‘खियाको ग्रह’ मंगल !

कसै कसैले पृथ्वीको जुम्ल्याहा ग्रह भनेर पनि बोलाउने ग्रह मंगल ग्रह हो । हाम्रो सौर्यमण्डलमा यो पृथ्वीपछिको चौथो ग्रह हो ।

मंगल ग्रहलाई रक्तिम ग्रह पनि भन्ने गरिन्छ। अंग्रेजीमा यलाई मार्स (Mars) भनिन्छ । यो नाम रोमनहरुको युद्धको देउताबाट लिइएको हो ।

प्राचीनकालदेखि नै मंगल ग्रह मानिसहरुको लागि आकर्षण, रहस्य र कौतुहलताको ग्रह रहँदै आएको छ । अझ प्राचीनकालमा त मंगल ग्रहलाई खराब ग्रह पनि भनेर मानिन्थ्यो । यसो हुनुको मूल कारण चाहिँ यो रक्तिम देखिनु नै हो ।

आधुनिक विज्ञानको प्रगतिले गर्दा मानिसले मंगल ग्रहमा यानहरु पठाउन सफलता प्राप्त गरिसकेका छन् । त्यहाँ पठाइएका रोबोटहरुले त्यहाँको माटोको नमूना पनि संकलन गर्न सफलता प्राप्त गरेका छन् । ती माटोहरुको परीक्षणबाट मंगल ग्रह रातो देखिनुको रहस्य पनि खुलिसकेको छ । वास्तवमा मंगलको माटोमा आइरन अक्साइटको मात्राका अत्यधिक रहेको छ । सामान्य बोलीचालीको भाषामा भन्दा त्यहाँको माटोमा खियाको मात्रा अत्यधिक छ ।

मंगलग्रहका सतहमा सामान्यतः आँधी तुफान लगातार आइरहेको हुन्छ । त्यसले जमीनको सतहको माटोलाई उडाएर मंगलको पातलो वायुमण्डलमा यत्रतत्र हुर्याइरहेको हुन्छ । आँधी तुफान नआएको बेलामा पनि त्यहाँको वातावरणमा त्यही रातो धुलो मडारिरहेको हुन्छ । फलतः मंगल ग्रह पृथ्वीबाट हेर्दा रातो देखिन पुग्छ ।