घोडालाई पनि सांसद पद !
पत्याउनै पनि गाह्रो पर्छ– सन्काहा तानाशाहहरुले घोडालाई पनि सांसद बनाएको ! तर इतिहासका कतिपय प्रसङ्गहरुमा तानाशाह सम्राटहरुले आफ्ना पाल्तु जनावरहरुलाई पनि शासकीय पदमा, सांसद पदमा नियुक्त गर्ने गरेका प्रसङ्गहरु विश्व इतिहासमा पढ्न पाइन्छ । त्यस्तै एउटा निक्कै चर्चित ऐतिहासिक किस्सा रोमन सम्राट क्यालिगुला (Caligula) ले आफ्नो प्रिय घोडा इनकिटाटस (Incitatus) लाई सेनेटर (सांसद) बनाएको कथा पनि हो । त्यसो त यो कथाको सत्यतालाई कतिपय इतिहासविद्हरूले काल्पनिक र विवादास्पद पनि ठानेका छन्।
रोमको तेस्रो सम्राट (ई.स. ३७–४१) क्यालिगुलाको वास्तविक नाम गाइउस जु्लियस क्यालिगुला थियो । उनी आफ्नो विलासी जीवनशैली, सनकीपन, र क्रूर शासनकालका लागि प्रख्यात छन्। भनिन्छ उनको पाल्तु घोडा इनकिटाटससँगको उनको विशेष लगाव थियो । उनले आफ्नो आफ्नो प्रिय घोडालाई राजकीय सम्मान र सुविधाहरू प्रदान गरेर पालेका थिए। इतिहासमा उल्लेख भएअनुसार क्यालिगुलाले इनकिटाटसलाई राख्नका लागि एउटा विशेष तबेला बनाएका थिए । त्यो तबेला निक्कै भव्य थियो र त्यसलाई मणि र संगमरमरले सजाइएको थियो। उक्त घोडालाई सुनको हार, रत्नले सजिएको टोप लगाइन्थ्यो । अरु सामान्य घोडाहरुभन्दा फरक उक्त घोडालाई निक्कै विलासी र स्वादिला खानेकुराहरु दिने गरिन्थ्यो । क्यालिगुलाले आफ्नो घोडाको लागि एउटा धनाढ्य मानिसको भन्दा पनि भव्य र उच्च स्तरको जीवनशैलीको प्रबन्ध गरिदिएका थिए ।
सांसद बनाएको दाबी
क्यालिगुलाले इनकिटाटसलाई सांसद बनाएको दाबी विशेष रूपमा रोमन इतिहासकार सुटोनियस (Suetonius) र क्यासियस डिओ (Cassius Dio) ले उल्लेख गरेका छन् । सुटोनियसले क्यालिगुलाको जीवनबारे लेख्ने क्रममा क्यालिगुलाले इनकिटाटसलाई सेनेटर बनाउने तयारी गरेका उल्लेख गरेका छन् । त्यसमाथि थप उनले आफ्नो घोडालाई "कन्सल" (रोमन राज्यको प्रमुख पद) सम्म पनि नियुक्त गर्ने योजना बनाएको उल्लेख गरेका छन्।
तर यसको सत्यताबारे प्रश्नहरु पनि उठ्ने गरेका छन् ।
क्यालिगुलाले घोडालाई सांसद बनाएको कुराको सत्यता प्रमाणित नभए पनि इतिहासकारहरुले त्यसलाई क्यालिगुलाको उनको मानसिक अस्थिरता वा रोमन सेनेटप्रति घृणा व्यक्त गर्न गरिएको व्यंग्यात्मक कदमको रूपमा उल्लेख गरेको मानिन्छ । इतिहासमा उल्लेख भएअनुसार आफ्नै पिताको हत्या गरेर शासनसत्ता हत्याएका क्यालिगुलाले आफ्नो शासनकालमा सधैं संसदलाई उपहास र अपमान गर्ने गरेका थिए । सम्भवत: उनले घोडालाई सांसद बनाएको प्रसङ्ग पनि त्यसै कुराको द्योतक हुन सक्छ ।
क्यालिगुलाले आफ्नो प्रिय घोडा इनकिटाटसलाई सांसद बनाएको कथा विश्वचर्चित छ । तर धेरै इतिहासकारहरूले यसलाई सत्य घटनाको रूपमा लिनु गलत ठान्छन्। उनीहरूका अनुसार यो कथा क्यालिगुलाको असन्तुलित र क्रूर चरित्रलाई देखाउने एउटा अतिरञ्जित कथा हुन सक्छ । यो कथामार्फत् क्यालिगुलाले संसदप्रति देखाउने गरेको तिरस्कारलाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको काल्पनिक कथा पनि हुन सक्छ । त्यसो त क्यासियस डिओजस्ता इतिहासकारहरूले क्यालिगुलाको मानसिक स्वास्थ्यबारे पनि प्रश्न उठाएका छन् । यसले क्यालिगुलाले गरेको भनिएको घोडालाई सांसद बनाएको अतिवादी कामलाई उनको पागलपनको संकेतको रूपमा दर्शाइएको पनि हुन सक्छ ।
निष्कर्षमा भन्दा क्यालिगुलाले आफ्नो घोडा इनकिटाटसलाई सांसद बनाएको थियो भन्ने कुरा कति सत्य हो भन्नेबारेमा ठोकुरा गरेर भन्न गाह्रो छ। इतिहासकारहरूले त्यस कथालाई क्यालिगुलाको मानसिक अवस्था र रोमन राजनीतिक व्यवस्थाप्रतिको तिरस्कारको एक प्रतीकात्मक उदाहरणका रूपमा व्याख्या गर्ने गरेका छन्।
नोबेल पुरस्कारमा सर्वाधिक मनोनयन तर एउटै जितेनन्
१५ वर्षमै क्वान्टम फिजिक्समा पीएचडी गर्ने बेल्जियमका लरेन्ट सिमोन्स
एउटा घातक विरुवा ‘मुस्कानसहितको मृत्यु’ !
मानवका जस्तै औंलाछाप हुने जीव कोआला !
संसारकै सबैभन्दा साना बाँदर
सानो माछा, ठूलो आवाज : जब एक सेन्टिमिटरको माछाले हात्तीलाई पनि पछि पार्यो
जनावरलाई पनि मान्छेलाई जस्तै मुद्दा र सजाय !
प्रतिक्रिया