ओलीविरुद्ध बालेनको ‘फायर’ !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा ‘फायर’ खोलेका छन् ।

सोमबार बिहान एक स्टाटस पोष्ट गर्दै उनले लेखेका छन्

१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

गत जेठ १९ गते शनिवार मात्रै एमाले अध्यक्ष ओलीले वालेनको नाम नै नलिइकन ‘अर्काको ढोकामा फोहोर फ्याँक्ने कुनै सभ्यता हो?’ भनी सार्वजनिक रुपमा कटाक्ष गरेका थिए । यो कुरा पक्का छ, बालेनको यो टिप्पणी त्यसैको प्रत्युत्तरमा आएको हो । 

पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ  नेपालले आयेजना गरेको कार्यक्रममा बोल्ने क्रममा उनले काठमाडौं महानगरपालिकाले सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयका गेट अगाडि फोहोर फ्याँकेको घटनालाई लिएर उनले सो टिप्पणी गरेका हुन् । त्यसबेल उनले भनेका थिए– मलाई छिमेकीसँग अलिकति चित्त बुझेन, रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने ? यो कुनै सभ्यता हो ?

स्मरण रहोस्, चक्रपथको कलंकी–महाराजगञ्ज सडकखण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण व्यहोर्नुपरेको आरोप लगाउँदै महानगरले सडकविभाग र काठमाडौं डिभिजन सडक  कार्यालय अगाडि अघिल्लो हप्ता टिप्परमा लगेर धुलो थुपारिदिएको थियो । त्यसपछि महानगर र सडकबीच तिक्तता चर्किएर एकापसमा कानूनी कारवाही गर्ने धम्कीको तहमा परिणत भइसकेको छ । त्यसमाथि थप, महानगरले फुटपाथ विस्तार गर्न खोज्दा सडक विभागले राेक्ने र त्यसक्रममा महानगरले खनेको सडक पूर्ववत बनाउन सडक विभागले ‘धम्की दिने’, त्यसलाई महानगरले नटेरेपछि सडक विभाग गएर टाल्न थाल्ने अनि महानगरका प्रहरी गएर त्यसलाई राेक्ने ‘विधिको नाममा इगोको खेल‘ पनि यतिखेर चलिरहेको छ ।

तीखो र बिझ्ने टिप्पणीका लागि एमाले अध्यक्ष ओली चर्चित छन् । पूर्व र्‍यापर समेत रहेका बालेन पनि सामाजिक सञ्जालमा ओलीलाई नै माथ गर्ने गरी टिकाटिप्पणीहरु गर्ने गर्छन् ।