जनयुद्धको धङधङीको ‘बाइप्रोडक्ट’ !

भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा हिजो मात्रै पक्राउ परेका छन् ।

भुटानी शरणार्थी समस्या समाधान गर्न पूर्व सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा गृहमन्त्रालयले बनाएको कार्यदलको प्रतिवेदनमा नेपाली नागरिकहरुको समेत नाम घुसाएर नक्कली भुटानी शरणार्थी बनाउने काममा प्रतीकले विचौलियाको भूमिका निभाएको आरोप छ ।

रामबहादुर थापा बादल कुनै बेला नेकपा माओवादी पार्टीभित्र प्रचण्डपछिका सबैभन्दा शक्तिशाली नेता मानिन्थे । माओवादी छँदा नै उनी रक्षामन्त्री, गृहमन्त्री समेत भएका थिए । उनी गृहमन्त्री छँदा छोरा प्रतीक थापालाई स्वकीय सचिव समेत बनाएका थिए । त्यही बेला नै प्रतीकका कतिपय व्यवहारहरु विवादित भएपछि उनलाई स्वकीय सचिवबाट हटाइएको थियो ।

नेकपा एमाले र नेकपा माओवादीबीच भएको पार्टी एकतालाई सर्वोच्च अदालतले ‘अवैधानिक’ ठहराएपछि दुवै पार्टी पूवर्वत अवस्थामा फर्किएका थिए । त्यसबेला रामबहादुर थापा बादल भने आफ्नो माउ पार्टी नेकपा माओवादीमा फर्किनन्, उनी नेकपा एमालेतिर लागे । त्यसबेला पनि उनी एमालेमा रहनुका पछाडि उनको भित्री चाहनाभन्दा पनि छोरा प्रतीकका कर्तुतहरुका कारण सिर्जित बाध्यता प्रमुख रहेको गाइँगुइँ चलेको थियो ।

संसारमा हलचल सिर्जना गर्ने माओवादी जनयुद्धले बीचैमा अवतरण गरेपछि र नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा समाहित भइसकेपछि तत्कालीन माओवादी नेताका छोराछोरीहरुका गतिविधिहरु निक्कै आलोच्य रहे । माओवादी सुप्रिमो प्रचण्डका छोरा स्वर्गीय प्रकाश, माओवादी कमाण्डर पासाङका छोराहरु जितेन्द्र र दीपेश पुन, माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महराका छोरा राहुल महरा, अर्का पूर्व माओवादी नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, बादलका छोरा प्रतीकका गतिविधिहरु विवादमुक्त रहेनन् । उनीहरुको गतिविधि र कामकारवाहीहरुका कारण उनीहरु जनतामाझ ‘नवयुवराज’का रुपमा आलोचित भए । शान्तिपूर्ण राजनीतिमा माओवादी अवतरण गरेपछिको शुरुवाती कालमा  जनयुद्धका धङधङी बोकेका सामान्य कमाण्डरहरुको चुरीफुरी र फूर्तिफार्ती त जनतामाझ निक्कै चर्को थियो भने झनै टाउकोमा पिताका प्रभावशाली नाम गाँसिएका नेतापुत्रहरुको चुरीफुरी कम हुने त कुरै थिएन । प्रकाशको अकाल मृत्युले उनलाई ठूलो र बदनाम हुने खालका विवादको तहमा त ल्याएन तर उनको निकतम सम्बन्धमा रहेका अन्य नेतापुत्रहरु भने नक्कली शरणार्थी काण्ड, सुनकाण्ड, सहकारी काण्ड लगायतका ठूला ठूला काण्डहरुमा नराम्ररी मुछिए । त्यसैको प्रतिफल अहिले माओवादीका सर्वोच्च कमाण्डरकाे शासनसत्तामा नै उनीहरु परिबन्दको खेलमा परेर धमाधम पक्राउ पर्दै गइरहेका छन् ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेपछि, हुनुपर्ने र गरिनुपर्ने चाहिँ नेतापुत्रहरुको व्यवहारलाई बेलैमा निगरानी र खबरदारी गरिनुपर्ने, उनीहरुको काम कारवाहीहरु विवादित र आलोचित नहोउन् भनेर सतर्कता अपनाउनुपर्ने काम माओवादी पार्टी र सम्बन्धित नेताहरुबाट हुनुपर्थ्यो । तर त्यसतर्फ आँखा चिम्लिने काम भयो । नेतापुत्र भएकै कारणले उनीहरुका सही–गलत सबै कामकारवाहीहरुले ‘इम्युनिटी’ पाए । त्यसैको प्रतिफल यतिखेर माओवादी पार्टीको साख र इज्जतलाई धूलीसात हुने गरी थुप्रै नेतापुत्रहरुको काला कर्तुतहरुका भेद खुल्दैछन् । सम्भवतः यो लहरो तानिँदै जाँदा अहिलेसम्म सतहमा देखा नपरेका अरु थुप्रै भेदहरु पनि प्रकाशमा आए भने त्यो कुनै अनौठो हुने छैन ।