जब मैले माओ र चे पढेँ, म झन् बढी सत्ता विरोधी भएँ: माइक टाइसन
विल डुरान्टदेखि माओसम्म: माइक टाइसनको प्रेरणादायी पठनसूची
जब म फोनमा व्यस्त हुन्नथिएँ, म आफ्नो कोठामा पढिरहेको हुन्थेँ। न्यायाधीशले वास्तवमै चाहन्थे कि मैले जीइडी (जनरल एजुकेसन डिप्लोमा) उतिर्ण गरूँ। मैले त्यसका लागि मुहम्मद सिद्दीकसँग अध्ययन गर्न थालेँ, जो मेरो आध्यात्मिक सल्लाहकार बनेका थिए। मलाई गणित वा त्यसजस्ता विषयसँग कुनै रुचि थिएन। त्यसैले मैले सिद्दीकले ल्याएका एकजना शिक्षकसँग चिनियाँ भाषाको अध्ययन गर्न सुरु गरेँ। मैले यति चिनियाँ भाषा सिकेँ कि जब म केही वर्षपछि चीन गएँ, त्यहाँ म कुराकानी गर्न सक्षम थिएँ।
म पढाइमा पूरै डुबेको थिएँ। पूरै किताब पढ्नुजस्तो समय बिताउने सबैभन्दा राम्रो तरिका अरू कुनै हुन सक्दैन। हरेक रात आफ्नो कोठामा म र वायनोले एक-अर्कालाई पढेर सुनाउँथ्यौँ। एकजनासँग पुस्तक हुन्थ्यो र अर्कासँग थिसारस वा शब्दकोश, ताकि जब कुनै नयाँ शब्द आउँथ्यो, जसलाई हामी जान्दैनथ्यौँ, त्यसलाई खोज्थ्यौँ। हामी ती शब्दलाई वाक्यमा प्रयोग पनि गर्थ्यौँ, जसले गर्दा त्यसलाई पूर्ण रूपमा बुझ्न सकियोस्।
मलाई विल डुरान्टको द स्टोरी अफ सिभिलाइजेशन धेरै मन पर्थ्यो। मैले माओका किताबहरू पढेँ, चेका किताब पढेँ। मैले म्याकियाभेली, तोल्सतोय, दोस्तोयेभ्स्की, मार्क्स, शेक्सपियर—तपाईंले जति सोच्न सक्नुहुन्छ सबै पढेँ। मैले हेमिङ्वेलाई पनि पढेँ, तर उनी धेरै निराशावादी लागे। म विद्रोही र क्रान्तिकारी किताबहरू पढ्नतिर झनै आकर्षित भएँ। मेरो मनपर्ने किताब थियो अलेक्जान्डर डुमासको द काउन्ट अफ मोन्टे क्रिस्टो । म मुख्य पात्र एडमन्ड डान्टेससँग आफूलाई एकाकार भएको महसुस गर्थेँ। उनलाई पनि जेल पठाइएको थियो। तर उनले त्यहाँ निराश मात्र भएर बस्नुभएन; उनले आफ्नो भविष्यको सफलताको लागि तयारी गरे। जब म जेलमा हराएको महसुस गर्थेँ, म डुमासको किताब पढ्थेँ।
म समाजसँग पहिलेदेखि आक्रोशित थिएँ, र मैले आफूलाई एउटा शहीदको रूपमा हेर्न थालेँ। म सधैं भन्थेँ, "अत्याचारीको मृत्यु उसको शासनसँगै हुने गर्दछ, तर जब शहीद मर्छ, उसको शासन सुरु हुन्छ।" जब मैले माओ र चे पढेँ, म झन् बढी सत्ता विरोधी भएँ। मलाई माओ यति धेरै मन पर्यो कि मैले उनको अनुहारको ट्याटु आफ्नो शरीरमा बनाएँ। आर्थर एशको पनि। मलाई उनको आत्मकथा निकै मन पर्यो। मलाई अनुमानै थिएन कि उनी यति समझदार र कुशल थिए।
म माओसँगै लङ मार्चमा थिएँ। मेरो उद्देश्य त्यहाँको व्यवस्थालाई जतिसक्दो चलाखीपूर्वक उपयोग गर्नु थियो। म कमजोर, नयाँ गार्ड अथवा मबाट प्रभावित गार्ड खोज्थेँ।
(माइक टाइसनको आत्मकथा Undisputed Truth: My Autobiography बाट) . Image: https://cloudfront-eu-central-1.images.arcpublishing.com
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया