाएको छ। यसका साथै अबदेखि 'पीकेके' नाममा गरिने गतिविधिहरू औपचारिक रूपमा समाप्त गरिएको छ," विज्ञप्तिमा भनिएको छ।

सन् १९७८ मा टर्कीमा अब्दुल्ला ओजलानले पीकेकेको स्थापना गरेका थिए। स्थापनाको समयमा पीकेके मार्क्सवादी, लेनिनवादी र माओ विचारधाराबाट प्रेरित संगठन थियो। सुरुवातका वर्षहरूमा पीकेकेलाई प्यालेस्टाइनी मार्क्सवादी संगठनहरू—पीएफएलपी र डिएफएलपी—ले तालिम र हतियार उपलब्ध गराएका थिए। प्यालेस्टाइनी समूहहरूले पीकेकेलाई यति सम्म सहयोग गरेका थिए कि उनीहरूले लेबनानको बेक्का उपत्यकामा रहेको उनीहरूको तालिम केन्द्र पीकेकेलाई हतियारसहित सुम्पेका थिए।

सन् १९८४ देखि पीकेकेले टर्की राज्य सत्ताविरुद्ध संघर्ष पूर्ण रूपमा सुरु गर्‍यो। टर्की सरकारले यो संघर्षविरुद्ध कठोर सैन्य कारबाही सुरु गर्‍यो, जसले गर्दा यसले कुर्दिश समुदायमा आफ्नो जरा गाड्न नसकोस्। सरकारी दमनका बाबजुद पनि टर्कीमा बस्ने १ करोड ५० लाख कुर्दहरूबीच पीकेकेप्रति समर्थन बढ्न थाल्यो। पीकेके र टर्कीबीचको द्वन्द्वको क्रममा करिब ४०,००० मानिसहरूको मृत्यु भइसकेको छ, जसमध्ये ७,००० जनाको मृत्यु पछिल्ला दश वर्षमा भएको थियो।

सन् १९९९ मा, अमेरिका र इजरायली गुप्तचर संस्था मोसादसँग मिलेर गरेको संयुक्त कारबाहीमा टर्कीले केन्यामा अब्दुल्लाह ओजालानलाई गिरफ्तार गर्‍यो। यो समाचारले विश्वभरिका कुर्दहरूबीच आक्रोश फैलायो। बर्लिनमा करिब २०० प्रदर्शनकारी इजरायली दूतावासतर्फ जाँदै गर्दा, इजरायली सुरक्षाफौजले तीन कुर्द प्रदर्शनकारीलाई गोली हानेर हत्या गर्‍यो।

७५ वर्षीय ओजालानले टर्कीको इम्राली जेल टापुमा झण्डै २६ वर्ष एकान्तवासमा बिताए, जहाँ उनलाई करिब १,००० टर्की सैनिकले कडा निगरानीमा राखेका छन्। जेलमा रहँदा उनले मार्क्सवाद परित्याग गर्दै अमेरिकी अराजकतावादी चिन्तक मुरे बुकचिनको विचारलाई अपनाए। जसअन्तर्गत उनले “लोकतान्त्रिक संघवाद” (Democratic Confederalism) भन्ने नयाँ वैचारिक दृष्टिकोण प्रस्तुत गरे।

सन् २००५ मा ‘कुर्दिस्तान समुदाय संघ’ (Kurdistan Communities Union) को स्थापनासँगै यो वैचारिक रूपान्तरणको संस्थागत स्वरूप देखापर्‍यो। यस संस्थाले टर्की, सिरिया, इरान र इराकमा रहेका कुर्द स्वतन्त्रता आन्दोलनहरूलाई ओजालानको नेतृत्वमा एकीकृत गर्छ; यद्यपि यसको मूल आधार टर्की र सिरियामा रहेको छ।

सन् २०१३ मा टर्की सरकारसँग भएको शान्ति वार्ताको फलस्वरूप कुर्दिस्तान कामदार पार्टी (PKK) ले आफ्ना लडाकुहरूलाई टर्कीबाट इराकी कुर्दिस्तानतर्फ फिर्ता बोलाउन थाल्यो। तर सन् २०१५ सम्म आइपुग्दा त्यो वार्ता र युद्धविराम भङ्ग भयो। त्यसपछि टर्कीले कडा सैन्य आक्रमणहरू सञ्चालन गर्‍यो, जसका कारण PKK ले आफ्ना गतिविधिहरू उत्तर इराकतर्फ सार्नुपर्‍यो। हालका वर्षहरूमा टर्कीले पीकेके लडाकुहरूलाई इराकको पहाडी सीमामा सीमित गर्दै आफ्नो देशभित्रका आक्रमणहरूलाई निकै कम बनाएको थियो।

अहिले मध्यपूर्वमा तीव्र गतिमा परिवर्तनहरू भैरहेका छन्। कुर्द आन्दोलनले अहिले क्षेत्रीय र साम्राज्यवादी शक्तिहरूसँग गठबन्धन गर्दै मध्यपूर्वको पुनःसंरचनाका प्रयासहरूमा नयाँ भूमिका ग्रहण गरिरहेको छ। क्षेत्रीय परिवर्तनहरूको पृष्ठभूमिमा पीकेकेको यो घोषणा यस्तो समयमा आएको छ जब क्षेत्रीय परिदृश्यमा महत्वपूर्ण परिवर्तनहरू भइरहेका छन्, जसमा सिरियामा नयाँ इस्लामिक सत्ता, लेबनानमा हिज्बुल्लाह सशस्त्र समूहको कमजोर स्थिति, र गाजामा जारी इजरायल-हमास युद्ध समावेश छन्।

पीकेकेले आफ्नो संगठन विघटन गरेर र हतियार परित्याग गरेर मात्रै उसका मागहरू पूरा भइहाल्ने अवस्था छैन। टर्कीमा रहेको एर्दोगान सरकार कुर्द लगायतका अल्पसंख्यकहरू प्रति उत्तिकै अनुदार रहेको छ। कुर्दहरूको आत्मनिर्णयको आकांक्षा झनै टाढा पुगेको देखिन्छ। अझ स्पष्ट शब्दमा भन्ने हो भने, पीकेकेको जुन कारणले स्थापना भएको थियो, ती कारणहरू अझै पनि यथावत् नै छन्।

Source : @redstreamnet

Image: https://www.aljazeera.com