जिमी कार्टरको निधन

अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको सोमबार जर्जियास्थित आफ्नै घरमा १०० वर्षको उमेरमा निधन भएको छ।

सन् २०२३ को सुरुदेखि नै उनी हस्पिस केयरमा थिए। उनको निधनको समयमा उनका परिवारका सदस्यहरू उपस्थित थिए।

कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा इजरायल र इजिप्ट बीच क्याम्प डेविड सम्झौता भएको थियो। उनी आफ्नो युद्धविरोधी धारणा, ईमानदारी र मानवीय प्रयासहरूको लागि प्रशंसित थिए। सन् २००२ मा उनलाई विश्वभर लोकतन्त्र र मानव अधिकारको प्रवर्द्धनका लागि गरेको कामको सम्मानस्वरूप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

जिमी कार्टर अमेरिकाका पहिलो राष्ट्रपति हुन्, जो १०० वर्षसम्म जीवित रहे। त्यस्तै, उनी अमेरिका पहिलो राष्ट्रपति थिए, जसको जन्म अस्पतालमा भएको थियो। १ अक्टोबर १९२४ मा जन्मिएका कार्टरकी आमा नर्स थिइन् र उनका बुबा जनरल स्टोरका मालिक थिए।

अमेरिकाको महामन्दीको समयमा बाल्यकाल बिताएका कार्टरले आफ्नो राष्ट्रपति कार्यकालमा उदार प्रगतिशील नीतिहरूलाई प्रोत्साहन दिए। तर, यस अवधिमा, १९८० मा इरानको राजधानी तेहरानस्थित अमेरिकी राजदूतावासमा रहेका कूटनीतिज्ञहरूलाई इरानी विद्यार्थीहरूले बन्धक बनाए। यो बन्धक काण्ड समाधान गर्न नसकेको कारण, १९८० मा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका कार्टर रोनाल्ड रेगनसँग पराजित भएका थिए।

एजेन्सीहरुको सहयोगमा । Image: https://s.yimg.com