निर्लज्जताको पराकाष्ठा !
अपराधका आरोपीहरुमाथि किन कारवाही अघि बढाइन्न ?
निर्मला कुर्मीको हत्या गरेको आरोप लागेका बादशाह कुर्मीमाथि कारवाहीको माग गर्दै राजधानीमा अधिकारकर्मी रुवी खान तथा उनका सहकर्मीहरुले आन्दोलन गरेको झन्डै तीन महिना पुग्न लागेको छ । तर उनीहरुले गरेको न्यायको गुहारलाई सुन्नुको सट्टा सत्ताधारीहरुले ‘कानमा तेल हालेर’ बसेका छन् । अरु त अरु, जनताका न्यायको गुहारलाई सुन्ने कुरामा विपक्षी दलहरुले पनि खासै चासो र चिन्ता लिएका छैनन् । त्यसैले खान तथा उनका सहकर्मीहरुको न्यायको गुहार अरण्य रोदनमात्रै साबित भइरहेको छ ।
साँच्चै नै मुलुकमा न्याय र कानुनको शासन हुन्थ्यो भने पक्कै पनि उनीहरुको आवाज सुनिन्थ्यो । उनीहरुले यति कष्टकर आन्दोलन गरिबस्नै पर्ने थिएन । आरोप लागेका व्यक्तिमाथि अनुसन्धान गरेर उनलाई न्यायको कठघरामा उभ्याइसकिएको हुन्थ्यो । तर निजमाथि कारवाही थाल्नु त कता हो कता, सत्ताको भागबण्डाको खेलमा नेपालका राजनीतिक दलहरु उनको संरक्षक बनेर खडा भएका छन् । कुनै अमुक राजनीतिक दलका शक्तिशाली व्यक्तिसँग निकट भएकै आधारमा उनीसम्म कानूनको हात पुग्न सकेको छैन । बरु उनलाई राजनीतिक दलहरुले अभयदान प्रदान गरे प्रदेशको मन्त्री बनाएर पुरस्कृत गर्ने नाकाम कोशिस समेत विगतमा भयो ।
यस मुद्दामा आन्दोलनकर्मीहरुसँग राज्यले पटक पटक सम्झौता गरेर अभियोग लागेका कुर्मीमाथि कारवाहीको प्रक्रिया अघि बढाउने लिखित बचनबद्धता प्रकट गरेको स्थिति हो । तर त्यो फगत खोक्रो आश्वासन मात्र भयो । बादशाहमाथि कारवाही नै अगाडि बढाइएको छैन । मुद्दाका आरोपीहरुलाई हाजिर जमानीमा छाडिएको छ । तर निजहरुमाथि अदालतमा मुद्दा दायर गरिएकै छैन ।
त्यसका विरुद्ध खान तथा उनका सहकर्मीहरुले माइतीघर मण्डलाको शान्तिपूर्ण धर्ना, सिंह दरवारको निषेधाज्ञा तोड्ने, बालुवाटार पैदल मार्च लगायतका उपायहरुमार्फत सरकार तथा नेपालका राजनीतिक दलहरुलाई आफ्नो माग सुनाउने कोशिश गरिरहेका छन् । तर उनीहरुको माग सुन्ने कामलाई नेपालका सरकार तथा राजनीतिक दलहरुले निर्लज्जतापूर्वक वेवास्ता गरिरहेका छन् । नेपालका नागरिक समाज तथा मिडियाहरुले भने उनीहरुले उठाएका मागको पक्षमा निरन्तर आवाज उठाउने काम गरिरहेका छन् ।
यसै मेसोमा आन्दोलनकारीहरु पछिल्लो पटक न्यायको गुहारका लागि कात्तिक ११ गते कलंकी मकालु पेट्रोल पम्पनिर बाट खाली खुट्टा हातमा संबिधानको किताब र न्यायको प्रतिक न्यायिक तराजु बोकी नेपाली कांग्रेसको पार्टी कार्यालयमा गएका छन् । उनीहरुले त्यसो गर्नुको कारण पूर्व प्रधान मन्त्री शेर बहादुर देउवाले निर्मला कुर्मीको मुद्दा अदालत पठाउनका लागी गरेको बाचा र दिएको वचन पुरा गर्नका लागी स्मरण गराउनु हो ।
आन्दोलनकारीहरुले ध्यानाकर्षण पत्र बुझाउने तथा सांझ ५ बजे सम्म धर्ना दिने कार्यक्रम रहेको छ । आन्दोलनकारीहरुले भोलि पनि सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी कार्यालयमा जाने जनाएका छन् ।
यसबीच आन्दोलनकारीहरुले ‘पक्राउ गर्नु छ भने गर ! मार्नु छ भने मार ! हाम्रो शान्तीपुर्ण न्यायको आवाज दबाउनु छ भने दबाउ ! तर न्यायको यो आवाज कुनै पनि हालतमा रुक्दैन !’ भनेर चेतावनी दिएका छन् ।
लामो समयसम्म आन्दोलनमा रहेका आन्दोलनकारीहरुमा स्वास्थ्य समस्या पनि देखापर्न थालेका छन् । कतिपय आन्दोलनकारीहरुलाई डेंगु टाइफाइडले सताएको छ भने कतिपयमा नाक र मुखबाट रगत आउने समस्या देखापरेको छ । यो प्रतिकूलताको स्थितिमा पनि आन्दोलनकारीहरुले ‘न्यायको यो लडाई कुनै पनि हालतमा बन्द नहुने’ जनाएका छन् ।
प्रतिक्रिया