केही रोचक रमाइला जानकारीहरु

रुप नफेरिएको जनावर

यस पृथ्वीमा लामो समयदेखि बसोबास गर्दै आएका प्राणीहरु धेरै छन् । त्यस्ता प्राणीहरुले समयक्रममा आफूलाई वातावरणको अनुकूल बनाउनका लागि आफ्नो रुप, आकार परिवर्तन गर्दै आएका छन् भने कतिपय प्राणीहरु चाहिँ अहिले पनि प्राचीनकालमा जस्तै देखिन्छन् । यसरी प्राचीनकालको जस्तै देखिने अर्थात् आजसम्म पनि रुपमा खासै हेरफेर नभएको जीवमध्ये एउटा गैंडा पनि हो ।

गैंडाको सिंगलाई खाग भनिन्छ । यो खाग केराटिन नामक पदार्थले बनेको हुन्छ । हाम्रो कपाल र नङमा पनि यो केराटिन पाइन्छ । गैंडाको खाग बहुमूल्य मानिन्छ । यही खागको लागि नै वर्षेनी कैंयौ गैंडाको हत्या हुने गरेको छ ।

ऊँट जस्तै केही समय पानी नपाउँदा पनि खप्ने जीव

कङ्गारु मुसा । https://imgix.ranker.com

धेरै लामो दिनसम्म पनि पानी नखाई बाँच्ने जीवको कुरा गर्दा हामी झट्टै ऊँटलाई सम्झन पुग्छौं । किनभने, एकपल्ट पानी खाएपछि कैयौं दिनसम्म पानी नखाइकन पनि ऊँट मरुभूमिमा यात्रा गर्न सक्छ भन्ने कुरा हामीले धेरैपटक सुन्दै र पढ्दै आएको कुरा हो । ।

तर पानी नखाई बाँच्ने जीवकै कुरा गर्ने हो भने अरु केही प्राणीहरु पनि हुन्छन् । त्यस्ता प्राणीहरुमध्ये मरुभूमिमा पाइने कङ्गारु मुसा पनि हो । याे जीव पनि पानी नखाइकनै धेरैदिनसम्म बाँच्न सक्छ । वास्तवमा यस जीवले आफ्ना खानेकुराहरुबाटै पानीको आपूर्ति गर्न सक्ने अनौठाे क्षमता राख्छ ।

त्यसैगरी, कछुवाका केही प्रजातिहरुले पनि पानी नखाइकन लामो समयसम्म रहन सक्छ । उनीहरुले खानेकुराबाटै पानीको आवश्यकता पूर्ति गर्ने गर्छ ।

असम्भव !

कसैले तपाईंलाई आँखा बन्द नगरी हाच्छिउँ गर्नु भन्यो भने सक्नु हुन्छ ? अहँ ! आँखा बन्द नगरिकन हाच्छिउँ गर्नु असम्भव हुन्छ ।

बिरोलो प्रजातिको सबैभन्दा ठूलो जनावर

https://www.thoughtco.com

साइबेरियन बाघ बिरालो प्रजातिका जनावरहरुमध्ये सबैभन्दा ठूलो हो । यसको तौल ३०० किलोग्रामसम्म हुन्छ भने यसले एक पटकमा २७ किलोसम्म मासु खान सक्छ ।

रौंविहीन पुजारी

प्राचीन इजिप्टमा पुजारीको शरीरमा रौं हुनुहुँदैन थियो । त्यसैले त्यसबेला पुजारीको शरीरको सबै रौंहरु खौरिइन्थ्यो वा उखेलिइन्थ्यो । यहाँसम्म कि, त्यसबेला आँखीभौं र परेलासमेत उखेलिइन्थ्यो ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।