मुर्खसँगको विवाद

एक पटक एउटा गधा र बाघको बिचमा विवाद भयो । विवादको विषय घाँसको रङबारे थियो । बाघ भन्थ्यो– घाँसको रङ हरियो हुन्छ । तर गधा चाहिँ नीलो भन्थ्यो । दुईजनाको विवाद रोकिने छाँट देखिएन ।

विवादको समाधान खोज्न दुवै जना जङ्गलको राजा सिंहको ठाउँमा गए । सिंहले दुवैको कुरा ध्यानपूर्वक सुने । अनि फैसला सुनाए– गधाको भनाइ ठीक हो । अनावश्यक विवाद गरेवापत बाघलाई १० कोर्रा सजाय पनि सुनाइयो ।

आफूले जितेकोमा मख्ख परेर गधा आफ्नो बाटो लाग्यो । सिंहको फैसलाले अक्क न बक्क बनेका बाघले सिंहलाई सोधे– ‘महाराज ! घाँसको रङ त हरियो नै हुन्छ नि, हैन र ! फेरि पनि किन गधालाई ठीक भनियो र मलाई चाहिँ सजाय सुनाइयो ?’

सिंहले मन्द मुस्कानका साथ भने, ‘तिमीले भनेको कुरा एकदमै सही हो । घाँसको रङ हरियो नै हुन्छ । तर तिमीले मुर्खसँग अनावश्यक विवादमा समय खेर फ्याँक्यौं । त्यही भएर तिमीलाई सजाय तोकिएको हो ।’

त्यसपछि सिंहले बाघलाई सुनाइएको सजाय माफ गरिदिए । बाघले पनि कुरा बुझ्यो– मुर्खसँग तर्क–वितर्क गर्नुको कुनै फाइदा छैन ।