बुद्धका लागि शहीद बनेका चिप्लेकीरा

एक दिन बिहानीपख बुद्ध सोचमग्न भएर हिँडिरहेका थिए । त्यसै क्रममा उनी एउटा रुखको फेदमा बसे र ध्यानमा लीन भए। बुद्ध ध्यानमा यसरी डुबे कि उनलाई समय बितेको पत्तै भएन । दिन बढदै जाँदा घामको किरण बुद्धको भर्खरै खौरिएको टाउकोमा लाग्न थाल्यो ।

त्यसै बखत एउटा चिप्लेकीरा उनको छेउबाट घिस्रिँदै जाँदै थियो । त्यो चिप्लेकीराले सोच्यो– घामको रापले बुद्धको ध्यान भङ्ग हुनसक्छ। चिप्लेकीरा बुद्धको शरीरमा चढेर टाउको पुग्यो र आफ्नो र्‍यालले लत्पतिएको शरीरले उनको टाउकोलाई घामबाट जोगाएर शितलता प्रधान गर्न थाल्यो। अरु चिप्लेकीरा पनि यसरी नै बुद्धको टाउकोमा बसे । बुद्धको शिरमा चिप्लेकीराहरुको  चक्राकार खबटाहरु सुन्दर टोपी जस्तो देखियो ।

चिप्लेकीराहरुको सितल र ओसिलो शरीरले बुद्धलाई  घण्टौं ध्यानमा बस्न सहयोग पुग्यो । यसक्रममा ती चिप्लेकीराहरु घामको रापले डढे । साँझपख जब बुद्ध ध्यानबाट बाहिर निस्के, उनले आफ्नो शिरमा १०८ वटा चिप्लेकीराहरु बसेको थाहा पाए, जसले उनको बुद्धत्त्व प्राप्तिको मार्गमा जीवन अर्पण गरेका थिए । बुद्धका निम्ति आफ्नो जीवन अर्पण गरेका ती चिप्लेकीराहरुलाई शहीदका रूपमा सम्मान गरिन्छ  र बुद्धको प्रतिमा मा प्रदर्शित गरिन्छ !!!

जातक कथामा आधारित । प्रस्तुति: केदार सिटौला

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।